जङ्गबहादुर पछ्याउँदै हाम्रो शिक्षा



केयू

झन्डै पौने दुई सय वर्षअघि नेपालमा १०४ वर्षे निरङ्कुश शासन व्यवस्थाका सूत्रधार जङ्गबहादुर राणाले एक वर्ष लगाएर बेलायत भ्रमण गरेका थिए। उनले नेपालदेखि युरोपसम्मको सडक र जलमार्ग भएर महिनौँ लामो यात्रामार्फत बेलायत पुग्दा बीचमा पर्ने थुप्रै देशका परिवर्तन र विकास देख्न पाएका थिए। लामो बेलायत बसाइका क्रममा त्यहाँको विकासको गति र अन्तर्निहित पूर्वाधार हेरेर दङ्ग परेका जङ्गबहादुरमा आफ्ना सन्तानलाई पनि बेलायती शैलीको शिक्षा स्वदेशमै दिने रहर जाग्यो।

उनले बेलायत भ्रमणपछि वि.सं. १९१० मा आफ्ना सन्तानलाई अङ्ग्रेजी शिक्षा दिन थापाथली दरबारमा अङ्ग्रेजी स्कुल खोले। यो नै नेपालको शैक्षिक इतिहासमा पहिलो औपचारिक अङ्ग्रेजी स्कुल थियो।

‘अरूका कुरा छाडिदेऊ, आफ्ना छोरालाई अङ्ग्रेजी पढाऊ।’

भनिन्छ त्यतिबेला भारदारी छलफलमा दुनियाँको शिक्षाका बारेमा पनि कुरा उठ्दा जङ्गबहादुरले यही उत्तर दिएका थिए। उनको यो भनाइ नै खासमा शिक्षासम्बन्धी ‘जङ्गे नीति’ थियो। उनको यो नीतिलाई विश्लेषण गर्दा ६ वटा तथ्यहरू उजागर हुन्छन्। पहिलो, जसरी पनि आफ्ना सन्तानलाई अङ्ग्रेजी माध्यममा शिक्षा दिनुपर्छ । दोस्रो, नागरिकको शिक्षाको दायित्व राज्यको नभई व्यक्ति र परिवारकै हो। तेस्रो, राज्यले विदेशी शिक्षा पद्धतिको भद्दा नक्कल गर्नुपर्छ । चौथो, विदेशीकोजस्तो शिक्षा जसरी पनि आफ्ना छोराछोरीलाई दिनुपर्छ । पाँचौँ, राज्यको शिक्षा नीति तथा कार्यक्रम सत्तामा रहेका व्यक्ति र कर्मचारीतन्त्रको खास झुन्डको स्वार्थ र हैकममा चल्नुपर्छ र छैठौँ, विशेषगरी छोरालाई चाहिँ अङ्ग्रेजी शिक्षा दिनुपर्छ। यिनै सैद्धान्तिक आधारमा उभिएको नीति तथा पद्धतिलाई शिक्षासम्बन्धी ‘जङ्गे नीति’का रूपमा बुझिन्छ।

विडम्बना, पौने दुई सय वर्षअघिका जङ्गबहादुरको यो जङ्गे नीतिकै मार्गमा आजको गणतान्त्रिक नेपालको शिक्षा पनि हिँड्दै गरेको देखिन्छ ।

जङ्गे शिक्षा नीतिको पहिलो विशेषता हो, अङ्ग्रेजी भाषाप्रतिको अन्धाकर्षण। उनको अंग्रेजी भाषाप्रतिको आकर्षण आफूले अंग्रेजी नजानेको र दोभाषेबाट अंग्रेजहरुसँग कुरा गर्दा आफूले भनेका धेरै कुरा छुट्यो भन्ने मनोविज्ञानले पनि काम गरेको हुनसक्छ। जेहोस्, अहिलेको नेपालमा निजी विद्यालयहरू जाग्दा छन् र सार्वजनिक शिक्षा निरीह बन्दै छ। अभिभावकलाई अङ्ग्रेजी भाषा चाहिएको छ।

विश्वमा अङ्ग्रेजी भाषाको बढ्दो प्रभावलाई त स्विकार्नुपर्छ। अमेरिकाको टोसन युनिभर्सिटीका अङ्ग्रेजी भाषाका इतिहासकार डा. इड्विन डुनकाको अनुमान छ, सन् २०२० सम्ममा संसारका दुई अर्ब मान्छे अङ्ग्रेजी बोल्ने हुनेछन्। आजको विश्वमा दोस्रो भाषाका रूपमा अङ्ग्रेजी सिकाउने काम अर्बौं डलर कारोबार हुने व्यवसाय बनेको छ। तर, अङ्ग्रेजी भाषा आफैँमा त केही होइन भन्ने कुरा अङ्ग्रेजी भाषा नबोलिने जापान, चीनलगायत विकसित युरोपको ज्ञान र प्रविधिले गरेको तरकी र उनीहरूको आत्मनिर्भरताले समेत पुष्टि गरेको छ। ती देशहरूको अनुभव हो, यदि भाषामा आफ्नो समाज संस्कृति र विषयवस्तु जोडिएर आउन सकेन भने त्यस्तो भाषामार्फत दिइने शिक्षाको खासै अर्थ हुन्न। यान्त्रिक रूपमा सुगा रटाइका रूपमा सिकाइने भाषा पनि जीवन्त हुन सक्दैन। अहिले भाषाविद्हरू पनि अङ्ग्रेजी भाषालाई विद्यार्थीको सामाजिक सांस्कृतिक सन्दर्भसँग जोड्न केन्द्रित भएका पाइन्छन्।

जङ्गे शिक्षा नीतिको अर्को विशेषता हो, शिक्षा राज्यको नभई व्यक्ति र परिवारको हुनु। आजको नेपालमा गुणस्तरीय शिक्षाको चिन्ता राज्यको नभई आफ्नो घरपरिवारको चिन्ताको विषयमै सीमित भएको छ । आमजनताका छोराछोरीको शिक्षाप्रतिको राज्यको निरीहता बढ्दै गएको छ। अधिकांश अभिभावक आफ्ना बालबालिका कुन स्कुलमा पढाउने भन्ने तनावबाट गुज्रिएका छन्।

विदेशी शिक्षा पद्धतिको अन्धनक्कल जङ्गे शिक्षा नीतिको अर्को विशेषता हो। आजका दिनमा विदेशी शिक्षा पद्धतिअनुसार पढाइने भन्दै निजी विद्यालयका साहुजीहरू विज्ञापन गर्छन्। स्वदेशीहरूबीच विदेशी विद्यालय–विश्वविद्यालयको सम्बन्धनका लागि होडबाजी चलेको छ। तर, राष्ट्रिय आवश्यकतामा आधारित शिक्षाको खाका कोर्ने जमर्को यहाँ गरिँदैन।

जङ्गे नीतिको अर्को विशेषता भनेको अङ्ग्रेजी माध्यम र विकसित देशको शिक्षा स्तरलाई देखाउँदै शिक्षा बजारलाई छाडिदिनु हो। यतिखेर शिक्षा बजारलाई छाडिएको छ र नाफामुखी बजारले निर्धारण गरेअनुसार शिक्षा पनि बजारी वस्तु भएको छ। निजी शिक्षालयहरू उपभोक्तामुखी कर्पोरेट हाउसमा रूपान्तरण भएका छन्। स्कुल र विश्वविद्यालय सम्भ्रान्त वर्गका हुँदै छन् । ज्ञान र प्राज्ञहरूको निजीकरण हुँदै छ। सार्वजनिक बौद्धिकहरूको खडेरी परेको छ। बजारमुखी शिक्षाले उत्पादित जनशक्तिलाई अत्यन्त व्यक्तिवादी बनाउँदै लगेको छ। युवामा थोरै मिहिनेत र सजिलै धेरै पैसा कमाउने ‘भ्यालु’ विकास भएको छ । यस्तो शिक्षाले व्यक्तिलाई पूर्णताको जीवन जिउन दिँदैन । आफू र आफ्ना परिवारबाहेक अरूको कल्याण सोच्नै नसक्ने, जीवन दर्शन, कला, साहित्य, संस्कृति तथा सामाजिक दृष्टिकोणबिनाको यान्त्रिक ज्ञानबाहेक अरू केही नहुने खोक्रो जनशक्ति उत्पादन हुँदै जाँदा आउँदो नेपाली समाजको चित्र डरलाग्दो देखापर्दछ।

जङ्गे शिक्षा नीतिको अर्को विशेषता हो, विदेशीको जस्तो शिक्षा जसरी पनि आफ्ना छोराछोरीलाई दिनुपर्छ। वर्षौंदेखि नेपालले अपनाएको यही नीतिका कारण सिर्जना भएको यो मनोविज्ञान आजको नेपालका सत्ता र शक्तिमा रहेकादेखि खाडी मुलुकमा काम गर्ने साधारण नेपालीसम्म विकास भएको छ।सत्ता र शक्तिमा रहेकाहरूको हुकुमी शासन जङ्गे शिक्षा नीतिको अर्को महत्वपूर्ण विशेषता हो। नेपालमा आज पनि सत्तामा रहेका र शिक्षा मन्त्रालयको उच्च तहमा बसेका कर्मचारीको हुकुम र लहडका भरमा शिक्षा नीतिहरू बन्छन् र बदलिन्छन्।

राणाकालीन समयदेखि आजको गणतान्त्रिक नेपालमा बनेका शिक्षाका आयोग, कार्यक्रम र तिनले सिफारिस गरेको नीति तथा कार्यक्रम हेर्दा नेपाललाई चाहिएको शिक्षालाई पूर्णतामा पहिचान गरी त्यस्तो शिक्षाको अभियानमा अघि बढ्न सकिएको छैन। नेपालको शिक्षाका समस्यालाई आंशिक मात्र बुझ्ने र शिक्षा विकासका टुक्रेटाक्रे कार्यक्रम ल्याउने रोग आजपर्यन्त छ। एउटा परियोजनाले केवल अर्को परियोजना जन्माउने, व्यवस्था परिवर्तनपिच्छे शिक्षा आयोगहरू गठन हुने, तर ती आयोगका राम्रा कुराको निरन्तरता नहुने प्रवृत्ति पनि वर्षौंदेखि उस्तै छ। आफ्नो राजनीतिक सिद्धान्तबमोजिम भिन्न शिक्षा पद्धतिको रहर गर्ने, तर त्यसलाई ठोस व्याख्या र कार्यक्रमबिना स्तुतिगान, शब्दजाल र अमूर्त नारामै सीमित हुने समस्या निरन्तर छ। यिनै कारणको योगफलस्वरूप बदलिँदो समय र राष्ट्रिय–अन्तर्राष्ट्रिय अन्तरसम्बन्धले स्वतः निम्त्याउने मात्रात्मक परिवर्तनबाहेक नेपालको शिक्षा क्षेत्रले गुणात्मक फड्को मार्न सकेन ।

नेपालको अर्थ–राजनीति र सामाजिक–सांस्कृतिक सम्बन्धहरूलाई उजागर गरी समग्रतामा शिक्षा विकासको ‘मूलबाटो’ पहिल्याउने काम हुन सकेन ।जङ्गे शिक्षा नीतिको अर्को विशेषता हो, विशेषगरी छोरालाई चाँहि अङ्ग्रेजी शिक्षा दिनुपर्छ। आजका दिनमा राज्यले त यस्तो भन्दैन, तर अझै नेपाली समाजमा छोरीलाई स्कुल नपठाउने र पठाए पनि छोरालाई अङ्ग्रेजी माध्यमको निजी स्कुलमा र छोरीलाई नेपाली माध्यमको सरकारी स्कुलमा पठाउने प्रवृत्ति छ।

शताब्दीऔँदेखि अपनाउँदै आएको यही ‘जङ्गे शिक्षा नीति’का कारण नेपालले शिक्षा र शिक्षाको जगमा उभिने राष्ट्रिय विकासमा ठूलो घाटा बेहोरेको छ। आजका दिनमा त जङ्गे शिक्षा नीति झनै झाङ्गिएको छ। यतिका वर्षमा बनाएका आयोग, तिनले गरेका सिफारिस र कार्यान्वयनको अवस्थालाई हेर्दा नेपाल शताब्दीयौँदेखि ‘हिँड्दै पाइला मेट्दै’को गोलचक्करमा फसेको देखिन्छ। ज्यादै न्यून सकारात्मक पक्षबाहेक कमजोरीहरू नै ज्यादा छन्। नागरिकहरूमा आफ्नो देशको शिक्षाप्रति विश्वास छैन । शिक्षाबाट मानिसहरूले केवल आफ्नो आर्थिक लाभ खोजेको अवस्था छ। विद्यालय जाने उमेरका ४.७ प्रतिशत बालबालिका अझै बाहिरै छन्।

हाम्रो शिक्षा प्रणालीमा कक्षा १ मा भर्ना हुने बालबालिका एसएसलसीसम्म ३० प्रतिशत मात्रै पुग्छन् र ती ७० प्रतिशतको अवस्थाबारे सरकार बेखबर छ। दशकौँदेखि प्राविधिक तथा व्यावसायिक शिक्षाको कुरा गरे पनि गफमुखी शिक्षाकै निरन्तरता छ। हाम्रा सार्वजनिक विद्यालयहरूले आमजनतालाई सेवा गर्ने होइन, ‘आमजनता’ सिर्जना गर्ने काम गरेका छन्।

सङ्ख्यात्मक रूपमा विद्यार्थी सङ्ख्या बढ्नु, विद्यालय थपिनु उपलब्धि नै भए पनि गुणात्मक रूपमा राज्यले शिक्षामा गरेको लगानी ‘शिक्षित ग्राजुएट’हरूको जीवनसँग जोडिएर आउन सकेको छैन। अधिकांश आयोगहरूले शिक्षाको संरचना र पद्धतिका मात्रै कुरा गरे, तर विषयवस्तु, शिक्षण विधि र शैक्षिक वातावरणबारे भरपर्दो कुरै गरेनन्। राजनीतिक दलहरूबाट शिक्षाका नारा दिने काम मात्रै भयो, तर स्पष्ट खाका आउन सकेन। नेपालको यति लामो शैक्षिक इतिहासमा नेपाली शिक्षाका अनुभवहरूलाई संश्लेषण गर्ने काम हुन सकेन। व्यावहारिक ज्ञानको दस्ताबेजीकरण हुन सकेन बरु पश्चिमाहरूको आयातीत पद्धति, पाठ्यक्रम र अनुभवबाट हाम्रो शिक्षा व्यवस्था निर्देशित भइरह्यो।

नेपालभित्रै शिक्षा क्षेत्रमा लामो अध्ययन अनुभव भएका शिक्षक, शिक्षाविद्, कृषिविज्ञ, इन्जिनियरलगायत अन्य क्षेत्रका विज्ञहरूको खोजी गरी उनीहरूको ज्ञान तथा अनुभवलाई राज्यले उपयोग गर्ने नीति बनाउनतिर कसैको ध्यान जान सकेन। शिक्षकका अनुभवबाट पाठ्यक्रम, पाठ्यपुस्तक बन्न सकेनन्। जनताका ज्ञान उपयोग गर्ने जाँगर राज्यसँग छैन । काम,उत्पादन र पढाइसँगै जाने स्कुल अथवा पढेका सिद्धान्तलाई व्यवहारमा हेर्न लगाउने शिक्षा व्यवस्था छैन। नेपालले जङ्गे नीतिकै कारण शिक्षाप्रति जागरण ल्याउन सकेन ।पढाइका सन्दर्भमा जागिरमुखी, आर्थिक र भौतिक लाभमुखी सोच हाबी भयो । नेपालमा पढ्नु भनेको आफ्नो परम्परागत पेसा र थातथलो छोड्नु, सकेसम्म श्रमसँग नजोडिनु जोडिए पनि मानसिक श्रमसँग मात्रै जोडिने अर्थमा बुझिएको छ।

यसले मानसिक श्रम गर्नेहरू मात्रै बढ्दा मानसिक–शारीरिक श्रमको अन्तराल बढ्दै जान्छ। जबकि मानसिक र शारीरिक श्रमको सन्तुलनमा मात्रै मानव समाजको समृद्धि सम्भव छ।

नेपालको शिक्षा आममान्छेको पक्षमा र राज्यनिर्देशित भएन। प्राविधिक तथा व्यावसायिक शिक्षाको आवश्यकताबारे नेपालले धेरैअघिदेखि बहस चलाउँदै आएको भए पनि यो क्षेत्रमा विकास गर्न सकेको छैन। नेपालले सर्वप्रथम आजको अर्थ बजारमा कस्तो जनशक्ति आवश्यक छ भन्ने कुरा आँकलन गरी आफ्नो विकासको दीर्घकालीन रणनीति र योजना निर्माण गरी सोअनुरूप शिक्षाको ढाँचा र विषयवस्तुलाई एकाकार गराउन सकेन।

सबभन्दा महत्वपूर्ण कुरा नेपालको आर्थिक सामाजिक जगमा बसेर शिक्षाका कार्यक्रम तय भएनन्। अनि नेपालले विश्व अनुभवबाट सिकेर शिक्षा विकासको ‘आफ्नै मूलबाटो’ तय गर्न जरुरी थियो, तर हामी आफैँले अङ्गीकार गर्दै आएको जङ्गे शिक्षा नीतिले दिए । तसर्थ नेपालको शिक्षाका यी तमाम विकृति हटाई शिक्षाको ‘आफ्नै मूलबाटो’ तयार गर्न सर्वप्रथम सदियौँदेखिको ‘जङ्गे शिक्षा नीति’लाई उल्ट्याउन जरुरी छ।

– हालसालै प्रकाशित पुस्तक 'शिक्षा विमर्श'बाट

प्रकाशित ३ असार २०७४, शनिबार | 2017-06-17 17:28:20
author photo

राजकुमार बराल शिक्षा विषयका जानकार हुन्


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...