यस्तो रहेछ ‘हत्या गरेँ’ भन्दै प्रहरी चौकी पुगेकी कान्छीमाया प्रकरण

कान्छीमायाले बयान फेरेपछि असुन्धानको दायरा फराकिलो



साउन १८ गते दिउँसो रगताम्मे हातमा चक्कु समाएकी एक महिला महानगरीय प्रहरी वृत्त चापागाउँ परिसर छिरिन्। महिलालाई देखेपछि ड्युटीमा खटिएका प्रहरी नै छक्क परे।

रगतले लतपतिएको चक्कु समाएर प्रहरीकोमा पुगेकी महिलालाई डिउटीमा रहेका एक प्रहरीले सोधे ‘को हो तपाई, किन चक्कु बोकेर आउनु भएको?’ महिलाले जवाफ दिइन्– ‘म कान्छीमाया तामाङ, एक जनाको हत्या गरेर सिधै यहाँ आत्मसमर्पण गर्न आएकी हुँ। अब मलाई के कारबाही हुन्छ गर्नुस्।’

घटनाको साउन १८ गते ललितपुरको गोदावरी नगरपालिका–१२ ठेंचोको। प्रहरीले घटनाबारे खोतल्दै जाँदा ति महिलाले आफूले काम गर्दै आएको ठेचोकै कृषि फार्मका सञ्चालक पर्वत फलेबास–४ सिर्सुवाका मेगराज भुसालको हत्या गरेको र सिधै प्रहरीकोमा आएको खुलाइन्।
त्यसपछि भने प्रहरी घटनास्थल पुग्यो। हत्या गरिएका भुसालको शब कोठाबाट बाहिर निकाल्यो र पोष्टमार्टमका लागि अस्पताल पठायो। ‘अर्गानिक एग्रोभेट’ नामक कृषि फार्मका सञ्चालक रहेका भुसालको चक्कु प्रहार गरी हत्या गरेको बताउने मकवानपुरको साविकको जुरेली गाविस–५ की कान्छीमायालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्यो।

अनुसन्धानका क्रममा कान्छीमायाका श्रीमान ‘कुमार’ भनिने मानबहादुर तामाङको पनि भुसाल हत्यामा संलग्न रहेको पाइएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार आफैले हत्या गरेको भन्दै प्रहरी कार्यालयमा चक्कुसहित आएर आत्मसमर्पण गरेकी कान्छीमायाले आफ्नो बयान केही फेरेकी छिन्। कान्छीमायाले भुसालको हत्या आफूले नभई आफ्ना श्रीमानले गरेको प्रहरीलाई बयान दिएकी छिन्। ‘मैले होइन मेरा श्रीमानले हत्या गरेका हुन्, बयान फेर्दै उनले भनेकी छिन्,‘चक्कु लिएर प्रहरीकोमा उपस्थित नभए मलाई पनि मारिदिने धम्की दिएपछि म चक्कुसहित उपस्थित भएर हत्या गरेँ भनेकी हुँ।’

कान्छीमायाका श्रीमानले बयानका क्रममा आफूले भुसालको हत्या गरेको स्वीकार गरिसकेका छन्। प्रहरी स्रोतका अनुसार कान्छीमायाका श्रीमानले आफू टहरामा आउँदा एउटै कोठामा बसेको पाएपछि आबेगमा आएर भुसालको हत्या गरेको बताएका छन्। ‘म आउँदा श्रीमतीसँग बसिरहेको अवस्थामा भेट्टाएँ। त्यसपछि मैले उनलाई मारेको हुँ,’ उनले बयानमा भनेका छन्। तर मृतकका परिवारका सदस्य र आफन्तहरुले भने घटनाको अावरणमा जे देखाउन खोजिए पनि यसका पछाडि नियोजित रुपमा एकभन्दा अरु थप व्यक्तिको संलग्नता रहेको हुन सक्ने आशंका व्यक्त गरेका छन्।  

महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख डिएसपी श्यामकुमार राईले भुसाल हत्याबारे अनुसन्धान भइरहेको बताए। नेपालखबरसँग कुराकानी गर्दैै डिएसपी राईले भने,‘अहिलेसम्मको अनुसन्धानले कान्छीमाया र उनका श्रीमानको घटनामा संलग्नता रहेको देखिएको छ। कान्छीमायाले घटनाकी प्रत्यक्षदर्शी र श्रीमान हत्यारा हुन् भन्ने पछिल्लो अनुसन्धानबाट पत्ता लागेको छ। तर, अहिले नै हत्या श्रीमती वा श्रीमान कसले गरेको हो भन्न सकिने अवस्था छैन। हामीले घटनासँग जोडिएका अरु आयामहरु भए त्यसबारे सोधखोज पनि गरिरहेका छौं। ’

भुसालको हत्यामा अरु पनि संलग्न भएको हुन सक्ने भएकाले अनुसनधानको दायरलाई फराकिलो बनाएको डिएसपी राई बताउँछन्। राईले भने,‘हत्याको कारण यकिन हुन सकेको छैन। हामी अनुसन्धानमै छौं।’

भुसालले गोदावारी नगरपालिका–१२ ठेंचोमा रोशन श्रेष्ठसँग मिलेर कृषि फर्ममा खोलेका थिए। त्यही कृषि फार्ममा कान्छीमायाले १४ हजार रुपैयाँ तलबमा काम गर्थिन्। कान्छीमायालाई कृषि फार्मको रेखदेख गर्ने जिम्मा पनि दिइएकाले त्यही फार्मनजिकै टहरोमा बस्ने व्यवस्था पनि गरिएको थियो। कान्छीमाया आफ्ना साना तीन जना छोराछोरीका साथमा टहरोमै व्यवस्थितरुपमा बस्दै आएको प्रहरीले जनाएको छ। उनका श्रीमानका दुईवटा श्रीमतीमध्ये कान्छीमाया जेठी श्रीमती हुन्। उनी हप्तामा दुई-तीन दिन पालो पालो कान्छीमाया र बल्खुमा रहेकी कान्छी श्रीमतीसँग बस्दै आएका छन्।

भुसालको हत्या भएको १० दिन बितिसकेको छ। तर, हत्यामा संलग्न भएको अभियोगमा कान्छीमाया र उनका श्रीमान बाहेक अरु पक्राउ परेका छैनन्। हत्या गरिएका भुसालका आफन्तले भने घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। 'घटनाको चुरोमा प्रहरी पुग्नु पर्यो। एक जना ९० केजी र ६ फिट अग्लो व्यक्तिलाई एक जनाले नै त्यति सजिलै हत्या गर्यो भन्ने विश्वास गर्न गाह्रो भइरहेको छ' भुसालका आफन्त सुवर्ण पौडेलले भने 'घटनालाई एउटा सतही बयानका आधारमा मात्र नहेरियोस् भन्ने माग हाम्रो हो।' 

गाउँमा सज्जन र इमान्दार व्यक्तिको परिचय बनाएका भुसाल एयरलाइन्सका पनि जागिरे थिए। भुसालकी श्रीमती शोभाले आफ्ना श्रीमानलाई षड्यन्त्रपूर्वक मारिएको र घटनालाई कमजोर बनाउन अनेकन बाहना बनाइएको बताएकी छिन्। ‘म वोल्न सक्ने अवस्थामा छैन। तर हत्यारालाई कारवाहीको दायरामा ल्याउन प्रहरीले कुनै कसुर बाँकी राख्नु हुँदैन,’ उनले भनिन्। मृतककी श्रीमती शोभाले हत्यामा एक जना नभएर ठूलो समूह सक्रिय रहेको दाबी पनि गरेकी छिन्। शोभाले हत्याको विषयमा भ्रामक हल्ला फिँजाइएको दाबी पनि गरेकी छिन्।

प्रकाशित २७ साउन २०७४, शुक्रबार | 2017-08-11 19:11:17

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...

  • मंसिर ४ र २१ मा एकै पटक प्रदेश र केन्द्रको चुनाव

    शीर्ष नेताहरु र आयोगको पदाधिकारीहरुबीच मंसिर ४ गते हिमाली र पहाडी क्षेत्रका ३१ जिल्ला तथा २१ गते बाँकी जिल्लामा चुनाव गर्ने सहमति भएको बालुवाटार...

  • ‘माओवादीमा प्रवेश होइन, ध्रुविकृत हुँदैछौं’

    नयाँ शक्ति नेपालका सहसंयोजक देवेन्द्र पौडेलसहित झण्डै डेढ दर्जन नेताहरु संयोजक डा. बाबुराम भट्टराईको कार्यशैलीप्रति असन्तुष्ट छन्। यतिसम्म कि,...