ब्लग

अन्तरजातीय बिहेको दुखद् बकपत्र



छोरीसँग अभियन्ता विन्दु
छोरीसँग अभियन्ता विन्दु

मेरो बाल्यकालमा दलित हुनुको विभेद अनुभव भएन। दौंतरीहरुले मलाई दलित भनेर कहिल्यै विभेद गरेनन्। डुल्दा, खेल्दा, खाँदा जुनैबेला पनि समान रुपमा आत्मीयता थियो दौंतरीमाझ। तर यो बाल्यकालको आत्मीयता वयस्क हुँदै गएपछि तोडिंदै गयो। जब मैले अन्तरजातीय विवाह गरें, तब मैले अनेकन विभेद भोग्न थालें।

मलाई लाग्छ धेरै अन्तरजातीय विवाह गर्ने जोडीहरुलाई घरपरिवारले स्वीकार नगर्दा त्यहींबाट नै खटपट सुरु हुन्छ। कति जोडीको यस्तै खटपटबाट सुरु भएको झगडा सम्बन्ध विच्छेदमा टुंगिएको धेरै घटना देखेकी छु मैले।

एउटा घटना। मेरी छोरी सात वर्षकी थिइन्। एकदिन साह्रै नमीठो प्रश्न गरिन्, ‘ममी मलाई मेरो बाबाको घरमा किन भित्र पस्न दिनुहुन्न? मेरो अंकलको छोरी पस्न हुने म चाहिं नहुने?’ उनको प्रश्नको खास जवाफ मसँग थिएन। तैपनि उनको चित्त बुझाउने प्रयास गरें र भनिदिएँ ‘तिम्रो बाबा नेपालमा हुनुहुन्न, बाबाको घरमा बाबा नआई हामी पस्यौं भने देवता रिसाउँछन्।’

मैले यस्तो जवाफ दिनुपर्दा मेरो मन साह्रै भक्कानिएको थियो। तथापि, छोरीले चित्त बुझाइछन् सायद, त्यसपछि उनी कहिल्यै पनि बुबाको मूलघर जाँदा भित्र पसिनन्। बाहिरै बस्थिन्, बाहिरै बसेर खान्थिन्।

छोरीको स्कूल त्यति चित्त बुझिरहेको थिएन। अर्को स्कूल भर्ना गरिदिने सोच भयो। पहिलाको ओलिभर स्कुल छाडेर गुह्येश्वरी स्कुलमा ५ कक्षामा भर्ना गरिदिएँ।

एकदिन स्कूल जाने बेला छोरीको स्कुल डायरीमा मेरो आँखा पुग्यो। मन झसँग भयो, उनले त डायरीमा मेरो नाम नाम बिन्दु थापा लेखिकी रहिछिन्। म छक्क पर्दै सोधेँ, ‘किन तिमीले मेरो नाम बिन्दु थापा लेखेको म त परियार हो नि!’ उनले भूमिका नबाँकी उत्तर दिइन्, त्यो पनि सुझाव शैलीमा। उनले भनिन्, ‘ममी, अबदेखि स्कुलको मिटिंग, कार्यक्रमहरुमा जाँदा तपाईले परियार नलेख्नू है थापा लेख्नू।’

छोरीको यो कुराले आश्चर्यमा परें। स्कुलमै जातीय भेदभाव हुने रहेछ भन्ने महसुस भयो। मैले स्कुलको प्रिन्सिपलसितै भेट्ने विचार गरें। प्रिन्सिपलले छोरीको कुरामा सहमतिसहित बेलीविस्तार लगाए। उनले शिक्षकहरुमा जातीय विभेदको कुरा नभएको तर केटाकेटीहरुमा नै विभेदको कुरा हुने भएकोले केटाकेटीलाई मानसिक असर परेको हुनसक्ने उत्तर दिए। म प्रिन्सिपलसित गम्भीर गफ गरिरहेको थिएँ। यता, छोरीमा भने परियार थरप्रति वितृष्णा जागेको महसुस भइरहेको थियो।

यता, छोरी मेरो परिवारपट्टि कसैलाई मन नपराउने भइसकेकी थिइन्। उनी प्रायः मेरो परिवारलाई झिँजो मान्ने अवस्थामा पुगेको महसुस हुन्थ्यो। एकदिन मेरो दिदीसँग यही जातकै विषयमा भनाभन भएछ। उनले त दिदीलाई दमिनी भनिछन्। दिदीको छोरीले पनि भनिछन्, ‘तेरो ममी पनि दमिनी त हो नि, तेरो ममी पनि दमिनी भएपछी तँ पनि दमिनी भैहालिस् नि।’ त्यसपछि छोरीले भनिछन्, 'मेरो शरीरमा ९५% रगत मगरको र ५% मात्रै दमाई हो म नसा काटेर ५% रगत पनि बगाईदिन्छु र १००% मगर हुन्छु!’ जब म बेलुका घर फर्किएँ, मलाई सबैले यो दिउँसोको विवाद सुनाए। म आत्तिएँ। अब चाहिं साँच्चै छोरीलाई परामर्शको आवश्यकता देखें। तर परामर्श कसरी दिने भने सोचिरहें।

एकदिन संयोगले उनको डायरी पढें, त्यहाँ उनले संसारको ३ जना मान्छेलाई मात्रै माया गर्छु र तिनीहरु पहिलो उनको बाबा दोस्रो शाहरुख खान र तेस्रो उनको प्रिन्सिपल भनेर लेखेकी थिइन्। छोरीलाई काउन्सेलिङ उनकै प्रिन्सिपलले गर्दा ठीक हुन्छ होला जस्तो लागेर फेरि छोरीको स्कुल गएँ र यो सब कुराहरु भने। प्रिन्सिपलले काउन्सेलिङ गर्ने वाचा गर्नुभयो।

यसरी नै समय बित्दै थियो। छोरी घरमा झगडा अलि कम् गर्न थालिन्। मसँग पनि पहिलाभन्दा अलि बढी बोल्न थालिन्। यस्तैमा महाभुकम्प गयो, त्यसकै ६ दिनपछि हामी सबै गोरखा गयौँ। गोरखा गएपछि म घर बस्न पाउन्नथें किनभने म मेरो क्षेत्रमा दिनरात केही नभनी राहत वितरणमा लागें। छोरीसँग खासै कुरा हुन्थेन। म प्रायः घरबाट निस्कँदा छोरी सुतिरहेकी हुन्थिन् भने फर्कँदा कहिले टिभी हेर्दै। थाकेर आएको हुन्थेँ अनि आफू पनि निदाइहाल्थेँ।

यसरी दिन बित्दैथ्यो। एकदिन घैरुंग भन्ने ठाउँमा राहत दिएर फर्कँदै थिए बाटोमा गाडीको तेल सकियो। रात परिसकेको थियो, हामीसँग हिडेर जाने आँट पनि थिएन। गाउँको ट्रक थियो। गाउँबाट तेल मगाएर त्यही ट्रकमै जाने भनेर तेल कुर्न थाल्यौं। तेल कुरेर घर पुग्दा रातिको ११.३० भइसकेको थियो। घर पुगेपछि आमाले ‘क्रस्टिना (छोरी) ममी आएपछि ममीसँगै सुत्छु भन्दै गनगन गरिरहेको’ बताउनुभयो।

भोलिपल्ट अलि ढिलो उठेछु। उठ्दा छोरी उठेर म उठ्ने प्रतीक्षा गरेर बसेकी रहिछिन्। म उठ्नेबित्तिकै मलाई अंगालो हालिन् र भनिन्, ‘ममी आई एम रियल्ली प्राउड अफ यु! लभ यू सो मच।’ छोरीको यो कुराले म सपनामा पो छु कि भन्ने महसुस भयो। आफैंलाई चिमोटेँ हैन म विपनामै रहेछु। खुसीले मेरो आँखाबाट तप्प आँसु खस्यो। उनले अझै भनिन्, ‘अचेल म स्कुलमा पनि आफ्नो थर परियार थापा भन्छु ।’ बल्ल थाहा पाएँ छोरीको मानसिक परिवर्तन। उनलाई प्रिन्सिपलले काउन्सेलिङ गर्नुभएको रहेछ।

यी दुईवटा घटना त मेरो छोरीसँगको मात्रै हुन्। बिहेपछि मैले आफैँले पनि त्यस्ता कति भेदभावको शिकार हुनु परेको छ। एउटा सुनाऊँ, म भर्खरै बिहे भएको बेलाको। म त्यतिबेला १६ वर्षकी मात्र थिएँ। अन्तरजातीय बिहे गरिएको हुँदा कैयौं वर्ष घर गइनँ। चाडपर्वमा अरुको खुसी हेर्दै रोएर बिताउँथे। धेरै वर्षसम्म मेरो परिवार र उहाँको परिवारबीच बोलचाल, अर्मपर्म सबै बन्द भयो।

बिहे गरेको १५ वर्षपछि सामान्य बोलचाल हुन थाल्यो दुई परिवारबीच। तर विभेद खासै कम थिएन। म दशैंमा घर जान्थेँ तर मेरो भागको दशैं टीका दुनामा राखेर दिइन्थ्यो र भनिन्थ्यो तिमी एक्लैलाई टीका लगाउन हुँदैन छोरो आएपछि सँगै लगाउने।’ डेढ दशक बितेपछि बल्ल मैले ससुराको हातबाट दशैंको टिका लाउन पाएँ, त्यो पनि गत वर्ष मेरा पति नेपाल आउँदा मात्र।

एउटा अनुसन्धानले ७५% जातीय भेदभाव अन्तरजातीय विवाहले हटाउँछ भनेर प्रतिवेदन सार्वजनिक गरेको रहेछ। तर मलाई लाग्दैन अन्तरजातीय विवाहका कारण विभेद घटेको छ भनेर। सँगै खादैँमा छोइँदैमा, मन्दिर पस्न दिँदैमा, धारा, इनार प्रयोग गर्दैमा विभेद घटेको सोच्नु मुर्खताबाहेक अरु केही हैन। जबसम्म यो घटनाहरु समाचार बनिरहन्छन् तबसम्म विभेद अझै बाँकी हुन्छन्।

मलाई लाग्छ धेरै अन्तरजातीय विवाह गर्ने जोडीहरुलाई घरपरिवारले स्वीकार नगर्दा त्यहींबाट नै खटपट सुरु हुन्छ। कति जोडीको यस्तै खटपटबाट सुरु भएको झगडा सम्बन्ध विच्छेदमा टुंगिएको धेरै घटना देखेकी छु मैले। अझै बालबच्चा जन्मिएपछि केटाले छोडेर जाँदा धेरै बालबच्चाहरु बुवाविहीन र आमाहरुलाई बालबच्चाहरु हुर्काउन निकै गाह्रो भएको घटनाहरु धेरै छन्। अझै भनौं, धेरै त्यस्ता बालबालिका छन्, जसलाई यो समाजले बाबुविहीनको संज्ञा दिन्छ अझै पनि।

तपाई‍ंलाई लाग्ला, म आफैँ अन्तरजातीय विवाह गरेर म नै यसको विरुद्द लेख्दैछु भनेर। यसको एउटैमात्र कारण मैले अन्तरजातीय विवाह गरेर नजिकबाट यस्ता समस्याहरु नियालेको छु, धेरै भोगेकी पनि छु।

त्यसकारण म भन्छु यदि कोही अन्तरजातीय विवाह गर्न चाहनुहुन्छ या जोड़ी रोजिसकिएको छ भने पहिला परिवारलाई पूर्ण रुपले राजी बनाएरमात्रै बिहे गर्नु आवश्यक छ। यदि अन्तरजातीय विवाह गर्दा मारिनुपर्छ, कुटिनुपर्छ या विस्थापित हुनुपर्छ भने विशेषत दलित युवायुवतीलाई मेरो आग्रह छ, भुलेर पनि अन्तरजातीय विवाह नगर्नुहोला। जिन्दगी रोएर बिताउने मन कसैको हुँदैन।

 

प्रकाशित १५ पुस २०७३, शुक्रबार | 2016-12-30 12:43:53
author photo

विन्दु परियार थापा सामाजिक विभेदविरुद्ध अभियन्ता हुन्

@paribindoo

विन्दु परियार थापाबाट थप


प्रतिकृया दिनुहोस

  • बा–आमाको हातमा छोराको किताब

    छोराको ‘अंश’ पाउने मेरा बा–आमा

    फोटो देखेपछि पहिलो फोन गरिन रामकुमारी झाँक्रीले– भेना, बुढाबुढी बा–आमालाई त्यस्तो ‘अंश’ दिएर हुन्छ? सेवा गर्नु पर्दैन? गाडीमा चर्को लोकगीत बजेको...

  • बेइजिङमा दूताबासले आयोजना गरेको छलफल

    बेइजिङमा जब भयो ओठ–सेवाको चर्चा

    ‘ओठ–सेवाले जनताका लागि केही ल्याउन सक्ने छैन अर्थात् लिप सर्भिस् वील ब्रिङ नथिङ टु द पिपुल।’ नेपालमा दुई–चार वर्ष बसेका ती चिनियाँ विद्वानले नेपाली...

  • तँ, तिमी, तपाईं, हजुर

    अबोध बालबालिकाले तँ भन्नु सामान्य कुरा होला। तर बुझेर पनि आफूभन्दा ठूलालाई तँ भन्नु हैकमवादी प्रवृत्ति नै हो। यो केवल शाब्दिक कुरा नभई वर्गीय विषय...

  • लन्डनस्थित पोर्टस्मथ क्याम्प साइट

    बेलायती समर र क्याम्पिङको रहर

    आहा! समर लाग्यो क्यारे! बाहिर त टहटह घाम पो लागेछ। मन त यसै चङ्गा। बेलायतमा सधैँजसो जाडो हुने हुनाले पनि समरका केही महिना निक्कै प्यारा हुन्छन्।...

  • प्रश्नको भारी लिएर गुरु अघिल्तिर टेक्सासका नेपाली

    गुरुहरु जिपिएस जस्तै हुन्। फरक यत्ति मात्रै हो– अलि बढी साधना गरेका, अध्ययन, अनुभव र शब्दले भरिएका गुरुहरुले देखाउने आध्यात्मिक बाटाहरु सोझा र छिटा...

  • रवीन्द्र मिश्र र उज्ज्वल थापा

    साझा–विवेकशील एकताका जोर्नीहरु

    यिनले अहिलेसम्म सहरकेन्द्रित समस्यामा मात्रै बहस गरेर राजनीतिक बाटो खनेका छन्। सामाजिक सञ्जालको भरपुर प्रयोग गर्छन्। युवाहरूको उपस्थिति धेरै रहेको...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • ‘प्रशंसैप्रशंसा पाउनलाई म धार्मिक गुरु होइन’

    नेपाली हास्यव्यंग्य क्षेत्रमा जमेको नाम हो– दिपकराज गिरी । हास्य सिरियल हुँदै अहिले फिल्मसम्म उनी जमिरहेका छन् । नेपालखबरले सोमबार बिहान–बिहानै...

  • संसद बैठक ( फाइल )

    सदनमा संविधान संशोधन पक्ष-विपक्षबीच घोचपेच

    व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदले दोस्रो संशोधन ‘बेमौसमको बाजा’ भएको भन्दै कटु आलोचना गरे भने...

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • २०६९ चैत २४ गते एमाओवादी प्रवेश गरेका झालाई स्वागत गर्दै बाबुराम भट्टराई (फाइल फोटो)

    दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय

    रामद्वय अर्थात् रामचन्द्र झा र रामकुमार शर्मा पहिलो पटक होइन, क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशका...