हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

छानबिन प्रभावित पार्न चलखेल

प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक नेतृत्वलाई प्रभाव पार्न प्रयास गरेका छन्।

राजपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिलकुमार झाले फागुन २९ र ३० गते हायात होटलमा बिताएका थिए। उनीहरु सबै संघीय सांसद हुन् र भण्डारी त आर्थिक अनियमितता छानबिन गर्ने संसदको सार्वजनिक लेखा समिति सदस्य पनि हुन्।

अख्तियार, संसदसहित राज्यका तीन अंगबाट छानिबन भइरहँदा त्यसलाई प्रभाव पार्न उनीहरुले राजपा अध्यक्षमण्डलका नेताहरुलाई ‘कम्प्लिमेन्ट्री रिट्रट’ दिएका छन्।

२५ अर्बभन्दा बढीको सरकारी सम्पत्ति आफ्नो बनाउने प्रक्रियामा रहेका निजी साझेदारहरु राधेश्याम सारफ तथा रामलाल श्रेष्ठ परिवार सदस्यले सम्पूर्ण खर्च छुटसहित उनीहरुलाई होटलमा निमन्त्रणा गरेका हुन्। सार्वजनिक निजी साझेदारी अन्तर्गत २५ वर्षअघि तारागाउँ होटल्स लिमिटेड स्थापना भएको थियो। यसमा सरकारको तर्फबाट तारागाउँ विकास समिति साझेदार छ।

हायातको आतिथ्यता पाउने राजपा अध्यक्ष मण्डलका नेताहरुमा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिलकुमार झा छन। उनीहरुले फागुन २९ र ३० दुई दिन, दुई रात हायातमा बिताएका हुन्। उनीहरु सबै संघीय सांसद पनि हुन्। भण्डारी आर्थिक अनियमितता छानिबन गर्ने संसदकाे सार्वजनिक लेखा समिति सदस्य पनि हुन्।

हायात हाेटल

हायात हाेटल

‘तारागाउँ रिजेन्सी होटल्सको गेस्ट बनेर राजपाका शीर्ष नेताहरु बुधबार होटल आउनु भएको थियो। शुक्रबार १२ बजेतिर चेक आउट हुनुभयो’, हायात स्रोतले नेपालखबरसँग भन्यो, ‘उहाँहरुलाई तारागाउँ रिजेन्सी होटल्सले कम्प्लिेमेन्ट्री सेवा उपलब्ध गराएको हो।’

हायात पाँचतारे होटल हो। स्रोतअनुसार उनीहरुले निःशुल्क पाएको सेवा पैसा तिर्ने हो भने तीन लाख रुपैयाँभन्दा बढीको हो।

हायात होटलका जनसम्पर्क अधिकृत गोविन्दराम परियारले राजपा नेताहरुलाई निःशुल्क रिट्रट दिएको आफूलाई थाहा नभएको बताए।

सराफ र श्रेष्ठ परिवारले सेयर संरचनामा जालझेल एवं गैरकानुनी रुपमा जग्गा हत्याएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति तथा भूमिसुधार मन्त्रालयले छुट्टाछुट्टै छानिबन गरिरहेका छन्।

राजपाका नेता अनिल झाले नेपालखबरसँग कुराकानी गर्दै अध्यक्ष मण्डलको बैठक हायातमा भएको र होटल व्यवस्थापनबाट सम्पूर्ण खर्च निःशुल्क पाएको स्वीकार गरे।

‘होटल सञ्चालकको अनियमितताबारे कुन समितिले छानिबन गरिरहेको हो मलाई जानकारी छैन’, नेपालखबरसँग कुराकानी गर्दै उनले भने, ‘म रहेको संसदीय समितिमा यो विषय परेको छैन।’ स्वामित्व विवाद र राजपा नेताहरुको होटल बसाइबीच सम्बन्ध नरहेको उनको दाबी छ। झा संसदको विकास तथा प्रविधि समिति सदस्य हुन्। 

छानबिन प्रभावित पार्न कोसिस

राज्यको सम्पत्ति गैरकानुनी रुपमा हत्याएको विषयमा तीब्र मिडिया कभरेज एवं छानिबन सुरु भएपछि हायतका निजी साझेदारहरुले राजनीतिक नेतृत्वसँग पहुँच पुर्याउन गत साउनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व राज्यमन्त्री जीतु गौतमलाई आकर्षक तलबसहित परामर्शदाताको रुपमा नियुक्त गरेका थिए। मासिक १ लाख ७० हजार रुपैयाँ तलब बुझ्ने उनको मुख्य जिम्मेवारी गैरकानुनी रुपमा होटल हत्याउने प्रयासलाई राजनीतिक संरक्षण खोज्नु रहेको छ।

केही समयअघि उनले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा रहेका सांसदहरुलाई निजी साझेदारसँग भेटवार्ता गराउने प्रयास गरेका थिए। सांसद अग्नि सापकोटाको संयोजकत्वमा गठित उपसमितिले यो विषयको छानबिन गरिरहेको छ। स्रोतका अनुसार गौतमले संयोजक सापकोटासँग पनि अनौपचारिक भेटवार्ता मिलाउन खोजेका थिए। 

‘सांसद सापकोटाले होटल सञ्चालकहरुले आफ्नो कुरा राख्ने हो भने उप समितिमा बयानका लागि बोलाउन सकिने जावफ दिनुभयो’, संसदीय समिति स्रोतले नेपालखबरसँग भन्यो, ‘उहाँहरुका प्रतिनिधिले कुरा राखेर गइसकेको अवस्थामा सोही विषयमा अनौपचारिक वा एक्लै भेट्न मान्नु भएन। त्यसपछि गौतम निरास भएर फर्किए।’

परामर्शदाता गौतमले आफू छानबिन संयोजक सांसद सापकोटालाई भेट्न नगएको दाबी गरे। ‘व्यवस्थापकहरुले भेट्नुभयो होला म गएको छैन,’ उनले नेपालखबरसँग भने।

तारागाउँ होटल्स लिमिटेडमा २५ वर्ष अगाडि सरकारले बौद्धको १५० रोपनी जग्गा र त्यसमा बनेको संरचनालाई २ करोड रुपैयाँ मूल्यांकन गरी १७ करोड रुपैयाँ लगानी गरेको थियो। त्यसबापत सरकारले ३९.७७ प्रतिशत शेयर पाएको थियो। निजी साझेदारले होटल हत्याउने क्रममा त्यो सेयर घटेर हाल ९.०१ प्रतिशतमा झरेको छ। सञ्चालक समितिमा सरकारको प्रतिनिधित्व तीन जनाबाट एक जनामा सीमित भएको छ।

निजी साझेदारहरु राधेश्याम सराफ तथा रामलाल श्रेष्ठ परिवार सदस्यले १५० रोपनी जग्गा गैरकानुनी रुपमा रजिष्ट्रेसन पास गराइसकेका छन्।

हायात अनियमितता प्रकरणका थप सामाग्री:

१. हायात हाेटल सञ्चालक समिति कसरी पुग्यो सराफ-श्रेष्ठको कब्जामा?

२. हायात होटलमा जागिर खान किन गए नेकपा नेता, पूर्व राज्यमन्त्री गौतम?

३. हायातका निजी साझेदारको जालझेल छानबिन गर्दै संसदका दुई समिति

४. हायात हत्याउन सराफ–श्रेष्ठको खेलः सञ्चालककै कम्पनीबाट दाेब्बर मूल्यमा सेवा खरिद

५. होटल हायातकाे २५ अर्ब बढीको सम्पत्ति हत्याउने दाउमा सराफ र श्रेष्ठ

६. हायात हत्याउने सञ्चालकका प्रतिनिधि छानविन समितिमा राख्न प्रस्ताव

७. सराफ–श्रेष्ठले हायात हत्याएको प्रकरण संसद प्रवेश

८. होटल हायात प्रकरण: झालझेलको पोको फुकाउँदै संसदीय समिति

९. हायात हत्याउन सराफ-श्रेष्ठको खेल: सरकारको अख्तियारी नाघेर अंगुरबाबाद्वारा हस्ताक्षर

१०. हायात प्रकरणमा तीन वर्षदेखि छानबिन मात्रै

प्रकाशित 2019-03-18 19:27:35