नेपालले हिन्द महासागरसम्म पुग्न नारायणी नदीमा पानीजहाज सञ्चालन गर्ने तयारी गरिरहँदा भारतले नेपालको सीमा नजिकै बगहामा गण्डक जलमार्ग विकास परियोजना निर्माणको काम थालेको छ।
भारतका केन्द्रीय सिपिङ, जलस्रोत, नदी विकासमन्त्री नीतिन गडकरीले मंगलबार उक्त शिलान्यसा गरेका छन्।
‘गण्डक नदीमा आधारित महत्वपूर्ण जलयातायात सेवा गंगामा जोडिनेछ। यसले नेपालको हल्दिया/कोलकोता बन्दरगाह हुँदै गरिने आयात निर्यातलाई वातावरणीय तथा कम खर्चको अवसर दिनेछ’ भारतीय सिपिङ मन्त्रालयले ट्विट गर्दै भनेको छ।
नेपालको नारायणी नदीलाई भारतमा गण्डक भनिन्छ।
यो जलमार्ग नेपाली सीमा त्रिवेणीघाटदेखि हाजीपुरसम्म तीन सय किलोमिटर रहेको छ। तीन सय किलोमिटरका यो नदीमा चार वटा टर्मिनल बनाउने योजना भारत सरकारको छ। बगहा, बेतिया, कल्याणपुर र बैशालीमा टर्मिनल बन्नेछन्। यसका लागि सागरमाला कार्यक्रम अन्तर्गत भारतले १२ करोड ९१ लाख रुपैयाँ छुट्याएको छ।
त्रिवेणीघाटदेखि हाँजीपुरसम्मको गण्डक नदीलाई भारतले ३७ नम्बर राष्ट्रिय जलमार्ग नाम दिएको छ। नेपालको नारायणी बिहार पुगेपछि हाजिपुरबाट गंगा नदीमा मिसिन्छ। भारतको सिपिङ मन्त्रालयले आगामी पाँच वर्षभित्र सो जलमार्ग हुँदै एक करोड १६ लाख टन कार्गो ओपारपोसार गर्ने अनुमान गरेको छ।
नेपालले नारायणी नदीबाट हिन्द महासागर एक्सेस गर्न पानीजहाज सञ्चालनको योजनालाई प्राथमिकताका साथ काम गरिरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पसी बिहीबार नेपाल पानीजहाज कार्यालयका उद्घाटन गर्ने कार्यक्रम रहेको छ। नेपाल र भारतबीच जलमार्ग प्रयोग गरेर तेस्रो मुलुकसँग व्यापार गर्नेगरी समझदारीपत्रमा यसअघि नै हस्ताक्षर भएको थियो।
भारतले गंगा नदीमा कार्गो तथा यात्रीलाई ओसारपोसार गर्न जलमार्ग निर्माणको कामलाई तीब्रता दिइरहेको छ। भारत सरकारको जलमार्ग विकास परियोजना अन्तगर्त पहिलो प्राथमिकतामा गंगा नदी छ। विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा भारतले हल्दियादेखि वारणसीसम्मका १ हजार ३९० किलोमिटरमा जलमार्गका निर्माणका लागि ५३ अर्ब ६९ करोड भारतीय रुपैया खर्च गदैछ। सो रकमबाट १ सय ६ वटा ‘इनल्यान्ड वाटरवेज’ निर्माण हुनेछन्। नेपालबाट दक्षिण बग्ने प्रमुख नदीहरु भारतका तिनै नदीहरुमा गएर मिसिन्छन्।
पानीजहाजबाट कार्गो ओसारपोसार गर्दा लागत कम लाग्ने, सहज र क्षति कम हुने कार्गो व्यवसायीको भनाइ छ।
भारतले ‘एनडब्लु (नेसनल वाटरवेज) वान’ परियोजना अर्थात् हल्दिया–फरक्का–पटना–इलाहावाद वाटरवेज परियोजनाअन्तर्गत हुगली, गंगा र भागिरथी नदीमा जलमार्ग सञ्चालन गर्दैछ। यो परियोजनाको लम्बाई १ हजार ६ सय २० किमी छ।
जानकारहरुका अनुसार पानीजहाज सञ्चालनका लागि पानीको गहिराई २५–६० मिटर हुन आवश्यक छ। भारतले गंगा नदीमा कार्तिक ३० देखि पानीजहाजमा सामान ओसारपोसार कार्य थालनी गरिसकेको छ।