जब फिडेल क्यास्ट्रोले सोधे, ‘यी नाम चलेका गोर्खाली को रहेछन्?’



क्युबाली कम्युनिस्ट नेता क्यास्त्रो र तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिर गान्धी
क्युबाली कम्युनिस्ट नेता क्यास्त्रो र तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिर गान्धी

चे ग्वेभाराले नेहरुलाई सोधेका थिए, ‘प्रधानमन्त्रीज्यू, कम्युनिस्ट चीनप्रतिको तपाईंको धारणा के रहेको छ?’

फिडेल क्यास्ट्रो त्यतिखेर हनोइ (भियतनाम)मा थिए। त्यहीँ उनले चिलीका राष्ट्रपति साल्भाडोर एलेन्डेको हत्या भएको खबर सुने। अमेरिकी साम्राज्यवादविरुद्ध जीवनमरणको लडाइँ लडिरहेको भियतनाममा यस्तो प्रतिकूल अवस्थामा बसिरहनु खतरा हुने ठानेर एलेन्डेको हत्याको समाचार सुनेको एक घण्टाभित्र उनी क्युबातर्फ उडे। तर, के कारणले हो कुन्नि उनी क्युबा होइन, अकस्मात् भारत आइपुगे। त्यो दिन थियो १७ सेप्टेम्बर, १९७३।

अनौपचारिक यात्रा भएकाले उनलाई लिन केन्द्रीय सरकारका कोही पनि प्रतिनिधि कलकत्ताको दमदम विमानस्थल गएनन्। पश्चिम बङ्गालका मुख्यमन्त्री सिद्धार्थ शङ्कर राय दिल्लीमा भएकाले ‘सिनियर’ मन्त्री तरुण कान्ति घोषले उनको स्वागत गरे। भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का नेता ज्योति बसु र प्रमोददास गुप्ता, फरवार्ड ब्लकका राज्यसचिव अशोक घोष, क्रान्तिकारी समाजवादी पार्टी (आरएसपी)का मखन पाललगायत काङ्ग्रेसका स्थानीय स्तरका नेताहरू उनको स्वागतमा पुगेका थिए। क्यास्ट्रो भारतमा आकस्मिक अवतरण गर्दै छन् भन्ने कुरा एक कान दुई कान मैदान भइसकेको थियो। ‘लिजेन्ड’ बनिसकेका उनलाई एक नजर लगाउन हजारौं कलकत्ताबासीहरूको भीड लागिसकेको थियो। पत्रकारहरू तम्तयार भएर बसेका थिए। त्यसमा बाजी मारे फोटोपत्रकार सत्य सेनले। पौने घण्टासम्म उनको क्यामेराको लेन्सले क्यास्ट्रोबाहेक कसैलाई देखेन। 

उनले कैद गरेका ती तस्बिरहरू इतिहासको एउटा महत्वपूर्ण दस्तावेज बन्न पुग्यो। क्रान्तिको पचासौं वर्षगाँठका अवसरमा भारतमा रहेको क्युबाली राजदूतावासले सेनले खिचेका तिनै तस्बिरहरू ‘कलकत्तामा क्यास्ट्रो’ शीर्षकमा पाँच दिन (डिसेम्बर २६–३०, २००८) प्रदर्शनी गरेको थियो। नन्दन पश्चिम बङ्गाल फिल्म सेन्टरमा भएको उक्त प्रदर्शनीमा क्यास्ट्रोका ३० थान श्यामश्वेत तस्बिरहरू राखिएका थिए।

चरम व्यस्तताबीच क्यास्ट्रोले ४५ मिनेट कलकत्ता विमानस्थलमा बिताएका थिए। उनले १५ मिनेट सम्बोधन पनि गरे। छोटै समयमा उनले बङ्गालबासीहरूको मन जिते। अहिले पनि मोना चौधरीलाई फिडेल क्यास्ट्रोसँगको त्यो सङ्क्षिप्त भेट ज्यादै अविस्मरणीय लागिरहेको छ। ‘मैले सबैभन्दा पढे–सुनेका क्रान्तिकारी नेताहरूमध्ये एक हुन् क्यास्ट्रो,’ उनी भन्छिन्, ‘लेनिन म जन्मनुभन्दा पहिले नै मरिसकेका थिए। चे, स्टालिन, माओ कहिल्यै भारत आएनन्। मैले फोटोग्राफी गर्ने क्रममा चाउ एनलाइ, ख्रुस्चेभ, हो चि मिन्हजस्ता थुप्रै अन्तर्राष्ट्रिय नेताहरूको तस्बिर लिएको छु। ती सब मलाई राजनीतिक नेताजस्ता मात्र लागे। तर, क्यास्ट्रोले मलाई भित्री मनैदेखि प्रभावित गरे। दमदम विमानस्थलमा उनको बोली, व्यवहार, हाउभाउ मैले जो देखें, ती सबै हेर्दा मलाई उनी पूर्ण क्रान्तिकारी लागे।’

मात्र ४५ मिनेटको बसाइमा क्यास्ट्रोले छाडेका यस्ता प्रभावका बग्रेल्ती किस्सा छन्। त्यही छोटो भेटमा ज्योति बसुसँग हात मिलाइरहेको क्यास्ट्रोको तस्बिर देखेपछि क्यास्ट्रोका फ्यान तथा अनन्य मित्र डियगो म्याराडोनाले भारत भ्रमण (सन् २००८)का क्रममा बसुसँग भेटघाट गरेका थिए।

हुन त मोना चौधरीले चे भारत आएनन् भनेकी छिन्। तर त्यस्तो होइन, क्युबामा क्रान्ति सम्पन्न भएको ६ महिनापछि चे ग्वेभारा भारत आइपुगेका थिए। उनको भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसँग भेटघाट भएको थियो। उनीहरूबीच चीन र माओत्सेतुङबारे रोचक संवाद भएको थियो। कुराकानीको अन्त्यमा चेले चिनियाँ क्रान्तिबारे नेहरूको धारणा जान्न चाहेका थिए। नेहरूले सोझो जवाफ दिएनन्।

चे ग्वेभाराले सोधेका थिए, ‘प्रधानमन्त्रीज्यू, कम्युनिस्ट चीनप्रतिको तपाईंको धारणा के कस्तो रहेको छ?’

‘कमान्डेन्ट’, चेको प्रश्न निरव शान्तिसहित सुनिरहेका नेहरूले जवाफमा भने, ‘के तपाईंले यो स्वादिलो स्याउ चाख्नुभएको छ?’

नेहरूको कूटनीतिक प्रतिप्रश्नको कुनै जवाफ नदिई चेले फटाफट अर्को प्रश्न सोधे– ‘तपाईंले माओत्सेतुङका रचनाहरू पढ्नुभएको छ?’

‘अहा, कमान्डेन्ट!’ नेहरूले कूटनीतिक जवाफ दिए, ‘तपाईं स्याउ यति धेरै मन पराउनुहुँदो रहेछ, यसले म निकै खुशी छु।’ नेहरूले चिनियाँ क्रान्ति र माओलाई स्याउसँग दाँज्न खोजेका थिए सायद।

भारतीय कम्युनिस्ट नेता ज्योती बसुसँग क्यास्त्रो

भारतीय कम्युनिस्ट नेता ज्योती बसुसँग क्यास्त्रो

त्यसो त क्यास्ट्रोले दोस्रोपटक पनि भारत भ्रमण गरेका थिए। यसपटक चाहिँ असंलग्न राष्ट्रहरूको सातौं सम्मेलन (सन् १९८३)मा भाग लिन उनी भारत आएका थिए। यसभन्दा एक वर्षअघि मात्र फकल्यान्ड टापुका विषयमा बेलायत र अर्जेन्टिनाबीच घमासान लडाइँ भएको थियो। त्यो युद्धमा बेलायतले गोर्खाली सेनाहरूलाई व्यापक रूपमा परिचालन गरेको थियो। गोर्खालीहरूकै कारण अर्जेन्टिना युद्धमा पराजित भयो। त्यसको बदला अर्जेन्टिनाले विश्वकप फुटबल (सन् १९८६)मा बेलायतलाई फाइनलमा पराजित गरेर लियो। यही खेलमा म्याराडोनाले हातले गोल गरेका थिए, जसलाई ‘शताब्दीकै गोल’ भनियो। पत्रकारहरूले विश्वस्टार म्याराडोनालाई सोधेको एउटा प्रश्नको जवाफमा उनले भनेका थिए, ‘फुटबल मैदानमा गोर्खालीहरू नभएकाले बेलायत पराजित भयो।’

बेलायती साम्राज्यले गोर्खालीहरूका नाममा ‘क्रूर लडाकू’को जुन ‘ट्याग’ झुन्ड्याइदिएका छन्, त्यसले नेपालीहरू विश्वव्यापी रूपमा दुर्नाम भएका छन्। यो दुर्नामीबारे क्यास्ट्रोलाई पनि थोरबहुत जानकारी थियो भन्ने कुरा भारतका के. नटवर सिंहसँग क्यास्ट्रोले गरेको प्रश्नले थाहा हुन्छ।

सिंहले खास कामको सिलसिलामा क्यास्ट्रोसँग भेटघाट गरेका थिए। उनीहरूबीचको कुराकानी सकिएपछि अनपेक्षित रूपमा क्यास्ट्रोले उनलाई सोधेका थिए– ‘गोर्खालीहरू भनेका को रहेछन्? उनीहरूले फकल्यान्डको युद्धमा के गरे?’ सिंहले गोर्खालीहरूको सङ्क्षिप्त इतिहाससहित उनीहरूको बेलायतसँगको सम्बन्धबारे बताएका थिए। क्यास्ट्रोले गोर्खालीहरूबारे किन अकस्मात सोधे भन्नेबारे सिंह स्पष्ट हुन खोज्दै सोधे, ‘तपाईंले के कारणले गोर्खालीहरूबारे जान्न चाहनुभएको हो?’ क्यास्ट्रोले एउटा पुस्तक पढिरहेका रहेछन्। त्यसमा पटकपटक गोर्खालीहरूको उल्लेख गरिएको रहेछ। ‘म अहिले एउटा पुस्तक पढिरहेको छु’, क्यास्ट्रोले भने, ‘त्यो पुस्तकमा बारम्बार गोर्खालीहरूको उल्लेख गरिएको छ।’

अहिले पनि गोर्खालीहरूको ‘बदनाम बहादुरी’ बेलायतको सेवामा कार्यरत छ। तर, परिस्थितिले निकै कोल्टे फेरिसकेको छ– सगरमाथा, बुद्ध, गोर्खाली आदिको नामबाट चिनिँदै आएको नेपालले २१औं शताब्दीमा नयाँ हलचलयुक्त पहिचान बनाएको छ। यसबाट पनि त क्यास्ट्रो अपरिचित थिएनन् होला। उनको नेपालबारेको पछिल्लो बुझाइ के कस्तो रहेको हुँदो हो, कुन्नि?

प्रकाशित १३ मंसिर २०७३, सोमबार | 2016-11-28 11:49:21

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • ‘पछुताउनु पर्दैन, रुनुपनि पर्दैन’ भन्दै ओलीले पठाए पत्र

    एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापाको भद्रपुरमा २४ कात्तिकको सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामीलाई मत किन दिने भनेर मैले तपाईंहरु...

  • पशुपति शमशेरलाई भोट माग्दा चिप्लिइन् देवयानी (भिडियो)

    वरिपरि राप्रपा (प्रजातान्त्रिक) को झण्डा र चुनाव चिन्हसँगै चार तारा र रुख चिन्ह अंकित झण्डाहरु फर्फराइरहेका छन्। मञ्चमा नेपाली कांग्रेसका...

  • खुशीराम पाख्रिन

    त्रिशुलीको पहरामा ‘गैँती–बेल्चा उचालेर’

    म ५ वर्षको हुँदा हाम्रो परिवार २०१४ सालमा गोरखाको खरिबोटबाट चितवन बसाइँ सरेछ। चितवन झरे पनि हामी बेला बेलामा गोरखा गइरहन्थ्यौं। मुग्लिनको बाटो...

  • ओमुअमुअको कलात्मक चित्रण

    पहिलो पटक देखियो सौर्य प्रणालीबाहिरको ‘सन्देशवाहक’

    खगोलविद्हरुले पहिलो पल्ट हाम्रो सौर्य परिवारभन्दा बाहिरबाट आएको एक पिण्डको अवलोकन गरेका छन्। अक्टोबर १९ का दिन पहिलो पल्ट देखिएको सो पिण्ड...