पोखरा महानगरभित्र होडिङबोर्डः कमिसनमाथि कमिसन



स्मार्ट सिटी पोखरा महानगरपालिका छिर्ने जुनसुकै सीमाना देखिन्छ, विभिन्न कम्पनीका ठूलासाना होडिङ बोर्ड। जहाँ विभिन्न विज्ञापन सामाग्रीसँगै लेखिएको हुन्छ, पोखरामा स्वागत छ।

महानगरको सीमानादेखि बजार क्षेत्रका घरका छत, सार्वजनिक ठाउँ, बिजुलीका पोल लगायत विभिन्न ठाउँमा ठड्याइएका तथा टाँगिएका अव्यवस्थित होडिङबोर्डले पोखरालाई कुरुपमात्रै बनाएको छैन पोखरा महानगरको ठूलो रकम पनि गुमेको छ।

पोखरा महानगरले पोखरा उद्योग वाणिज्य संघलाई र वाणिज्य संघले विराट नगरको छाँया एड्भटाइजिङ, अनि त्यसले पनि यहाँका विभिन्न साना विज्ञापकन कम्पनीलाई ठेक्कामा दिँदा ठूलो रकमको चुहावट भएको छ। पोखरा महानगरले पोखरा उद्योग वाणिज्य संघलाई वार्षिक जम्मा २२ लाख रुपैयाँमा ठेक्का दिएको छ। जबकि पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगा, अमरसिंहचोक, सभागृहचोक लगायतका विभिन्न ठाउँ र सार्वजनिक ठाउँको नमूना लिने हो भनेमात्रै पनि वार्षिक रुपमा झन्डै २ करोड रुपैयाँ उठ्ने आंकलन महानगरकै राजश्वसहितको टोलीले आंकलन गरेको थियो। यी नमूना ठाउँ छाडेर सीमाना क्षेत्र तथा अन्य बजार क्षेत्रबाट पनि ठूलो रकम उठ्छ।

नगरपालिकाले उद्योग वाणिज्य संघलाई ठेक्का दिँदा नै कम रकममा दिएको छ भने उद्योग वाणिज्य संघले ठूलै नाफा कमाउने गरी विराटनगरको छाँया एड्भटाइजिङलाई ठेक्का दिएको छ। छाँयाले फेरि पोखराका विभिन्न एड्भटाइजिङ कम्पनीलाई नाफा लिएरै दिने गर्दा तहअनुसार रकम चहावट भएको महानगरकै निर्वाचित जनप्रतिनिधिले आवाज उठाएका छन्।

पोखरा नगरसभाको तेस्रो तथा अन्तिम दिन बैठकमा बोल्ने अधिकांश सभासदले पोखरा उद्योग वाणिज्य संघसँग ठेक्का खारेज गरी महानगरपालिकाले आफैंले होडिङबोर्डको टेन्डर आह्वान गर्नुपर्ने बताएका छन्। बिहीबार प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा होडिङबोर्डमार्फत एक करोड रुपैयाँ राजश्व संकलन गर्ने उल्लेख गरिएको छ तर नीति तथा कार्यक्रम र बजेट सबै पारित भए पनि होडिङबोर्डलाई महानगर मातहातमै ल्याउने निर्णय भने हुन सकेन।

पोखराको नगर बैठकमा शनिबार बोल्ने अधिकांश सभासदले होडिङबोर्ड व्यवस्थापनप्रति आवाज उठाउँदै यसमा ठूलो रकम चलखेल भएकोसमेत बताएका छन्। ‘होडिङ बोर्ड व्यवस्थापन गरेर पोखरालाई सुन्दर बनाउने कुरामा हामी कटिबद्ध छौं,’ पोखराका मेयर मानबहादुर जिसीले भने, ‘होडिङबोर्डबाट महानगरको ठूलो रकम गुमेको छ भन्ने आवाज उठेको छ। बढीमा १ देखि २ महिनाभित्र अहिलेको अवस्था बुझ्ने होडिङबोर्ड व्यवस्थापनलाई महानगरकै मातहतमा ल्याउने छौं।’
बैठकमा शनिबार बोल्ने १५ जना सभासदमध्ये अधिकांशले होडिङ बोर्ड, फोहोरमैला, ल्यान्डफिल, पार्किङ लगायत अन्य पूर्वाधार विकासमा केन्द्रित भएर बोलेका थिए।

होडिङबोर्डलाई व्यवस्थित गर्न तत्काल सार्वजनिक ठाउँ र बिजुलीका पोलबाट सबै होडिङ तथा प्रचार सामाग्री हटाउन बैठकले कार्यपालिकालाई जिम्मा दिएको छ। ‘सार्वजनिक ठाउँ र बिजुलीका पोलबाट सबै होडिङ तथा प्रचार सामाग्री हटाउने र निजी घरमा दिँदा पनि मापदण्ड बनाएर दिने गरी कार्यपालिकाले तयारी थाल्ने निर्णय भएको छ,’ वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले भने, ‘हाडिङ बोर्डको आकार र रङको बनाइने भएको छ।’

होडिङको आकार एउटै बनाउने निर्णय भएको र त्यसको आकार चाहिँ कत्रो बनाउने भन्ने बारे कार्यपालिकालाई जिम्मा दिइएको मेयर मानबहादुर स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए। अहिले पोखरामा निजी घर तथा जग्गामा होडिङ राख्दा र होडिङ माग गर्ने कम्पनी वा व्यापारीसँग ठेक्का पाएको कम्पनीले बार्गेनिङ गर्ने गरेको छ।

यस्तै अब पोखराका कुनै पनि ठाउँमा जेसिबी लगाउँदा महानगरको अनुमति नलिइ लगाउने नपाइने भएको छ। अहिलेसम्म जिल्ला समन्वय समितिको अनुमति लिएर जेसिबी लगाइने गरेको भए पनि अब महानगरको अनुमति लिनुपर्ने महानगरको नगर बैठकले निर्णय गरेको हो। कसैले महानगरको अनुमति नलिइ जेसिबी लगाए पहिलो पटक ५० हजार रुपैयाँ, दोस्रो पटक लगाए १ लाख र तेस्रो पटक पनि लगाए सामानै जफत हुने गरी महानग बैठकले निर्णय गरेको छ।

यस्तै महानगरमा फोहोरमैला व्यवस्थापन गर्न कुनै वडाले इच्छा व्यक्त गरे वडालाई नै जिम्मा दिने र वडाले जिम्मा नलिएका ठाउँमा समयमा गाडी पठाउने व्यवस्था गर्न बैठकमा आवाज उठेको छ। महानगरभित्र बाढी तथा पहिलोमा परेका विभिन्न ठाउँमा पीडितलाई सहयोग, व्यवस्थापन र समवेदना व्यक्त गर्ने पनि वैठकले निर्णय गरेको छ। महानगरको नाम परिवर्तन गर्ने सम्बन्धमा पहिलो बैठकमा छलफल गरिने बताइए पनि विषय नै प्रवेश गरेन।

सबै नीति तथा कार्यक्रम र बजेट, विभिन्न ऐन, विनियम, कार्यविधि सबै पारित गर्दै बिहीबारदेखि सुरु महानगरको प्रथम नगर बैठक शुक्रबार सकिएको छ।

प्रकाशित १ साउन २०७४, आइतबार | 2017-07-16 12:48:33

प्रतिकृया दिनुहोस

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • निसानामा विमलेन्द्र निधि

    जनकपुरको चुनावी इतिहास केलाउने हो भने २०१५ साल यता अहिलेसम्म पार्टीका उम्मेदवारले जनकपुरमा चुनाव जित्न सकेका छैनन्। तर, यो क्रम झण्डै ६० वर्षपछि...

  • वीरगञ्ज महानगरमा महाटक्कर

    वीरगञ्जको मतगणना पटकपटक स्थगित भइरहेको छ। अहिलेसम्म झण्डै १६ हजार ७ सय मत गन्दासम्मको परिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली...

  • १६ वर्षे प्रतिभाको भलिबल यात्रा

    नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार खेलाडी प्रतिभा माली तीनहप्ते प्रशिक्षणका लागि बिहीबार नेदरल्याण्ड प्रस्थान गर्दैछिन्। नेपाली महिला भलिबल...

  • ‘अब दिल्लीले नाक खुम्च्याउँदैन’

    भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय दिल्लीमा कुटनीतिको दोस्रो ‘इनिङ’मा छन्। अघिल्लो पटक उनलाई केपी ओली सरकारले फिर्ता बोलाएपछि पुष्पकमल...