असन बजारः जहाँ अझै मगमगाउँछ रैथाने सुगन्ध



कीर्तिपुरकी ज्ञानु भट्टराई सोह्र श्राद्धमा चाहिने सालको पात लिन असन पुगिन्। शुभ, अशुभ दुवै कामका लागि पात आवश्यक पर्ने भएकोले उनी असन पुग्ने बताउँछिन्। उनी आफूलाई आवश्यक पर्ने अरु वनस्पतिका बिरुवा लिन पनि अक्सर असन पुग्ने गर्छिन्। ‘पहिलेपहिले अरु सामग्रीका लागि पनि असन नै आउनुपर्थ्याे, तर अहिले अरु सामग्री अन्त पनि पाइन्छन्। त्यही भएर पात र बिरुवा लिन चाहिँ म यहीँ आउँछु,’ २० वर्षअघिदेखि असन धाउने गरेकी ज्ञानु भन्छिन्, ‘तर पहिले जस्तो असनमा सबै सामग्री सजिलै पाइँदैन।’

बौद्ध बस्ने डोल्मा शेर्पा पनि तामाका भाँडाकुँडा किन्नका लागि असनसम्म पुगेकी थिइन्। उनी अन्य समयमा पनि पुराना खालका केही सामग्री आवश्यक परे असन कुदिहाल्छिन्। ‘हामी त पहिलादेखि नै पुराना सामान लिनका लागि यहीँ आउने गर्छौँ,’ उनले भनिन्, ‘यहाँ सबै सामान पाइन्छ। गुणस्तरीय पनि हुन्छ।’

असन खासगरी रैथाने सामग्रीका लागि परिचित छ। नेवारी समुदायको बाहुल्यता रहेको असनमा नेवार समुदायको चाडपर्व, जात्रा, जन्म संस्कार, मृत्यु–संस्कार लगायतमा प्रयोग हुने सामग्री सहजै पाइने असनबारे जानकारहरु बताउँछन्। तर पछिल्लो समय यहाँका रैथाने बाहिरिन थालेपछि त्यसमा अभाव खड्किन थालेको छ। असनमा अन्य समुदायका विशेष दिनका लागि आवश्यक पर्ने विशेष सामग्री पनि पाइन्छन्।

काठमाडौंको प्राचीन सहरमध्येको एक असनले काठमाडौंको मौलिकता धानिरहेको छ। आफैँमा एउटा डिपार्टमेन्टल स्टोरका रुपमा परिचित असनमा नुनदेखि सुन अनि जन्मदेखि मृत्यु संस्कारसम्मका लागि चाहिने सम्पूर्ण सामग्री पाइन्छ। ऐतिहासिक, साँस्कृतिक र व्यापारिक महत्वयुक्त असन देशैभरका मानिसका लागि उपयुक्त व्यापारिक स्थलको रुपमा परिचित छ।

इतिहासविद्हरुको भनाइमा लिच्छिवकालमा नै आवाद भएको असनमा आधुनिकताको प्रभाव पार्न थालेको स्थानीय पसल सञ्चालकहरु बताउँछन्। असनमा देखि इन्द्रचोक सम्मका झन्डै १५ सय पसलमा अहिले मौलिक परम्परागत भन्दा आधुनिक सामग्री बढी बेचिन थालिएको छ।

केदारमाया श्रेष्ठ ठ्याक्कै ८० वर्ष पुगिन् तर असनमा रहेको अन्नपुर्ण मन्दिरलाई एक फन्को नमारी अझैपनि उनको दिनको सुरु हुँदैन। उनले जानेदेखि नै असनमा केदारमायाको पसल छ, त्यसैअगाडि घर पनि छ। भूकम्पका कारण आंशिक क्षति भएकाले घरमा ताला झुन्ड्याइएको छ। उनको पसलभन्दा अगाडि तेल पसल थियो। उनलाई अझै याद छ, आफू सानो छँदा कसैको घरमा रात बसेर भएपनि असनबाटै किनमेल गरेर लैजाने गरेको। उनी भन्छिन्, ‘सारा मानिस यहीँ आउँछन्। सबै कुरा यहीँ पाउने भएपछि आउने त भइनै हाले।’

ठ्याक्कै ४६ वर्ष भयो सागर तुलाधरले असनमा पसल सञ्चालन गरेको। उनको पसलमा काजु, पेस्ता, बदाम, ज्वानो, मेथी, धनियालगायत सामग्री पाइन्छ। तर पहिले उनको परिवारले त्यही पसलमा जडीबुटी औषधी बेच्थ्यो। ‘बाबुवाजेको पालादेखि नै हामीले यहीँ पसल सञ्चालन गरेका थियौं। तर मलाई जडीबुटीबारे केही थाहा नभएकोले पसलमा पाइने सामग्री परिवर्तन गरेका हौं।’

‘पहिला सागसब्जी, चामल बाटामै राखेर बेचिन्थ्यो। अहिले ती सामग्री पाउन छाडे। पहिलाको तस्बिर हेर्दा त अचम्मै पर्छु,’ उनले थपे।

वरिपरिको परिदृश्यमा पहिले हेरी निकै परिवर्तन आएको बताउँछन्, अर्का पसल सञ्चालक सम्पूर्णरत्न तुलाधर। हजुरबाको पालादेखि एकै ठाउँमा चल्दै आएको वैद्य पसल भनेर चिनिने उनको पसलमा पाइने सामग्री अहिले फुटपाथमा गएको उनी बताउँछन्। पूजा सामग्री, मरमसला, सुत्केरी मसला पाइन्छ उनको पसलमा। तर त्यस्ता सामग्रीको बजार खस्किँदै गएकोले आफूले बेच्ने सामग्रीमा पनि परिवर्तन गर्न थालेको उनको भनाइ छ। ‘वरपर फलाम पसल, हुक्का पसल, चिलिम, खुकुरी पसल थियो तर अहिले जुत्ता र लुगा मात्र भएको छ,’ उनी भन्छन्।

असन सेवा समितिका पूर्व अध्यक्ष अमुलकाजी तुलाधरका अनुसार धेरै वर्षअघिदेखि नै असन क्षेत्र ‘डिपार्टमेन्टल स्टोर’को रूपमा विकास भएको हो। ‘असन बजारको विविधताले नै यो तथ्यको पुष्टि गर्छ,’ उनी भन्छन्, ‘२०७२ को भूकम्पले पनि खासै असर नपरेको यो क्षेत्रमा गल्ली साँघुरो भए पनि यसको महत्वलाई कम आँक्न भने मिल्दैन।’ असनमा पहिले पश्चिमतिर मरमसला, अन्नपुर्ण मन्दिर पछाडि तेलको व्यापार, उत्तरतर्फ खाद्यान्न, भोटाहिटीमा जुत्ता, केलटोलतिर तामाको भाँडा र ढाकाको सामाग्री पाइन्थ्यो तर त्यस्तो बजार लोप हुँदै गएको छ।

चौबाटोमा रहेको असन किनमेलको लागि पायक पर्ने बजारको रुपमा परिचित छ। सबै सामग्री पाइने भएकोले आफ्नो समय बचाउनका लागि मानिस यहाँ आउने गरेको पुर्वअध्यक्ष तुलाधर बताउँछन्। उनी असनमा अझै पनि पुराना मात्रै होइन, गुणस्तरीय सामान पनि पाइने ठोकुवा गर्छन्। ‘घरैपिच्छे पसल र कुनै सामान अलि महंगो भएपनि गुणस्तरीय सामग्री पाइन्छ,’ उनले भने, ‘त्यसैले पहिलेका मानिस मात्र होइन, नयाँ पुस्ता पनि यहाँ आउन थालेका छन्।’ यद्यपि समयअनुसार असनमा पाइने सामग्रीमा भने फेरबदल आउन थालेको उनी स्वीकार्छन्।

असनको इतिहास
काठमाडौंका प्राचीन टोलमध्येका असन (असं) एक हो। अन्नपुर्ण मन्दिरको पूरा नाम नेपाल भाषामा अंस मरु अजिमा हो। असन नजिकै रहेको काष्ठमण्डपलाई कल्प वृक्ष वा अशोकको रुप पनि भनिन्छ। त्यो रुख मरुटोलको प्याफल भन्ने ठाउँमा थियो र त्यसको हाँगा असनसम्म पुग्थ्यो। हाँगा पुगेको ठाउँमा विहार थियो। त्यसलाई अशोक मण्डप भनिन्थ्यो। त्यही अशोक मण्डप पछि गएर असं वा असन बनेको कथन प्रचलित रहेका बताउँछन्, नेपाल भाषा टाइम्सका सम्पादक सुरेश मानन्धर।

अन्वेषक तीर्थमान महर्जनले पनि आफ्नो पुस्तक ‘अन्नपूर्ण मन्दिर र अन्नपूर्णदेवी जात्रा’ मा असनको नामाकरणको किंवदन्तीबारे लेखेका छन्। उनका अनुसार धैरै वर्ष पहिले ठिमीका एक व्यापारीले बाँसको नोलमा चामल बोकेर ल्याउँदै गर्दा गह्रौँ भएर भारी बिसाएका थिए। तर त्यो पछि उठाउन खोज्दा व्यापारीले हल्लाउन पनि सकेनन् र रित्तै घर गए। घरपरिवारले सोध्दा उनले डराएर अनसं मात्र भन्न सके। नेपालभाषामा अनसंको अर्थ त्यहीँ नै भन्ने हुन्छ। यसबारे तान्त्रिकलाई देखाउँदा भारी बिसाएको ठाउँमा देवी अन्नपूर्ण विराजमान भएको कुरा बताए। अनसं शब्दको अक्षर अगाडि पछाडि भई कालान्तरमा असन नाम रहन गएको महर्जनको भनाइ छ।

राणाकालमा भएका कतिपय राजनीतिक जमघट पनि असनमै हुने गरेको मानन्धर बताउँछन्। ए, बी, र सी ग्रेडका राणाहरुबीचमा किचलो हुँदा असनमा एउटा सभा भएको थियो। त्यतिबेला राणाहरुले चलाएको गोली लागेर न्हुँच्छेसुन्दर तुलाधरको मृत्यु भएको थियो। मानन्धरका अनुसार तुलाधरको मृत्युपछिको शोकसभामा बालकृष्ण समले आफ्नो नामबाट शम्शेर जबरा सम मात्रै राख्ने घोषणा गरेका थिए। २००७ सालपछि १७ र ४६ सालमा भएका आन्दोलनमा पनि असनमा केहीको ज्यान गएको मानन्धर बताउँछन्।

सम्पादक मानन्धर असनको साँस्कृतिक पक्ष पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँछन्। ‘काठमाडौंभित्र हुने जति पनि जात्रापर्व छन्, ती कुनै न कुनै रुपमा असनभित्र छिरेका हुन्छन्,’ उनी भन्छन्, ‘कुमारी तान्ने जात्रा, सेतो मछिन्द्रनाथको जात्रा, अशोक विनायक जात्रा, मरु गणेशको जात्रा सबै यहाँ यहाँ ल्याउनै पर्ने हुन्छ।’

असनका स्थानीय हरेक वर्ष मनाइने दशमीलाई दसैँ नमानी भोलीपल्ट दशैं मनाउँछन्। त्यसैले असनका बासिन्दाले मनाउने असं चालं अर्थात दसै अरु समुदाय र नेवारले मनाउनेभन्दा फरक रहेको फरक रहेको मानन्धर बताउँछन्।

मासिँदै रैथानेपन
सम्पादक मानन्धर असनलाई खुद्रा व्यापारको केन्द्र मान्छन्। ‘थोक व्यापारको हब अब असन रहेन,’ उनी भन्छन्, ‘असनका रैथाने बाहिरिन थाले। व्यापार व्यवसाय गर्ने अब नेवार समुदायका मात्र छैनन्। उनीहरुलाई तिब्बती, माडवारीलगायत अन्य समुदायले विस्थापित गर्न थालेका छन्।’

असनको मौलिकतालाई कायम राख्नु अबको चुनौती भएको मानन्धर बताउँछन्। ‘असन व्यापारिक केन्द्रको रुपमा त रहन्छ नै तर यसको स्वरुप यस्तै रहँदैन,’ उनले मकवानपुरको भीमफेदी र हेटौँडाको उदाहरण दिँदै भने, ‘नियोजित रुपमै असन बन्द नगरिए यो सुक्ने खालको छैन। तर यसको मौलिकता कति रहन्छ भन्ने कुरा गम्भीर विषय बनेको छ।’

असनको यति धेरै समाजिक, साँस्कृतिक, ऐतिहासिक, व्यापारिक महत्व हुँदाहुँदै पनि यसबारेमा अहिलेसम्म कसैले पनि खोज अनुसन्धान नगरिएको मानन्धरको भनाइ छ। विद्वान भुवनलाल प्रधानले असनबारे केही अनुभव साटेका बाहेक अन्य अनुसन्धान नभएको उनी बताउँछन्।

असनमा व्यापारको रुप परिर्वतन भएको छ तर व्यापारको तौरतरिका भने परिवर्तन भएको छैन। गैरस्थानीयको बाहुल्यता बढ्दै गएपछि धर्मिक, सामाजिक, सांस्कृतिक पक्ष त खतरामा परेको छ नै। यो क्षेत्रले जुन मौलिकता साँचेको थियो त्यो पनि जोखिममा पर्दै गएको छ। स्थानीय मानिसले बस्ती छोड्दै जाँदा कालान्तारमा स्थानीयता र रैथानेपनको लोप नहोला भन्न सकिन्न। त्यसैले पहिचान हराएको बजार हुनबाट बचाउनका लागि यसतर्फ विशेष ध्यान दिनुपर्ने देखिएको छ।

प्रकाशित १७ भदौ २०७४, शनिबार | 2017-09-02 17:18:57

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...