नेपाल र भारतबीच वाणिज्य सन्धिको पुनरावलोकन बैठकमा भारतले नेपाललाई थप दुई वटा पोर्ट दिन सहमत जनाएको छ।
नेपाललाई धामरा र मुन्द्रा पोर्टबाट तेस्रो मुलुकसँगको व्यापार गर्न दिन भारतले सहमति जनाएको हो। धामरा पोर्ट उडीसा राज्यको भद्राक जिल्लामा पर्छ भने मुन्द्रा पोर्ट गुजरातको कुच जिल्लामा पर्दछ।
कोलकत्ता र विशखापटनम पोर्ट प्रयोग गर्दै आएको नेपालले थप दुई वटा पोर्ट प्रयोग गर्न माग गरेकोमा भारतले प्राविधिक पक्ष हेरेर सहमति गर्न सक्ने बताएको हाे। पोखरामा भएको सहसचिव स्तरीय वार्तामा भारतले नेपाललाई जलमार्गको प्रयोग गर्न दिने सहमति पनि जनाएको छ।
नेपाली वार्ता टोलीका प्रमुख रविशंकर सैंजूले जलमार्ग (इनल्याण्ड वाटरबेज) प्रयोगको लागि सहमति जुटेको जानकारी दिए। त्यस विषयमा नेपाल र भारतले प्राविधिक अध्ययन रिर्पोट पेस गर्ने र पुनः अर्काे बैठक बस्ने सैंजुले नेपालखबरलाई बताए।
कृषिजन्य बस्तुमा भन्सार छुट दिन भारत असहमत
नेपालले व्यापार घाटा कम गर्न कृषिजन्य बस्तु निर्यातमा भारतले भन्सार छुट दिनु पर्ने प्रस्ताव गरेको यियो। तर यो प्रस्तावमा भारतले असहमति जनाएको छ।
भारतले कृषिमा मात्रै होइन औद्योगिक तथा अन्य बस्तुहरुमा बस्तुको प्रकृति र माग हेरेर मात्रै यो विषयमा छलफल गर्न सक्ने बताएको थियो। बरु भारतले नेपालको कृषिजन्य बस्तु, जसले अन्तर्राष्ट्रि व्यापार खोजिरहेको छ भने त्यसलाई खरिद गर्ने सहमति जनाएको छ।
भारतको प्रस्ताव
बैठकमा भारतले भने भन्सार कडाइदेखि भन्सारमा भौतिक पूर्वाधारको विकासको कुरालाई जोड दिएका थियाे। त्यस्तै भन्सार कोडको विषयलाई पनि नियाल्नुपर्ने प्रस्ताव ल्याएको थियो। नेपाल भारत व्यापारमा कुनै बस्तुको कोड नहुँदा अन्य बस्तुको भन्सार मुल्याङ्कन गर्नुपर्ने बिडम्बना रहेकाेमा साे हटाउनु पर्ने भारतकाे प्रस्ताव थियो। जुन प्रस्तावमा नेपालले सहमति जनाएको छ।
परिवर्तित सन्दर्भमा नेपाल भारतबीचको वाणिज्य सन्धिका धारा/उपधारालाई सामयिक तुल्याउँदै समयानुकूल परिमार्जनका निम्ति थप्नुपर्ने मुख्य विषयवस्तु १ महिना भित्र टुङ्ग्याउने सहमति पनि जुटेको छ।