Exclusive
ब्लग

प्रचण्डलाई सम्बोधन गर्ने ओलीको त्यो ‘गिरिजा स्टाइल’




प्रचण्ड र ओली
प्रचण्ड र ओली
फाइल फोटो

‘कोही एक जना साथीले निकालेको वक्तव्यमा देश-देशको सम्बन्ध अडेको हुँदैन, सम्बन्ध त्यसैबाट उत्पन्न भएको पनि होइन, त्यसैबाट अन्त्य हुने पनि होइन’ नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमम बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २३ माघमा भने, ‘जानेर नजानेर यस्ता स-साना घटना र उतारचढाव हुन सक्छन्, केही लाइनको वक्तव्यमा युद्धको घोषणा त गरिएको छैन।’

कम्युनिष्टहरु आफ्नो साथीलाई सम्बोधन गर्दा ‘कमरेड’ शब्द प्रयोग गर्छन्। सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठक होस् वा अन्य बैठकहरुमा एक नेताले अर्काे नेतालाई सम्बोधन गर्दा यही शब्द प्रयोग गर्ने गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रचण्डलाई ‘प्रचण्ड कमरेड’ नै भन्छन्, प्रचण्डपनि ओलीलाई ‘ओली कमरेड’ भनेर बोलाउँछन्।

नेपालमा कम्युनिष्ट बाहुल्यता भएर होला, यो शब्द यति लोकप्रिय बनिसकेको छ कि, कतिपय गैर कम्युनिष्टहरुले समेत आफ्नो साथीलाई सम्बोधन गर्दा यदाकदा यही शब्द प्रयोग गर्न थालिसकेका छन्। कांग्रेस सभापति देउवापनि कहिलेकाहीँ नेकपाका कतिपय नेताहरुसँग कुराकानी गर्दा कमरेड शब्द प्रयोग गरिदिन्छन्। बिमलेन्द्र निधिले त सार्वजनिक रुपमै कैयौँ पटक ‘कमरेड प्रचण्ड’ भन्ने गरेका छन्। 

तर, नेपाल टेलिभिजनबाट प्रशारित हुने कार्यक्रममा भेनेजुएला प्रकरणबारे ११ माघ नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जारी गरेको विज्ञप्तीको सन्दर्भ उप्काउँदा प्रम ओलीले प्रचण्डका लागि ‘कमरेड’ शब्दावलीले सम्बोधन गरेनन्, ‘एकजना साथी’ भन्ने शब्द प्रयोग गरे। निकटलाई ‘कमरेड’ सम्बोधन गरिने ‘कम्युनिष्ट प्रचलन’ विपरित उनले ‘एकजना साथी’ भने।

भनिन्छ, मन नपरेको व्यक्तिबारे उल्लेख गर्नु प¥यो भने स्व. गिरिजाप्रसाद कोइराला व्यक्तिको नाम नलिई उ क्या त ...देउवा, ...पौडेल वा कुनै थर जोडेर सम्बन्धित व्यक्तिलाई चिनाउने गर्थे। त्यो व्यक्ति नै मन नपरेका कारण स्व. कोइराला नामको साटो ‘उ क्या त...’ भन्दै ती व्यक्तिको थर प्रयोग गरिदिन्थे।

जानकारहरुका भनाईमा, कोइराला कहिलेकाहीँ त थरसमेत प्रयोग गर्न पनि रुचाउँदैनथे। सम्बन्धित व्यक्तिसँग असाध्यै रिस उठेको छ भने, नाम-थर थाहा भएपनि ‘डडेलधुराको छ नि....तनहुँको छ नि....त्यो ठूलो नेता’ भनिदिन्थे।

ओलीजस्तै प्रचण्ड पनि सत्तारुढ नेकपाका अध्यक्ष हुन्। राजतन्त्र फालेर नेपाल जुन गणतान्त्रिक बाटोमा हिँडेको छ र ओली त्यो गणतन्त्रको जुन प्रधानमन्त्री बन्न पाएका छन्, यो परिवर्तनको बाहक प्रचण्ड नै हुन्। नेकपाको शीर्ष नेतृत्व सहअध्यक्षीय प्रणालीमा सञ्चालित छ। अर्थात्, ओली र प्रचण्डले अध्यक्ष पदको ‘सहबरण’ गरेका छन्। नेकपाका हरेक बैठक ओली र प्रचण्डको संयुक्त अध्यक्षतामा चल्छ। बरियतामा चाहिँ ओली पहिलो र प्रचण्ड दोस्रो बरियतामा छन्। 

तर, सरकारी टेलिभिजनबाट प्रचण्डको विज्ञप्तीबारे बोल्दा ओलीले प्रचण्डलाई अध्यक्षको दर्जा दिनु त परै जाओस्, प्रचण्डलाई ‘कमरेड’ भनेर सम्बोधन गर्न समेत जरुरी सम्झेनन्।

भेनेजुएला प्रकरणमा नेकपा अध्यक्ष प्रचण्डले ११ माघमा जारी गरेको विज्ञप्तीका कारण गत हप्ता नेपालको राजनीति मज्जासँग तात्तियो। सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबीच बक्तव्यको दोहोरी नै चल्यो। नेकपा र उ नेतृत्वको सरकारले भेनेजुएलाका बैध राष्ट्रपति निकोलस मदुरोलाई समर्थन पुग्ने गरी बक्तव्य निकाले, प्रमुख प्रतिपक्षी कांग्रसले सडकबाट आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका जुआँ गुइदोलाई समर्थन गरेको महाशक्ति अमेरिकालाई सहयोग पुग्ने गरी बक्तव्यमार्फत् सरकार र नेकपालाई जवाफ फर्कायो।

तर, यी बक्तव्यले जस्तो तरङ्ग सिर्जना गरेको थियो, भेनेजुएला प्रकरणलाई लिएर नेकपाका अध्यक्षद्वय प्रम ओली र प्रचण्डबीच विकसित तिक्त सम्बन्धले अझ ठूलो तरङ सिर्जना ग¥यो। प्रचण्डको वक्तव्यबाट ओली असन्तुष्ट रहेको कुरा सार्वजनिक भए। 

प्रचण्डको वक्तव्यप्रति संकेत गर्दै सो टेलिभिजन कार्यक्रममा ओलीले समेत असन्तुष्टि पोखे। ‘(प्रचण्डको वक्तव्य) अलिकति स्लिप भएको हो’ प्रचण्डप्रति असन्तुष्टि जनाउँदै ओलीले भने, ‘म भोलिपल्ट आउँदै थिएँ। अघिल्लै दिन बक्तव्य नदिई नहुने केही कारण परेको थिएन।’

ओलीले प्रयोग गरेका ‘कमरेड’ को साटो ‘एकजना साथी’ र ‘भोलिपल्ट आफू आउँदै थिएँ, अघिल्लै दिन बक्तव्य नदिई नहुने कारण परेको थिएन’ भन्ने शब्द र बाक्यले ओली प्रचण्डप्रति आजकल कस्तो धारणा राख्दा रहेछन् भन्ने प्रष्ट पार्छ।

विश्व आर्थिक मञ्चको बैठकमा भाग लिएर प्रम ओली १२ माघमा काठमाडौँ फर्के। १५ माघमा सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले भेनेजुएला प्रकरणमाथि नेपालको धारणा प्रष्ट पार्दै बक्तव्य जारी ग¥यो, जुन अमेरिकी राजदूत ¥याण्डी बेरीले असन्तुष्टि प्रकट गर्दा अनौपचारिक तबरमा भनेजस्तै ‘प्रचण्डको बक्तव्यको सम्पादित रुप’ थियो। अमेरिकाले चाहिँ ‘प्रचण्डको बक्तव्यको सम्पादित रुप’ होइन, सो प्रकरणमा आफ्नो अडानलाई सहयोग पुग्ने गरी नेपालको धारणा खोजेको थियो।

तर, भेनेजुएला प्रकरणमा प्रचण्ड र ओलीको धारणामा फरक थिएन। थियो नै भने, वक्तव्यको भाषामा थियो। १५ माघमा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ती र १८ माघमा नेकपा केन्द्रीय सचिवालयको तर्फबाट महासचिव बिष्णु पौडेलले जारी गरेका विज्ञप्तीको सार हेर्ने हो भने भेनेजुएला प्रकरणमा प्रचण्ड र ओलीका धारणा समान नै थिए प्रष्ट हुन्छ। 

नेकपा केन्द्रीय सचिवालयको १८ माघको बैठकको बैठकको दृष्यले पनि यही कुरा पुष्टि गर्छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो त्यो बैठक, जहाँ भेनेजुएला प्रकरणबारे पार्टीको तर्फबाट बक्तव्य जारी गर्ने कुराको प्रस्ताव ओलीले नै गरेका थिए। ‘भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिकाले जे गरिरहेको छ, ठीक गरिरहेको छैन’ भन्ने विषयमा पार्टीका सचिवालयमा रहेका सबै नेताहरु एकमत थिए। ओलीले नै फेरि बक्तव्य जारी गर्ने भनी राखेको प्रस्तावलाई बैठकले स्वीकृत ग¥यो।

बक्तव्य महासचिव बिष्णु पौडेलको हस्ताक्षरमा जारी गरियो, तर त्यसको ड्राफ्ट ओली स्वयंले गरेका थिए।

एउटा बक्तव्य जस्तो छ, अर्काे बक्तव्य ठ्याक्कै उस्तै हुँदैन, केही न केही फरक भइहाल्छ। मुख्य कुरा- अमेरिकी समर्थन प्राप्त गुइदो वा बैध राष्ट्रपति निकोलस मदुरोमध्ये कसलाई समर्थन गरिएको हो, नेकपा अध्यक्ष प्रचण्डले ११ माघमा र सरकारको तर्फबाट १५ माघमा परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यले प्रष्ट पारिसकेको थियो।

अर्थात्, नेकपा र सरकार– दुबैले मदुरोप्रति समर्थन जाहेर गरेका थिए। फरक यत्ति हो, प्रचण्डले जारी गरेको विज्ञप्तीमा अलिक ठाडो भाषामा मदुरोप्रति समर्थन जाहेर गरिएको थियो, परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा चाहिँ कुटनीतिक भाषा प्रयोगमार्फत् मदुरोप्रति समर्थन जाहेर गरिएको थियो। 

भेनेजुएलामा भएका घटनाबारे प्रचण्डले बक्तव्य निकालेकोमा ओली आक्रोसित हुनुको भित्री कारण चाहिँ ‘पार्टी अध्यक्षका रुपमा प्रचण्डले बिज्ञप्ती जारी ग¥यो’ भन्ने चिन्ता थियो। त्यसैले, ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रचण्डलाई ‘नेकपाका अध्यक्ष’ वा ‘कमरेड प्रचण्ड’ प्रयोग नगरी झण्डै ‘गिरिजा स्टाइल’ मा ‘एकजना साथी’ भन्ने शब्द प्रयोग गरे।

‘अध्यक्षको रुप’ मा प्रचण्डले ११ माघमा बक्तव्य जारी गरेको प्रति उनी कति आक्रोसित थिए भन्ने कुरा डाभोस बैठक सकेर १२ माघमा काठमाडौँ आएलगत्तै प्रचण्डसँग उनले गरेको सवाल-जवाफले पनि प्रष्ट पाथ्र्याे।

प्रचण्डले सीमित केही नेताहरुलाई बताए अनुसार, ओलीले बोलाएपछि उनी बालुवाटार पुग्दा ओली गजदम्म परेर बसेका थिए। ‘दुई कमरेड’ र ‘पार्टीका सहअध्यक्ष’ बीच एक हप्तापछि भेट हुँदा जस्तो हार्दिकता देखिनुपर्ने हो, ओलीको ‘बडी ल्याङ्ग्वेज’ ले त्यो देखाउँदैनथ्यो।

हात मिलाइवरि कुराकानी सुरु हुनासाथ ओलीले सोधे, ‘भेनेजुएलाबारे तपाईंबाटै किन बक्तव्य जारी भयो?’

प्रचण्डले ‘माधव नेपाल, नारायणकाजी श्रेष्ठ लगायत विदेश मामिला हेरिरहेका नेताहरुसँगको सल्लाह बमोजिम आफूले बक्तव्य जारी गरेको’ स्पष्टिकरण दिए।

यसबाट देखिन्छ, ओलीको आपत्ति बक्तव्यमा उल्लेखित बिषयवस्तुप्रति थिएन, ‘तपाईंबाटै किन जारी भयो?’ भन्ने प्रश्नमार्फत् ‘अध्यक्षका रुपमा बक्तव्य जारी गरेको’ आपत्ति प्रकट गरेका थिए।

नेपाल र श्रेष्ठसमेतको सल्लाहमा बक्तव्य जारी गरिएको सुनेपछि उनले कुराकानीको सन्दर्भ मोडे।

सोधे, ‘अनि झम्सिखेल बैठकको कुरा के हो? मलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउन खोजिएको हो?’

प्रचण्डले जवाफ दिए, ‘सरकारको ‘पर्फमेन्स’ कसरी राम्रो बनाउने र पार्टी एकता कसरी छिटो सम्पन्न गर्ने भन्ने विषयमा सरकार र कार्यदलमा नरहेका साथीहरुबीचको सामान्य छलफलमात्र हो त्यो। प्रधानमन्त्री र पार्टी अध्यक्ष परिवर्तन गर्ने कुराको तपाईंले कल्पना नगर्नुस्, हामीले पनि कल्पना गरेका छैनौँ।’ प्रचण्डको जवाफपछि ओली चुप लागे।

तर, भेनेजुएलाका सम्बन्धमा अध्यक्षका रुपमा प्रचण्डले पहिलो पटक विज्ञप्ती जारी गरेपछि ओलीलाई प¥यो, ‘म पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत भएपनि त्यही बक्तव्यका कारण अन्तर्राष्ट्रिय जगतमा प्रचण्डको चिनारी बन्यो। मेरो अनुपस्थितिमा बहुमत केन्द्रीय सचिवालय सदस्यहरुको गोप्य बैठक गरिएपछि शक्तिशाली अध्यक्ष म होइन, प्रचण्ड नै हुने भयो।’

त्यही भएर १८ माघको केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा डाके। २२ मंसिरमा सचिवालयका चार नेता (माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ) ले ‘पार्टीको बैठक प्रम निवासमा होइन, पार्टी कार्यालयमा हुनुपर्छ र तोकिएकै समयमा बैठक बस्नुपनि पर्छ’ भन्ने माग गर्दै बहिस्कार गरेयता सचिवालय बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा बस्न थालेको थियो।

१८ माघको बैठकमार्फत् ओलीले प्रचण्ड र अन्य नेताहरुलाई सन्देश दिन चाहे, ‘पार्टीको सर्वेसर्वा अध्यक्ष प्रचण्ड होइन, म नै हुँ।’

यसका लागि उनले दुई अश्त्र प्रयोग गरे। एक, २२ मंसिर अघिजस्तै आफ्नो सरकारी निवास बालुवाटारमै बैठक। दुई, भेनेजुएलाबारे अर्काे बक्तव्य र बक्तव्यपनि आफैद्वारा ‘ड्राफ्ट।’

‘तर, ओलीको दुर्भाग्य! उनी आफ्नै प्रस्ताव र ओली आफैले ड्राफ्ट गरेको बक्तव्यलाई समाचार बनाउँदा सञ्चारमाध्यमहरुले ‘सरकार र सचिवालयको बक्तव्यपनि प्रचण्डकै जस्तो आयो’ भन्ने व्याख्या गरिदिए’ नेकपाका एक शीर्ष नेताले भने, ‘यसले गर्दा ओलीमा झन चिडचिडाहट बढ्यो। भेनेजुएलाबारे समान धारणा भएपनि उनले ‘वर्ड स्लिप भएको’ र ‘एकजना साथी’ भन्ने शब्द प्रयोग गरे।’

‘राजनीतिमा कोही पनि स्थायी शत्रु र स्थायी मित्र हुँदैनन्’- राजनीतिमा छिनछिनमा फेरबदल भइरहने गठबन्धनका आधारमा सर्वव्यापी बनेको भनाई हो यो। तर, तत्कालिन एमालेका दिवंगत महासचिव स्व. मदन भण्डारीले कहीँकतै प्रयोग गरेकै आधारमा पूर्व एमाले पंक्तिले यसलाई स्व. भण्डारीकै ‘महावाणी’ ठानेर यो भनाई उद्धृत गर्ने गर्दै आएको छ। ।

अरु नै राजनीतिशास्त्रीले भनेका हुन् वा मदन भण्डारीले, ‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन्’ भन्ने उक्ति ओली-प्रचण्ड सम्बन्धको सन्दर्भमा पनि लागू हुन्छ।

प्रचण्डको बक्तव्यपछि १३ माघमा भएको प्रचण्डसँगको भेटमा ओलीले व्यक्त गरेको आक्रोस, २३ माघमा प्रचण्डलाई हेप्ने गरी ‘वर्ड स्लिप भएको’ र ‘एकजना साथी’ भन्दै ओलीले प्रयोग गरेको शब्दावली, लगत्तै २४ माघमा चितवनबाट ‘११ माघमा जारी गरेको वक्तव्यप्रति आफू दृढ रहेको’ प्रचण्डको जवाफ, काठमाडौँ फर्केपछि २५ माघमा ‘एउटा माओवादीलाई सिध्याएँ भन्ने नठाने हुन्छ, अर्काे माओवादी जन्मन सक्छ’ भन्ने प्रचण्डको चेतावनी; नेकपाका अध्यक्षद्वयको यस्तो सवाल-जवालपछि जब २६ माघमा ओली र प्रचण्डबीच फेरि भेटघाट भएको छ।२६ माघको त्यही भेटघाटलाई आधार बनाएर ओली-प्रचण्डबीचका एक हप्ता पुराना सवालजवाफलाई ‘परालको आगो’ मान्नेहरुको कमी छैन।

निश्चय नै, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र नहुने भएकाले हरेक राजनीतिक झैझगडा र मिलापहरु ‘परालको आगो’ जस्तै हुन्छन्। तर, पहिलो प्रधानमन्त्रीत्वको कालको अन्त्यतिर जस्तै, ओलीमा जसरी प्रचण्डलाई गन्दै नगन्ने प्रबृतिको विकास हुन थालेको छ र ‘गिरिजा स्टाइल’ सार्वजनिक रुपमै जसरी प्रचण्डलाई हेप्न थालेका छन्, त्यो झगडा ‘परालको आगो’ जस्तै सामसुम भएपनि दुई नेताबीचको सम्बन्धमा फेरि डडेलो लाग्न सक्छ।

किनभने, ‘प्रधानमन्त्री र पार्टीको एकल अध्यक्ष मै हुँ, अध्यक्षको रुपमा प्रचण्डले केही गर्न पाउँदैनन्’ भन्ने ओली दम्भ सतहमै आइसकेको छ।

तीन बर्ष अगाडि फर्काैँः
२०७२ असोज अन्तिम साता प्रचण्डको समर्थनमा सुशील कोइरालाको बिकल्पमा ओलीलाई पहिलो पटक प्रधानमन्त्री बनाइँदै गर्दा ओली-प्रचण्डबीचको सम्बन्ध २०७३ जेठ-असारमा जसरी बिग्रला बिग्रेला र ओलीले त्यति चाँडो सत्ता छाड्नु पर्ला भन्ने कसले सोचेको थियो र?

प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 16:19:06
Max TV
Max TV
Vianet

author photo

सीताराम बराल नेपालखबर सम्पादक हुन्

@sitarambaral

सीताराम बरालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।