अब विश्व अर्थतन्त्रको नेतृत्व दक्षिण एशियाले गर्नेछः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले अब दक्षिण एसियाले विश्व अर्थतन्त्रको नेतृत्व गर्ने बताएका छन्।

भारतीय उद्योग परिसंघद्वारा आजदेखि भारतको आर्थिक नगरी मुम्वईमा आयोजना गरिएको सीआईआई साझेदारी सम्मेलनलाई सम्बोधन गर्दै ढकालले यूवा जनसंख्याले धनी दक्षिण एशियामा रहेको बलियो जनशक्ति र प्राकृतिक स्रोतलाई एकाकार गराएर लैजान सकियो भने अबको विश्व अर्थतन्त्रको नेतृत्व यसै क्षेत्रले गर्ने दावी गरे।

सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले प्राकृतिक स्रोतले धनी दक्षिण एशियामा रहेको अपार सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरी यस क्षेत्रका जनताको जीवनस्तर सुधार गर्नुपर्नेमा जोड दिए।

सीआईआई साझेदारी सम्मेलनमा भाग लिन महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल अहिले भारतको मुम्वईमा रहेको छ।

सम्मेलनको भारतका उपराष्ट्रपतिले एक विशेष समारोहका बीच आज समुद्घाटन गरेका थिए। कार्यक्रममा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव, भारतीय सरकारका उद्योग वाणिज्य तथा नागरिक उड्डयन मन्त्री सुरेश प्रभु, महाराष्ट्रका मुख्य मन्त्री, सार्क राष्ट्रका मन्त्रीहरुको सहभागिता रहेको थियो।

सार्क क्षेत्रका मन्त्रीहरू, सरकारी प्रतिनिधि, उद्यमी व्यवसायी, लगानीकर्ता, संचारमाध्यम, विकास साझेदारहरूको महत्वपूर्ण सहभागिता रहेको सो कार्यक्रममा ढकालले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेकाले नेपालमा पर्यटन क्षेत्रमा लगानी गरी फाइदा उठाउन आग्रह गरेका थिए।

साझेदारी सम्मेलनमा भाग लिन गएको महासंघको प्रतिनिधिमण्डलका सदस्यमा महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान र निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी पनि छन्।

 

प्रकाशित 2019-01-12 21:29:33