नागिडाँडामा विमानस्थल निर्माण गर्नु हुँदैनः नेपाल

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले काभ्रेको नागीडाँडामा विमानस्थल निमार्ण गर्न नहुने तर्क गरेका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य नेपालले आवश्यक्ता भन्दा बढी विमानस्थल बनाउँन नहुनेमा जोड दिएका छन्। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको बारेमा अध्ययन गर्न नेपालसहितको उपसमिति बनेको थियो। सो समितिमा नेपालले नागिडाँडा विमानस्थल बन्न नहुने बताएका हुन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको प्राविधिक समितिले नागिडाँडालाई विमानस्थल निमार्ण गर्न सिफारिस गरेको थियो। समितिले बनेपाको नागिडाँडा, धुलिखेलको ठूलीचौर र चिसापानीको अध्ययन गरेको थियो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पहलमा आन्तरिक उडानलाई सार्नका लागि नागीडाँडामा विमानस्थल बनाउँन बजेट नै विनियोजन भइसेको छ। यो विमानस्थलका लागि यो आर्थिक वर्षमा २५ करोड बजेट विनियोजन गरिएको छ।

प्रकाशित 2018-10-11 17:48:43