चीनमा चिनारी खोज्दै नेवारी पौभा




बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष
बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

प्रदर्शनी कक्षमा ३० वटा थाङ्का झुण्डिएका थिए। मेरो जिज्ञासा थियो, ‘किन अरनिकोको थाङ्का बनाउन सकिँदैन, किन माओको बन्दैन?’

एचआईभी एड्सको लोगोमा राखिने रिबन बटारिएजस्तै हामी चढेको गाडी मोडिएपछि झ्यालबाटै देखिएको हाम्रो गन्तव्य भवन कता हो कता छेलियो। बेइजिङको चौथो र पाँचौं रिङरोडको मध्यभागबाट हामी केन्द्रतर्फको ‘लिउ ली छ्याओ’ भन्ने स्थानका लागि गाडीमा सवार थियौं। त्यही ओझेल परेको भवनकै भित्तामा चिनियाँ र नेपाली अक्षरमा लेखिएको थियोः ‘चीन–नेपाल सांस्कृतिक आदानप्रदान केन्द्र।’

भाषिक कठिनाइले हाम्रा लागि चीनका कुनै पनि ठाउँ अझै उस्तै विकट लाग्छन्, चाहे चिनियाँले जतिसुकै विकास किन नगरून्। नेपालमा भैदिएको भए ‘गुरूजी एक्कैछिन रोक्नुस्, फुत्त ओर्लिहाल्छु’ भनेर ट्राफिक नियम छल्ने प्रयास गरिन्थ्यो, गुरूजीले नरोकेमा ‘के का नियम’ भन्दै जाइ पनि लागिन्थ्यो सायद। यहाँ त बोली मात्रै खेर जान्थ्यो। कहिलेकाहीं त यो सिस्टम भन्ने चीज पनि निर्मम हुँदो रहेछ। बटारिएको रिबन जसरी गाडीले फन्को लगाएर नजीकको जुन स्टपमा रोक्यो, त्यहीँ ओर्लिएर हामी फुटपाथ नाप्न थाल्यौं।

फुटपाथ साँघुरो थियो, केही पर हिंड्ने बित्तिकै रिबनले घेरा लगाएर मजदूरहरू गाडिएका इँटाका चपरीहरू धमाधम उक्काइरहेका थिए। केही क्षेत्रफल उनीहरूले ओगटेपछि हाम्रा पाइला स्वतः गाडी गुड्ने बाटोमा पोखिए। फेरि फुटपाथमा उक्लिए। अल्लि अगाडि बढेपछि एउटा गाडीले फुटपाथ कब्जा गरेको रहेछ। सँगै गएका साथीले भने, ‘हरे, यहाँ पनि कुन चाहिं नेपाली आइपुगेछ नि।’

उनले नेपाली भन्ने शब्द उच्चारण गरेपछि हामीले भेट्न गैरहेका नेपालीको मुकाम यतै कतै होला कि भन्ने आशा पनि लाग्यो मलाई। किनकी हाम्रो गन्तव्यको नक्सा तिनै साथीको मोबाइलमा जोडिएको थियो। डिजिटल जमाना, अचेल नक्साकै पछि पछि लागेर यात्रा गरिन्छ। अल्लि अगाडि बिल्डिङमा अघि देखेकै होर्डिङ बोर्ड देखापर्यो। प्रवेशद्वारको सूचनामा लेखिएको थियो, ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी।’

हामीलाई केही सोधपूछ जरूरी थिएन। लगालग भित्र छिर्न थालेपछि एकजना चिनियाँले रोक्यो, ‘कहाँ जान लागेको, आज बन्द हो।’

नेपाली मूर्तीकला

शनिबार प्रदर्शनी बन्द हुने भएपनि हाम्रो नेपाली मित्र पर्खिरहेछन्। हामी उनले भनेको समयमा ठिक्क निस्केका थियौं। उनले पनि हामीभन्दा अगाडि पुग्ने बताइरहेका थिए। हामी पुग्दा त उनी आइपुगेकै रहेनछन्। हामीले कच्याककुचुक चिनियाँ बोलेपछि चिनियाँ कर्मचारीले प्रदर्शनी कक्षसम्म लगिदिए। हामी उनीसँगै प्रदर्शनी कक्षमा झुण्डिएका नेपाली थाङ्काहरू, हलमा राखिएका नेपाली मूर्ति तथा धार्मिक चित्रकला, मूर्तिकलाहरूको सजावट हेर्दै थियौं।

सन् २०१७ मा नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदानको उद्देश्यले खोलिएको यस संस्थाले भर्खरै आफ्नो आकार लिँदै थियो। गत वर्ष मात्रै पाटनमा एउटा प्रदर्शनी पनि गरेको रहेछ। त्यस बाहेक यस सांस्कृतिक संस्थाका गतिविधिले खासै गति लिइसकेका रहेनछन्, तथापि करिडोरभरि नेपाली र चिनियाँ अधिकारीहरूले गतिविधि गरेका अनेकन फोटोहरू देख्न सकिन्थ्यो।

हाम्रोतिर कुनै पनि कार्यक्रममा प्रमुख अतिथि सबैभन्दा अन्त्यमा, अझै सकेसम्म ढिलो आइपुग्ने भएकाले निर्धारित समयमा कार्यक्रम हुन नसकेपछि त्यस्तो अवस्थाले ‘नेपाली समय’को उपमा पाउँछ। तथापि जोश जाँगरले भरिएका एक जना नेपाली युवा जो चीनमा खगोलशास्त्रमा विद्यावारिधी गरिरहेका छन्, नेपाली थाङ्का संस्कृतिको आभा फैलाउन लागिपरेका रहेछन्। तेश्रो पटक थाङ्का प्रदर्शनी गर्दासम्म उनी अथक झैं लाग्छन् र निरन्तर भिडिरहेका देख्दा उत्साह जागेर आउँछ।

प्रदर्शनी उद्घाटन समारोह

‘यस्ता प्रदर्शनी व्यापारिक रूपमा असफल भएपनि दुई देशबीचको साँस्कृतिक सम्बन्ध विकास गर्न पाएकोमा गौरव लाग्छ’, आर्ट काठमाडौंका सीईओ भूषण कायस्थले हामीसँग भने र भित्रपट्टिको एउटा चियाकक्षमा लगे।

चिनियाँ प्राचीन परम्परा चिया सँस्कृतिमा झल्किन्छ। हामीले एकघण्टासम्म नेवारी थाङ्काले चीनमा पहिचान पाउनका लागि गरिरहेको संघर्षको बहस चलाइरहँदा पटक पटक ग्रीन टीका प्याला रित्तिए। प्रदर्शनी कक्षमा ३० वटा थाङ्का झुण्डिएका थिए। तीमध्ये २५ वटा नेवारी पौभा चित्र, ४ वटा सुचौको सिल्कमा नेपाली कलाकारले पोखेको कलाको सम्मिश्रण रहेछ।

हरित तारा, श्वेत तारा, बुद्ध निर्वाण, झम्बाला (कुवेर), मञ्जुश्री, बुद्धजीवन इत्यादि आइकोनोग्राफीमा कोरिएका थाङ्का हेर्दा तिब्बती र नेवारी कलाको प्रतिष्पर्धा जस्तो देखिन्छ। तिब्बती थाङ्का परापूर्वकालदेखि उस्तै मोडलमा चलिरहेको छ भने नेवारी कलामा आविष्कार र सिर्जना छ। ललित आसन, षोडषीकोजस्तो सौन्दर्यको एउटा वस्तुचित्रमा रहेर थाङ्का कोर्ने भएपनि चल्तीका २५–३० आइकोनोग्राफीमा बाँकी कला चुहाउने बाहेक अहिले नयाँ केही सिर्जना भएको देखिँदैनन्।

मेरो जिज्ञासा थियो, ‘किन अरनिकोको थाङ्का बनाउन सकिँदैन, किन माओको बन्दैन?’

अमूर्त वा मानिसले नदेखेको कुरामा गहन रहस्य छ। त्यस्ता कुराको उजागर गर्नु रोचक पनि छ। शायद अरनिको वा माओ कुनै भगवान वा अमूर्त व्यक्ति थिएनन्। नदेखिएका भएकाले हिन्दु देवीदेवताका, बुद्धका अनेक अवतारका स्वरूपमा थाङ्का सिर्जना हुनसक्ने होला।

बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड भनेको जस्तो। जब कसैले कला बुझ्दैन, ती थाङ्कामा के कस्तो रहस्य लुकेको हुन्छ, पहिल्याउने मेसो पाउँदैन। कुनै पनि थाङ्कामा कला हेरिन्छ र त्यसको मूल्य निर्धारित हुन्छ। नामी कलाकारले कोरेको एउटा धर्सो पनि महँगोमा बिक्ने रहेछ।

पानी उम्लियो, एउटा कपमा चियापत्ति हालेर केहीबेर छोपेपछि प्रदर्शनीकार कायस्थले चिया हामी सबैका बोतामा भरे र भित्तामा टाँसिएको कालिग्राफी देखाउँदै भने, ‘ऊ त्यो मान्छेले प्रार्थना गरेको जस्तो एउटा अक्षर छ नि कालो ब्रसले कोरिएको, तर त्यो कस्ले कोरेको हो भन्ने यकिन भएपछि यसको मूल्य कतिजति पर्छ भन्ने पत्ता लाग्छ।’

पंखा कला

निकै अमूर्त कुरा थियो त्यो। नेवारी पौभाचित्र चिनियाँका लागि नयाँ छ। त्यसैले त्यसमाथि उनीहरूको रूचिले १४–१५ लाख रूपैयाँसम्मको यसको मूल्य परेको छ। नेपाली थाङ्का चिनियाँको जस्तै लाखौंमा बिक्री गर्न सकिन्छ। तर नेपालका कलाकारहरू चीनमा नामी भएका छैनन्। नेपाली कलाकारहरूको प्रचार प्रसार हुने हो भने उनीहरूले विश्वव्यापी रूपमा राम्रो तस्वीर देखाउन सक्छन्।

बडो दृढ निश्चयी भावमा भूषणले शब्दहरूमा विभूषण थप्दै भने, ‘काठमाडौं जस्तो सानो उपत्यकामा पनि उतिखेरको विशाल इटाली वा पर्सियनकलासँग प्रतिष्पर्धा गर्नसक्ने समृद्धि थियो।’

एकजना पाको व्यक्तिको प्रवेश भयो। भूषणले ‘नि हाउ’ भन्दै हामीसँग परिचय गराए। उनी अवकाशप्राप्त ७० वर्षीय चिनियाँ कलाकार थिए। हामीसँगको चिया टेबुलमा सामेल भए। आफूसँग भएको मसिनो चुरोट टक्राए र आफ्नो कलाको बखान गर्न थाले। हामीले एकाध घण्टा छलफल गरेर नबुझेको थाङ्का कलाको बहसमा उनी पनि सामेल भए।

कुनै बेला राणा र राजदरबारभित्र सीमित भएको पौभाचित्रको रहस्य खोतल्न गाह्रो छ। सन् २०१५ देखि चीनमा नेपाली रूद्राक्ष, बोधिचित्त, थाङ्का लगायतको व्यापार खस्केको भूषणको प्रतिक्रियापछि मेरा साथीले व्यंग्य थपे, ‘यो व्यापारीहरूको शैली के हो, जहिल्यै अघिल्लो वर्षको व्यापार राम्रो थियो, अहिलेको छैन भन्ने?’

४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार लिने–दिने प्रवृत्तिमा ह्रास आयो।

‘हल्काफुल्का व्यापार त छ तर कमजोर नै छ’, भूषणले एकछिन विचार गरेर भने, ‘नेवारी पौभा चित्रको बारेमा अलि धेरै तथ्य फैलाउन सकेमा नेपाली मौलिक कलाको राम्रो मूल्य रहनेछ।’

नेपाली नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आर्ट काठमाडौं र नेपाल–चीन कल्चरल एक्सचेन्ज सेन्टरको आयोजनामा शुरू भएको प्रदर्शनी मे महिनासम्म चल्नेछ। त्यसबीचमा थाङ्काप्रेमीहरूले दुई देशबीचको सांस्कृतिक सम्बन्धको अनुभव गर्नेछन्।

छेउमै मसिनो चुरोटको सर्को तान्दै ती पाका व्यक्तिले पनि आफूले कोरेका चित्रहरू मोबाइमा देखाउन थाले। चित्र कोर्न वस्तु र रंग लगाएर मात्रै हुँदैन। अन्तस्करणदेखि आउनुपर्छ। भित्री मनले ग्रहण गरेपछि मात्रै प्रस्फुटन राम्रोसँग हुन्छ।

यतिञ्जेलसम्म हामी के लेख्ने भनेर अल्मलिरहेका बेलामा उनले सुझाए, चीनमा नेवारी पौभाको परिचान बढाउनु पनि सांस्कृतिक समृद्धिको पाटो हुनसक्छ।

प्रकाशित ८ बैशाख २०७६, आइतबार | 2019-04-21 12:45:11
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...