जिन्दगीः आइसक्रिम समय

जिन्दगी आइसक्रिम हो, चाटे सकिन्छ नचाटे पग्लिन्छ



सुरूमै थाहा पाउनुहोस् - यो कथामा मेरो झोला हराउँछ।

०००

कुरा मे महिनाको हो। बेलुकीको ९ बजेको छ। कोरियाको मासाना सिटीको बस टर्मिनलमा म र साथी छौँ। उल्टो बाटो समाएकाले यहाँ आइपुगेका हौँ। नत्र यतिखेर ख्याङ्जु सिटीमा बियरको घुट्को लिइरहेको हुनुपर्ने थियो। उल्टो बाटो यात्रा गरेकोमा कुनै पछुतो छैन। पुग्नुपर्ने ठाउँमा एक घण्टा ढिलो पुगिने भइयो। यसमा पनि कुनै गुनासो छैन। टन्न छ समय!

मासानबाट ख्याङ्जु सिटीको बसयात्रा जम्मा दुई घण्टा हो। लोकल बस परेकाले बीचको याङ्सान स्टेसनमा १० मिनेटलाई रोकिन्छ।

याङ्सान स्टेसनमा गाडी रोकिएपछि हामी उत्रन्छौँ।

मलाइ यात्रामा भेनिल्ला आइसक्रिम र अमेरिकानो हट कफी मनपर्छ। 

यो खान कोरिया आएरै सिकेको हुँ। पहिलोपल्ट खाँदा नै यसको स्वाद मेरो जिब्रोको पछि लाग्यो। मैले पनि अरू स्वादको खोजी गरेको छुइनँ। खान जानेको पनि छुइनँ। सिक्न पनि खोजिनँ। जति स्वाद चाख्यो त्यति खर्च। खर्च कम गर्न चाहान्छु। बरू दिक्क नलागुन्जेल एउटै स्वादमा रमाउँछु। स्वभाव पनि त्यस्तै छ। तितेकरेलाको तरकारी खान थालेपछि दिक्क नलागुन्जेल त्यही खाइरहने। घिरौँला खान थालेपछि घिरौँला मात्रै। आलु खान थालेपछि आलु मात्र। जुन दिन दिक्क लाग्छ, त्यसपछि कहिलै त्यसलाई फर्केर हेर्दिनँ। थुप्रै स्वादको नष्ट यसरी नै गरेको छु। कुन दिन यो भेनिल्ला आइसक्रिम र अमेरिकानो हट कफीको स्वाद पनि जिब्रोबाट नष्ट हुनेछ। त्यसपछि अरू स्वादको खोजी गर्नेछु।

आइसक्रिम पार्लरमा छिरेर बिना मेनु फ्याट्ट भेनिल्ला आइसक्रिम मगाउँछुँ। साथीको लागि पनि मेरै स्वाद सिफारिस हुन्छ। सेल्स गर्लको नरम हातमा बैंकको भिसा कार्ड थमाएपछि हाम्रो हातमा भेनिल्ला आइटम पर्छ।

समय टन्न भए पनि आइसक्रिम पार्लरको सानो कुर्सीमा खुम्चेर भेनिल्लाको सानदार टेस्ट लिन मन लाग्दैन। हामी बाहिर बरालिँदै आइसक्रिम चाट्छौँ।

साथीले दुइ सट आइसक्रिम चाट्छ। त्यसपछि मेरो ड्रेसअपमाथि गुनासो गर्छ, 'तँलाई ब्ल्याक लङकोट र ब्ल्याक जिन्स खुब सुट गर्छ। यो ब्राउन कोट र प्रिन्टेट टिसर्ट पटक्कै सुहाएन!'

'अघि नै घरमा चाहिँ के हेरेको थिइस् र! अहिले सुहाएन भन्छस्?' 

'बिर्सें!'

'दिमागले बिर्से पनि आँखाले त नबिर्सनुपर्ने हो।' साथीले जानाजान मलाई असुहाउँदिलो बनाउन खोज्यो।

एकैछिन रिसाउँछु। धेरै बेर रिसाउँन सक्ने बल मसँग छैन। 

ऊ मलाई नसुहाउने ड्रेसको फोटो खिच्छ।

'लाइट मिलेन ! अलिक अघाडि लाइटमा जा !'

म लाइटमा जान्छु । 

'यसरी उभ्भी!'

म उसै गरी उभ्भिन्छु। 

'अलिक मुस्कुरा!'

म अलिकति मुस्कुराइ दिन्छु। 

ऊ मेरो राम्रो फोटो खिचेर नराम्रो ड्रेसअप प्रमाणित गर्न चाहन्छ। म उसको प्रमाणलाई सक्दो सहयोग पुग्नेगरी पोज दिन्छु। 

आँखामा दराजका सबै कपडा एकैपल्ट झ्यालको पर्दाझैं हल्लिए।

कसैले तिमीलाई यो खुब सुहाएको छ भन्ने मेरो कपडा कुन होला? 

सम्झिएँ। यही ब्राउन कोट र चेक सर्ट त हो नि। तर, आज मैले सर्ट नलगाएर कुनै अब्स्ट्रायक आर्ट प्रिन्ट गरिएको टि-सर्ट लगाएको छु।

मेरो छातीमा अब्स्ट्रायक कुरा नसुहाउँदो रहेछ। चाल पाएँ। 

उहिल्यै हात हल्लाएर हिँडेकी अब्स्ट्रायक शैलीकी प्रेमिकाले त भनेकी पनि थिई, 'तिमी सरल छौ। बुझ्न सजिलो छौ। स्पष्ट कुरा गर्छौ।' 

म मुर्त मान्छेलाई अमुर्त कुरा मेल नखाँदो रहिछ।

टाउकोमा कपाल नभएकाले यो कोट नसुहाएको होला। अरूबेला खुब सुहाउँथ्यो। चित्त बुझाउने बाटो खोजेँ।

टाउकोबाट सबै कपाल झरेकोमा कपालसँग रिसाएँ। यति चाँडै कपालले धोका दिएर जाला भनेर कल्पना पनी गरेको थिइनँ। पानीको कुवामा भ्यागुत्ताले डाइभ हानेझैं मेरो गिदीको कुवामा पनि खुइले मित्रहरूले डाइभ हान्दै भने, 'तेरो मात्र हैन हाम्रो पनि कपाल छैन।'

समय कटाउन सेभेन इलेभेन पसलमा पस्यौँ। हामीलाई कामै नलाग्ने सामान छ कि भनेर खोज्यौँ। सामानको मूल्य हेर्यौँ। महँगो रहेछ भन्ने प्रतिक्रियासहित फर्कियौँ। 

फेरि अर्को पसल छिर्यौँ। लेडिज मिन्सप्याडको मूल्य सोध्यौँ।

दुकानवालालाई उल्का लाग्यो। विदेशी हुन् भुलवश काम नलाग्ने सामान किन्न लागेको हुनुपर्छ भन्ने भावमा सम्झाउँदै भन्यो, 'यो सामाना केटीहरूका लागि मात्र प्रयोगमा आउँछ। तपाईंले साच्चै किन्न लाग्नु भएको हो र!'

हामी नियतवश लजायौँ।

पसलबाहिर एक कोरियनले मेरो टाउकोतिर चिम्सा आँखा पुर्लुक्क पारेर सोध्यो, 'तिमी भिक्षु हौ?'

'हैन! के म भिक्षुजस्तो देखिन्छु र?'

कोरियनले मुसुक्क हाँस्यो र भन्यो, 'कोरियामा योङहरुले कपाल खौरिँदैनन्। तर तिमीले कपाल खौरिएका छौ। त्यसैले भिक्षु हौ कि, भनेर सोधेको।'

'म कोरियन होइन। विदेशी हुँ। योङहरुले कपाल खौरिन्छन् खौरिँदैनन् भन्ने कुरासँग मेरो टाउकोलाई नोमतबल। म रहरले तक्लु भएको होइन।' मैले अलिक रुखो बोलेँ।

'तिम्रो अनुहारबाटै विदेशी हौ भनेर चिनिन्छ। तर भिक्षु जस्तो पनि देखिन्छौ,' नरम भाषामा यति भनेर कोरियन हिँड्यो।

हाम्रो बस पनि छुटेछ।

०००

'छुटी त गयो। अब अर्को बसमा चढेर जाउँला।'

यस्तो सोचेको ३० सेकेन्ड जति पछि मैले झोला सम्झेँ। ए मेरो त झोला बसमै छ। अब के गर्ने?

होस्। भेटिएला नि! (कोरियामा बस र ट्याक्सीमा छुटेका सामान भेटिने सम्भावना झन्डै ९९ प्रतिशत हुन्छ। समय, चढेको र झरेको ठाउँको नाम थाहा भए पुग्छ।)

भोलि खोजौँला।

यस्तै सोचेर झन्डै ३० सेकेन्ड जति ढुक्कले बसेँ।

फेरि सम्झेँ। त्यसमा त मेरो ल्यपटप छ। ल्यपटपमा कविता छ। जुन भोलि 'एकल कला र कवितामा' सुनाउनुछ। (त्यो कला र कविताबारे छुट्टै कतै लेख्नेवाला थिएँ तर आजसम्म लेखिनँ।)

नहेरी सुनाउन सक्ने कविता त मसँग एकदम थोरै छन्। आयोजकलाई के भन्ने? टाढाटाढादेखि कविता सुन्न आउने साथीहरूलाई, के सुनाउने? आयोजक र मेनेजमेन्ट टिमले सास फेर्ने सानो-सानो समय कटाएर तयारी गरेको कार्यक्रम हो यो। कविता सुन्न भनेरै घण्टौँ बस र रेल चढेर आएका साथीहरू हुन्छन्। आउँदा-जाँदा समय र पैसाको टन्नै खर्च भएको हुन्छ।

उभिँदाउभिँदै ऐठन भयो। रिजल्ट सिटमा आफ्नो नम्बर नभेटेर निरास भएको विद्यार्थीजस्तो भयो मेरो मगज।

आयोजकलाई दिने उत्तर खोजुँ कि झोला खोजुँ ! जेब्राक्रसको बीचमा झ्याप्प रेडलाइट बलेर अत्तालिएको पैदल यात्रीजस्तो भएँ।

हतारिँदै टिकट काउन्टरभित्र पस्छु। हाम्रो बस छुट्यो? के गर्ने?

काउन्टरमा टिकट बेच्न बसेकी अल्छी पाराकी महिलाले हकारी, 'समयको ख्याल किन गरेनौ?'

'माफ गर्नु होला!'

'कृपया! अब उपाय बताइदिनुहोस्, झोला कसरी भेटिन्छ? त्यो झोला अहिले नै भेट्नु जरूरी छ।'

'कहाँबाट चढेका हौ?' अल्छी पारा दोहोरियो।

मासान बस टर्मिनलबाट

'कति बजे?'

'८ बजेर १० मिनेट।'

एउटा चिर्कटोमा फोन नम्मर लेखेर यहाँ फोन गर्नु भन्दै हातमा थमाई।

हामी चढेको बस टर्मिनलको फोन नम्बर रहेछ। फोन गरेँ।

'माहासाय! म ख्याङ्जु जाने यात्रु हुँ। योङ्सानमा बस छुट्यो। अलपत्र छु। बसमा झोला छ। झोलामा ल्यपटप, क्यामेरा लगायत महत्वपूर्ण सामान छ। जसको प्रयोजन बिहान उज्यालो हुँदादेखि सुरु हुन्छ। 

'समयको ख्याल किन गरेनौ?' बिना सम्बोधन ठाडो प्रश्न आयो।

जवाफ त उही, 'माफ गर्नु होला!'

'कति बजेको गाडीमा चढेका थियौ?' आवाज अलि नरम भयो।

'८ बजेर १० मिनेट!'

ड्राइभरलाई फोन गर भन्दै बस ड्राइभरको नम्बर दियो।

फोन गरेँ। हकार्‍यो!

'समयको ख्याल किन गरेनौ? मैले तिमीहरूलाई खोजेँ। ८ बजेर २५ मिनेटमा छुट्ने 'गाडी। ८ बजेर २५ मिनेट ५० सेकेन्डसम्म पर्खें। तिमी आएनौ। त्यो भन्दा धेरै पर्खन मिल्दैन थियो।'

'माफ गर्नु होस्!'

'उपाय कुनै छ कि?'

'चिन्ता नगर झोला सुरक्षित हुन्छ।'

'हामी ट्याक्सीमा आउँछौँ। बरू झोला कुन ठाउँमा भेटिएला!'

'ट्याक्सीमा नआऊ। कोरियामा ट्याक्सी महँगो हुन्छ। एक घण्टा त्यहीँ पर्ख। बस आउँछ। बसमा आउँ। भाडा तिर्नुपर्दैन। जुन बसमा तिमी आउँछौ। त्यही बसको ड्राइभरसँग झोला माग्नु। म फोन गरिदिन्छु।'

'हाम्रो साथीहरू त्यही टर्मिनल छेउछाउ छन्। उनीहरूलाई झोला दिन सक्नुहुन्छ कि?'

'तिम्रो झोला अरूलाई दिन मिल्दैन। तिमी आऊ र लिएर जाऊ।'

'तपाईंलाई धेरैधेरै धन्यवाद।' 

'अबदेखि समयको ख्याल गर्नु।' फेरि अन्तिम पल्ट सम्झायो।

'हुन्छ!'

फोन काटियो।

००० 

समयको ख्याल गर्ने संस्कारमा हुर्किएको मान्छे हुइनँ म। मेरो सिकाइ-बुझाइमा समयको ख्याल गर्नुपर्छ भन्ने कहिल्यै भएन। स्कुल पढ्दा, ढिलो पुगे नि हुने। जागिर खाँदा, ढिलो आउँछु है भन्दा नि हुने। साथीभाइ भेट्दा, एक-दुइ घण्टा पर्खदा/पर्खाउँदा पनि हुने।

मेरो जीवनमा ९ बजेर ३३ मिनेट वा १० बजेर १७ या १८ मिनेट कहिल्यै आएन। ३३ भनेको कि ३० हुन्छ कि ३५। १७ वा १८ भनेको कि १५ हो कि २० भन्ने बुज्दै हुर्केको हुँ। एक-दुई मिनेटको हिसाब हुन्छ भन्ने मैले आजसम्म जानेको छुइनँ। हिसाब गर्नु परेको पनि थिएन। मिनेटसम्मको हिसाब त मैले यहीँ कोरियामै आएर जानेको हुँ।

सेकेन्डको समय त सास फेर्ने बेला फोक्सोलाई मात्र चाहिन्छ, मलाई यसको कुनै काम छैन भन्ने बुझेको मान्छे हुँ। ड्राइभरले ९ बजेर २५ मिनेट ५० सेकेन्डसम्म पर्खें भन्दा अहिले पनि मलाई ठट्टा गरेजस्तो लागिरहेको छ।

००० 

१० बजेर १० मिनेटमा हामी पुग्नुपर्ने स्टेसनसम्म जाने बस आयो।

ड्राइबरलाई बेलिविस्तार लागाउनुपरेन। चढ्ने बित्तिकै सोध्यो, 'झोला छुट्ने दुई विदेशी तिमीहरू नै हौ?'

हामीले अभिवादन गर्दै हो भन्यौँ।

'समयको ख्याल किन गरेनौ?' फेरि उही प्रश्न। जुन सुन्दासुन्दा दिमागको कोष, तन्तुसम्मलाई दिक्क लागिसकेको छ। 

मौन बस्नुअघि माफी माग्यौँ।

अन्तिम सिटमा बसेर साथी र म एकअर्कालाई हेर्दै हाँस्यौँ।

'झोला पत्ता नलागेको भए वा अलिअलि पनि कोरियन भाषा नजानेको भए के हुन्थ्यो? झोला खोज्ने उपाय पत्ता नलागेको भए, भोलिको कार्यक्रम के हुन्थ्यो?' दिमागमा यिनै कुराले चक्कर मार्दै गर्दा मेरो अनुहार हेर्न लायकको अनौठो भएछ। साथीले फोटो खिच्यो। मलाई देखाउँदै भन्यो, 'यो अनुहारको भावमा तेरो टाउको र लुगा खुब सुहाएको छ!'

मैले फोटो जुम गरेर हेरेँ।

'साँचि तेरो भेनिल्ला पनि मिठो थियो है!'

झोला छुटे पनि रमाइलो भइरहेको छ। झोला भेटिने खुसीबाट मैले आनन्द लिइरहेको छु। झोला नहराएको भए यो आनन्द कहाँ पाउँनु! हराएको बस्तु भेटिँदाको खुसी त कति हो कति!

प्रत्येक कोरियनले 'समयको ख्याल किन गरेनौ' भन्दा हामीलाई हेपेजस्तो लागिरहेको छ।

प्रत्येकले एउटै भाषा एउटै लयमा एउटै प्रश्न सोधेको सुन्दा लाग्यो, कोरियनहरूले भ्रुण बन्नुअघि नै सुक्रकिट र डिम्बमै हुँदा समयको ख्याल गर्नुपर्छ भन्ने रटिसकेका हुँदा हुन्।

११ बजेर १० मिनेटमा ख्याङ्जु बस टर्मिनलमा उत्रियौँ। बसको ड्राइभरले झोला भएको ठाउँतिर लिएर गयो। त्यहाँका कर्मचारीले 'समयको ख्याल किन गरेनौ' भन्नु अघि नै ११ बजेर १२ मिनेट २१ सेकेन्ड जाँदा हामीले माफी माग्यौँ।

हामी झुकाउनुपर्ने जति पुरै टाउको र जिउ झुकाएर सहयोग गरेकोमा धन्यवाद दिँदै 'आन्याङ्ही खेस्येयो' अर्थात राम्ररी बस्नुहोस् भन्दै दौडियौँ।

सामुन्ने फेरि आइसक्रिम पार्लर भेटियो।

फेरि हामी एक-एक कोन आइसक्रिम हातमा लिएर चाट्दै हिँड्यौँ।

मेरो हातको घडीबाट समय यही आइसक्रिमझैं पग्लँदै-पग्लँदै झर्छ।

कतै लेखेको छु-

'समय यही आइसक्रिम हो

बैंश यही आइसक्रिम हो

जिन्दगी यही आइसक्रिम हो!

चाटे सकिन्छ नचाटे पग्लिन्छ।'

प्रकाशित २४ मंसिर २०७३, शुक्रबार | 2016-12-09 15:46:21

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • ‘पछुताउनु पर्दैन, रुनुपनि पर्दैन’ भन्दै ओलीले पठाए पत्र

    एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापाको भद्रपुरमा २४ कात्तिकको सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामीलाई मत किन दिने भनेर मैले तपाईंहरु...

  • पशुपति शमशेरलाई भोट माग्दा चिप्लिइन् देवयानी (भिडियो)

    वरिपरि राप्रपा (प्रजातान्त्रिक) को झण्डा र चुनाव चिन्हसँगै चार तारा र रुख चिन्ह अंकित झण्डाहरु फर्फराइरहेका छन्। मञ्चमा नेपाली कांग्रेसका...

  • खुशीराम पाख्रिन

    त्रिशुलीको पहरामा ‘गैँती–बेल्चा उचालेर’

    म ५ वर्षको हुँदा हाम्रो परिवार २०१४ सालमा गोरखाको खरिबोटबाट चितवन बसाइँ सरेछ। चितवन झरे पनि हामी बेला बेलामा गोरखा गइरहन्थ्यौं। मुग्लिनको बाटो...

  • ओमुअमुअको कलात्मक चित्रण

    पहिलो पटक देखियो सौर्य प्रणालीबाहिरको ‘सन्देशवाहक’

    खगोलविद्हरुले पहिलो पल्ट हाम्रो सौर्य परिवारभन्दा बाहिरबाट आएको एक पिण्डको अवलोकन गरेका छन्। अक्टोबर १९ का दिन पहिलो पल्ट देखिएको सो पिण्ड...