एयर एशियालाई अर्काे मौकाः मंगलबारसम्म रकम नतिरे उडान बन्द हुने

एयर एशियाकाे जहाज
एयर एशियाकाे जहाज
नेपालमा उडान गर्दै आएको एयर एशियाले सेवा शुल्क बापत त्रिभुवन विमानस्थललाई बुझाउनुपर्ने ५ करोड नतिरेमा बुधबारदेखि नेपाल उडान बन्द गर्ने भएको छ।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलले एयर एशियालाई सेवा शुल्क बापतको रकम बुझाउन मंगलबारसम्मको म्याद दिएको छ। 

एयर एशिया वायुसेवा कम्पनीले बक्यौता बापत  २१ करोड रकम विमानस्थललाई बुझाउन बाँकी छ। 

बक्यौता रकमको ५ करोड मंगलबारसम्म नबुझाए उक्त विमानको नेपाल उडान बन्द गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए। ‘अन्तिम मौका स्वरुप एयर एशियालाई मंगलबारसम्मको म्यादि दिएका छौं,’ नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘एयर एसियासँग समन्वय भइरहेको छ। यो कम्पनीले सेवा शुल्क चुक्ता गरेमा जरिवाना विस्तारै चुक्ता हुने विश्वास गरेका छौं।’

विगत दुई वर्षभन्दा बढी समयदेखि उक्त कम्पनीले विमानस्थललाई तिर्नुपर्ने सेवा शुल्क तिरेको थिएन। एयर एशियाले यात्रुसँग उठाएको सेवा शुल्कसँगै विमानस्थललाई तिर्नुपर्ने शूल्क नबुझाएको हो। अन्य वायुसेवा कम्पनीले जस्तै यो वायुसेवा कम्पनीले पनि विमानस्थललाई सेवा शुल्क अन्तर्गत विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाई परिवहन सञ्चालन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर लगाएतका शुल्क तिनुपर्ने हुन्छ। सेवा शुल्क तिर्न ढिला गरे बापतको जरिवानासहित एयर एशियाले तिर्नु पर्ने रकम ४४ करोड पुगेको थियो।

कम्पनीले विमानस्थलको बारम्बार ताकेतापछि २३ करोड रुपैयाँ मात्र भुक्तानी गरिसकेको छ। त्यस पछि २१ करोड रकम चुक्ता गर्न बाँकी रह्यो।

बाँकी २१ करोड भुक्तानी गर्न ढिलाई गरेपछि २०७४ फागुन २२ सम्ममा बक्यौता रकम नतिरे उडान हुन नदिने भन्दै विमानस्थलले मलेसियास्थित मुख्यालयमा नै पत्र पठाएको थियो। तर, उक्त कम्पनीले हालसम्म पनि सबै बक्यौता तिरेको छैन। पटक पटक बक्यौता रकम चुक्ता नगरेमा उडान बन्द गर्ने भनिए पनि विमान कुनै रोेकावट एयर एसियाले उडान गर्दैै आएको छ।

बक्यौता रकम चुक्ता नगरी भदौ २० गते एयर एसियाले वर्ष दिनका लागि उडान नगर्ने जानकारीसहितको पत्र विमानस्थललाई पठाएको थियो। विमानस्थललाई तिर्नु पर्ने रकम बाँकी रहँदै १३ अक्टोबरदेखि उडान वर्ष दिनका लागि नगर्ने भन्दै विमानस्थललाई जानकारी गराएको थियो। यो वायुसेवा कम्पनीले रोजगारीका लागि मलेसिया जाने कामदारलाई नेपाल सरकारले श्रम स्वीकृति दिन बन्द गरेपछि यात्रुको संख्या कम भएको भन्दै उडान नगर्ने बताएको हो। यो पत्र पाएसँगै विमानस्थलले बाँकी बक्यौता रकम असुल गर्न प्रक्रिया अगाडि बढाएको हो।

नेपालबाट मलेसियामा धेरैजसो रोजगारीका लागि जाने गरेका छन्। त्यस्तैगरी मलेसियाबाट नेपाली कामदार फिर्ता हुनुका साथै पर्यटक समेत नेपालमा आउने गरेको तथ्याङ्क छ। सन् २०१६ मा मलेसियाबाट १३ हजार ६ सय ६९ पर्यटन नेपाल आएका थिए भने सन् २०१७ मा १७ हजार २ सय ८४ पर्यटक नेपाल भित्रिएका थिए। तुलनात्मक रुपमा हेर्दा अघिल्लो वर्ष ४ हजार ६ सय १५ पर्यटक आगमनमा वृद्धि भएको हो।

पर्यटक आगमनको संख्या वृद्धि हुदै गरेको अवस्थामा यो वायुसेवा कम्पनीले भने उडान बन्दा गर्ने भएको छ। १८ नोभेम्बर १९९६ मा स्थापना भएको एयर एसियाले हाल ७४ गन्तव्यमा उडान गर्दै आएको छ। जसमध्ये नेपाल पनि एक हो। नेपालमा यो वायुसेवा कम्पनीले ३७७ सिट क्षमताको एयरबस ३३०–३०० विमानबाट नेपालमा हप्तामा ५ उडान गर्दै आएको छ।

 

प्रकाशित 2018-09-24 18:53:23