दक्षिण कोरियामा गुल्मीका एक युवाको कार्यस्थल दुर्घटनामा मृत्यु

.
दक्षिण कोरियामा कार्यस्थल दुर्घटनामा परी एक नेपाली युवाको ज्यान गएको छ। गुल्मी वाग्ला–७, अज्मिरका अन्दाजी ३१ वर्षीय विष्णु घिमिरेको कार्यस्थल दुर्घटनामा ज्यान गएको हो।

जिन्जुस्थित कुखुराको अण्डा प्रशोधन गर्ने मेसिन बिग्रिएपछि चिगेछा (गह्रौँ सामान उचाल्न र सार्न प्रयोग गरिने गाडी) को सहायताले त्यसलाई बनाउन खोज्दा फिता चुँडिएर घिमिरेको टाउकोमा लागेको थियो। चुडिँएको फिताले लागेपछि ढलेका उनलाई उपचारका लागि जिन्जुस्थित स्थानीय अस्पतालमा पुर्‍याएएको थियो। 

अस्पताल पुर्‍याएको केही समयमै उनलाई मृत घोषित गरिएको उनका सहकर्मीले बताएका छन्।

घिमिरे इपिएसमार्फत् २२ महिनाअघि कामका लागि कोरिया आइपुगेका र कम्पनी परिवर्तन गरेर त्यहाँ पुगेका थिए।

यसैबीच सिओलस्थित नेपाली दूतावासले पनि घटनाका बारेमा कोरियली प्रहरीले फ्याक्समार्फत रिपोर्ट पठाएर जानकारी गराएको बताएको छ। घटनाका बारेमा घर परिवारलाई शनिबार नै जानकारी गराइएको गुल्मी सम्पर्क समितिका अध्यक्ष समेत रहेका गान्धिव सुवेदीले जनाएका छन्।

दूतावासका अधिकारीहरु सोमबार घटनास्थल पुगेर विस्तृत जानकारी लिने तयारीमा रहेको बुझिएको छ। कृषि क्षेत्र अन्तरगत अण्डा प्रशोधन गर्ने उक्त कम्पनीमा अन्य तीन नेपाली कार्यरत रहेका छन्।

प्रकाशित 2017-08-07 14:05:14