९५ प्रतिशत बलात्कारका घटनामा राजनीतिक संरक्षण छ




 बलात्कारविरुद्ध प्रदर्शनमा सावित्री सुवेदी
बलात्कारविरुद्ध प्रदर्शनमा सावित्री सुवेदी

‘क्याम्पस पढ्न जब वीरगञ्ज गएँ, बारामा पूजा शाह नाम गरेकी ७ वर्षीया बालिकाको बलात्कार भयो। उपचारका क्रममा उनलाई काठमाडौंको कान्ति बाल अस्पताल ल्याइयो। तर, बचाउन सकिएन। यस कुराले मलाई भित्रैदेखि पोल्यो।’

जय नारी अभियान
झन्डै ६ वर्षअघिको कुरा हो। मेरै घर नजिकको एकजना दिदीको बिहे भयो। केही समयपछि नै दाइजो कम भएको भन्दै उनलाई जलाएर मारियो। त्यो कुराले मलाई एकदमै छोयो। महिला हिँसाविरुद्ध आवाज उठाउनुपर्छ भन्ने लाग्यो। र, आफैसँग एउटा प्रयत्न गरेँ। यसलाई ‘जय नारी’ अभियानका रुपमा स्थापित गर्ने दृढ संकल्प लिएँ र अघि बढेँ। त्यसपछि गाउँ–गाउँमा गएर महिला शसक्तिकरणका लागि आवाज उठाएँ। स्थानीयस्तरमा यस अभियानले एक खालको माहोल सिर्जना गर्यो।

अभियानकै क्रममा बारा जिल्ला वरिपरी आमा समूह बनाएँ। सो समूहबाट महिला हिँसाविरुद्धका कार्यक्रमहरु गर्दै गयौँ। हिँसामा परेका महिलालाई साथ, सहयोग दिँदै गयौँ। महिला अधिकार, न्याय र स्वतन्त्रताका सवालमा सचेतना फैलाउँदै आर्थिक रुपमा महिला कसरी सक्षम हुने भन्ने कुरा सिकाउँदै अभियान विस्तार गर्दै गयौँ। बालविवाह, दाइजो, जबरजस्ती गर्भपतन, घरेलु हिँसा जस्ता समस्याविरुद्ध आवाज उठाउँदै आज यहाँसम्म आइपुगेकी छु।

जय नारी अभियान सुरुवाती दिनमा सोचेजस्तो सहज थिएन। अशिक्षित समाजमा हक–अधिकार र न्यायको कुरा कसले सुन्ने? कतिपयले त ‘मेरो छोरी हो, मैले जे गरौँ तँलाई के मतलव’ सम्म भने। चौधरी र मुसहर समुदायको बस्ती रहेको बारामा यो अभियान चलाउन निकै कठिन भयो। तर, कठिनाइका बीच पनि म कत्ति हतोत्साहित भइनँ। सम्झाउँदै, बुझाउँदै, सचेतना फैलाउँदै हिँडिरहेँ। र, यहाँसम्म आइपुग्दा अब मुसहर समुदायकै बालबालिका विद्यालय जाने वातारण बनेको छ। उनीहरुलाई कापी, कलम उपलब्ध गरिदिने वातावरण मैले मिलाइरहेकी छु।

बारामा जब पुजा शाहको बलात्कार भयो
क्याम्पस पढ्न जब वीरगञ्ज गएँ, बारामा २०७२ सालमा पूजा शाह नाम गरेकी ७ वर्षीया बालिकाको बलात्कार भयो र त्यसपश्चात उनको योनीमा काठ कोचियो। उपचारका क्रममा उनलाई काठमाडौंको कान्ति बाल अस्पताल ल्याइयो। तर, बचाउन सकिएन। यस कुराले मलाई भित्रैदेखि पोल्यो। ७ दिनसम्म शव राखेर हामीले ‘बेटी बचाऊँ’ अभियान चलायौँ। अभियानका क्रममा ठूलै आन्दोलन भयो। राष्ट्रिय, अन्तर्राष्ट्रिय मिडियाले कभर गरे। आन्दोलन सफल पनि भयो। बलात्कारीलाई २८ वर्ष जेल र ४ लाख रुपैयाँ जरिवाना गरियो।

त्यसपछि जय नारी अभियान राष्ट्रियकरण भयो। जहाँ–जहाँ बलात्कारका घटना भए म त्यहाँ–त्यहाँ पुगेर यसविरुद्ध आवाज उठाउन थालेँ। बलात्कृतलाई कसरी न्यान दिन सकिन्छ, परिवारलाई कसरी सहयोग गर्न सकिन्छ र बलात्कृतको भविष्य कसरी सहज गराउन सकिन्छ भन्नेमा मेरो ध्यान केन्द्रित भयो। यसरी म अगाडि बढ्न थालेँ।

जय नारी अभियानका क्रममा सुरुवाती दिनमा म एक्लै थिएँ। देशभर एक्लै पुग्थेँ, आवाज उठाउँथे। कतिपयले मलाई पागल पनि भने होलान्, कतिले मेरो अभियानलाई विफल पार्ने काम पनि गरे होलान्। तर, म ती कुराबाट कत्तिपनि निरुत्साहित भइनँ। मेरो सबैभन्दा ठूलो बल भनेको आत्मविश्वास थियो। आत्मविश्वासलाई बलियो हतियार बनाएर लडिरहेँ।

कुनै अभियान संचालनका लागि संस्था (एनजिओ, आइएनजिओ) चाहिन्छ, पार्टीमा आवद्ध हुनुपर्छ, धेरैको ब्याक सपोर्ट चाहिन्छ भन्ने गरिन्छ। तर, दृढ विश्वासका साथ राम्रो काममा लागिएको छ भने सबैभन्दा ठूलो बल सर्वसाधारणबाट पाइँदोरहेछ। जुन मैले महसुस गरेँ। र, महिला हिँसालाई समाजको सबैभन्दा ठूलो अपराधको रुपमा लिएर अघि बढिरहेँ। मेरो लक्ष्य हिँसाको न्यूनिकरण मात्रै होइन, अन्त्य नै गर्नुपर्छ भन्ने हो। त्यसका लागि नियम, कानुन बलियो हुनुपर्छ। सरकार, राजनीतिक दल जनताप्रति उत्तरदायी हुन जरुरी छ। तर, हामीकहाँ त्यसको उल्टो भएको छ। सरकार र राजनीतिक दल विभिन्न हिसावले अपराधिको संरक्षणमा लागेका देखिन्छन्। जसका कारण अपराध, हिँसा बढिरहेको छ। तर, म थाक्ने छैन। एकदिन मेरो अभियान सफल हुनेछ।

बलात्कारका घटना अझै खुल्दै जानेछन्
करिब ६ वर्षको अवधिमा मैले देशका विभिन्न कुना काप्चाको भ्रमण गरें। यस क्रममा मैले हाम्रो समाजलाई बुझ्ने अवसर पाएकी छु। घरपरिवार र समाजले नारीलाई हेर्ने, बुझ्ने दृष्टिकोण निकै संकुचित छ। हामी अझै पनि परम्परावादी सोच र विचारमा रुमलिएका छौँ। जबसम्म हाम्रो सोच र विचार परिवर्तन हुँदैन तबसम्म महिला हिँसा अन्त्य हुँदैन भन्ने मेरो बुझाई छ। त्यसका लागि परिवर्तन आफैबाट थाल्नुपर्छ। आर्थिक, सामाजिक रुपमा बलियो हुनुपर्छ। अन्यायविरुद्ध आवाज उठाउन सक्नुपर्छ, नारीहरु संगठित हुनुपर्छ।

खासमा हाम्रो सरकार निकै निरिह छ। महिला हिँसाविरुद्ध, महिला सशक्तिकरणका लागि सरकारले देशभर सचेतनामुलक अभियान संचालन गर्नुपर्ने हो। हाम्रो अभियानमा साथ, सहयोग दिनुपर्ने हो तर, त्यो हुन सकेको छैन। महिलालाई रोजगारी, शिक्षा प्रदान गर्ने, हिँसाविरुद्ध बोल्न प्रेरित गर्ने काम हुन सकेको छैन। सरकारको देशव्यापी रुपमा आफ्नै संजाल छ, त्यसले सरकारी पक्षबाट यसो भएको भए त्यसको प्रभाव चाँडो पर्ने थियो। हामीसँग धेरै जटिलता छन्। तर, पनि म हार खाने मध्यमा पर्दिनँ। एकदिन सरकार पनि मेरो बाटोमा अवश्य हिँड्नेछ।

मानिसको चेतनास्तर पहिलेकोभन्दा केही बृद्धि भने पक्कै भएको छ। विभिन्न हिँसा, बलात्कारका घटनाहरु बाहिर आउनु त्यसको उदाहरण हो। यदि अपराधविरुद्ध, न्यायका लागि बोल्नुपर्छ भन्ने चेतना नै हुँदैनथ्यो भने यस्ता घटना बाहिर आउने नै थिएनन्। अझै पनि धेरै स्थानमा कसैको डर, धम्की, दबाब, प्रलोभन, लाज, शक्तिको आडमा यस्ता घटना लुक्ने गरेका छन्। विस्तारै ती पनि खुल्र्दै जानेछन्।

यसकारण पेटिकोट लगायौं, कपाल मुन्डन गर्यौं
हामीले बलात्कारविरुद्ध जिल्ला–जिल्लामा अभियान चाल्दै आएका थियौँ। कहिले टाउकोमा कालो पट्टी बाँधेर, कहिले सिठ्ठी बजाएर त कहिले राँको बालेर महिला हिँसा, बलात्कार तथा अपराधको विरोध गरिरहेका थियौँ। सोही क्रममा एक बालिका बलात्कृत भएको विरोधमा म झापा पुगेकी थिएँ। त्यहाँ मैले बोलेको करिब ४ मिनेटको भिडियो सामाजिक संजालमा १० लाखभन्दा धेरैले हेरेपछि मिडियाले कभर गर्यो। सोही क्रममा एभिन्यूज टीभिमा अन्तर्वार्ता दिएर निस्कनै लाग्दा सानीआमाको घरमा बस्ने ७ वर्षीया बालिका बलात्कृत भएको खबर आयो। त्यो पनि ७० वर्षको बृद्धबाट। यो कुराले मेरो रगत उम्लियो।

हामीले जति जिल्लाव्यापी अभियान संचालन गर्यौँ त्यति सरकार निरिह बन्दै गयो। त्यसैले राजधानी केन्द्रित आन्दोलन नगरी सरकार जाग्दैन भन्ने लाग्यो। हाम्रो अर्को उद्धेश्य आन्दोलनले सरकारी तह, तप्कादेखि सामान्य मानिसको ध्यान खिच्न सक्नुपर्छ भन्ने थियो। त्यसकै फलस्वरुप माइतिघर मण्डलामा शान्तिपूर्ण रुपमा पेटिकोट आन्दोलन गर्न पुग्यौँ। र, हाम्रो आन्दोलन सफल पनि भयो। तर, सरकारी पक्षबाट जुन खालको हस्तक्षेप भयो त्यो आफैमा निन्दनीय छ। हामीले न्याय, समानता, अधिकारका निम्ती शान्तिपूर्ण ढंगले आवाज उठाउँदा सरकारले हस्तक्षेप गर्नुपर्ने कारण के? त्यो हामीले बुझ्न सकेका छैनौँ। आन्दोलनमा सरकारको विरोध गरेका थिएनौँ। केवल बलात्कारविरुद्ध महाअभियान चलाएका थियौँ। बलात्कारीलाई फासी हुनुपर्छ भन्ने आवाज उठाएका थियौँ। मलाई थाहा भएसम्म करिब ९५ प्रतिशत बलात्कारका घटनामा राजनीतिक संरक्षण छ। त्यसैले राजनीतिक रुपमा हाम्रो अभियान दबाउने काम भएको मैले महसुस गरेकी छु।

कपाल महिलाको सौन्दर्य हो। यसलाई धेरैले गहनाका रुपमा लिन्छन्। जसरी नारीको अस्मिता लुटिएको छ, त्यसलाई सांकेतिक रुपमा व्यंग्य गर्दै दबाब सिर्जना गर्न हामीले कपाल मुन्डन गरेका हौँ। अझै अरु छोरीचेलीको अस्मिता लुटिनुभन्दा पहिले नै सरकारको आँखा खुलोस् भन्नका लागि हामीले यो आन्दोलन चलाएका हौँ। यो हाम्रो आन्दोलन सांकेतिक थियो। जसरी कपालमा महिलाको सौन्दर्य रहेको हुन्छ र त्यसलाई काट्दा त्यो ह्रास भएको भन्ने बुझिन्छ त्यसैगरी महिलाको अस्मिता लुटिँदा एउटी नारीले धेरै कुरा गुमाउन पुग्छे। तर, सरकार त्यसलाई टुलुटुलु हेरेर बस्छ। निरिह बन्छ। यसरी हामीले सरकारले देख्नेगरी कपाल मुन्डन गरेर सांकेतिक रुपमा केही बुझाउन खोजेका हौँ।

बलात्कारी पुरुष होइनन्, अपराधी हुन्
कतिपयमा सावित्री सुवेदी पुरुषविरोधी हो भन्ने भ्रम परेको पाएकी छु। त्यो कदापी होइन। जय नारी अभियानमा अधिकांश पुरुषले साथ दिनुभएको छ। त्यसैले हामीले विरोध पुरुषको नभएर पितृसत्तात्मक समाजको गरेका हौँ। यहाँभित्र जडा गडेर रहेको गलत पुरुषवादी सोच, दम्भ र अहमको विरोध गरेका हौँ।

त्यसैले हामीले केही दिनमै ‘बलात्कारी पुरुष होइनन्, अपराधी हुन्’ भन्ने नारासहितको आन्दोलन गर्दैछौँ। महिला हिँसा र बलात्कारको अन्त्य नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ। दैनिक बलात्कारका घटना बढिरहेका बेला त्यसको अन्त्यका लागि बलात्कारीलाई फासी दिनुपर्छ भन्ने हाम्रो जोडदार माग हो। र, यसका लागि हामी आवाज उठाइरहनेछौँ ।

(कृष्ण आचार्यसँगको कुराकानीमा आधारित) 

प्रकाशित १६ कार्तिक २०७५, शुक्रबार | 2018-11-02 15:58:34
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...

  • परीक्षाकै सूचना हराएको त्रिवि

    पत्रकारिता तेस्रो सेमेस्टर अन्तिम परीक्षा आइरहेकाले भर्खरै बिग्रिएको मोबाइलको डिस्प्ले बनाउन मन लागेन।

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...