इन्दिरा गान्धीको हत्याले जसलाई नेपालमै जुत्ता व्यवसायी बनायो



रविनकुमार श्रेष्ठ
रविनकुमार श्रेष्ठ

‘भारतमा मेरो सम्पूर्ण व्यवस्था सरदारहरुले गर्ने तयारी थियो तर, इन्दिरा गान्धीको हत्यापछि सरदारहरुको भागाभाग भयो, अनि म भारत जानबाट रोकिएँ र नेपालमै व्यवसायतिर मोडिएँ।’

२०३९ सालमा रविनकुमार श्रेष्ठले एसएलसी परीक्षा दिए। तर, सफल हुन सकेनन्। उनको दोस्रो प्रयास पनि खेर गयो। एसएलसीमा लगातार दुईपटक फेल भएपछि परिवारका सदस्य रविनसँग आजित भए।

रोजगारीका लागि परिवारले उनलाई काठमाडौं पठाउने निधो गर्यो। काठमाडौँमा सानीमाको सिसाकलम उद्योग थियो। ६ महिना भारतमा गएर काम सिक्ने र त्यसपछि सानीमाको उद्योगमा मिस्त्रीको रुपमा काम गर्ने सल्लाह भयो।

रविन धरानबाट काठमाडौं हिँडे। त्यति नै बेला भारतमा तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएको खबर आयो। इन्दिरा गान्धीको हत्याका कारण उनी दिल्ली जान पाएनन्।

‘त्यहाँ मेरो सम्पूर्ण व्यवस्था सरदार (पञ्जावी समुदायका मानिस) हरुले गर्ने कुरा थियो’, रविन त्यो दिन सम्झन्छन्, ‘तर, इन्दिराको हत्यापछि सरदारहरुको भागाभाग भयो, म पनि भारत जान पाइनँ।’

रविनले आफ्नो भाग्यलाई निकै धिक्कारे। उनीसँग पढेका साथीहरु क्याम्पस पढ्ने भइसकेका थिए। उनलाई भने अंग्रेजी विषयले पटक–पटक धोका दियो। रोजगारीको एउटा सम्भावना जुरेको थियो, इन्दिरा गान्धीको हत्याका कारण त्यो अवसर पनि खेर गयो।

१५ दिन काठमाडौँ बसेर उनी पुनः धरान फर्किए। फेल भए पनि उनले त्यो विषयमा कम्पार्ट परीक्षा दिन पाउने भएछन्। परिवारको दबाब र आफ्ना साथीहरुलाई सम्झिएर कस्सिएर पढे। र, तेस्रो प्रयासमा एसएलसी पास गरे।

एसएलसीपछि रविनले कानुन विषय लिएर पढे। उनका साथीहरुमध्ये कोही ‘कमर्स’ त कोही ‘आर्टस्’ पढ्दै थिए। रमाइलो त के भयो भने, स्नाकोत्तरमा आउँदा उनले आफूलाई जित्ने ती सबै साथीलाई भेट्टाए।

‘उनीहरु फेल भए, म लगातार पास भएँ’, रविन भन्छन्, ‘त्यतिबेला निकै आनन्द आयो। सायद मेरो संघर्ष र परिश्रमको फल थियो त्यो।’

इन्दिराको हत्या भएका कारण आफू भारत जान नपाएपछि रविनलाई निकै रिस उठेको थियो। तर, त्यही घटनाका कारण आज आफू सफल व्यवसायी बनेको उनको बुझाई छ।

‘हुन त उहाँको हत्या हुनु एउटा दुःखद् घटना थियो’, रविन भन्छन्, ‘तर, म भारत गएको भए मैले न एसएलसी पास गर्ने थिएँ, न मिस्त्रीभन्दा माथि उठेर काम गर्न नै सक्ने थिएँ।’

कानुन पढेका बिजनेशम्यान
रविनका बाबुको धान–चामलसम्बन्धी उद्योग र स–मिल थियो। त्यसैले, सानैदेखि उनमा व्यपारको चेत थियो। तर, एसएलसीपछि व्यवस्थापन विषय लिएर पढ्न पाएनन्। कारण, उनको एसएलसीमा ४७ प्रतिशत अंकमात्र आयो। त्यसबखत धरानमा ५० प्रतिशतभन्दा कम अंक ल्याउनेले व्यवस्थापनमा भर्ना हुन पाउँदैनथे।

पछि उनी बिएल पढ्न काठमाडौँ आए। उनका दिदी–भिनाजुको बाँसबारी छालाजुत्ता उद्योगको ठूलो डिलर थियो। पढ्दै गर्दा उनी खाली समयमा दिदी–भिनाजुको पसलमा गएर बस्थे।

यसरी २०४७ सालमा उनको पढाई सकियो। अब उनीसँग दुईवटा बाटाहरु थिए, अधिवक्ताको रुपमा काम गर्ने या आफ्नै केही व्यवसाय संचालन गर्ने। दिदी–भिनाजुको पसलमा बस्न थालेपछि उनमा व्यवसायप्रतिको रुची बढेको थियो। जुत्ता उत्पादन र वितरणबारे धेरै कुरा सिकिसकेका थिए उनले।

‘त्यसैले, मैले केही समय जुत्ताको कारोबार गरेँ,’ उनी भन्छन्।

त्यसपछि केही साथीसँग मिलेर जुत्ता उद्योग सञ्चालनमा ल्याए। सुरुवातमा तीन जना मिलेर ५ लाख रुपैयाँ लगानीमा ‘कसमस ब्रान्ड’ नाम दिएर जुत्ता उत्पादन गर्न थाले।

त्यतिबेला चीनबाट खासै जुत्ता आउँदैनथ्यो। केही भारतबाट र धेरै बैंककबाट आउँथ्यो। बैंककबाट आएका जुत्ता लगाउने र नेपाली जुत्ता लगाउने वर्ग फरक–फरक हुन्थे। नेपाली जुत्ता सय, १ सय ५० रुपैयाँमा नै आउँथ्यो। विदेशी जुत्ता महंगा हुन्थे।

नेपालमा २०४५ सालदेखि नै स्वदेशी जुत्ता उत्पादन हुन थालेको थियो। तर, रबरको सोल भएका जुत्तामात्र बन्थे। रविनले पहिलोपटक युनिट सोल भएका जुत्ता बनाए। तर, बजार पिट्न भने त्यति सहज थिएन।

रविनले एउटा जुक्ति निकाले, उनले बच्चाको जुत्ता उत्पादनमा जोड दिए। त्यतिबेला बच्चाको जुत्ताले राम्रै बजार लियो। रातभर तयार गरेको जुत्ता अर्कोदिन बिक्री भइसक्थ्यो। ७५ रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म पर्ने जुत्ता उनको उद्योगबाट मासिक १५ सय जोरसम्म बिक्री हुन्थ्यो।

यसरी उनी व्यवसायमा सफल हुँदै गए। सफलताको बाटोमा हिँडिरहँदा रविनले २०५२ सालमा लगनगाँठो कसे। उनले धरानकै एक युवतीलाई जीवनसाथीको रुपमा चुने। श्रीमतीले उनलाई व्यवसायमा सल्लाह, सुझाव र हौसला दिँदै गइन्।

चिनियाँ जुत्ताको प्रवेशले नराम्रो असर
२०५३ सालसम्म सबै राम्रै चलिरहेको थियो। तर, त्यसपछि चिनियाँ जुत्ताले नेपाली बजार लिन थाल्यो। निकै सस्तो मूल्यमा किन्न पाइने भएपछि नेपालीको चिनियाँ जुत्ताप्रति आकर्षण बढ्यो। नेपाली जुत्ता उद्योग धरासायी बन्दै गए।

‘त्यसको पनि एउटा कारण छ। त्यतिबेला छालाबाहेक अन्यको जुत्ता बन्छ भन्ने नेपाली व्यवसायीलाई थाहा थिएन’, रविन भन्छन्, ‘चीनबाट सस्तोमा आउने छालाको जस्तो चम्किलो देखिने जुत्ता त रेजिनाको पो रहेछ भन्ने पछिमात्र थाहा भयो।’

व्यापार घाटामा जान थालेपछि रविनको उनका साथीसँगको सहकार्य टुट्यो। उनले कसमस ब्रान्ड साथीहरुलाई नै छाडिदिए। र, २०५६ सालमा आफूले ‘कोसेली छालाजुत्ता उद्योग’ संचालनमा ल्याए। जहाँबाट कोसेली ब्रान्डका जुत्ता उत्पादन हुन थाल्यो।

२०५७ सालमा रविनसहितका केही व्यवसायी मिलेर ‘फूटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाल (एफएमएएन)’ नामक संस्था दर्ता गरे। र, उनी त्यसको महासचिव बने रविन।

२०५९ सालमा पहिलोपटक सरकारको सहयोगमा एफएमएएनले जुत्ता मेला आयोजना गर्यो, जसको संयोजक रविन थिए। राष्ट्रिय सभा गृहमा १४ उद्योगका नेपाली उत्पादनहरु प्रदर्शनमा राखियो। त्यसपछि नेपाली जुत्ताको ब्रान्डिङ सुरु भयो। अहिलेसम्म नेपाली जुत्ता यहाँसम्म आइपुग्नुमा सोही मेलाको देन रहेको रविन बताउँछन्।

विदेशी उत्पादनका जुत्तालाई विस्थापित गर्न नसकेपनि रविनसहितका व्यवसायीको उद्योगबाट उत्पादन हुने जुत्ताले हाल राम्रो बजार लिइरहेका छन्। बजारमा झन्डै ६० प्रतिशत नेपाली उत्पादन नै खपत हुने गरेको छ। नेपाली जुत्ता यहाँसम्म आउनुमा रविनको भूमिका पनि महत्वपूर्ण छ।

२०५९ देखि हालसम्म प्रत्येक वर्ष एफएमएएनले जुत्ता मेलाको आयोजना गर्दै आइरहेको छ। रविन संस्थाका निवर्तमान अध्यक्ष हुन्। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पनि हुन् उनी।

रबर उद्योगको चाहना
जुत्ताका लागि विशेष गरी ‘काउ लेदर’ चाहिन्छ। तर, नेपालमा जुत्ताका लागि चाहिने यस्तो छाला पाइँदैन। त्यसैले, कच्चा पदार्थका लागि भारत वा चीनमा निर्भर रहनुपर्छ।

रविनलाई अब नेपालमै रबर उत्पादन गर्ने चाहना छ, जसको संभावना भरपुर रहेको उनी बताउँछन् ।

‘हाल नेपालमा वार्षिक ८ अर्बको रबर आयात भइरहेको छ’, उनी भन्छन्, ‘त्यसलाई रोकेर स्वदेशी बजारकै रबरबाट जुत्ता उत्पादन गर्ने मेरो लक्ष्य हो।’

यसका लागि तयारीसमेत भइसकेको छ। ८ हजार विघा क्षेत्रफलमा रबर उत्पादन गर्नेगरी तयारी भइरहेको रविन बताउँछन्।

रविनले सोल उद्योग पनि खोलेका छन्। नेपाल अहिले सोलमा ६०–७० प्रतिशतले परनिर्भर छ।

उनको उद्योगमा उत्पादन हुने कोसेली ब्रान्डका जुत्ता अहिले हजार देखि ३५ सय रुपैयाँसम्मका छन्। उनले उद्योग र मार्केटिङमा गरेर ४५ जनालाई नियमित रोजगारी दिइरहेका छन्।

उनका जुत्ता विदेशमा पनि जाने गर्छ। विशेषगरी नेपाली रहेका मुलुकमा कोसेली ब्रान्डका जुत्ता बिक्री हुन्छन्।

जीवन र व्यवसाय
उनी कहिलेकाहीँ आफ्नो जीवनलाई व्यवसायसँग दाँज्छन्। अनि, निष्कर्ष निकाल्छन्– जबसम्म जीवन रहन्छ, तबसम्म म व्यवसायमा सकृय रहन्छु। त्यसैले, रविनका लागि जीवन र व्यवसाय एकअर्काका पर्यायवाचीजस्तै बनेका छन्।

अहिले उनी आफ्नो कामबाट सन्तुष्ट छन्। जुत्ता व्यवसायबाट नै उनको र परिवारका हरेक आवश्यकता पूरा भइरहेको छ। एउटा छोराले कृषिमा बिएस्सी गरिरहेका छन् भने अर्का छोराले बिबिए गरिरहेका छन्। रविन एउटा छोराले आफ्नो व्यवसायलाई निरन्तरता देउन् भन्ने चाहन्छन्।

‘म आज जहाँ छु यसमा मेरी श्रीमतीको महत्वपूर्ण भूमिका छ’, रविन भन्छन्, ‘उनले मलाई कहिल्यै हतोत्साहित हुन दिइनन्।’

उनलाई भने कहिलेकाहीँ परिवारलाई आवश्यक समय दिन सकिन कि भन्ने लाग्छ। तर, परिवारका सदस्यले उनीसँग कहिल्यै समय नदिएको गुनासो गर्दैनन्।

रविन थोरै लगानीमा पनि सञ्चालन गर्न सकिने र भविष्यमा राम्रो प्रतिफल आउने भएकाले युवाहरु जुत्ता उद्योग व्यवसायमा लागेर नेपाली उत्पादनको वृद्धि गर्न सुझाव दिन्छन्।

‘ह्वात्तै माथि जान खोज्ने चाहनाका कारण व्यवसायमा धेरै असफल भएका छन्’, उनी भन्छन्, ‘धैर्यता, लगन र मेहनत गर्न सक्ने हो भने यो क्षेत्र युवाहरुका लागि राम्रो सम्भावना भएको क्षेत्र हो।’

प्रकाशित २० माघ २०७५, आइतबार | 2019-02-03 13:46:05
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna

कृष्ण आचार्यबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।