पोखराकै पहिलो उद्योग: शङ्कर बिस्कुटको रामकहानी



पर्वतको पाङबाट पोखरा झरेका हेमबहादुर प्रधानलाई कपडाको व्यापार फाप्यो। सफलतासँगै व्यवसायमा नयाँ आयाम थप्ने हुट्हुटी पनि पलायो। भारतका औद्योगिक शहरहरूको भ्रमण अनुभवले उद्योगतर्फ लागे कस्तो होला भन्ने भयो।

तर, उद्योग कसरी गर्ने भन्ने कुनै अनुभव थिएन उनीसँग। पोखरामा उद्योगका लागि चाहिने पूर्वाधार खासै थिएनन्। पोखराको कुँडहरमा भर्खरै औद्योगिक क्षेत्र स्थापनाको घोषणा भएको थियो। तर, पूर्वाधार थिएन। उद्योग त खोल्ने तर मेसिन, कच्चा पदार्थ कहाँ पाइन्छ, केही ज्ञान थिएन।घरमा राम्रोसँग कपडा दोकान चलिरहेको छ। उद्योग स्थापना गर्न पनि मन छ तर अनुभव छैन।

‘लुक विफोर यु लिभ’ भन्ने पढेका उनी ‘भएको काम छाडेर नयाँ काममा लाग्दा सफलता मिल्छ कि मिल्दैन’ भन्ने सोचाईले गम्भीर बन्थे।

छिमेकी बुद्धिबहादुर श्रेष्ठ चकलेट बनाउँथे। उद्योगबारे जाने बुझेका। कुरैकुरामा एकदिन उद्योग खोल्ने कुरा उठ्यो। संयोग, बुद्धिबहादुर पनि चकलेट उद्योग बिस्तारको योजनामा रहेछन्।

‘उद्योग गर्नु राम्रो हो भन्ने कुरा भयो, मौका मिलाएर उद्योगबारे बुझ्न भारत जाने निधो भयो’, हेमबहादुरले भनेका छन्,‘ तर कस्तो उद्योग खोल्ने भन्नेबारे केही थाहै थिएन।’

जे त होला!

बुद्धिबहादुर, आजाद श्रेष्ठ र हेमबहादुर ३२ सालको माघमा बनारस पुगे। बुद्धिबहादुरले चिने जानेका विनादे लखौटियाले उद्योग खोल्न उक्साए र सहयोगको वचन दिए। विनोदका दाई श्यामशुन्दर कलकत्तामा उद्योगलाई चाहिने कच्चा पदार्थको उद्योग चलाउँथे। उद्योग हेर्दे उनीहरुले एक महिना भारतका विभिन्न सहर चहारे।

एक महिना भयो, घरबाट हिँडेको एउटा निर्णय नगरी कसरी घरमा जाने? बेलुकी खाना खाएर छलफलमा जुटे, उनीहरु। बुद्धिबहादुरले कन्फेक्सनरी उद्योग खोल्ने निर्णय सुनाए। अनि, हेमबहादुरले नि? लामो छलफलपछि बिस्कुट उद्योग खोल्ने निर्णय भयो। हेमबहादुरले बिस्कुट बनाउने मेसिनको लागि पेस्की दिए।

उद्योग खोल्न इजाजत लिनुपर्ने थाहै थिएन, हेमबहादुरलाई। बुद्धिबहादुरले घरेलु कार्यालय पुगेर जयमाँ कन्फेक्सनरीको र हेमबहादुरले शंकर बिस्कुट उद्योगको नाममा इजाजत पत्र लिए। उद्योग खोल्न जग्गा खोज्दै हिँडे। कतै जग्गा मन पर्यो, कुरा मिलेन, कतै जग्गै मन परेन।

शंकरराज पाठक गण्डकी अञ्चलका अंचलाधीश थिए। उनलाई उद्योगको लागि जग्गा खोज्दै हिँडेको थाहा रहेछ।

‘तपाईंहरूले उद्योग गर्नका लागि भवन बनाउन जग्गा खोजी हिँड्नुभएको छ, सरकारले कुँडहरमा औद्योगिक क्षेत्र स्थापना गरी ५–६ ओटा औद्योगिक भवन निर्माण भइसकेको छ’, उनले भने,‘ तपाईंहरूकै लागि औद्योगिक क्षेत्रको स्थापना भएको हो, त्यहाँ नै उद्योग राख्नुहोस्।’

शंकरराजकै सल्लाहले औद्योगिक क्षेत्रमा नै उद्योग राख्ने निर्णय भयो। तर औद्योगिक क्षेत्रमा सुविधा थिएन। बिस्कुट उद्योगलाई चाहिने कच्चा पदार्थ पनि नेपालमा नपाइने। हेटौँडामा एउटा मैदा मिल र वीरगञ्जमा एउटा चिनी उद्योग बाहेक अन्य उद्योग नेपालमा थिएन। हेमबहादुरले भारतको कानपुर गएर चन्दा र बब्लु नामका दुई मिस्त्रीलाई पोखरा ल्याए। बनारसबाट ¥यापर र केमिकल पनि मगाए।

त्यस्तैमा कम्पनीबाट खबर आयो, ‘मेसिनको सबै भुक्तान गरेपछि मात्र मेसिन बन्छ।’

दशैँ मानेर हेमबहादुर भारतको जालन्धर पुगे। मेसिनको पैसा तिरे अनि कम्पनीमै धर्ना दिएर मेसिन बनाएको हेरे। ९० प्रतिशत मेसिन तयार भएपछि हेमबहादुर नेपाल फर्के। मेसिन आएकै थिएन। त्यही बेला आमा गुमाए उनले। आमाको किरिया बस्दै गर्दा मित्र बुद्धिबहादुर श्रेष्ठले आफ्नै खर्चमा भारतको जालन्धर होसियारपुरबाट बिस्कुट बनाउने मेसिन पोखरा ल्याइदिए।

मेसिन जडान गर्न झण्डै १४ दिन लाग्यो। मिस्त्री आए, कच्चा पदार्थ ल्याइयो। बिस्कुट बनाउन बनस्पति घ्यू चाहिने। नेपालमा उद्योग नै थिएन। भारतबाट ल्याउन प्रतिबन्ध। मिस्त्रीहरुले लोकल घ्यूबाटै बिस्कुटको ट्रायल उत्पादन गरे। नियमित बिस्कुट उत्पादनको लागि जनशक्ति थिएन। माटेपानी, कुँडहर, कन्दनी डाँडा, रानीपौवातिरका कोरा कामदार भर्ना गरे, हेमबहादुले। मेसिनमा काम गर्ने केटाहरु र बिस्कुट प्याकेजिङ गर्ने महिलाहरु थिए।

‘यसरी पहिलो पटक पोखरामा शङ्कर बिस्कुट उद्योगबाट ‘शङ्कर मिठो बिस्कुट’ उत्पादन भयो’, हेमबहादुरले सुनाए, ‘पहिलो पटक पोखरामा बिस्कुट उत्पादन भएको देखेर सबै खुसी भए, आफूलाई गौरवको अनुभव भयो।’

तर, नयाँ मेसिन, अदक्ष कामदारले गर्दा बिस्कुट राम्रोसँग उत्पादन हुन सकेन। उत्पादन भएका बिस्कुटहरू पनि प्याकिङ राम्रो नभएर खेर गए। ३–४ महिनासम्म ट्रायलमै बित्यो। धेरै नै घाटा भयो तर पनि उत्पादन बन्द भने गरेनन्।

त्यसबखत नेपालको पूर्वमा विराटनगरमा पशुपति बिस्कुट र काठमाडौंमा नेबिको बिस्कुट मात्र थिए। पश्चिमाञ्चलको पोखरामा स्थापित शङ्कर बिस्कुट देशकै तेस्रो र पोखराको पहिलो उद्योग बन्यो। बिस्कुटको उत्पादन राम्रो भएसँगै बिस्कुट प्याक गर्न कार्टुनको आवश्यकता भयो। तर नेपालमा कार्डबोर्ड बक्सको उत्पादन गर्ने उद्योग नै थिएन। हेमबहादुरले बजारबाट चुरोटको खाली बक्स ल्याएर बिस्कुट प्याक गर्न थाले।

‘म आफै बिस्कुट लिएर पोखराका व्यापारीहरूको दोकानमा गएँ, पोखराकै पहिलो उद्योगबाट उत्पादन भएको बिस्कुट बिक्री गरिदिन अनुरोध गरेँ’, उनले सम्झे, ‘‘व्यापारीहरूले भन्न लागे– बिस्कुट बिक्री हुँदैन, राखेर के गर्ने? मैले भनें– बिस्कुट राख्नुहोस् कमिसन दिन्छु। अहिले पैसा दिनु पर्दैन। बिक्री नभए फिर्ता लैजाउँला।’

यति भनेपछि उनले एउटा दोकानमा २–३ बक्स बिस्कुट राखिदिए।

बुद्धिबहादुर र गणेशबहादुरहरु चक्लेट तथा हेमबहादुर बिस्कुट बोकेर बजार बिस्तारका लागि हिँडे। पश्चिमाञ्चल क्षेत्रमा बजार राम्रो पनि भयो। बजार राम्रो हुँदा उत्पादन बढाउनु पर्ने आवश्यकता थपियो।

उद्योगलाई चाहिने कच्चा मालमा पोखरामा पाइने चिनी र मैदा मात्र। अरू सबै सामान भारतबाट आयात गर्नुपर्दथ्यो। बिस्तारै थाहा भयो मैदा र चिनीको पनि अभाव रहेछ, भनेजति नआउने। हेटौँडामा एउटा मैदा मिल र वीरगञ्जमा एउटा मात्र चिनी मिल। मैदा र चिनी बिक्री गर्ने साल्ट ट्रेडिङ मात्र रहेछ। बजारमा चिनीको ज्यादै अभाव भएकाले स्थानीय प्रशासनले कोटा सिस्टम बसालेकोले चिनीको लागि जिल्ला प्रशासनमा जानुपर्ने भयो।

एकदिन बुद्धिबहादुर र हेमबहादुर चिनीको लागि कास्की जिल्ला प्रशासन कार्यालय पुगे। प्रमुख जिल्ला अधिकारी तत्वकृष्ण। उद्योगको लागि चिनी दिन अनुरोध गर्दा उनले रिसाएको पाराले भने, ‘यहाँ मानिसहरूलाई चिया खानको लागि चिनी छैन। उद्योगका लागि चिनी?’

अति नमिठो लाग्यो, निराश भएर फर्के उनीहरु। वनस्पति घ्यू नेपालमा नपाइने भएकाले स्वदेशी घ्यूबाट बिस्कुट उत्पादन गर्दै गए। स्वदेशी घ्यूबाट उत्पादन भएको बिस्कुट १५–२० दिनसम्म खाँदा स्वादिलो हुने तर त्यसपछि गन्ध आउने। बिस्कुट उत्पादनका लागि वनस्पति घ्यू नभई नहुने भयो। उनीहरु कोटामा बनस्पति घ्यू आयातको सिफारिसको लागि साना तथा घरेलु विभाग त्रिपुरेश्वर पुगे।

विभागका महानिर्देशले ‘बिस्कुट उत्पादन गरी नमूना देखाउन’ भने। हेमबहादुले जवाफ दिए– वनस्पति घ्यू नभई कसरी बिस्कुट उत्पादन गरी देखाउने?’

महानिर्देशक प्रभावित भए र तीन टन घ्यू आयात गर्ने कोटा दिए। बिस्कुट उत्पादन पछि नमूना लिएर देखाउन निर्देशन पनि दिए। बिस्कुट लिएर हेमबहादुर महानिर्देशककहाँ पुगे। बिस्कुट ल्याबमा टेष्ट गरियो। परीक्षण सकारात्मक आएपछि चाहे अनुसारको बनस्पति घ्यू आयातको कोटा मिल्यो। हेटौँडा औद्योगिक क्षेत्रभित्र लक्ष्मी वनस्पति घ्यूको उद्योग स्थापना भएपछि भारतबाट आयात गर्नु परेन।

सबै सामान सस्तो भएकोले लागत कम थियो। बिस्कुटको बजार राम्रो हुँदै गयो। उत्पादन बिस्तार गर्नुपर्ने भयो। उनले बिस्कुटको भविष्य देखेपछि २०३५ सालमा कपडा पसल नै बन्द गरे।

राजधानी काठमाडौं लगायत अन्य बजार बुटवल, बाग्लुङ, हेटौँडा समेतबाट माग आउन थालेपछि २०४० सालमा स्वचालित मेसिनबाट उत्पादन थाले। कच्चा पदार्थ पनि नेपालमै पाइने भयो। बिस्कुटको बजार राम्रो हुँदा पोखरामा पनि उद्योग थपिए। तर, शंकर बिस्कुटको ब्यापार घटेन।

‘हामीले उत्पादन र नाफा बढेपछि मजदुरको सुविधा बढायौँ, मजदुर खुसी भएपछि हाम्रो उत्पादन झन राम्रो भयो’, उनको भनाई छ,‘ मजदुरलाई सुविधा दिए गुणस्तर बढ्छ।’

उनको उद्योगले उत्कृष्टताको पुरस्कार पायो। २०४० सालदेखि २०४८ सालसम्म बिस्कुटको बजार यति राम्रो हुँदै गयो कि जति उत्पादन गरे पनि बजारको माग अनुसार आपूर्ति गर्न नसकिने। उनले २०४७–०४८ मा एक करोड पच्चीस लाख चुक्ता पूँजी लगानी भएको शिवशंकर बिस्कुट ईण्डस्ट्रिज प्रालि दर्ता गरे।

नेपाल औद्योगिक विकास निगमबाट ऋण सहयोग लिएर ३ सय मेट्रिकटन बिस्कुट पर सिफ्ट (८ घण्टा) उत्पादन क्षमता भएको स्वचालित मेसिन किने। उनले पोखरा औद्योगिक क्षेत्रमा सञ्चालित प्लास्टिक उद्योग खरिद गरे। साना तथा घरेलु उद्योगमा शिवशक्ति प्लास्टिक उद्योग दर्ता भयो। ३ वटा उद्योगले २ सय जना मजदूरहरूलाई रोजगारी दिन लाग्यो। बिस्कुटको नयाँ प्रोडक्ट बजारमा पठाउँदा भने उनले सोचेजस्तो भएन।

उनले थाहा पाए,‘ काठमाण्डौं विराटनगर, भैरहवालगायत अन्य ठाउँँमा ५०–६० वटा बिस्कुट उद्योगहरू स्थापना भइसकेछन्।’

सरकारले खुल्ला बजार अर्थतन्त्र अन्तर्गत सुविधा दिएपछि देशैभर बिस्कुट उद्योग खुलेका रहेछन्। बिस्कुटमा प्रतिष्पर्धा भयो। नगदमा बिक्री हुने बिस्कुट २५ प्रतिशत कमिसन दिएर उधारोमा बेच्ने दिन सुरु भए। तर, घाटा चाहिँ भोगेनन्, उनले।

२०५२ सालमा जनयुद्ध सुरु भएपछि भने उद्योग संचालनमा समस्या आउन थाल्यो। कहिले हडताल, कहिले यातायात बन्द विविध कारणले समयमा कच्चा माल आई नपुग्ने। उद्योग महिनामा १५ दिन पनि चलाउन नसकिने अवस्था हेमबहादुरले ठूलो लगानी भएको शिवशंकर बिस्कुट ईण्डस्ट्रिज जसोतसो चलाए तर शङ्कर बिस्कुट उद्योग चाहिँ बन्द नै भयो।

प्रकाशित २७ माघ २०७५, आइतबार | 2019-02-10 17:39:25
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...