मोनोरेलबारे यस्तो छ चिनियाँ अनुभव



चीनको मोनोरेल
चीनको मोनोरेल

मोनोरेलबारे अध्ययन गरेपछि मात्रै मेयरहरूले झुण्डिने मोनोरेल, लिगलाई ढाक्ने स्ट्राडल-बिम वा अन्य कुन किसिमको रेल कुदाउनेछन्, भन्न सकिएला।

हालै संचारमाध्यमहरूमा एउटा समाचारले स्थान पायो– ललितपुर र काठमाडौका दुई जना मेयर मिलेर मोनोरेल चलाउने विषयमा सहमति जनाए। स्थानीय तह निर्वाचनपछि चुनिएका अधिकांश मेयर वा वडाध्यक्ष लगायत धेरैले लोकप्रिय निर्णयहरू सार्वजनिक गर्दै मिडियामा छाउने मौका पाइरहेका बेला देशको राजधानीकै दुई मेयरको ऊर्जाशील निर्णय सुनेर जो कोहीको मुख नरसाउने त कुरै थिएन।

विश्वमा आर्थिक विकासको दवदवा मच्चाइरहेका दुई बडेमानका मुलुक चीन र भारतमा त बल्ल बल्ल कुदिरहेको मोनोरेलको वास्ना नेपालमा चल्नु अवास्तविक पनि भएन। काठमाडौं महानगरभित्रै मानिसहरू सडकका खाल्डोमै खसेर सहीद हुनुपर्ने स्थितिमा आकाशमा गुड्ने मोनोरेल तत्काल कुद्ला त भनेर जिज्ञासा उब्जिनु अयथार्थ पनि हुन सक्दैन। साँच्चै, बुढानीलकण्ठ-गोदावरी मोनोरेल कुदाउन सकिएला त?

सन् १८२० मा रसियाका इभान एल्मानोभले मोनोरेलको परिकल्पना गरे, बेलायतका हेनरी पाल्मरको सिंगल मेटल रेलको प्रयोग गर्दागर्दै सन् १९५० दशकसम्म आइपुग्दा मोनोरेलका अनेकन डिजाइनहरू बन्दै गए। त्यति सजिलै मोनोरेल बनेको हैन। सन् १९०१ मा लिभरपुल–म्यानचेस्टर मोनोरेल प्रस्तावमा आएर पनि कहिल्यै बनेन। सन् १९३० को दशकमा न्यूयोर्क सिटीमा मोनोरेल बनाउने प्रस्ताव पनि कागजमै सीमित भयो। मोनोरेल भारतको पञ्जावमा अङ्ग्रेज उपनिवेशताका चलेको थियो तर १०-१२ वर्ष नचल्दै पाटियाला स्टेट मोनोरेल बन्द भएको थियो।

सन् १९८० को दकशमा मोनोरेलको ख्याति बढ्दै गयो। कारण थियो, बढ्दो जनसंख्या र शहरी क्षेत्रमा ट्राफिक जाम। सन् १९८० पछि मलेशिया, जापान लगायतका मुलुकमा मोनोरेलको तीव्र माग बढ्यो। अहिले पनि जापानको टोकियोमा मोनोरेल उस्तै चाप हुने रेल बनेको छ। त्यहाँ प्रतिदिन १ लाख २७ हजार यात्रुले मोनोरेलबाट ओहोरदोहर गर्दछन्।

मोनोरेलका आकार प्रकार पनि विकास हुँदै गएकाले अहिले अग्ला अग्ला स्तम्भमा एउटै लिगमा कुद्ने, लिगलाई ढाकेर कुद्ने, झुण्डिएर कुद्ने मोनोरेलको विकास भैसकेको छ। सिंगल ट्रयाकमा चल्ने, अन्य रेलभन्दा मध्यम क्षमताको र शहरी क्षेत्रमा यातायातमा सहज मानिने मोनोरेल विश्वका विभिन्न देशमा प्रयोग गरिएको छ। निर्माण गर्न झण्झटिलो भएर हो वा सडक माध्यम नै यातायातको भरपर्दो माध्यम ठानेर हो, लामो इतिहास भैकन पनि एशियामा भारत, चीनजस्ता मुलुकमा यसप्रति त्यति ध्यान दिएको जस्तो लाग्दैन। धेरै एशियाली देशहरूमा मोनोरेल कतै बन्ने क्रममा छन् भने कतै यस्ता योजनाहरू त्यतिकै तुहिएका पनि छन्।

चीनमा मोनोरेल कुदेको एक दशकजति भयो। भारतमा, मुम्बइमा पनि मोनोरेलले पुनर्जीवन पाएको आधा दशक कटेको छैन। मुम्बइमा त हालै खुलेको मोनोरेललाई लिएर यातायात विज्ञहरूले अनुपयुक्त भनेर टिप्पणी गर्न थालेका छन्। केही किलोमिटर कुद्ने, संचालन लगत पनि चर्को, यात्रुहरूलाई भनेजस्तो सन्तुष्टी दिन नसक्ने भनेर आलोचना गर्न थालिएको छ।

विश्वमा रेल यातायातका अनेकन इतिहास रच्दै गएको चीनमा पनि मोनोरल संचालनमा त्यति तीव्रता देखिँदैन जति अरू रेल विकासमा देखिन्छ। राजधानी बेइजिङमा पनि अहिलेसम्म मोनोरेल कुदेको छैन। निर्माणाधीन हुन थालेको पनि ३(४ वर्ष भैसकेको सुनिन्छ। चीनको दक्षिण पश्चिममा सन् २००४ को नोभेम्बरतिर पर्यटन मोनोरेल सुरू गरेको छोङछिङ महानगरले सन् २००५ को मध्य जुनपछि सर्वसाधारण यात्रु ओसार्न थाल्यो। कूल ६४ स्टेशन र ९८ किलोमिटर दूरीमा कुद्ने मोनोरेलका ३ लाइन छन्। यसले अति व्यस्त समयमा १ मिलियन यात्रुसम्म ओसारेको रेकर्ड छ। त्यसका साथै शाङहाईमा सन् २००४ देखि ३० दशमलव ५ किलोमिटर दूरीमा म्याग्लेव मोनोरेल चलिरहेको छ।

चीनले शहरी यातायातलाई सन् २०२० सम्ममा चुस्त पार्न नयाँ प्रविधिको अवलम्बन गर्ने नीति लिएपछि अहिले विभिन्न प्रान्तहरूले अनुसन्धान र प्रयोगहरू तीव्र पारेका छन्। चीनको सबैभन्दा ठूलो रेल उत्पादक सिआरआरसी छिङताउ स् फाङ कम्पनीले चीनको उच्च प्रविधिको म्याग्नेट मोनोरेल तीन वर्ष लगाएर तयार पारेको छ, जसमा प्रयुक्त पार्टस् ९७ प्रतिशत चिनियाँ छन्। यसरी यस्तो रेलको निर्माण लागत र समय पनि धेरै छ।

चिनियाँ अनुभवमा मोनोरेल निर्माण भूमिगत मेट्रो बनाउनुभन्दा एक तिहाई सस्तो पर्न जान्छ। अति व्यस्त समयमा मोनोरेलले लाखौं यात्रु ओसार्न सक्छ। मोनोरेलको बेग्लै लाइन हुने भएकाले यसमा अरूको अवरोध वा भीड हुने भएन। यसप्रकारको रेलले सानो क्षेत्रफल कब्जा गर्ने, चौडाई पनि सानो हुने, खम्बै खम्बा गुड्ने तथा घना बस्तीमाझबाट वा अग्ला अग्ला भवनका साँघुरा स्पेशबाट पनि कुद्न सक्छ। मोनोरेलले कारको भन्दा पनि कम ध्वनि प्रदूषण गर्छ। मुख्यतया बढ्दै गरेको यात्रु संख्या, वातावरणीय चिन्ता र सडकको जाम न्यूनीकरणका चुनौती भोग्नुपरेका क्षेत्रमा मोनोरेल उपयुक्त हुनसक्छ।

मोनोरेल प्रयोग शहरी क्षेत्रहरू, एयरपोर्ट टर्मिनल, वाह्य ट्रान्सपोर्टका हवहरूसम्म पुग्न, कछाड क्षेत्र, शपिङ मल, मनोरञ्जक पार्क, पर्यटकीय स्थलहरू र विश्वविद्यालय क्षेत्रसम्म पुग्नका लागि उपयुक्त हुनसक्छ। पर्यटकीय क्षेत्र वा अत्याधिक भीडभाड हुने क्षेत्र निश्चित गरेर केही उपलब्धी हुने हिसावले मोनोरेल बनाइयो भने त्यो फाइदाजनक नै होला। पर्यटकलार्इ साइट सिइङ गराउनका लागि पनि मोनोरेल चलाउन सकिन्छ।

भारत र चीन जस्ता विशाल अर्थतन्त्र भएका मुलुकमा पनि त्यति रूची नदेखाइएको वा ढिलो रूची देखाइएको मोनोरेलप्रति नेपालमा किन आशक्ति बढेको हो भनेर बुझ्न गाह्रो छ। हुन त नेपालमा रेल बन्ने वा छिटै चल्ने कुरा त जादूको छडी चले मात्रै हो, या त हातमा डाडुपन्यूँ लिएकाहरूको इच्छाशक्तिको कुरा पनि हो। लोकप्रिय हुनका लागि नेताहरूले अहिलेको भोलि नै बन्ने जस्तो हसक्क पार्ने भएपनि कार्यान्वयनमा नेपालमा धेरै ढिलासुस्ती देखिन्छ भन्ने सबैलाई थाह छ।

तत्काल रेल कुदाउनका लागि अध्ययन, बैठक, भ्रमण, अवलोकन आदि चहलपहल त हुनसक्छ तर यो त्यति सजिलो ओठबाट व्यक्त शब्दजस्तो बनिने संरचना होइन भन्नेतर्फ पनि उत्तिकै जानकार हुनुपर्दछ। मोनोरेलबारे अध्ययन गरेपछि मात्रै मेयरहरूले झुण्डिने मोनोरेल, लिगलाई ढाक्ने स्ट्राडल-बिम वा अन्य कुन किसिमको रेल कुदाउनेछन्, भन्न सकिएला।

छिमेकी मुलुकहरू नै मोनोरेलमा अभ्यस्त हुन वर्षौं पर्ख र हेर गर्नुपरिरहेका बेला मोनोरेल कुदिहाल्यो भने विकासमा नेपालको प्रतिष्पर्धा दुइ छिमेकीसँग भएको प्रतीक पनि हुनेछ। त्यति मात्रै नभएर विकासको एउटा सम्पदाको रूपमा पनि यसलाई नेपालीले गर्वसाथ लिन पाउनेछन्।

प्रकाशित २ साउन २०७४, सोमबार | 2017-07-17 17:23:33
author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रत्यक्षतर्फ ९० सिट जित्ने लोकतान्त्रिक गठबन्धनको दावी

    मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले आफूले जित्ने सिट संख्याबारे दाबी गर्न थालेका छन्। कांग्रेसको नेतृत्वमा...

  • रोहित, अनिल र अासिफ

    यी हुन् राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउने युवा खेलाडीहरु

    विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत डिसेम्बरमा हुने युएई विरुद्धको खेलको तयारीका लागि यसअघि बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुकाे नाम...

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...