कन्ट्रोलको गलत निर्देशनले दुर्घटना: युएस बंगला एयरलाइन्स

दुर्घटनापछि जल्दै गरेकाे युएस बंगलाकाे जहाज
दुर्घटनापछि जल्दै गरेकाे युएस बंगलाकाे जहाज
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार ४९ जनाको ज्यान जानेगरी भएको एसबी २११ उडान दुर्घटना काठमाडाैं विमानस्थल एयर ट्राफिक कन्ट्रोल (एटिसी) को गलत निर्देशनले भएको युएस बंगला एयरलाइन्सले दावी गरेको छ।

विमान र विमान चालकमा कुनै समस्या नदेखिएको अवस्थामा एटिसीको गलत निर्देशनका कारण जहाज दुर्घटना हुन पुगेको युएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान असिफले दाबी गरेका हुन्।

‘हाम्रो जहाजमा कुनै प्राविधिक खराबी थिएन तर काठमाडौं टावरका एटिसी अधिकारीले गलत सिग्नल दिएपछि चालक दलले धावनमार्गको कुन ठाउँबाट अवतरण गर्ने भन्ने नै थाहा पाएनन्’, बंगलादेशको द डेलीस्टार अनलाइनसँग कुराकानी गर्दै उनले भनेका छन्, ‘त्यही कारणले जहाज दुर्घटना हुनपुग्यो।’

सम्बन्धित समाचार : 'कन्ट्राेल रूमकाे निर्देशन उल्लंघन गर्दा दुर्घटना' (भिडियाे)

क्याप्टेन अबिद सुल्तान नेपाल उडानमा अनुभवी पाइलट रहेको एयरलाइन्सले जनाएको छ।को-पाइलट पृथुला रसिद भने पहिलो पटक उडान गरेर नेपाल अउँदै थिइन्। उनीहरूको मृत्यु भएको छ।

युएस बंगला एयरलाइन्सको बम्बार्डर ड्यास ८ क्यु ४०० सिरिजको जहाज सोमबार त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल उत्तरपट्टिको चउरमा दुर्घटनाग्रस्त भएको थियो। ७१ यात्रु सवार सो जहाज दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको थियो।

याे पनि : 

विमान दुर्घटनाअघि पाइलट-टावर के सम्वाद भयो? (अडियो)

युएस बंगलाका पाइलटले यसरी टारे अर्को ठूलो दुर्घटना


प्रकाशित 2018-03-13 11:13:26