चारजना चिनी उद्योगीलाई तत्काल पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएकोछ। उखु किसानलाई समयमा भुक्तानी नदिएको भन्ने उद्योग मन्त्रालयको सिफरिसको आधारमा गृहले पक्राउको निर्देशन दिएको हो।
गृह मन्त्रालयले अन्नपूर्ण सुगर एण्ड जेनेरल इन्डष्ट्रिज प्रालि सर्लाही र इन्दिरा सुगर मिल्स नवलपरासीका सञ्चालक राकेश अग्रवाल र ज्ञानप्रसाद भट्टराई, बागमती सुगर मिल्स नवलपरासीका सञ्चालक जगदीशकुमार अग्रवाल र एभरेष्ट सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज महोत्तरीका सञ्चालक शशिकान्त अग्रवाललाई तत्काल पक्राउ गर्न निर्देशन दिएको हो।
शशिकान्त अग्रवाल चिनी उत्पादक संघका अध्यक्ष समेत हुन्। उनीहरुलाई पक्राउका लागि उद्योग मन्त्रालयले गृहमन्त्रालयलाई औपचारिक पत्राचार नै गरेको थियो।
उखुबाट चिनी उत्पादन गरेर बिक्री गरिसक्दा समेत किसानलाई भुक्तानी नदिएपछि कारवाहीको बाटोमा जानु परेको उद्योग मन्त्रालयका प्रबक्ता दिनेश भण्डारीले जानकारी दिए। पक्राउका लागि गृहले सर्लाही, महोत्तरी, नवलपरासी पूर्व र पश्चिमका जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको छ।
गृह मन्त्रालयको पत्रमा ‘हालसम्म उखु किसानलाई दिनुपर्ने भुक्तानी नदिइै कार्यालय बन्द गराई किसानहरुलाई मर्कामा पारेको’ उल्लेख छ। पत्रमा ती उद्योगका सञ्चालकलाई पक्राउ गरी कानुनबमोजिम कारबाही अघि बढाउन र त्यसको जानकारी गृह मन्त्रालयलाई दिन पनि भनिएको छ।
उखु किसान र उद्योगीबीच उखुको मूल्य भुक्तानीको विवाद बढिरहेका बेला सरकारले उद्योगीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको हो। प्रत्येक वर्ष उखुको मूल्य भुक्तानीको विवाद हुने गरेपनि यस्तो कडा कारवाहीको अग्रसरता यसअघि लिइएको थिएन।
नेपालमा उत्पादन हुनेभन्दा आयातित चिनी सस्तो हुने भन्दै चिनी उत्पादक संघले चिनीमा ५० प्रतिशत भन्सार लगाउन माग गरेको थियो। अर्थ मन्त्रालयले बजेटअघि नै भन्सार दर १५ बाट ३० प्रतिशत पुर्याएको छ।
यद्यपि, अझै पनि आयातित चिनीसँग प्रतिस्पर्धा गर्न नसकेकाले भुक्तानी दिन नसकेको दावी उद्योगीहरुले गर्दै आएका छन्।