१४-१८ वर्षका किशोरी यसरी यौनकर्मी बन्छन् काठमाडौंमा



अध्ययनका लागि खर्च जुटाउन र जीविका चलाउन किशोरीहरू यौन व्यवसयामा लाग्न बाध्य भइरहेका छन् (तस्बिरमा किताब पढिरहेकी किशोरीः थिङ्कस्टक इमेज)
अध्ययनका लागि खर्च जुटाउन र जीविका चलाउन किशोरीहरू यौन व्यवसयामा लाग्न बाध्य भइरहेका छन् (तस्बिरमा किताब पढिरहेकी किशोरीः थिङ्कस्टक इमेज)

अनगिन्ती सपना बोकेर दिनहुँ देशका कुनाकाप्चाबाट थुप्रै मानिस राजधानी पस्छन् । त्यो पंक्तिमा कलिला बालिका र किशोरीको संख्या पनि त्यत्तिकै हुन्छ । औपचारिक शैक्षिक योग्यता र हातमा सीप नभएका थुप्रैलाई काठमाडौं शहरले यस्तो जञ्जालमा पारिदिन्छ, उनीहरू कलिलैमा देह बेचेर गुजारा चलाउन बाध्य हुन्छन् । अनि, विस्तारै पेशेवर यौनकर्मी बन्छन् ।

खाजाघर, चियापसल, स–साना रेस्टुरेन्टदेखि बास बस्न बनाइएका गेस्ट हाउस तथा शहरी ‘रात्रिजीवन’ भनिने डान्सबारमा काम गर्ने धेरै बालिका र किशोरी पेशेवर यौनकर्मी बनिरहेका छन्। ‘मनोरञ्जन क्षेत्र’ भनिने यस्ता ठाउँहरूमा कलिला बालिका र किशोरीको देह किनबेच हुन्छ। यो व्यापारका क्रममा कतिपय गर्भवती समेत हुन्छन्। अनि उनीहरूलाई अर्को आपत् आइलाग्छ। राजधानीमा कसरी भइरहेछ कलिला बालिका र किशोरीहरूको देह किनबेच? हामीले केहीको कथा–व्यथा खोतलेका छौं।

कामना (१६)

  • भर्खर १६ वर्ष पुगेकी कामना कलंकीको सपना गेस्ट हाउसमा काम गर्छिन्। तीन वर्षदेखि त्यहाँ काम गरिरहेकी उनी शुरूमा आफ्नो कामबारे खुलेर बोल्न मानिनन्। केहीबेरपछि टाउको निहु¥याउँदै भनिन्, ‘त्यस्तै नराम्रो काम गर्छु।’

कामनाले भनेको त्यो ‘नराम्रो काम’ हो– यौन व्यवसाय। उनका ग्राहक थरीथरीका छन्। कोही एक दुई घण्टा बस्छन्, कोही रातभर पनि। ग्राहक अनुसार कमाइ हुन्छ। रातभर बस्नेले धेरै ‘टिप्स’ दिन्छन्। उनी भन्छिन्, ‘बिहे नगरेका भन्दा बिहे गरेका, ३५–४० वर्षका ग्राहक धेरै आउँछन्। नयाँभन्दा पुरानै धेरै छन् मेरा।’

तीन वर्षअघि ठूलो सपना बोकेर काठमाडौं आएकी थिइन्, कामना। शुरूमा होटलमा भाँडा माझ्ने र सरसफाइ गर्ने काम गरिन्। तर, कमाइ र व्यवहार दुवै राम्रो नभएपछि साहुबाट ‘राम्रो व्यवहार’ हुने काम रोजिन् र यौन व्यवसायमा लागिन्।

दुई वर्षयता उनी साथीहरूसँग मिलेर डेरामा बसेकी छन्। अरू साथीहरू पनि उनको जस्तै काम गर्छन्। कामना भन्छिन्, ‘अब त धेरैलाई फोननम्बर थाहा भइसक्यो। होटलको साहुले पनि नम्बर दिइहाल्छन्। बेलाबेला आइरहनेहरूले त फोन गरिरहन्छन्।’

बीचमै पढाइ छाडेकी कामनालाई अब पढ्न मन छैन। केही सीप भइदिए चाहिं यस्तो काम गर्नुपर्ने थिएन जस्तो लाग्छ। गाउँमा बस्ने आमाबुवालाई आफ्नो काम के हो भनेर नभने पनि ‘राम्रै काम छ’ भनेकी छन्। कहिलेकाहीं घरमा केही पैसा पनि पठाइदिन्छिन्। उनी भन्छिन्, ‘अब गाउँ फर्केर जान मन छैन। के मुख लिएर जानू?’

प्रेरणा (१७)

  • २१ वर्ष पुग्दै गरेकी नुवाकोटकी प्रेरणा अहिले काठमाडौंमा आफ्नै सिलाइ–कटाइ व्यवसाय गर्छिन्। उनले फेसन डिजाइनरको ‘एड्भान्स कोर्स’ पनि गरिसकेकी छन्। आफूजस्तै करीब एक दर्जन चेलीलाई फेसन डिजाइनिङ सिकाएकी उनी चार वर्षअघिको आफ्नै दिनचर्या सम्झँदा भने भावुक हुन्छिन्।

त्यसबेला भर्खर एसएलसी दिएकी थिइन्, प्रेरणाले। आमा बिरामी भएपछि पैसा कमाउनै पर्ने बाध्यता आइलाग्यो। उनी फुपू नाता पर्नेसँग काठमाडौं आइन्। तिनै फुपूले बालाजुको एउटा होटलमा काममा लगाइदिइन्। ‘भाँडा माझ्ने, सरसफाइ गर्ने काम होला भन्ठानेकी थिएँ’, उनले भनिन्, ‘साहुले ग्राहक रिझाउनुपर्छ भने। शुरूमा के भनेको हो बुझिनँ। पछि थाहा भो– ग्राहकले जे भन्यो त्यही गर्नुपर्ने रहेछ।’ उनी भन्छिन्, ‘त्यसपछि मैले गर्ने–नगर्ने सबै काम गर्नुप¥यो।’

एकदिन साहुले नै जबर्जस्ती गरेपछि उनी त्यहाँबाट भागिन्। काम खोज्दै जाँदा उनी ठमेलको एउटा मसाज सेन्टरमा पुगिन्। काम गर्ने केटीहरू, मसाज गराउन आउने चाहिं केटा मात्र हुन्थे। शुरूमै दिदी (साहुनी) ले काम सिकाइन्। प्रेरणा भन्छिन्, ‘छुट्टै कोठामा आफू पनि एक्लै, ग्राहक पनि एक्लै हुने, एकै दिनमा १४–१५ जनासम्मलाई सेवा दिनुपथ्र्यो।’

त्यहाँ उनीजस्ता चारजना केटी एउटै कोठामा सुत्थे। ‘स–साना बच्चा भएका आमाहरू पनि काम गर्थे’ प्रेरणाले भनिन्, ‘दिउँसो बच्चा राख्ने कोठा छुट्टै हुँदोरहेछ, बच्चा रोए पनि आमाहरू जान पाउँदैनथे।’

प्राप्ती (१८)

  •   कलंकीको कलश गेस्ट हाउस, केही महीना अघिसम्म प्राप्तीको कर्मथलो थियो। प्राप्तीलाई के काम गछ्र्यौ भन्दा विना संकोच भनिन्, ‘ग्राहकसँग बस्छु।’

उनी पेशेवर यौनकर्मी बनेको तीन वर्ष भयो। पहिले पुरानो बसपार्कतिर बस्थिन्। एक वर्ष जति भयो कलंकीतिर आएको। ‘रेट फरक हुन्छ, एकजनासँग १५ सय लियो भने रुम भाडा आफैं तिर्छु, आफैं रुम भाडा तिर्ने ग्राहक आयो भने हजार रुपैयाँ लिन्छु’ प्राप्ती भन्छिन्, ‘दिनको चार पाँच हजारसम्म कमाउँछु।’

८ कक्षा पढ्दापढ्दै उनी साथीसँग भागेर काठमाडौं आएकी थिइन्। शुरूमा यो काममा लाग्दा उनी १५ वर्षकी थिइन्। उनले आमा, दाजुभाउजू र भाइलाई ‘बिहे गरिसकें’ भनेकी छन्। यही काम गर्दागर्दै भेटेको एक युवकसँग माया बसेर बिहे पनि भयो। गाडीमा काम गर्ने उनका श्रीमान्लाई अब उनी अरूसँग बसेको मन पर्दैन। प्राप्ती भन्छिन्, ‘दिउँसो अरू काम गरेर बिहान, बेलुका कोठामै बूढाबूढी बस्न पाइने भए अब यो काम छाड्थें।’

वेदना (१८)

  • चार वर्षअघिको कुरा हो। वेदना त्यसबेला १४ वर्षकी थिइन्। थानकोटतिरको एउटा होटलमा काम शुरू गरेको दिन साहूले ग्राहकलाई खाना पु¥याइदेऊ भने। उनी खाना लिएर गइन्, कोठा साँघुरो थियो। ‘ग्राहकले खाना होइन, मेरो हात समाए’, वेदना भन्छिन्, ‘खाना पु¥याउनु भनेको ग्राहकसँग बस्नु रहेछ।’ त्यो क्याबिन रेस्टुरेन्ट थियो।

गाउँकै चिनजानका मान्छेले उनलाई मासिक रु.४-५ हजार तलब हुने सजिलो काम लगाइदिन्छु भनेर काठमाडौं ल्याएका थिए। वेदना भन्छिन्, ‘फोन उठाउने काम हुन्छ भन्थे र विश्वास गरें। यस्तोमा परें।’

पहिलो दिनमै भोग्नु परेको व्यवहारका कारण त्यो होटल छाडेर अर्कोमा काम गर्न थालिन्। ‘अहिले बिहान चारबजे उठेर राति १०-११ बजेसम्म भाँडा माझ्छु’, आफ्नो अनुभव सुनाउँदै वेदना भन्छिन्, ‘ग्राहकसँग बस्नेलाई शारीरिक दुःख चाहिं हुन्न। साहुले पनि राम्रो गर्छ। भनेको बेला छुट्टी दिन्छ, मागेको पैसा पनि दिन्छ। भाँडा माझ्ने, सफा गर्नेलाई चाहिं हेप्ने, दुःख दिने, काम धेरै लगाउने गर्छन्।’

मनु (१७)

  • १७ वर्षीया मनुको घर रामेछाप हो। तीन वर्ष अघिसम्म उनी काठमाडौंको एउटा डान्सबारमा काम गर्थिन्। साँझ ६ बजेदेखि रातको १२ बजेसम्म काम गरेर डेरा पुग्दा रातको दुई बज्थ्यो। बिहान ६ बजेको स्कूल भ्याउन पाँच बजे उठ्नुपथ्र्यो। स्कूल पढेर १०–११ बजे कोठामा आउने, खाना पकाएर खाने, केहीबेर सुत्ने, होमवर्क गर्ने र साँझ परेपछि फेरि डान्सबार पुग्ने उनको तालिका थियो। १३ वर्षको उमेरमा शुरू भएको यो काम तीन वर्ष चल्यो।

हामीले भेट्दा उनी गैरसरकारी संस्था ‘विश्वास नेपाल’ को दिवा सेल्टरमा थिइन्। यो संस्थाले उनीजस्ता बालिकालाई आश्रय दिएको रहेछ। डान्सबारको ‘जागिर’ छाडेपछिका एक वर्षमा उनको जीवन पूरै फेरिएको छ। अहिले उनी कलेज पढ्ने र बचेको समय विभिन्न संघसंस्था र स्कूलमा डान्स सिकाउने काम गर्छिन्।

उनी कसरी काठमाडौं आइपुगिन्? मार्मिक कथा छ। बुवाले छाडेर अर्कैसँग बिहे गरेपछि मनुकी आमा उनीसहित भाइ र बहिनी लिएर चार वर्षअघि काठमाडौं आएकी थिइन्। सडकछेउमा तरकारी बेचेर परिवार पालिरहेकी आम अकस्मात् बिरामी भइन्। उपचार गर्न आफन्तबाट लिएको ऋण तिर्ने उपाय थिएन।

काम खोजिरहेकी मनुलाई चिनजानकै दिदीले टेकूमा रहेको डान्सबारमा काम लगाइदिइन्। दिदी पनि डान्सबारमा काम गर्थिन्। केही दिनमै ग्राहकलाई ‘रमाइलो’ गराउने काममा अभ्यस्त भइन्। ‘ग्राहक यस्तो ठाउँमा रमाइलो गर्न भनेरै आउँछन्, उनीहरूको चित्त बुझाएरै पठाउनुपर्छ’ मनु भन्छिन्, ‘मैले पनि तीन वर्षसम्म त्यही गरें।’

सफल (१७)

  •  दिवा सेल्टरमा मनुसँगै थिइन्, १७ वर्षीया सफल। उदयपुरकी सफलले मनुका कुरामा सही थप्दै भनिन्, ‘ग्राहकले भनेअनुसार गरिदिएपछि हामीलाई पनि टिप्स आउँछ, साहुलाई पनि आम्दानी हुन्छ।’

बालाजु बाइपास क्षेत्रको डान्सबारमा काम गर्ने सफलको कथा पनि मार्मिक छ। ११ कक्षा पढ्दै गर्दा एक वर्षअघि गाउँकै दिदीहरूसँग काठमाडौं आएकी उनले शुरूमा दोहोरी साँझमा काम गरिन् । त्यसपछि डान्सबारमा छिरिन्।

गाउँमा हुँदा उनी नजिकैको स्कूलमा पढाउँथिन्, महीनामा रु.७-८ हजार कमाइ हुन्थ्यो । धेरै कमाइ गर्न काठमाडौं आउने हुटहुटी चल्यो। ‘तर, काठमाडौंमा यस्तो काम पो गर्नुपर्दोरहेछ’, सफलले भनिन्, ‘अब घर फर्केर जाउँ भने भागेर गएकी भन्लान्, यहाँ अरू काम केही पाइन्न, के गर्ने, के?’

जन्मिएको बच्चा अलपत्र

२०७४ साल जेठ महीनाको एक दिन माइती नेपालको केन्द्रीय कार्यालयमा एक किशोरी आइपुगिन् । उनको पेट सामान्य भन्दा अलि ठूलो थियो। उनी आठ महीनाकी गर्भवती रहिछन्। उमेर सोध्दा ठ्याक्कै जवाफ दिन सक्दिनथिन्। कहिले १८ वर्षकी भएँ भन्थिन्, कहिले २० पुगें भन्ने जवाफ दिन्थिन्। कहाँबाट आएको भनेर नबताउने उनी ‘प्रहरीले यहाँ जाऊ भनेर पठायो’ भन्थिन्।

रात परेपछिको काठमाडौं

माइती नेपालका कर्मचारीहरूले धेरै सोधीखोजी गरेपछि थाहा भो– उनी काठमाडौंको नयाँ बसपार्क (गोंगबु) क्षेत्रको होटलमा काम गर्थिन्। अविवाहित उनी त्यही होटलमा काम गर्ने क्रममा गर्भवती भएकी रहिछन् । उनलाई बच्चा जन्माउन माइती नेपालमै पठाइनुको रहस्य पछि उनी आफैंले खोलिन्– ’बच्चा जन्माएपछि दुई लाख दिने भन्ने कुरा भएको थियो।’ माइती नेपालकी वरिष्ठ कानून अधिकृत उमा तामाङका भनाइमा, ‘नयाँ बसपार्क वरपरका होटलमा उनी यौन व्यवसाय गर्थिन्। ग्राहकसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएर असजिलो अवस्थामा पुगेपछि गौशाला प्रहरीले माइती नेपालमा ल्याइदिएको थियो।’

१९ जेठ २०७४ मा माइती नेपालमा आइपुगेकी उनले एक महीनापछि बच्चा जन्माइन्। त्यसपछि थाहा भो– उनको घर तनहुँ रहेछ। कामको खोजीमा घरबाट भागेर काठमाडौं आएकी रहिछन्। घरपरिवार भएको थाहा भएपछि माइती नेपालले उनलाई ५ भदौमा घर पठाइदियो।

योभन्दा दर्दनाक अर्को कथा छ। २०७४ मंसीर पहिलो साताको कुरा हो। काठमाडौंको कलंकीमा रहेको गैरसरकारी संस्था ‘चेन्ज नेपाल’ की स्टाफ नर्स अनु विष्टले फिल्डमा जाँदा एक होटलमा भर्खरकी सुत्केरी बालिका भेटिन्। अनु होटल, रेस्टुरेन्ट, खाजाघरहरूमा काम गर्ने बालिका–किशोरीहरूको स्वास्थ्य अवस्था परीक्षण गर्ने काम गर्छिन् । अनुले भनिन्, ‘तिनको उमेर १५-१६ भन्दा बढी थिएन। कलंकीको एउटा रेस्टुरेन्टमा काम गर्थिन्। ग्राहकसँग सम्बन्ध राख्दा गर्भवती भएको बताउँथिन्।’

तिम्रो बच्चा खोइ त भनेर सोध्दा ‘एउटा संस्थाले मलाई गर्भवती अवस्थामा हामी हेरचाह गर्छौं भनेर लगेको थियो, तर बच्चा जन्मेपछि उनीहरूले लगे, मलाई त्यहाँबाट निकालिदिए’ भनेकी थिइन्। ती बालिकाले त्यो संस्थाको नाम बताउन सकिनन्। अनुले सुत्केरी भएको तेस्रो दिनमा लगाउने कपडा पनि राम्रो नभएको, रगतैरगत पोतिएको अवस्थामा ती बालिकालाई भेटेको बताइन्।

गैरसरकारी संस्था चेन्ज नेपालमा कार्यरत अधिकारकर्मी वर्षा लुईंटेललाई यौन व्यवसायी किशोरीहरूले बच्चा जन्माएर अरूलाई दिने, अनि त्यसबापत आर्थिक लाभ लिने गरेको थाहा छ। उनी भन्छिन्, ‘कलंकीको आकाशे पुल रहुञ्जेल साँझ परेपछि त्यहाँ ग्राहकसँग वार्गेनिङ्ग हुन्थ्यो। कुरा मिलाएर गेस्टहाउस जान्थे। त्यसक्रममा मैले गर्भवतीहरू पनि भेटेकी छु। अब बच्चा के गर्छौ त भन्दा उनीहरू एकअर्कामा आरोप प्रत्यारोप गर्थे। एकले अर्कालाई यसले बच्चा जन्माएर बेच्छे भन्थे। एउटीले त अर्कीलाई ‘यसले पहिला पनि बेचिसकेकी हो’ भनेर आरोप पनि लगाएकी थिई।’

लुईंटेलका अनुसार, २०७४ कात्तिकमा ७ महीनाकी गर्भवती रहेकी एकजना यौनकर्मी किशोरी सेल्टरमा आइपुगिन्। काठमाडौंमै घर भएकी र ९ कक्षामा अध्ययनरत बताउने उनी गर्भवती भएपछि घरमा थाहा हुने डरले बच्चा जन्माउन सेल्टरमा पुगेकी थिइन्। लुइँटेल भन्छिन्, ‘उमेर १८-१९ वर्ष बताए पनि हेर्दा १६ वर्षकी जस्तै देखिन्थिन्। ७ महीनाको गर्भपतन गराउन मेडिकलले डेढ लाख रुपैयाँ मागेपछि पैसा तिर्न नसकेर उनी सेल्टरमा आएकी थिइन्।’

अपराधको कारखाना

राजधानीमा यौन व्यवसायमा लागेका बालिका र किशोरीको संख्या कति होला? यो क्षेत्रमा कार्यरत संघसंस्थाहरूले १५–१६ हजार बालिका र किशोरी यौनकर्मी रहेको बताए पनि आधिकारिक आँकडा कोहीसँग छैन। बालअधिकारकर्मी प्रमेश प्रधान यौन व्यवसायमा बालिकाहरूको आउने क्रम बढेको, तर संख्या किन बढ्यो र उनीहरू कहाँबाट कसरी आइरहेका छन् भन्नेबारे अध्ययन हुन नसकेको बताउँछन्।

साँझको रत्नपार्क

ती संघसंस्थाहरूका अनुसार होटल, खाजाघर, गेस्ट हाउस र क्याबिनमा बालिका र किशोरीहरूलाई ‘ग्राहक रिझाउन’ कै लागि राखिन्छ। उनीहरू प्रायः १२-१३ देखि १७ वर्षसम्मका हुन्छन्। तर, उमेर सोध्यो भने मालिक र उनीहरू स्वयंले पनि साँचो बताउँदैनन्। धेरैजसो राम्रो कमाइ हुने आशामा गाउँबाट आएका हुन्छन्। उनीहरूलाई नै होटल, रेस्टुरेन्ट सञ्चालकहरूले विस्तारै यौन कार्यमा लगाउँछन्। त्यहाँ भाँडा माझ्नेलगायतका सरसफाइका काम गर्न पाका महिला या केटाहरूलाई राखिएको हुन्छ। मसाज सेन्टरहरूमा भने प्रायः १५-१६ वर्षका बालिका–किशोरीदेखि २५-३० वर्षका महिला हुने गरेको चेन्ज नेपाल, ठमेल सम्पर्क कार्यालयकी प्रमिला चापागाईंले बताइन्।

हुँदाहुँदा अब आवरणमा किराना पसल राखेर समेत यस्तो कार्य हुन थालेको छ। माइती नेपालमा कार्यरत अधिवक्ता उमा तामाङले आफूले निरीक्षण गर्दाको एउटा घटना सुनाइन्– ‘धुम्बाराहीमा चारतले घरको भुइँतलामा किराना पसल थियो। छिमेकीले शंका लागेर प्रहरीलाई खबर गरेपछि माइती नेपालबाट हामी हेर्न गयौं। घर भित्र दुइटा कोठा थिए । त्यहाँ १६–१७ वर्षका दुई किशोरी थिए। उनीहरूलाई एकजना ग्राहकबाट रु.५०० लिने गरी यो काममा लगाइएको भेटियो।’

गैरसरकारी संस्था वाईएसटी, नेपालकी अध्यक्ष भिक्टोरी थापाका भनाइमा यौन व्यवसायमा लागेकाहरू प्रायः कलिला बालिका छन्। ब्यूटीपार्लर र पुरुषको कपाल काट्ने शैलुन समेतमा मोलमोलाइ गरेपछि ग्राहक उनीहरूसम्म पुग्ने गर्छन्।

राजधानीमा यौनकर्मी बालिका र किशोरीहरूका लागि काम गर्ने दर्जनौं संस्था छन्। ती संस्थाले कतिपयलाई आफ्नो सेल्टरमै राखेर विभिन्न सीप सिकाइरहेका छन्। ती संघसंस्थाका कर्मचारीका भनाइमा, धेरैजसोले सीप सिक्नै खोज्दैनन्। सिक्न भनेर आएकाहरू पनि तालीम सकिंदासम्म टिक्दैनन्। करीब ९० प्रतिशत त बीचमै छाडेर हिंड्छन्। कति त पुरानै काममा फर्किन्छन्।

कुनैबेला बालिका र किशोरीहरूलाई करकापमा पारेर यौनकार्यमा लगाएका उजुरी यस्ता संघसंस्थामा थुप्रै पर्थे। यातना दिइएका र कुटपिट गरिएका गुनासा आउँथे। पछिल्लो समय होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूले उनीहरूलाई करकापमा होइन, फकाएर यो पेशामा लगाउने क्रम बढ्दो छ। त्यहीकारण उजुरी र गुनासो धेरै आउँदैनन्। कमाइ हुने लोभमा उनीहरू आफैं पनि हत्पत्ति त्यो काम छाड्न चाहँदैनन्।

महानगरीय प्रहरी प्रभाग, गोंगबु बसपार्कका प्रहरी निरीक्षक हरिहर सुनुवार गोंगबु क्षेत्रका होटल र खाजाघरहरूमा धेरै बालिका यौनकार्यमा संलग्न रहेको बताउँछन्। उनी भन्छन्, ‘बेलाबेलामा हामी रेड पनि गर्छौं। तर, रंगेहात भेट्न गाह्रो छ, त्यत्तिकै कारबाही गर्न मिल्दैन।’

महिला तथा बालबालिका कार्यालय काठमाडौंकी बालसंरक्षण अधिकृत इन्दिरा पौडेल भन्छिन्, ‘आधिकारिक विवरण नभए पनि अनुगमनमा जाँदा भेटिए अनुसार यौन व्यवसायमा लागेका मध्ये आधाभन्दा बढी किशोरीहरू १८ वर्षभन्दा तलका छन्।’

यस्ता किशोरी र बालिकाहरूको संरक्षणका लागि सरकारले ‘श्रमजीवी महिलाहरूमाथि कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण निर्देशिका २०६५’ जारी गरेको छ। निर्देशिकाको दफा १५ अनुसार प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने गरी एक समिति गठन हुन्छ। त्यसले उनीहरू शोषणमा परे नपरेको निगरानी गर्छ। तर, जिल्लामा प्रजिअ यति धेरै समितिका संयोजक रहन्छन् कि उनलाई यस्ता विषयमा ध्यान दिने फुर्सदै हुँदैन। जिल्ला प्रशासन कार्यालय, काठमाडौंका शाखा अधिकृत पारसमणि पोखरेल ‘कार्यविधि बनाउने काम भइरहेको’ भनेर उम्किए।

कानून अनुसार १६ वर्षभन्दा कम उमेरका बालिकासँग सहमतीमा शारीरिक सम्पर्क गर्नु पनि जबर्जस्ती करणी गरेको ठहर्छ। तर, राजधानीको ‘यौन बजार’मा दिनहुँ व्यापक मात्रामा यस्तो अपराध भइरहेको छ। अझ दुखद् कुरा यी बालिकाहरूको संरक्षणका लागि सरकारी प्रयत्न शुरू नै भएको छैन भने पनि हुन्छ।

(यो रिपोर्ट खोज पत्रकारिता केन्द्रका लागि तयार गरिएको हो) 

प्रकाशित २० मंसिर २०७४, बुधबार | 2017-12-06 15:48:34

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...