हायात होटलमा जागिर खान किन गए नेकपा नेता, पूर्व राज्यमन्त्री गौतम?

निजी साझेदार २० अर्बभन्दा बढीकाे सम्पत्ति हत्याउन राजनीतिक ‘कनेक्सन’ खाेज्दै


Infocus



जितु गाैतम। तस्विर स्राेत उनकै फेसबुक
जितु गाैतम। तस्विर स्राेत उनकै फेसबुक

‘कहिले कहीँ कार्यालय आउने गरे पनि गौतमले होटलसम्बन्धी खासै काम गर्दैनन्, उनको मुख्य जिम्मेवारी सरकारमा रहेका आफ्ना नेताहरूसँग होटलको विवाद सल्टाउन पहल गर्ने हो।’

सेयर संरचनामा चलखेल गरेर निजी साझेदारले २० अर्ब बढी सम्पत्ति हत्याउन प्रपञ्च गरिरहेको पाँचतारे होटल हायातको परामर्शदातामा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व सामान्य प्रशासन राज्यमन्त्री जीतु गौतम नियुक्त भएका छन्।

NIC ASIA

माधवकुमार नेपाल २०६६ सालमा प्रधानमन्त्री हुँदा सामान्य प्रशासन राज्यमन्त्री रहेका गौतम एमालेका पूर्व केन्द्रीय सदस्य हुन्।

स्रोतका अनुसार उनलाई परामर्शदाताका लागि मासिक एक लाख सत्तरी हजार रुपैयाँ तलब दिने गरी होटलको सञ्चालक कम्पनी तारागाउँ रिजेन्सी होटल लिमिटेडले नियुक्त गरेको हो। उनका लागि भनेर हायात होटल परिसरभित्रै रहेको तारागाउँ होटल संग्राहालयमा छुट्टै कार्यालय समेत स्थापना गरिएको छ।

जीवनभरि राजनीति गरेका गौतमले होटलमा के परामर्श देलान् त? ‘गौतम २ महिनादेखि परामर्शदाताको रुपमा काम गरिरहेका छन्’, हायात सम्वद्ध स्रोत भन्छ, ‘सेयर सहितका विषयमा देखिएको समस्या समाधान गर्न राजनीतिक नेतृत्वसँग सम्पर्कका लागि गौतमलाई नियुक्ति दिइएको हो।’

नेपालगञ्जमा भएको नवौं महाधिवेशनबाट तत्कालीन एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएका गौतम प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापाका नेता हुन्। माधवकुमार नेपाल प्रधानमन्त्री भएको समयमा सामान्य प्रशासन राज्यमन्त्री रहेका उनी एमालेको जनवर्गीय संगठन उत्पीडित जातीय मुक्ति मोर्चाको अध्यक्ष समेत भएका थिए।

हायात हत्याउन सराफ–श्रेष्ठको प्रपञ्च
सार्वजनिक–निजी साझेदारीअन्र्तगत २०४९ सालमा स्थापना भएको हायातमा पर्यटन मन्त्रालयको तारागाउँ विकास समितिको १७ करोड तथा निजी साझेदार (राधेश्याम सराफ र रामलाल श्रेष्ठ परिवार) को २५ करोड ७५ लाख गरी ४२ करोड ७५ लाख रुपैयाँ लगानी गरिएको थियो। कुल लगानीमध्ये निजी साझेदारको ६०.२३ प्रतिशत र सरकारको ३९.७७ प्रतिशत थियो। अहिले यो होटल फैलिएको एक सय ५० रोपनी जग्गाको मात्रै २० अर्ब रुपैयाँभन्दा माथि मूल्य पुगेको छ। तर सेयर संरचनामा भएको चलखेलको कारण सरकारी स्वामित्व ९.०१ प्रतिशतमा खुम्चिन पुगेको छ। सुरूमा ४० प्रतिशत सेयर स्वामित्व रहेको सरकारको लगानी घटेर ९.०१ प्रतिशतमा झरेको हो।

यसको ठिक विपरित निजी लगानीकर्ता (प्रत्यक्ष र उनीहरुको लगानीमा रहेको कम्पनीसमेत) को स्वामित्व ६१.३६ प्रतिशत पुगेको छ। यसमा राधेश्याम सराफको १२.२५ प्रतिशत, आइसिटिसी प्रालिको ७.८९ प्रतिशत, आइसिटिसी होल्डिङ (उमेशलाल श्रेष्ठ र सुरेश लाल श्रेष्ठ) को १०.०९, डोमिनियन इन्भेस्टमेन्ट लिमिटेड हङकङ (सराफ परिवार) २१.६०, डोमिनियन इन्भेस्टमेन्ट लिमिटेड (बिभिआइ/सराफ परिवार) को ९.५३ र तारागाउँ विकास समितिको ९.०१ प्रतिशत छ। बाँकी सर्वसाधारण र अन्यको ३२.५ प्रतिशत रहेको छ। अन्य भनेका को हुन् खुलाइएको छैन। हाल यो कम्पनीको चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ छ।

बाैद्ध टुसालस्थित हाेटल हायत

बाैद्ध टुसालस्थित हाेटल हायत

निजी साझेदारले पहिले होटल घाटामा देखाएर सेयरको मूल्य घटाउने त्यसपछि लगानी बढाउने निहुँमा हकप्रद सेयर जारी गर्ने र त्यो सेयर आफैंले किन्ने गर्दा सरकारको अर्बौंको सम्पत्ति विस्तारै निजी साझेदारको पोल्टामा पुग्दै गएको हो। यो कार्यमा सरकारबाट सञ्चालनमा पुग्ने मन्त्री एवं कर्मचारी संयन्त्रको समेत मिलेमतो हुँदै आएको छ।

होटल घाटामा गएपछि सरकारले त्यसमा लगानी थपेन। निजी साझेदारको प्रभावमा परी सरकारी अधिकारीले पनि घाटामा गएको कारण देखाएर लगानी नथप्न मन्त्रीलार्इ सहमत गराए। प्रत्येक वर्ष होटल घाटामा जाँदा त्यही अनुपातमा सरकारी लगानी पनि कम हुँदै गएको छ। सरकारी उच्च अधिकारीसँग मिलेर निजी साझेदारले कानुनी प्रक्रिया मिलाएर राज्यको अर्बौंको सम्पत्ति हत्याउने यो प्रपञ्चलार्इ दुर्इ दशक यताका सबै सरकारले आँखा चिम्लिँदै आएका छन्। पछिल्लो पटक पाँच बर्षका लागि नेकपाको सरकार बनेको स्थितिलाई मध्यनजर गर्दै निजी लगानीकर्ताले राजनीतिक नेतृत्वसँग पहुँच पुर्याउन गौतमलाई नियुक्ति दिएको होटल स्रोतको दाबी छ।

नेपालखबरको सम्पर्कमा गौतमले व्यवसायिक रुपमा काम गर्न आफुले नियुक्ति पाएको दाबी गरे। ‘राजनीतिमा महत्वपूर्ण जिम्मेवारीमा नरहेकाले एउटा काम गर्नै पर्यो, सरकारसँग होटलको विवाद एउटा विषय होला’, गौतमले नेपालखबरसँग भने, ‘होटलको प्रशासनमा सल्लाहकारको रुपमा काम गर्दै आएको छु।’

आफुले पाउने तलबबारे भने उनले केही खुलाएनन्। ‘पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा जागिर खान जाँदा राम्रो भन्ने तर राजनीतिमा सक्रिय नरहेको बेला मैले काम गर्न किन नहुने?’, उनले प्रतिप्रश्न गरे।

कम्पनीको सेयर सम्बन्धी विवादलार्इ लिएर महालेखा परीक्षकको प्रतिवेदन २०७४ मा निजी लगानीकर्तामाथि कारवाहीको सिफारिस गरिएको छ।

‘समितिको क्षेत्राधिकारमा रहेको ३०४ रोपनी जग्गा र घरमध्ये १५० रोपनी जग्गा र दुई करोड रुपैयाँ बराबरको घरमा गरिएको सेयर लगानीको कुनै हिसाब किताब नदेखिएको हुँदा निजी लगानीकर्तामाथि कारवाही हुनुपर्ने देखिन्छ’, प्रतिवेदनमा भनिएको छ।

अस्वभाविक नोक्सानी देखाएर सम्पत्ति हत्याउन प्रपञ्च
पर्यटन मन्त्रालयले तारागाउँ विकास समितिका अध्यक्षको संयोजकत्वमा गठन गरेको छानवीन समितिले पनि निजी साझेदारहरुले अस्वभाविक नोक्सानी देखाएर चलखेल गरेको निष्कर्ष निकालेको थियो। सो कम्पनीको बोर्डमा सरकारी प्रतिनिधिलाई घटाएर एक सदस्यमा सिमित गरिएपछि तारागाउँ विकास समितिले प्रतिनिधि पठाएको छैन।

विकास समितिमा कार्यकारी अध्यक्ष नारदकुमार लुईंटेलले पटक पटक हिसाब–किताब पारदर्शी गर्न सरकारी निकायबाट आग्रह गर्दा पनि व्यवस्थापनले अटेर गरिरहेको बताए।

‘लामो समयदेखि सरकारी निकायका प्रतिनिधि पठाका छैनौं’, लुईंटेलले नेपालखबरसँग भने, ‘यसले सरकार र सर्वसाधारणको लगानीलाई हडप्ने काम भएको छ।’

बोर्डको बहुमतमा रहेका निजी सञ्चालकले संगठित रुपमा घाटा देखाउँदा होटलमा सरकारी सेयरको अनुपात घटेको घट्यै गरेको हो। सरकारी सेयरको ठूलो हिस्सा निजी साझेदारको हातमा पुगेको छ। जसले गर्दा बौद्धस्थित होटल सञ्चालन गर्न उपलब्ध गराइएको सरकारी जग्गा समेत सरकारको हातबाट गुम्ने अवस्था सिर्जना हुँदैछ।

‘कहिले कहीँ कार्यालय आउने गरे पनि गौतमले खासै होटलसम्बन्धी काम गर्नुहुन्न’, होटलका एक जना उच्च तहका कर्मचारीले नेपालखबरसँग भने, ‘गौतमको मुख्य जिम्मेवारी नै सरकारमा रहेका आफ्ना नेताहरूसँग होटलको विवाद सल्टाउन पहल गर्ने हो।’

यो पनिः होटल हायातकाे २० अर्बको सम्पत्ति हत्याउने दाउमा सराफ र श्रेष्ठ

प्रकाशित २२ असोज २०७५, सोमबार | 2018-10-08 15:26:59
Max TV
Max TV
Zen Travels

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नवीन न्यौपाने

    सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

    ‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा...

  • भुटानका नेपाली भाषी सांसद

    भुटानमा सांसद बने नौ जना नेपाली भाषी, मन्त्री पनि बन्लान?

    नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

  • ग्रेटवाल

    बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि

    ग्रेटवालको भित्तामा कोरिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि नेपाली मात्रैले गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट...

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।