शिक्षक भएपछि कम्तीमा के-के जान्न जरुरी छ?




खगराज बराल
खगराज बराल

पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक, शिक्षण र सन्दर्भ सामग्री, शिक्षासम्बन्धी ऐन तथा नियमावली सम्बन्धमा स्वयं शिक्षकहरु नै अन्योलमा रहेका दृष्टान्त प्रशस्त छन्। मेरो अनुभवले पनि यसलाई पुष्टि गर्न सहयोग मिलेको छ।

घटना २०५२ सालतिरको हो। निरीक्षणका क्रममा एक विद्यालयमा पुग्दा शिक्षकहरुसँग कुराकानी भयो। एक जना शिक्षकलाई सोधें,‘पाठ्यक्रम भनेको के हो?’
उहाँले हास्दै सजिलैसँग भन्नुभयो,‘पाठहरूको क्रम हो सर।’

फेरि सोधें-‘तपाईंसँग तपाईंले पढाउने विषयको पाठ्यक्रम छ?’

‘मसँग त अर्को केही छैन। पुस्तकभन्दा पाठ्यक्रम भिन्नै हुन्छ र सर?’

‘तपाईंसँग पाठ्यपुस्तकचाहिँ छ?’ मैले सोधें ।

उहाँले झन् प्रतिप्रश्न गर्नुभयो-‘पुस्तक र पाठ्यपुस्तक फरकफरक हुन्छन् सर ?’
फेरि पनि सोधें-“तपाईंसँग पढाउने पाठ्यपुस्तक छ त?’

शिक्षकले भन्नुभयो-“मसँग पढाउने पुस्तक त छैन सर, स्कुलले नै किनिदिएको छैन, मसँग कसरी हुने !’
‘अनि तपाईं आफै किन्न सक्नु हुन्न?’ सोधें।

ती शिक्षकले हास्तै भने-‘सर पनि! अब शिक्षकले कक्षामा पढाउने पुस्तक किनेर साध्य हुन्छ र! फेरि कक्षामा पढाउने पुस्तक किन्नलाई तलब खर्च गर्न पनि भएन नि, हैन र सर!”
फेरि भनें-‘मैले पाठ्यपुस्तकको कुरा गरेको, पुस्तकको कुरा पछि गर्नेछु।’

अर्का शिक्षकले सोध्नुभयो-‘सर! मेरो बढुवा कहिले हुन्छ?’

मैले भनें-‘तपाईंले जुन कानुन, ऐन तथा नियमावलीअनुसार जागिर खानुभएको छ, सोही हेर्नुहोला।’

उहाँले फेरि भनिदिन कर गर्नुभयो। मैले भनें-‘तपाईं जुन कानुन, ऐन तथा नियमावलीअनुसार जागिर खानुहुन्छ, त्यसबारे तपाईं स्वयं जानकार हुनुपर्छ।

सो कानुन तथा नियमावलीले तपाईंले के गर्ने, के नगर्ने, के सजाय हुने, के सुविधा पाउने? जस्ता थुप्रै प्रश्नको जबाफ दिन्छ। त्यसैले त्यो पढ्नुहोला, म यो कुरा बताउदिनँ।’
उहाँ हाँस्नुभयो। मैले सोधें-‘तपाईंसँग शिक्षा ऐन तथा नियमावली छ?’

उहाँले ‘छैन’ भन्ने आशयमा टाउको हल्लाउनुभयो। ममा संशय थियो, स्पष्ट हुन फेरि सोधें-‘छैन?’
उहाँले ‘छैन’ भन्नुभयो।
‘किन नकिनेको त?’ मैले सोधें ।
उहाँले भन्नुभयो-‘स्कुलले किनेकै छैन । बिस्तारै ल्याउला।’
मैले भनें-“तपाईं आफै किन्नुहोस् न।”
“एउटा स्कुलले किने त भैहाल्यो नि। धेरै किनेर तरकारी खाने हैन क्यारे !” उहाँले सतही जबाफ दिनुभयो।
“तपाईंले कहिले किन्ने त ?” मैले सोधें।
“ऐन, नियम किन्ने पैसा स्कुलले कहाँ दिन्छ र सर ! फेरि हामीलाई व्यक्तिगत किन चाहियो ! स्कुलमा भए त पुगिहाल्यो नि।” उहाँको सहज जबाफ थियो।

“तपाईंको जागिरबारे ऐन, नियमको पुस्तक तपाईंले नै किन्नुपर्छ । यसको खर्च तलबमै जोडेर दिएको होला । तपाईंले किन्दिनँ भन्नै मिल्दैन । एक पटक किनेपछि लामो समय किन्नु पर्दैन नि । फेरि त्यो नपढी तपाईं आफ्नै जागिरबारे अन्जान हुनुहोला!” मैले भनें। 

अर्को घटना २०६८ सालतिरको हो । पर्वत जिल्लाका एक जना प्रधानाध्यापकले मलाई टेलिफोन गरी भन्नुभयो-‘सर! शिक्षा विभागले गैरतलबीय अनुदान दिएको छ । यो रकम शिक्षण सिकाइको गुणस्तर बढाउनका लागि शैक्षिक सामग्रीमा खर्च गर्न मिल्छ भन्ने सुनेको छु।

शैक्षिक सामग्रीअन्तर्गत यो वर्ष शिक्षण सिकाइका लागि आवश्यक पुस्तक र सामग्री किन्ने विचार गरेको छु। शिक्षकहरुसँग छलफल गर्दा पनि विद्यालयमा हुनै पर्ने र हुँदा राम्रो हुने पुस्तकहरुको सूची तयार गर्न खोजेको तर कही“, कसैले पनि चासो दिएको पाइनँ।

तपाईंले विद्यालयमा हुनै पर्ने र हुँदा राम्रो हुने पुस्तक र सामग्रीको सूची बनाउन सहयोग गर्नुप¥यो ।’ मैले उहाँलाई त्यस्तो सूची पठाइदिने बाचा गर्दै टेलिफोन राखें।

सामाजिक जीवनमा शिक्षक सबै विषयको स्रोतव्यक्ति हो । अझ गाउँघरमा त हरेक कुरा शिक्षकसँग सोध्ने चलनै छ। मानिस बिरामी हुँदा होस् वा नियम, कानुनका विषयमा, अथवा नयाँनयाँ विषय र प्रसङ्गमा केही कुरा सोध्नु, बुझ्नुपरेमा कि स्कुल पुग्छन् कि त शिक्षकको घरमा पुग्छन्।

शिक्षा, स्वास्थ्य, वन, खानेपानी जस्ता विषयमा घरघरमा सन्देश पु¥याउन शिक्षक र विद्यार्थी प्रयोग गरिन्छ । यस्तो अवस्थामा शिक्षकले अरु धेरै कुरा नजाने पनि आफूले पढाउने विषयमा, आफूले खाने जागिरका बारेमा जानकार हुनु जरूरी हुन्छ। यसका लागि शिक्षक आफै स्रोतपूर्ण हुनुपर्छ। शिक्षकलाई स्रोतपूर्ण बनाउने साधन हुन् पुस्तक। पुस्तकको सङ्कलन र उपयोग शिक्षकका लागि अति नै आवश्यक छ।

प्रश्न बनाउन सजिलो, उत्तर लेख्न गाह्रो
२०४८ माघदेखि २०५१ साउनसम्म मैले शिक्षकका रूपमा काम गरें। विद्यालयका त्रैमासिक र अन्तिम परीक्षाका प्रश्नपत्रमा प्रशस्त त्रुटि देखिन्थे। परीक्षाका समय तोकेपछि प्रधानाध्यापकले शिक्षकहरुलाई आफूले पठनपाठन गराउने विषयको प्रश्न तयार गर्न अनुरोध गर्ने र शिक्षकले विद्यालयमा कक्षा नभएको बेला सम्बन्धित विषयका पाठ्यपुस्तक पल्टाएर तत्कालै प्रश्न बनाएर दिने गर्थे।

त्यही दिन नभ्याउनेले घरमा वा फुर्सद मिलाएर प्रश्नको पाण्डुलिपि बुझाउने चलन थियो। अहिले पनि यो चलनमा खासै परिवर्तन आए जस्तो लाग्दैन। सायद विद्यालयहरुमा प्रश्न बनाउने कामलाई त्यति गम्भीर भएर सोच्ने परिपाटीको विकास अझै भएको छैन। उति बेला पनि प्रश्नपत्र निर्माण गर्दा पाठ्यक्रम र विशिष्टीकरण तालिकाको प्रयोग त भएको थिएन नै, यी सम्बन्धमा छलफल हुने गरेको पनि थिएन।

२०६० सालमा शैक्षिक तालिम केन्द्र, तनहुँमा प्रशिक्षकको भूमिकामा काम गर्दा प्रश्नपत्र सम्बन्धमा कक्षा लिनुपर्ने भयो। शिक्षक तालिममा प्रश्नपत्र निर्माण सम्बन्धमा बेग्लै शीर्षकै थियो । तालिममा विषयप्रवेश गर्नुपूर्व शिक्षकहरुमा रहेका व्यवहार परीक्षण गर्ने गरी कक्षा सुरू गर्ने योजनाअनुसार अगाडि बढें। त्यो नयाँ अनुभवले मलाई झन् गम्भीर बनायो।

प्रश्नपत्र निर्माण कार्यबारे सोधिएको प्रश्नमा शिक्षकहरुको जबाफ थियो- प्रश्नपत्र निर्माण त साह्रै सजिलो हो तर उत्तर दिनै कठिन!

सहभागी शिक्षकहरुलाई समूहमा विभाजन गरी प्राथमिक शिक्षाका पाठ्यक्रम र पाठ्यपुस्तक दिएर अन्तिम परीक्षाका लागि ६० पूर्णाङ्कको प्रश्नपत्र निर्माण गर्न भनियो। सहभागी शिक्षक साथीहरुले साह्रै सजिलो कामका रुपमा लिनुभयो।

विशिष्टीकरण तालिकाअनुसार विषयगत र वस्तुगत प्रश्न निर्माण गर्नुपर्ने जानकारी दिइएको थियो। विषयगतभित्र लामो र छोटो उत्तर आउने किसिमका प्रश्न र वस्तुगतअन्तर्गत बहुवैकल्पिक, ठीक/बेठीक छुट्याउने, जोडा मिलाउने एवं खाली ठाउँ भर्ने किसिमका प्रश्न निर्माण गर्नुपर्ने थियो।

तोकिएको समयमा सबै समूहबाट एकएक सेट प्रश्न निर्माण भए। समूहगत प्रस्तुतिमा विभिन्न जिज्ञासा उठे। प्रश्नपत्र निर्माणका विभिन्न पक्षबारे छलफल भयो, सो सम्बन्धमा विभिन्न टिप्पणी गरिए।

प्रश्नका सम्बन्धमा विद्यार्थीलाई स्पष्ट निर्देशन दिइएको थिएन। कति पूर्णाङ्कका लागि कति समय छुट्याउने भन्ने कुनै आधार थिएन। विषयगत प्रश्नहरु पनि पहिलो नम्बरमा लामो उत्तर दिने प्रश्न, दोस्रोमा छोटो उत्तर दिने, तेस्रोमा लामो उत्तर दिने अर्थात् अलि सिलसिला नमिलेका देखिन्थे।

बडो अचम्म त के थियो भने लामो उत्तर आउने प्रश्नमा ‘नेपालमा कति अञ्चल छन् ? कति जिल्ला छन् ? गण्डकी अञ्चलमा कतिओटा जिल्ला छन्?’ जस्ता छोटो उत्तर आउने प्रश्नहरुको शृङ्खलालाई नै लामो उत्तर आउने प्रश्न बनाइएको थियो। कक्षा २ बाट सामाजिक अध्ययन विषयको प्रश्न बनाउने समूहको लामो उत्तर आउने प्रश्न मलाई अझै याद छ।

त्यस समयमा कक्षा २ को सामाजिक अध्ययनको पाठ्यपुस्तक मेरो सेरोफेरोको ‘सिरी गुरूङ’ पाठबाट एउटा लामो उत्तर आउने प्रश्न बनाइएको थियो- ‘सिरी गुरूङ कति वर्षकी भइन्? उनी कहाँ बस्छिन्? उनका परिवारमा कति जना सदस्य छन्? सिरी गुरूङका बा के काम गर्नुहुन्छ?’ अर्को समूहले पनि सोही पाठबाट प्रश्न बनाएको थियो-‘सिरी गुरूङ कति कक्षामा पढ्छिन्?’
सामाजिक अध्ययन विषयमा लामो उत्तर आउने प्रश्न बनाउँदा नेपालमा कतिओटा जिल्ला छन्? कतिओटा अञ्चल छन्? नेपालको राजधानी कहाँ हो? जस्ता प्रश्न बनाएको पनि पाएँ। अब मलाई शिक्षकहरुको प्रश्न निर्माण गर्ने कलाबारे स्पष्ट भयो।

छोटो उत्तर आउने प्रश्नहरुका शृङ्खला जोडेर लामो प्रश्न निर्माण गरिएका थिए। प्रश्न लामो भए पनि त्यसले अपेक्षा गरेको उत्तर छोटो थियो तर आवश्यकता थियो प्रश्न छोटो भए पनि उत्तर लामो आउनुपर्ने।

लामो उत्तर आउने प्रश्न वर्णन गर्ने, तर्क दिने, विश्लेषण गर्ने, पुष्टि गर्ने, समीक्षा गर्ने, कल्पना गर्ने, प्रमाणित गर्ने, निर्णय दिने, सङ्क्षेपीकरण गर्ने, सारांश लेख्ने, मूल्याङ्कन गर्ने आदि हुनुपर्ने हो।

निबन्धात्मक प्रश्नको उत्तरमा मौलिकता, सिर्जनात्मकता, विचारको स्वतन्त्रता, अभिव्यक्तिमा स्वच्छन्दता, कल्पनाशीलतासहित विचारको सङ्गठनसमेत हुनुपर्ने हो।

कार्यरत शिक्षकहरुलाई विषयगत प्रश्न निर्माण गर्न लगाउँदा प्रश्नमाथि प्रश्न थोपर्ने र छोटो उत्तर आउने प्रश्न जोडेर लामो उत्तर आउने विषयगत प्रश्न निर्माण गर्ने प्रयास भएको थियो। त्यस्तै छोटो उत्तर आउने प्रश्न एक/दुई शब्द वा वाक्यमा उत्तर दिने, सम्झाइ र बुझाइका आधारमा उत्तर दिन सकिने किसिमका हुनुपर्थ्याे।

लामो उत्तर आउने निबन्धात्मक प्रश्न भएकाले कतिपयले त ‘निबन्ध लेख’ भनेको पनि पाइयो। कतिपय प्रश्नमा ‘....का बारेमा लेख’, ‘तिमीलाई के थाहा छ ?’, ‘के बुझेका छौ ?’, ‘के शिक्षा पायौ? जानेजति लेख ।’, ‘....भन्नाले के बुझिन्छ?’ आदि कति उत्तरको अपेक्षा गरेको छ भन्ने कुरै प्रस्ट भएन । दुई वा दुईभन्दा बढी कुरा सोधेका प्रश्नमा कति उत्तर दिँदा कति अङ्क पाउने भन्ने पनि स्पष्ट थिएन।

वस्तुगत प्रश्नका सम्बन्धमा अन्योल नै थियो। वस्तुगत प्रश्न भनेको बहुवैकल्पिक मात्र हो भन्ने जानकारी भएका शिक्षकहरु पनि प्रशस्तै हुनुहुन्थ्यो। बहुवैकल्पिक प्रश्नमा कतिपयका ३ ओटा विकल्प थिए भने कतिपयका ४ ओटा। सही विकल्प कसरी छान्ने भन्ने पनि स्पष्ट थिएन । कतिपयले ‘सही उत्तरमा रेजा लगाऊ’, कतिपयले ‘सही विकल्पमा गोलो लगाऊ’ भनेको पाइयो भने कतिको प्रश्नमा केही पनि भनिएको थिएन।

कतिपयको सही विकल्प तुरून्तै चिन्न सकिन्थ्यो। केही प्रश्न वाक्यमा खाली ठाउँ दिएर विकल्प छान्न लगाइएको थियो। कतिपय प्रश्नमा प्रश्नवाचक चिह्न प्रयोग गरिएका थिएनन्, सामान्य वाक्य नै थिए।

‘....मा तलका कुन होइनन् ?’ जस्ता प्रश्न र विकल्पमा ‘कुनै पनि होइनन्’, ‘माथिका सबै हुन्’ आदि प्रयोग भएका थिए। प्रश्नमा दुई–तीन अकरणको प्रयोग गरी बुझ्न कठिन बनाइएको थियो। जोडा मिलाउने प्रश्न त झन् आश्चर्य लाग्दा थिए।

एउटा जोडा मिलाउने प्रश्नमा ‘क’ स्तम्भमा दुईओटा शब्द र ‘ख’ स्तम्भमा दुईओटा शब्द राखिएको थियो। जोडा मिलाउने भनिएको थियो तर धर्को तानेर जोडा मिलाउने कि अक्षर वा यस्तै कुनै सङ्केतबाट जोडा मिलाउने ? केही भनिएको थिएन।

जोडा मिलाउने ‘क’ स्तम्भको एउटा शब्द एक प्रकृतिको थियो भने अर्कोे शब्द अर्कै प्रकृतिको। ‘ख’ स्तम्भमा पनि त्यस्तै थियो- एउटा जोडा चिनेपछि अर्कोबारे सोच्नै नपर्ने।

जोडा मिलाउने प्रश्न सजातीय थिएनन्। दुइटा जोडा मिलाउने प्रश्न बनाउँदा भिन्नभिन्न प्रश्न बनाउनुपर्ने जानकारी नमिले जस्तो देखियो।

पहिलो प्रश्न इतिहाससँग सम्बन्धित छ भने पहिलो स्तम्भमा ३/४ ओटा शब्द वा वाक्यांश राख्ने र दोस्रो स्तम्भमा पहिलो स्तम्भभन्दा कम्तीमा १/२ ओटा बढी विकल्प दिनुपर्ने हुन्छ।

दोस्रो प्रश्न वन्यजन्तुसम्बन्धी छ भने पहिलो र दोस्रो स्तम्भमा माथिकै अनुपात मिलाउन सकिन्छ।

दुइटा प्रश्न भनेपछि पहिलो प्रश्न सजातीय बनाउने र दोस्रो पनि त्यस्तै किसिमको बनाउनुपर्ने हुन्छ । दुवै प्रकृतिका प्रश्नलाई एकै ठाउँमा मिलाएर जोडा मिलाउने प्रश्न बनाउन नहुने भन्ने जानकारी तालिममा आएका शिक्षकहरुले बनाएको प्रश्नबाट पाइएन ।

ठीक/बेठीक छुट्याउने प्रश्नमा पनि निर्देशन स्पष्ट थिएन । ठीक भए ठीक चिह्न ९० र बेठीक भए बेठीक चिह्न ९×० लगाउने कि ठीक भए ठीक र बेठीक भए बेठीक लेख्ने? स्पष्ट थिएन भने चिह्न वा शब्द लेख्नका लागि स्थान पनि दिइएको थिएन।

कतिपय वाक्यमा दोहोरो अकरण प्रयोग गरेर विद्यार्थीको ज्ञानको परीक्षणभन्दा अलमल बनाउने प्रश्नको बाहुल्य थियो। ठीक र बेठीक प्रश्नको सङ्ख्या बराबर थिएन।

कुनै समूहमा बेठीक प्रश्न बढी थिए भने कुनैमा ठीक प्रश्न बढी थिए। खाली ठाउँ भर्नेमा कुनैमा सुरूमै खाली दिइएको थियो भने कुनैमा अन्त्यमा। कुनैकुनै समूहका प्रश्न त बहुवैकल्पिक जस्तै देखिन्थे-‘कोष्ठमा दिएका शब्द छानी खाली ठाउँ भर।’

समूहका अन्य प्रश्नमा खाली ठाउँ कसरी भर्ने भन्ने सम्बन्धमा स्पष्ट निर्देशन दिइएको थिएन। खाली ठाउँ भर भन्ने प्रश्न दि“दा कोष्ठमा दिएमध्येबाट मिल्दो शब्द छान्ने हो कि नयाँ शब्द आफै खोज्ने हो? केही बताइएको थिएन।

–शिक्षा सचिव खगराज बरालद्वारा लिखित ‘सिकाउने शैली’ पुस्तकको अंश। उक्त पुस्तक शुक्रबार सार्वजनिक भएकाे थियाे। 

प्रकाशित २८ पुस २०७५, शनिबार | 2019-01-12 08:53:24
Max TV
Max TV
Vianet

author photo

खगराज बराल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...