वातावरण संरक्षणमा विद्यार्थीको आकर्षण देख्दा खुशी लाग्छः अजयभक्त माथेमा




अजयभक्त माथेमा
अजयभक्त माथेमा

नेपालमा वातावरण प्रदूषणबारे धेरै चर्चा हुने गरेपनि यसको यकिन तथ्याङ्क नेपाल सरकारसँग पनि थिएन। वातावरण प्रदूषणबारे तथ्य संकलन गर्न जनसंख्या तथा वातावरण विभागले हालै उपत्यका लगातय केही स्थानमा भने मापन केन्द्रहरु स्थापना गरेको छ, जसले केही तथ्याङ्क दिनपनि थालेको छ। विभागकाअनुसार उपत्यकामा प्रदूषणको दर पाँच गुणासम्म बढेको पाइएको छ। यस्तो अवस्थामा जनजीवन कसरी सुरक्षित हुनसक्छ? यसबारे वातावरण विज्ञ तथा काठमाडौंस्थित स्कुल अफ इन्भाइरमेन्ट साइन्स एण्ड म्यानेजमेन्ट कलेजका संस्थापक अजयभक्त माथेमासँग गरिएको वार्ताः 

नेपालमा वायू प्रदुषण बढ्नुका कारण के हुन्?
नेपालमा वायू प्रदूषणबारे जति चर्चा हुन्छ, त्यो केही मात्रामा सत्य हो, केही चाहिँ हल्ला मात्रै हो भन्ने मेरो बुझाई छ। एक क्षेत्रले वायू प्रदुषण नगरेर अर्को क्षेत्रमा नहुने भन्ने होइन। अन्य देशमा वायू प्रदुषण छ भने नेपालमा पनि त्यसको प्रभाव देखिइहाल्छ। नेपालमा वायू प्रदुषणको पहिलो कारण बाटोघाटोबाट निस्कने धुलो हो। उपत्यकामा त सडकहरुबाट नै प्रदुषण बढी फैलिने गरेको छ।

पर्यटन विभागले उपत्यकामा हुने वायू प्रदुषणमध्ये ४० प्रतिशत गाडीहरुले निकाल्ने धुवाँले हो भन्ने तथ्याङ्क निकालेको छ, नि?
सरकारले निकालेको तथ्याङ्क नमान्ने आधार छैन। उपत्यकामा धुवाँ र तुवाँलोले ढाकेको जस्तो देखिन्छ। त्यसको मुख्य कारण सडकको धुलो नै हो। हानी गर्ने धुवाँ चाहिँ इँट्टा भट्टा र पुराना सवारीबाट पैदा भएको हो। धुलोका कणबाट प्रदूषण बढ्नुमा पनि पुराना सवारीसाधन नै जिम्मेवार रहेको पाइएको छ। उपत्यकाको वायु अति प्रदूषित रहेकाले अहिले मास्कबिना हिंड्डुल गर्नु खतरा निम्त्याउनु जस्तै हो। बिहान र बेलुकी कार्यालय समयमा प्रदूषणको दर बढी हुने गरेको छ। जाडो बढेसँगै आगो बाल्ने, तातो हावालाई माथिको चिसो हावाले बाहिरिन नदिने, काठमाडौं खाल्डोबाट धुवाँ बाहिर जान नसक्ने भएकाले दुई हजार आठ सय मिटरभन्दा माथि वायु बग्न नपाउँदा प्रदूषण बढेको देखिन्छ।

यस्तो प्रदुषण रोक्न सरकारी पहल कस्तो छ?
प्रदुषण फैलिने प्रमुख कारण सडकको धुलो र पुराना सवारी साधन भएकाले सरकारले त्यसको व्यवस्थापन गर्नुपर्छ। तर बढ्दो प्रदूषण दरलाई घटाउन सरकारले तात्कालिन र दीर्घकालीन योजना ल्याउन सकेको छैन। केही टालटुले काम भए पनि योजनावद्ध ढंगका काम नहुँदा प्रदूषण ज्यूँका त्यूँ छ। उपत्यकाको प्रदुषण नियान्त्रण गर्न सडक कालोपत्रे गर्नुपर्ने, सवारी प्रदूषण जाँच प्रभावकारी बनाउनु पर्ने, आकाशेपुल निर्माण गर्नुपर्ने हुन्छ।

सरकारले प्रभावकारी कदम किन चाल्न सकेको छैन?
वावतरण भन्नाले वायू मात्रै पनि बुझिँदैन। सरकारले वातावरण मन्त्रालय स्थापना गरेपछि वातावरण संरक्षण सम्बन्धी धेरै काम भएका छन्। यावू प्रदुषणको त मापन यन्त्र नै स्थापना भएको छ। तर वातावरण अध्ययन चाहिँ धेरै भएको छैन। अधययन गरेर त्यसअनुसारको काम गर्नु पर्ने भएपनि विना अनुसन्धान काम हुँदा धेरै कुराहरु बिग्रिएका छन्।

ठूला संरचना निर्माण गर्दा वातावरण प्रभाव मुल्याङ्कन (इआइए) गर्नु पर्ने व्यवस्था ऐनमा छ, त्यसको कार्यान्वयन कत्तिको भएको छ?
हो, नेपालको वातावरण संरक्षण क्षेत्रमा त्यो ठूलो उपलब्धी हो। त्यसअनुसार काम पनि हुन थालेको हामीले देख्न थालेका छौं। पछिल्लो समय इआइए पास नभएसम्म कुनै पनि आयोजना अगाडि नबढेको पनि देखेका छौं। वातावरण सम्बन्धी धेरै अन्तर्राष्ट्रिय सन्धीहरुमा नेपालले हस्ताक्षर गरेको छ र आफ्नो नीतिगत विकास धेरै गरेको छ। अब हामीले गर्न बाँकी व्यवहारिक काम मात्रै हो।

वातावरण संरक्षणको क्षेत्रमा सरकारको लगानी कस्तो रहेको छ?
तपाईंले राम्रो पक्ष उठान गर्नुभयो। वातावरण संरक्षमा लगानी काम भएको कारणले नै नेपालको अवस्था यस्तो भएको हो। हामीलाई सरकारी तहबाट यस्तो काम गरिदिनु प¥यो भनेर केही परियोजनाहरू आउँछन्। त्यसको बजेट एक लाखसम्मको हुन्छ। जबकी त्यो बजेटले परियोजनाको अनुसन्धान गर्न पनि पुग्दैन। बजेट नबढेसम्म गुणस्तरीय काम हुन गा¥हो हुन्छ।

सरकारले कुनै योजना निर्माण गर्दा वातावरण विज्ञहरूसँग परामर्श गर्छ कि गर्दैन?
वातावरण संरक्षण ऐन २०५३ र वातावरण संरक्षण नियमावली २०५४ अनुसार अघि बढे विज्ञसँग परामर्श नगरेपनि हुन्छ। तर समस्या के छ भने वातावरण मन्त्रालय र विभागमा पुग्ने कर्मचारी तथा अन्य नियुक्तिबाट जाने व्यक्तिहरु नै वातावरण सम्बन्धमा जानकार हुँदैनन्। केही समय त्यहाँ बसेर जानकारी लिन खोजेपनि फेरि सरुवा भैहाल्छ। मेरो सुझाव के छ भने सरकारले वातावरण विज्ञलाई सल्लाहकारका रुपमा समावेश गर्ने भन्दा पनि सम्बन्धित निकायमा वातावरण सम्बन्धी ज्ञान भएको व्यक्तिलाई राख्न सक्नुपर्छ।

तपाईं लामो समय विदेशमा वातावरण सम्बन्धी शिक्षा हासिल गरेर आउनु भयो? त्यसरी आउने व्यक्ति धेरैजसो आइएनजिओमा छिर्छन, तपाईं चाहिँ किन कलेज सञ्चालनतिर लाग्नुभयो?
वातारणको क्षेत्रमा काम गर्ने मान्छे यही विषयमा शिक्षा हासिल गरेको होस् भन्ने मेरो मान्यता हो। त्यहि सोचले पनि म शिक्षा क्षेत्रमा लागेको हुँ। म सन् १९७४ मा काठमाडौंको मरुमा जन्मिएँ र सिद्धार्थ वनस्थलीबाट स्कुल शिक्षा पूरा गरें। सेन्ट जेभियर्सबाट आएस्सी गरेपछि इन्भारमेन्ट इन्जिनियरिङ कोर्षमा विए गर्न रसिया गएँ। नेदरल्याण्डबाट मास्टर्स गरेर फर्केपछि म नेपालमै वातावरणीय शिक्षा क्षेत्रमा काम गर्न चाहन्थें। त्यसैले २०५७ सालमा मैले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर काठमाडौंको बानेश्वरमा स्कुल अफ इन्भाइरमेन्ट साइन्स एण्ड म्यानेजमेन्ट कलेज स्थापना गरें। सुरुमा विएस्सी इन्भाइरमेन्टबाट सुरु भएको यो कलेजमा अहिले मास्टर्स र अन्य कोर्षहरु पनि थप भएका छन्।

वातावरण व्यवस्थापनमा विद्यार्थीको आकर्षण कस्तो छ?
सुरुमा हामीले मात्रै यस्तो कोर्ष सुरु गरेका थियौं। हामीले पूर्वाञ्चल विश्वविद्यालयबाट अनुमति लिएर पढाई सुरु गरेकोमा अहिले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयमा पनि पढाई भैरहेको छ। यसमा विद्यार्थीको आकर्षण ज्यादै धेरै देख्दा निकै खुशी लाग्छ। विद्यार्थीहरु धेरै थपिंदै गैरहेको अन्य कलेजहरुको पनि भनाई छ। हाम्रोमा अहिले नै ६ सय हाराहारी विद्यार्थी छन्।

वातावरण संरक्षणमा नागरिकको जागरुकता कस्तो छ?
बदलिँदो विश्व परिवेशसँगै मानिसको सोच, व्यवहार र प्रकृतिमा पनि परिवर्तन हुने नै भयो। बिग्रँदो वातावरण र त्यसबाट सृजित विश्वव्यापी वातावरणीय समस्याले विज्ञानलाई नै चुनौती दिएको छ। संरक्षणका नायकहरु विश्वव्यापी समस्याबाट चिन्तित छन्। भविष्यमा सम्हाल्न नसक्ने गरी आउनसक्ने भवितब्यलाई अहिले नै कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा बहस शुरु भएको छ। समय छँदै गरिएका प्रयासहरुबाट भविष्यका चुनौतीहरु कम गर्न सकिन्छ। मानव सभ्यताको रक्षार्थ प्रकृतिको संरक्षण गर्नु र सन्तुलित अवस्थामा राख्नुको विकल्प छैन। वातावरण संरक्षण एक्लो प्रयासले मात्र सम्भव छैन र निकै खर्चिलो पनि छ। सबैको सहयोग, सद्भाव र प्रकृति प्रतिको संरक्षणात्मक भावले मात्र सबैका लागि अनुकुल वातावरण बन्न सक्छ। वातावरण जागाउनेबारे नेपालमा पनि नागरिक तहमा केही परिर्वतन भने अवश्य भएको छ। जो कोहीले वातरण जोगाउनु पर्छ भनेर कुरा गरिरहेको भेटिन्छ। अबको काम भनेको व्यवहारिक कार्यान्वयन नै हो।

प्रकाशित २८ माघ २०७४, आइतबार | 2018-02-11 17:38:42


author photo

दीपक भट्ट नेपालखबर संवाददाता हुन्

@bhattajee1

दीपक भट्टबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • चुडामणि उप्रेती ‘गोरे’

    मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतमा राख्न गोरेको माग

    सुन काण्डका मुख्य नाइके चूणामणि उप्रेती ‘गोरे’ले मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतम बस्न माग गरेका छन्। बुधबार जिल्ला अदालत मोरङमा बयान...

  • रेलमार्गको नक्सा अध्ययन गर्दै नेपाली तथा चिनिया अधिकारीहरु

    रेलमार्ग खोज्दै नेपाली-चिनियाँ अधिकारी काठमाडौंदेखि केरुङसम्म

    केरुङ-काठमाडौं रेलमार्ग त्यति छिट्टै निर्माण हुने सम्भावना चाहिँ छैन, जति राजनीतिक बृत्तमा चर्चा हुने गरेको छ। जस्तो कि, अहिलेको टोली पूर्व...

  • दरबारमार्ग सामूहिक बलात्कार प्रकरणका अभियुक्त शैलेश कार्की

    दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, नेकपा नेतापुत्र फरार

    दरबारमार्ग सामुहिक बलात्कार काण्डका मुख्य आरोपी शैलेस कार्की पूर्पक्षका लागि जेल चलान भएका छन्।

  • प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

    नेपालका मन्त्री सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला?

    नेपाल सरकारका मन्त्रीहरु सुनका पारखी देखिएका छन्। मन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग रहेकाे छ।