नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट सञ्चालनको स्वीकृति पाएको छ।
सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले बैंकलाई सञ्चालन स्वीकृतिको प्रमाणपत्र दिएका हुन्।
सञ्चालन स्वीकृति पाएसँगै बैंकले आगामी योजना सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक तथा निजी साझेदारीमार्फत नेपालको पूर्वाधारमा लगानी गर्ने जनाएको छ।
बैंकले यातायात, कृषि, उर्जा, पर्यटन, विशेस आर्थिक क्षेत्र, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधीलगायतमा लगानी गर्ने छ।
सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको बैंकको मुख्य कार्यक्षेत्र अन्तरगत राष्ट्रिय, प्रादेशिक तथा स्थानीय स्तरका पूर्वाधार विकासका परियोजनाहरुमा लगानी गर्ने रहेको छ। साथै पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरीक र वाह्यस्रोत जुटाउने काम पनि कम्पनीले गर्ने छ।
४० अर्ब रुपैयाँ अधिकृत पूँजी, २० अर्ब जारी पूँजी र १२ अर्व चुक्ता पूँजी रहेको छ। कम्पनीले ८ अर्बको शेयर सर्बसाधारणमा जारी गर्ने छ।