नाडाका अध्यक्ष दाहालसँग अन्तर्वार्ता: अनुगमनको नाममा सरकारले अटो व्यवसायीलाई दुख दिएको छ




शम्भु दाहाल
शम्भु दाहाल
प्रविन कोइराला

‘म पनि खाली खुट्टा काठमाडौं आएको हुँ। मान्छेले पछिको टार्गेट राख्नु पर्छ र सधैं त्यसमा लगनशील हुनुपर्छ। मेरो लक्ष्य रातो गाडी र रातो घर जोड्ने थियो त्यो मैले पुरा गरें।’

नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) को नयाँ नेतृत्व सिप्रदी ट्रेडिङका प्रमुख कार्याकारी अधिकृत शम्भु दाहालले लिएका छन्। आगामी दुई वर्षसम्म उनले अध्यक्षको जिम्मेवारी सम्हाल्दैछन्। अटो क्षेत्रमा अटो व्यवसायका ‘प्रोफेशनल’ व्यक्तिले पहिलो पटक अध्यक्षको जिम्वेवारी पाएको चर्चा अहिले भइरहेको छ। त्यसैले अबको नाडाको कार्य शैलीलाई चासोका साथ हेरिएको छ। यसै सन्दर्भमा नाडाका नवनिर्वाचित अध्यक्ष शम्भु दाहालसँग नेपालखबरका दीपक भट्टले गरेको वार्ताः

भारी मतले अध्यक्षमा निर्वाचित हुनु भएकोमा बधाई छ।
धन्यवाद।
नाडाले अब कस्तो कार्यदिशा लिन्छ?
म लामोसमय नाडामा आवद्ध भएँ। नाडाले व्यवसायीको हकहितको कुरा मात्रै गर्ने हो भन्ने कुरा पनि आयो। हामीले कति व्यवसायीका मर्काहरु बुझ्न सकेनौं भन्ने कुराहरु पनि आइरहेको छ। तर मलाई के लाग्छ भने हामीले टिम वर्क गर्नुपर्छ। टिम वर्क बनाएर व्यवसायीसँग उपस्थिति जनाउनु नै मेरो जिम्मेवारी हो। अटो मोवाइल व्यवसायीहरु नेपालमा धेरै छन्। म जहिले पनि सकारात्मक सोचमा सबैलाई अगाडी बढ्न अनुरोध गर्ने गर्छु। नाडा अब सकारात्मक सोचका साथ अगाडी बढ्छ। नडाले अब जे काम गर्दा पनि छिटो निर्णय गर्नेगरी आफ्नो कार्यदिशा लिन्छ।

टिमवर्कको कुरा गर्नुभयो, अहिले व्यवसायीहरु एकीकृत हुन नसकेको अवस्था हो?
मैले त्यसो भन्न खोजेको होइन। व्यवसायीहरु धेरै क्षेत्रबाट यसमा आवद्ध भएका छौं। थोरै विचार फरक पर्नु त ठूलो कुरा नै होइन। तर व्यासायिकताको कुरा गर्दा एउटै विचारले अघि बढ्नु पर्छ भन्ने मेरो योजना छ। त्यसका साथै अटो क्षेत्रमा अब कस्तो व्यावसायिकता ल्याउनु पर्छ भनेर सोच्न पनि जरुरी भएको छ। अर्को कुरा व्यवसायीका समस्याहरु समाधान गर्न पनि टिमले नै सजिलो बनाउँछ, मैले त्यसलाई फोकस गरेको हुँ।

यातायात क्षेत्र देशव्यापी भैसकेको छ, तर नाडा भने उपत्यकामा मात्रै केन्द्रित छ, किन?
यातायात व्यवसाय प्रायः उपत्यका केन्द्रित भएकोले नै नाडा पनि उपत्यकामा मात्रै रहेको हो। तर पनि नाडामा देशै भरिका व्यवसायी भने आवद्ध छन्। नाडा मकवानपुर तथा चितवनमा त छँदैछ। अब हामीले ७ वटा प्रदेशमा पनि शाखा विस्तार गर्ने योजना बनाएका छौं। प्रदेश अनुसारका शाखा विस्तार गर्ने योजना तयार पारिसकको छौं।

अटो क्षेत्र अलि विवादित पनि छ, नियामक निकायले गरेको अनुगमनलाई तपाईंहरुको विरोध किन?
हामीले राज्यका नियम कानुलाई पालना गर्नुपर्छ। हामी राज्यको कानुनभन्दा बाहिर जान चाहँदैनौं। तर हामीमाथि अलिकति अन्याय भने भएकै हो। राज्यको कुनै एक नियकाले हाम्रो गतिविधि मोनिटरिङ गरिरहेको छ। त्यसलाई उसले सदर समेत गरेको छ भने अर्को निकाय आएर गलत भयो भन्नु कत्तिको स्वाभाविक हुन्छ? सरकारले नै बुझ्नु पर्ने कुरा हो यो। सरकारले हामीमाथि लगाएको कानुनको एउटा निकायले मात्रै पालना भएको छ वा छैन भनेर हेर्नुपर्यो भन्ने कुरा व्यवसायीबाट आएको हो। धेरै निकायले अलिकति प्रतिशोध साँधेर पनि केही काम गरेका हुन् कि भन्ने बुझाई हो। सरसर्ति हेर्दा पनि हामीले के पाउँछौं भने धेरै निकायबाट एउटै कुरा पटकपटक देखाउन लगाउँदा व्यवसायी भनेका चाहिँ ठगी गर्ने नै हुन भन्ने मानसपटलमा पर्न सक्छ। व्यवसायीले पनि केही रुपमा आफ्नो सिमाना नाघेको अवश्य देखिन्छ। तर सरकारले भने हामीलाई हेर्ने नजर नै फरक बनायो, यो बदल्नु पर्छ।

हामीले नराम्रो गरेर पैसा कमाएको भनेजस्तो गरी केही निकायले अनुगमनका नाममा धेरै दुख दिएको पक्का हो। हामी सबैभन्दा धेरै राजश्व तिरेर देशलाई फइदा पनि गराइरहेका छौं भन्ने कुरा उनीहरुले नबुझेजस्तो गरे। त्यसमा हाम्रो आपत्ति हो। हामीमाथि अनुगमन गर्न आइन्छ, हामीले नबिकेका गाडीहरुलाई छुटमा बेचेका छौं भने त्यसमा पनि शंका गरिन्छ। त्यो छुट किन दिइयो, पहिले बेचेको गाडीमा पनि त्यति मूल्य किन नराखेको भन्ने गरिन्छ। त्यो कुरा सरकारले नबुझेको हो वा हामीले बुझाउन नसकेको हो त्यो मलाई पनि थाहा भएन।

कुनै पनि वस्तुको मुनाफा फरकरफरक हुन्छ र उत्पादनको समयका आधारमा छुट फरक हुन्छ। उदाहरणका रुपमा कुनै गाडी सन् २०१४ मा उत्पादन भएको छ भने व्यवसायीले बिक्री गर्नुपर्ने बाध्यात्मक अवस्थामा धेरै छुट दिनसक्छ। तर त्यही मोडलको गाडी सन् २०१७ मा उत्पादन भएको छ भने छुट कम हुन्छ। व्यापारका यी सामान्य सिद्धान्तका बारेमा सरकारलाई सुसूचित गराएर हामी अब नीतिगत परिवर्तनमा सहयोगीको भूमिका खेल्नेछौं। यसरी अगाडी बढेको खण्डमा व्यवसायीको पनि हित हुनेछ भने सरकारले पनि यो व्यवसाय पारदर्शी देख्नेछ।

सरकारले आयातमुखी व्यवसायले क्षणिक फाइदा दिने हो, नीजि क्षेत्र अब उत्पादनमुखी हुनुपर्यो भनिरहेको छ, तपाईंहरू के भन्नुहुन्छ?
मलाई लाग्छ यातायात क्षेत्र अनुत्पादक होइन। हरेक विकास निर्माणको काम गर्न यातायात अपरिहार्य छ। यसको माध्यमबाट नै अरु क्षेत्रमा उत्पादन बढ्छ। हरेक किसिमका विकासको लागि माध्यम हो यातायात। त्यसकारण सरकारले यसलाई अनुत्पादक भनेर गरेको व्याख्या सरासर गलत हो। तर अहिलेको सरकारले यातायातमा मापदण्ड भने तोक्न सक्छ। यस्तो यातायात मात्र नेपाल भित्राउने, यस्ता यस्ता यातायातको कारणले देशमा बाधा भयो भनेर कुनै सिमाना भने तोक्न सक्छ। अहिले सरकारले केही मझौला (माइक्रोबस) यातायातलाई त्यो रुपमा लिएको पाइन्छ। त्यसलाई हामी सकारात्मक रुपमा लिन्छौं।

तर नेपालमा देखासिखि गर्दै आफ्नो औकात भन्दा माथि गएर पनि गाडी चढ्ने चलन पनि छ, त्यसलाई के भन्ने?
हो, त्यसलाई अब कसरी रोक्न सकिन्छ भन्ने छ। हामी हैसियत भएकाहरुले मात्रै गाडी किन्न आउनु भन्नु भएन। त्यो त सर्वसाधारण आफैले बुझ्ने कुरा हो। आफु कुन स्थानमा पुगें, आफुले अहिले के उपभोग गर्दा उचित हुन्छ भन्ने कुरा आफैंले निर्णय गर्ने हो। ‘गाडी चढ्ने पैसाले कुनै व्यवसाय गर्नु, त्यसमा सफल भएपछि मात्र गाडी चढ्नु’ भनेर सरकारले भन्छ भने त्यो सही नै हो। सबै मानिस आफ्नो स्थान माथि देखाउन चाहन्छन् नै। तर त्यसका लागि आफ्नो आधार पनि हुनुपर्छ। म पनि खाली खुट्टा काठमाडौं आएको हुँ। मान्छेले पछिको टार्गेट राख्नु पर्छ र सधैं त्यसमा लगनशील हुनुपर्छ। मेरो लक्ष्य रातो गाडी र रातो घर जोड्ने थियो त्यो मैले पुरा पनि गरें। मैले ८–१० वर्ष भारतमा काम गरें। त्यहाँ काम गर्दा कति लात पनि खाएँ होला, तर म कहिल्यै विचलित भइनँ। म अहिले जस्तो छु त्यो आफ्नो सपनाको कारण नै छु।

नेपालमै उत्पादन भए गाडी सस्तो पनि पर्ने थियो होला? त्यसो किन हुन सकिरहेको छैन?
तपार्इंको कुरा जायज छ। तर एउटै समस्या भनेको नेपालमा उत्पदान लागत बढी लाग्न सक्छ। यसकारणले गर्दा अहिले व्यवसायीहरु चाहेर पनि त्यो काम गर्न सकिरहेका छैनन्। विदेशबाट त्यही सामान सस्तो मुल्यामा ल्याउन सकिन्छ। तर नेपालमा बनेको महँगो पर्छ भने त व्यवसाय नै धरापमा पर्न सक्छ। त्यसकारण नेपालमा आधिकारिक कम्पनीको अनुमति लिएर उत्पादन गर्न कठिन भएको हो। नेपालमा उत्पादन भएका गाडीहरु बेच्ने भनेको त भारतमा नै हो। नेपालको त कति नै मार्केट छ र? नेपालमा उत्पादन गरेर भारतमा गाडी बेच्दा भारतीय कम्पनीहरुसँग कसरी प्रतिस्पर्धा गर्न सक्छौं? सरकारले यस्ता कुरा बुझ्न आवश्यक छ। यदि सरकारले नेपालमा नै उत्पादन गर्न चाहेको हो भने लागत कम हुने वातावरण सिर्जना गर्नुपर्छ।

तपार्इंको नेतृत्वमा सरकारसँग नाडाको सहकार्य कस्तो हुन्छ होला?
सरकारसँग सहकार्य गर्दा पनि टिममा काम गर्नुपर्छ। एउटा व्यवसायी गएर एउटा माग राख्ने, अर्कोले त्यसलाई क्रस गर्ने काम गर्नु हुँदैन। व्यवसायीको एक्लो प्रयासबाट मात्रै अटो क्षेत्रको विकास सम्भव हुँदैन। त्यसका लागि सरकार र नीजि क्षेत्रको समन्वय अत्यावश्यक हुन्छ। सरकार र नीजि क्षेत्रको समन्वयमा काम भए व्यवसायसँगै मुलुकको आर्थिक विकासमा पनि सहयोग पुग्छ।

सरकारसँग हातेमालो गरेर यो क्षेत्रको समस्या समाधान गर्ने मेरो प्रयास हुनेछ। निजी सवारी साधनमा दिइने कर्जाको विषय वा सवारी साधन उत्पादक वा अनुत्पादक हो भन्ने बहसलाई हामी सरकारसँग समन्वय गरेर सहजीकरण गर्ने प्रयास गर्नेछौं। नीतिगत समस्यामा सरकारलाई गाली गरेर होइन सकारात्मक सोचका साथ छलफल गरेर अगाडी बढ्नेछौं। त्यस्तै अनुगमनको समस्यामा पनि पुराना ऐन नियम, व्यवसायको प्रकृति र व्यवसायीलाई हेर्ने सरकारी दृष्टिकोण परिवर्तनका लागि सकारात्मक सोचसहित सम्बोधन गर्ने प्रयास मेरो हुनेछ।

प्रकाशित ३ बैशाख २०७५, सोमबार | 2018-04-16 13:59:07


author photo

दीपक भट्ट नेपालखबर संवाददाता हुन्

@bhattajee1

दीपक भट्टबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • क्यान साधारणसभाको उद्घाटन समारोह

    ‘क्रिकेटको भविष्य उज्यालो भो’

    उद्घाटन समारोहका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगतकुमार सुनार(विश्वकर्मा)ले पानसमा दियो बाल्दै थिए। दियो बलेर उज्यालो हुदै गर्दा मञ्चबाट...

  • छिङ्हाइ–तिब्बत रेल

    हिमाल-पार रेलमार्गको चिनियाँ अभिष्ट

    हिमाल पार गर्ने त्रिआयामिक सम्पर्क सञ्जाल खडा गर्ने चीनको अभिलाषा छ। नाका, रेलमार्ग, हवाइमार्ग, विजुली सञ्जाल, दूरसंचार लगायतका विविध क्षेत्रबाट...

  • बजार अनुगमन

    बजार अनुगमन अब स्थानीय तहबाट

    अगनुगमनमा स्वतः जानु भन्दा उजुरीलाई आधार मान्न जोड दिइएको निर्देशिकामा उपभोक्ताले कुनै सूचना उपलब्ध गराएमा, कुनै निकायले अनुगमन गर्न निर्देशन...

  • चीनसँग भयो यस्तो सहमति

    १०. केरुङदेखि काठमाडौँसम्मको नेपाल–चीन सीमापार रेलमार्ग तथा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको डिपिआर तयार गर्ने तथा सम्भाव्यता अध्ययन गर्ने विषयमा...