मनालीमा बाटो खन्दाखन्दै प्रहरी फन्दामा पूजा

राजकुमार श्रेष्ठको अपहरण र हत्यारोपी पूजाका बाबुछोरी पक्रन यस्तो ‘साइलेन्ट अपरेशन’



प्रारम्भमा चार जना पक्राऊ परेपछि तुलसीपुर उपमहानगरपालिका–५, का ५३ वर्षीय व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्याकाण्डबारे खुलासा भइसकेको थियो। जेठ २६ गते साँझ तुलसीपुरबाटै अपहरणमा परेका व्यापारी श्रेष्ठको शव २१ दिनपछि सल्यानका छत्रेश्वरी गाउँपालिका–४, झिम्पेरेन्जको लेक भञ्ज्याङस्थित जंगलमा फेला परेसँगै प्रहरीले उनको अपहरण र हत्यामा संलग्नहरुको पहिचान गरिसकेको पनि थियो।

अपहरणसँगै हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तुलसीपुर–१२, का कमल भनिने अबिरल महतराको बयानका आधारमा तुलसीपुर उपमहानगरपालिका–६, स्याउली बजारकी २० वर्षीया युवती पूजा घर्तीमगरको हात रहेको खुलासा भयो। व्यापारी श्रेष्ठको अपहरणका लागि मूख्य भूमिका खेलेकी पूजा, उनका बाबु ४० वर्षीय टिकाराम घर्ती मगर र सल्यान झिम्पे–४ का ३५ वर्षीय मानबहादुर भण्डारीलाई प्रहरीेले ‘मोष्ट वान्टेड’ सूचीमा राख्यो। त्योसँगै व्यापारी श्रेष्ठको अपहरणको योजना नाताले पूजाका मामा पर्ने मानबहादुर भण्डारी र बाबु टिकाराम घर्तीमगरले बुनेको पनि पत्ता लगायो।

व्यापारी श्रेष्ठसँग पूजाको हिमचिम रहेको थाहा पाएपछि मामा मानबहादुर र बाबु टिकारामले नै उनलाई प्रयोग गरेर अपहरणको योजना बनाएका थिए। उनीहरुकै योजना अनुसार पूजाले व्यापारी श्रेष्ठलाई सल्यान घुम्न जाउँ भनेर जेठ २६ गते साँझ लगेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएपछि उनीहरुको खोजीमा प्रहरी लाग्यो। केन्द्रीय अनुसन्धान व्युरो, अपराध अनुसन्धान महाशाखा काठमाडौंसँगै सल्यान र दाङका प्रहरी मिलेर जसरी पनि पूजाका बाबुछोरीलाई फन्दामा पार्ने योजना बनायो। तर, सजिलो थिएन।

व्यापारी श्रेष्ठको अपहरण र हत्यापछि फरार रहेका उनीहरु कहाँ छन् भनेर पत्ता लगाउन पूजाकी आमा तारा घर्ती मगरको फोन टेपिङ गरिरहेको थियो प्रहरीले। पूजाले उनकी आमा तारालाई दुई–तीन पटक गरेको फोनका आधारमा प्रहरीले पत्ता लगायो, बाबु टिकाराम र मामा मानबहादुरसँगै पूजा भारतमा छिन् भनेर। पूजाले आमा तारालाई भारतीय नम्बरबाट गरेको फोनका आधारमा प्रहरीले उनीहरु भारतको हिमाञ्चल प्रदेशको कुल्लु मनालीमा रहेको पत्ता लगायो।

व्यापारी श्रेष्ठको अपहरणमा मुख्य भूमिका खेलेकी पूजासँगै उनका बाबु टिकाराम र मामा मानबहादुर भारतको मनालीमा रहेको थाहा पाएपछि प्रहरीले भारतीय प्रहरीसँग उनीहरुलाई पक्राउ गर्न सहयोग माग्यो।

भारतीय प्रहरीले सहयोग गर्ने जनाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्नका लागि प्रहरी निरीक्षक प्रमोद खत्रीको नेतृत्वमा तीन सदस्यीय टोलीलाई भारत पठायो। भारतको मनालीमा रहेको पत्ता लाग्ना साथ दाङबाट हिडेको टोली तीन दिन लगाएर असार २३ गते त्यहाँ पुग्यो।

नेपालबाट गएको तीन सदस्यीय टोलीसँगै भारतीय प्रहरीले ६ जना सुरक्षाकर्मी खटाइदिएको थियो। नेपालबाट गएका तीन प्रहरी र भारतका चार प्रहरी ‘सिभिल ड्रेस’मा थिए भने दुई जना भारतीय प्रहरीमात्रै ड्रेसमा खटिएका थिए। पश्चिम नेपालका विभिन्न स्थानबाट श्रम गर्न भारतको हिमाञ्चल जाने चलन उहिल्यैदेखिको हो। पूजाका मावलीतिरका हजुरबुबा पनि २८ वर्षदेखि भारतको मनालीमै बस्दै आएका रहेछन्।

भारत पुगेपछि पूजा, उनका बाबु टिकाराम र मानबहादुर सिधै मनाली पुगेको प्रहरीले जनाएको छ। प्रहरी उच्चस्रोतका अनुसार पैसा सकिएपछि मावली हजुरबुवाकोमा गएको पूजाले बयानका क्रममा स्वीकार गरिसकेकी छिन्। उनीहरुलाई पक्राउ गर्न सादा पोसाकमा नेपालबाट र भारतबाट खटिएको प्रहरीको टोली पुग्दा पूजाका बाबु टिकाराम र मानबहादुर बाटो खनिरहेका थिए भने पूजा पनि भर्खर बाटो खन्ने काम गरेर मावली हजुरबुबाको डेरामा पुगेकी थिइन्।

बाटो खनिरहेका टिकाराम र मानबहादुरलाई प्रहरीले त्यहीबाट पक्राउ गर्यो भने पूजालाई मावली हजुरबुबाको डेराबाट। प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि टिकाराम र मानबहादुर पटक-पटक भाग्ने कोशिश गरेका थिए। तर, उनीहरुको त्यो कोशिश भने सफल हुन नदिइएको प्रहरीका एक अधिकृतले नेपालखबरसँग भने। उनका अनुसार व्यापारी श्रेष्ठको अपहरणपछि हत्या गरेसँगै प्रहरीबाट बच्न मनालीस्थित आफन्तको शरणमा पुगेका हुन्।

पक्राउ गर्न प्रहरी सफल भएपछि उनीहरुलाई सिधै बाँकेको रुपैडिया नाकामार्फत नेपालगञ्ज हुँदै असार २६ गते राति तुलसीपुर ल्याइएको थियो। उनीहरुलाई तुलसीपुर ल्याइएपछि मात्रै पक्राउ परेका मुख्य योजनाकार भनिएका तुलसीपुर–८ का २८ वर्षीय भुपेन्द्र भण्डारी र तुलसीपुर–११ कटाहाका ३० वर्षीय खुमबहादुर केसीसँगै ६ जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। उनीहरु पक्राउ परेपछि घोराही हापुरका रणबहादुर घर्ती मगरको पनि हत्या भएको खुलासा भएको थियो।

पूजा आफ्ना मामा र बाबुसहित भारतको मनालीमा छिन् भन्ने थाहा पाएपछि प्रहरीले आफ्नो टोली भारत पठाउने र उनीहरुलाई पक्रने योजना बनाएको थियो। ‘यस्ता अपरेशनहरुलाई कुनै न कुनै नाम दिइन्छ तर यो अपरेशनलाई पनि कुनै औपचारिक नाम दिइएन’ अनुसन्धानमा संलग्न प्रहरीका एक उच्च अधिकृतले भने, ‘तर हामीले यसलाई साइलेन्ट अपरेशन भनेर बुझेका छौं।’

प्रहरीले पत्रकार सम्मेलन गरी पूजासँगै उनका बाबु टिकाराम र मानबहादुरलाई बाँकेको डुडुवा गाउँपालिका–६ स्थित नेपाल भारतको सिमानामा पर्ने हिरमोनिया भन्ने ठाउँबाट पक्राउ गरेको थियो। तर, प्रहरीको उच्च स्रोतले भने पूजासहित तीनै जनालाई भारतको कुल्लुको मनालीबाट पक्राउ गरिएको जनाएको छ। 

सम्बन्धित समाचार:

पूजाको बयानः डेटिङमा डाकेर अपहरण गराएँ

अपहरणमा परेका व्यापारी राजकुमारसँगै ठेकेदार रणबहादुरको पनि हत्या भएको खुलासा

डेढ महिनादेखि हिमचिम, अपहरणको दिन २०–२५ पटक सम्पर्क

छोरी अपहरण र हत्याको शिखण्डी, बाबु योजनाकार

यी हुन् तुलसीपुरका व्यापारी श्रेष्ठको हत्याका मुख्य योजनाकार

अपहरणमा परेका व्यापारी श्रेष्ठभन्दा डेढ घण्टाअघि रणबहादुरको हत्या

अपराधले जन्माएको अर्को यस्तो अपराध

प्रकाशित ३० असार २०७४, शुक्रबार | 2017-07-14 15:22:45

प्रतिकृया दिनुहोस

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • निसानामा विमलेन्द्र निधि

    जनकपुरको चुनावी इतिहास केलाउने हो भने २०१५ साल यता अहिलेसम्म पार्टीका उम्मेदवारले जनकपुरमा चुनाव जित्न सकेका छैनन्। तर, यो क्रम झण्डै ६० वर्षपछि...

  • वीरगञ्ज महानगरमा महाटक्कर

    वीरगञ्जको मतगणना पटकपटक स्थगित भइरहेको छ। अहिलेसम्म झण्डै १६ हजार ७ सय मत गन्दासम्मको परिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली...

  • १६ वर्षे प्रतिभाको भलिबल यात्रा

    नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार खेलाडी प्रतिभा माली तीनहप्ते प्रशिक्षणका लागि बिहीबार नेदरल्याण्ड प्रस्थान गर्दैछिन्। नेपाली महिला भलिबल...

  • ‘अब दिल्लीले नाक खुम्च्याउँदैन’

    भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय दिल्लीमा कुटनीतिको दोस्रो ‘इनिङ’मा छन्। अघिल्लो पटक उनलाई केपी ओली सरकारले फिर्ता बोलाएपछि पुष्पकमल...