शुष्मा मिसबाट कसरी म ‘लाहुरेनी’ भएँ




शुष्मा रुपाबुङ
शुष्मा रुपाबुङ

‘आज जीवनको सबैभन्दा महत्वपूर्ण कदम चालेकी छु। जीवनको एउटा अध्याय सधैंका लागि बन्द गरेर, अर्को नयाँ अध्याय सुरु गर्दैछु। 😐 आज मेरो प्यारो मान्छेलाई एकदमै धेरै सम्झिरहेकी छु।’

‘नमस्ते है लाहुरेनी मिस, टाढाकै यात्रा जस्तो छ नि!’

मुन्टो अलिकति बटारेर हेरें। एकजना चिनजानका सर रहेछन्, मुसुमुसु हाँस्दै मलाई हेरिरहेका थिए। पेट्रोल पम्पको आमने समाने उनी बाइकमा बसी–बसी प्रेट्रोल भर्दै थिए। म तल्लो पट्टी साइडमा स्कुटीबाट ओर्लेर पेट्रोल भर्ने पालो कुर्दै थिएँ। बाइक र स्कुटीमा यही फरक छ– स्कुटीको ट्याङ्क सिट मुनी हुने भएकाले पेट्रोल भर्दा ओर्लनै पर्छ।

‘नमस्ते, हैन यतैतिर हो सर’, म अलि च्याँठिएर बोलें। साँचो बोल्न मन लागेन। सायद उनले मिसको अगाडि लाहुरेनी शब्द नझुण्ड्याइदिएको भए हार्दिकता साथ जवाफ दिन्थें।

दशैंको लामो बिदा सकेर सरकारी कार्यालय खुल्ने पहिलो दिन। बिहानै उठेर नुवाइधुवाइ गरेर इलाम सदरमुकामतिर लाग्दै थिएँ। नुहाएको कपाल सुकोस् भनेर मुख्य ट्राफिक चोकसम्म हेल्मेट डिकिमा राखेर हावामा कपाल उडाउँदै घरबाट निस्केकी थिएँ। नत्र भए मास्क, सन ग्लास र हेल्मेटको भाइजरले अनुहार छोपेर पूरै नकाबधारी भएर स्कुटीमा हिंड्ने बानी छ मेरो। मन त्यसै भारी भइरहेको बेला त्यो सरको सम्बोधनले झनै झडङ्ग भो दिमाग।

शिक्षक सेवा पास गरेर, स्थायी शिक्षकको रुपमा झापाको सिमानामा रहेको इलाम जिल्लाको चुलाचुलीस्थित जनता माध्यमिक विद्यालयमा दुई बर्ष अगाडि नियुक्त भएर आएकी थिएँ। झापाको दमकदेखि १५–२० किलोमिटर मात्र टाढा भएकाले दमकबाट स्कुटीमै स्कुल धाउने गरेकी थिएँ।

मैले लोकसेवा पास गर्नासाथ कोरियामा रोजगारी गर्दै रहेका दाइले उपहार स्वरुप स्कुटी किनिदिएका हुन्। सेतो रङको मेरो त्यो स्कुटी स्कुल पढाइन्जेल ठूलो सारथिका रुपमा रह्यो। अहिले पनि म घर परिवारसँगै त्यो स्कुटी खुब सम्झिन्छु। त्योसँग मेरो छुट्टै आत्मीय सम्बन्ध छ।

आयोग खुल्नुअघि सरकारी कोटामै अस्थायी दरबन्दिमा मैले शिक्षण पेशा अँगालेको पाँच बर्ष भएको थियो। कक्षा पाँचसम्म आफै पढेको स्कुलमा आफैलाई क ख सिकाउने सरसँगै सहकर्मी भएर काम गर्न पाउनु सौभाग्यकै कुरा थियो। त्यही पाँच बर्षे अनुभवले पनि मलाई अठार बर्षपछि पहिलो पटक खुलेको शिक्षक सेवा आयोगमा पास हुन सहयोग पुगेको थियो।

स्थायी शिक्षक भएर अर्को स्कुलमा आएको एकबर्षभित्रै मेरो विवाह भयो, आफ्नै रोजाइको केटासँग। उनी ब्रिटिश सैनिकमा भएकाले बेलायतमै कार्यरत थिए। विवाह भएपछि पनि खुरुखुरु पढाउन स्कुल जाँदै थिएँ। तर मेरोबारे धेरै ‘गसीप’ बन्न थालेछन्। ‘अब यो मिसले स्कुल छोड्छ’, ‘लाहुरेसँगै पल्टन गएर, पाउण्ड कमाउनु सट्टा किन नेपालको जागिर खान्छ’, ‘केटीहरु पढेर स्वाबलम्बी भएपनि लाहुरे नै चाहिने’ आदि। चिनजानका मान्छेहरुले त ‘अब कहिलेसम्म स्कुल पढाउने’ भनेर खुलेरै सोध्न थाले। ‘यूकेमा लाहुरेको पैसामा मोज गर्न छाडेर यहाँ के दुःख गर्छौ’ भन्न थाले। कतिले जिस्केर त कतिले साँच्चिकै ‘लाहुरेनी’ भनेरै सम्बोधन गर्न थाले। हुँदाहुँदा ‘शुष्मा मिस’ को सट्टा शुष्मा हटाएर ‘लाहुरेनी मिस’ पो भन्न थाले।

मैले त्यसैबेला महशुस गरें, हाम्रो समाजमा महिलाको पहिचानमाथि आफुसँग जोडिएको पुरुष अर्थात श्रीमानको पहिचानको हतियारले कति छिटो अतिक्रमण गर्दोरहेछ। शिक्षण पेशाबाट मैले पाउने तलव मेरो श्रीमानको तलवभन्दा अवश्य पनि धेरै गुणा कम थियो तर म आफ्नै देशमा बसेर जिम्मेवार रुपमा आफ्नो पेशा गरिरहेकी थिएँ। मैले यो पहिचान बनाउन १९–२० बर्ष मेहनत र संघर्ष गर्नुपर्‍यो। तर केही समयअघि मात्र मसँग जोडिएको पुरुष अर्थात श्रीमानको पहिचानले मेरो पहिचान मधुर बनाउँदै थियो। यदि महिला र पुरुष बराबर हुन भनेर मान्ने हो भने एउटी शिक्षिकाको श्रीमान भएको नाताले मेरो श्रीमानलाई पनि हाम्रो समाजले सर भन्न सक्नु पर्थ्यो। तर मैले विवाहपछि अर्को एक वर्षसम्म त्यही स्कुलमा पठाउँदा पनि मेरो श्रीमानलाई कसैले ‘मिसको श्रीमान’ भनेर सम्बोधन गरेको थाहा पाइनँ।

मन चसक्क हुन्थ्यो।

अरुले प्रश्न गर्दा मौन बस्न जस्तो सजिलो थिएन, आफैले आफैलाई प्रश्न गर्न। जागिर र श्रीमान दुई कित्तामा उभिएर मलाई हात दिइहेका थिए। यो असम्भव छ भन्ने लाग्दालाग्दै पनि म दुबैको साथ रहन चाहन्थें। धेरै आफन्त र साथीभाइ मलाई जागिर छोडेर श्रीमानतिर जान प्रेरित गर्थे। घरमा मलाई निर्णय गर्ने स्वतन्त्रता मेरी आमाले मात्रै दिइन। मलाई अझै पनि लाग्छ, म आमा भन्दा सधैं एक कदम पछाडि नै रहें।

हाम्रो समाजमा धेरै अभिभावक छोरीले जति नै पढेलेखेर आफ्नो खुट्टामा उभिए पनि उनीभन्दा सक्षम ज्वाइँको साथ लाग्दा नै ढुक्क हुन्छन्। तर मेरी आमाले मलाई बारम्बार जागिर नछोड्न सल्लाह दिइन। आफ्नो परिचय, आफुले बनाएको पहिचानको महत्व बुझाउने प्रयास गरिन। महिनामा २०–२५ हजार रुपैयाँ कमाउने छोरी महिनामा दुई–साढे दुई लाख कमाउने ज्वाइँसँगै गएको हेर्ने लोभ आमाले कहिल्यै राखिनन्।

आमा भन्थिन, ‘छुट्टीमा ज्वाइँ भएको ठाउँमा घुम्न जाउ, पछि ज्वाइँ रिटायर्ड भएपछि पनि यतै नेपालमा बस।’

परिवारसँगको लामो छलफलपछि अन्ततः मैले जागिर छोडेर श्रीमानसँग जाने निर्णय गरें। आफुले रोजेको, माया गरेको प्यारो श्रीमानको साथ लाग्दा जीवनमा जुन खुशी मिल्थ्यो, जीवनको त्यो सुन्दर अध्याय सधैंका लागि बन्द गर्नु उत्तिकै पीडादायि पनि हुन सक्थ्यो। मानिसहरू सोच्न सक्छन्– बेलायत जान पाउँदा नाथे एउटा शिक्षकको जागिर छोड्न पनि केको पीडा? तर मेरा लागि मेरो शिक्षण पेशा एउटा जागिर मात्र थिएन, मेरो जीवनकै सबैभन्दा सुखद र महत्वपूर्ण पाटो थियो। आत्म स्वाभिमानको एक पहाड थियो।

‘मेरो जाने बाटो छ, त्यसैले जाँदैछु। म जस्तै र म भन्दा योग्यहरु यहाँ ठाउँ नपाएर त्यसै बसिरहेका छन्, जसको कतै जाने बाटो छैन। कमसेकम त्यस्तो एक जनाका लागि त ठाउँ खाली हुन्छ मैले छोडेपछि’, सान्त्वनाका यी शब्द मनमा खेलाउँदै दशैं बिदा सकिनसाथ जिल्ला शिक्षा कार्यालयमा आफ्नो राजिनामा पत्र बुझाउन जाँदै थिएँ।

बुधबारे कटेपछिको बाटो साँघुरो, घुमाउरो र उकालो भएकाले जोखिमपूर्ण छ । यद्यपी स्कुटीमा धेरै पटक ओहोर–दोहोर गरेकाले यो बाटोमा म अभ्यस्त नै थिएँ। साँघुरो टर्निङ आएपछि आफै चनाखो भएर होसियारी साथ चलाउँथें। यसपाली भने मेरो मन थिर थिएन सायद, त्यसैले ठूल्ठूला बस–ट्रकको हर्नले तर्सिएर स्कुटी नै लर्बरिन्थ्यो।

कन्याम पुग्दा सिमसिमे झरी पर्न थाल्यो। बाटैमा रहेको कन्याम इन होटल अगाडि स्कुटी रोकेर डिकीबाट रेनकोट झिक्दा थिएँ, एकदमै थाकेको महशुस भयो। भोक लागे जस्तो भो। एकपटक श्रीमानलाई यही स्कुटीमा इलाम घुमाउन ल्याएकी थिएँ। ठूलो झरीले चुटेर यही होटलमा बास बसेका थियौं। भोलिपल्ट यतैको मनमोहक चियाबारी घुमेर इलाम सदरमुकाम नै नपुगी झापा फर्केका थियौं। त्यसैले पनि यो होटलको अगाडि नै मलाई स्कुटी रोक्न मन लाग्यो। स्कुटी पर्किङ्मा राखेर भित्र पसें। भोक लागे जस्तो भएपनि केही खान मन थिएन। इलाम सदरमुकाम पुग्न अझै आधाबाटो थियो। ड्राइभ गर्न शक्ति चाहिन्छ र त्यसका लागि खानुपर्छ भन्ने सोचेर मम अर्डर गरें।

इलाम पुग्दा १२ः३० भइसकेको थियो। काम सकेर फर्कने हिसाबले बिहानै बाटो लागेकी थिएँ। सदरमुकाम आउँदा प्रायः काम सकेको दिन इलाम बजार, चियाबारी घुमेर भोलिपल्ट मात्र फर्किन्थें। यसपटक केही गर्ने जाँगर थिएन। मन एकदमै हतास–आतेसमा दौडिरहेको थियो।

जिल्ला शिक्षा कार्यालयमा स्कुलको तर्फबाट हेडसरले दिनुभएको पत्रसँगै ‘मेरो आफ्नै घरायसी समस्याले गर्दा अब उप्रान्त आफ्नो पदमा रहेर काम गर्न नसक्ने भएकाले राजिखुसी रजिनामा गर्छु’ भनेर लेखिएको निवेदन बुझाएँ। शिक्षा कार्यालयका प्रायः कर्मचारीले मलाई चिन्थे र किन रजिनामा दिँदैछु भन्नेबारे उनीहरू जानकार थिए। जिल्ला शिक्षा अधिकारीले तत्कालै सहिछाप गरेर मेरो राजिनामा स्वीकृत गरिदिए। मेरो तलवबाट जम्मा हुँदै आएको संचयकोष, बिमा लगायत उपचार खर्चको सुविधाहरु लिने प्रक्रिया मिलाउन पत्र पनि काटिदिए।

शिक्षा कार्यालयबाट बाहिर निस्केपछि म हाँसौं कि रोउँ भएँ। म खुशी छु कि दुखी, आफै छुट्याउन सकिरहेकी थिइनँ। जीवनको महत्वपूर्ण चिज गुमाए जस्तो, कसैसँग अन्तिम पटक बिदाइ हुँदै गरे जस्तो मुटु पोलिरह्यो। जुन कुरा पाउन मैले जीवनको एउटा महत्वपूर्ण समय खर्चिएको थिएँ, त्यो त्याग्न मलाई जम्मा दश मिनेट मात्रै लागेको थियो।

चियाबारीको बाटो छेउमा स्कुटी रोकें र फेसबुक खोलेर स्टाटस लेखें, ‘आज जीवनकै सबैभन्दा महत्वपूर्ण कदम पनि चालेकी छु। आजबाट जीवनको एउटा अध्याय सधैंका लागि बन्द गरेर, अर्को नयाँ अध्याय सुरु गर्नेवाला छु। यसमा दुखी कि खुशी अनुभव गरिरहेकी छु, आफैलाई थाहा छैन। 😐 म अलि पछिमात्र यसबारे सार्वजानिक गर्नेछु। आज मेरो प्यारो मान्छेलाई एकदमै धेरै सम्झिरहेकी छु।’

फेशबुकले जब त्यो स्ट्याटस हरेक वर्ष सम्झाइदिन्छ, मेरो मुटु चसक्क दुख्छ।

आफ्नो प्यारो चिज सदाका लागि छोडिरहेछु जस्तै लागेर छाती भातभत पोलिरहेको थियो। गह्रौं मन लिएर ओरालो झरें। स्कुटी ड्राइभ गर्दैगर्दा मनमा बिभिन्न तर्कना, छटपटाहटले औडाह बनाइरहेको थियो। अघि जसरी नै ठूल्ठूला गाडीका हर्नबाट तर्सिंदै हिंडिरहें।

कन्याम आएपछि फेरि उही होटलमा बिसाउन मन लाग्यो। मानसिक, शारिरीक रुपमा पूरै शिथिल थिएँ। केही खाने मन थिएन, बस्ने बाहनामा कफी र चाउमिन मगाएँ। कफी पिउँदै फेसबुक अन गरें, अघिको पोस्टमा निकै कमेन्टहरु आएका रहेछन्। धेरैले स्कुल छोडेको होला भन्ने अनुमान लगाएछन्। कतिले विदेश जान लागेको होला भन्ने कमेन्ट गरेका थिए त कतिले केही नभनी नयाँ यात्राको शुभकामना टक्रयाएका थिए। तर मलाई केही गर्ने जाँगर थिएन, कसैको कमेन्टमा पनि रियाक्ट नगरि चुपचाप छाडिदिएँ।

त्यहाँबाट हिंडेको लगभग ५ मिनेटपछि पेन्टको गोजीमा रहेको फोनमा भाइब्रेसन आयो। स्कुटी साइडमा रोकेर फोन निकालें, श्रीमानको फोन आएको रहेछ। म निरास भएर बोलेको थाहा पाएपछि उनले केहीबेर सम्झाउने प्रयास गरे। मन अलि सम्झेपछि बाटोतिर हेर्दा झसङ्ग भएँ, म त फेरि इलाम सदरमुकाम जाने बाटोतिरै पो जाँदैरहेछु।

एक्कासी मन दुखे जस्तो भक्काको फुटेर आयो। फोनमा बोल्दाबोल्दै ग्वाँ ग्वाँ रोइदिएँ ...।

प्रकाशित ८ कार्तिक २०७५, बिहिबार | 2018-10-25 16:17:33
Max TV
Max TV
Vianet

author photo

शुष्मा रुपाबुङ विश्व नेपाली साहित्य महासंघ युकेको सदस्य र अन्तर्राष्ट्रिय किरात सांस्कृतिक संरक्षण केन्द्रको सह–कोषाध्यक्ष हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...