ब्लग

टेनिसमा हारेका ‘राजनीतिक खेलाडी’ सँग पोखरामा एकछिन


Infocus



टेनिस खेल्दै कमल थापा
टेनिस खेल्दै कमल थापा
साभार: थापाको ट्वीटरबाट
NIC ASIA

दिउसोको एकबाट उकालो लाग्दो घडीको सुई। घमाइलो पोखरा, अनि २४ डिग्री सेल्सियस तापक्रम। नेपाली राजनीतिका ‘चतुर खेलाडी’ कमल थापा पोखरा रंगशालाको ‘क्ले कोर्ट’मा असिन-पसिन थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षका रुपमा दौरा सुरुवालमा सजिने उनी विशुद्ध खेलाडीको ड्रेसमा ’क्ले कोर्टमा ‘मुसा प्रवृत्ति’ काम लाग्ने कुरै भएन।

टेनिसको र्‍याकेट समातेका उनी कहिले कोर्टको अगाडि, कहिले पछाडि गर्थे। पोखरामा जारी ‘आइटिएफ सिनियर्स इण्टरनेसनल प्रतियोगिता’ का सेलिब्रेटी खेलाडी थापाको टोलीले पहिलो सेट ६-० ले जित्यो। ५५ वर्षमाथिको समूहबाट प्रतिष्पर्धी बनेका उनले दोस्रो खेलमा भने गल्ती गर्दै गए। जीत नजिकको खेल हातबाट फुस्क्यो।

सुपर टाईमा लिड गरेपनि अन्ततः उनी पराजित बन्न पुगे। थापाले प्रतिष्पर्धीसँग हात मिलाए, बधाई दिए। अनि दर्शक दीर्घामा बसेर आफूलाई हौस्याई रहेकी श्रीमति प्रलिता थापा नजिकैको कुर्चीमा सुस्ताउने मुडमा थचारिए।

पसिना सुकैकै थिएन। बिहान ५५ वर्ष माथिको एकल स्पर्धा जितेका उनको अनुहारमा हारका रेखाहरु दौडन नपाउँदै हामीले सोध्यौँ, ‘जीवनमा धेरै खेल जित्नु भयो र त्यति नै हार पनि बेहोर्नु भयो, अनुभव कस्तो छ?’

प्रतिष्पर्धात्मक खेलपछि कोर्टबाट बाहिर निस्केकालाई सुरुमै राजनीतितिर घचेट्ने प्रयत्न प्रत्युत्पादक हुन सक्थ्यो । प्रश्नमा राजनीतिक जीवन पनि घोलिएको सायद उनले चाल पाइहाले।

‘मैले धेरै मिस गरेँ, स्पोर्टसमा हारलाई सौहार्दपूर्ण रुपले स्वीकार्नु पर्छ’, सहज उत्तर दिने क्रममा उनले भने, ‘अरु खेलजस्तै टेनिस पनि सानोतिनो गल्तीले हारिन्छ।’

उनको पारिवारिक पृष्ठभूमि नै खेलकुदमय थियो। पिता कर्णेल छत्रबहादुर थापा छोराहरुलाई खेलकुदमा हौस्याउँथे। दाई नेत्रबहादुर थापा सेनामै गए, नेपाली सेनाको लेफ्टिनेण्ट जनरलसम्म भए। तर खेलकुद छाडेनन्। कमलले राष्ट्रिय फुटबल टोलीमा ठाउँ बनाए भने भाई गणेश थापा विवादकै बीच पनि नेपाली फुटबलको सर्वकालीन खेलाडी बनेका छन्।

उनी सन् १९९८ ताका परराष्ट्र मन्त्री थिए। त्यही बेला उनले टेनिसको र्‍याकेट समाते। राजनीतिका व्यस्त खेलाडी कमलले खेलाडीकै रुपमा देश र विदेशका विभिन्न कोर्ट चहारे। धेरैमा सफलता पाए। जहाँ हार हात पर्‍यो, त्यहाँ पनि वाहवाही पाए।

फुटबल छाडेर किन त टेनिस?
‘खेल मेरो जीवनको अभिन्न अंग बन्न पुग्यो र ६४ वर्षको उमेरमा पनि उही उत्साहका साथ खेल्दैछु’, उनले भने, ‘फुटबल टिम गेम हो, टेनिस इण्डिभिजुअल, टेनिस विभिन्न उमेर समूहमा खेल्न पाइन्छ, प्रौढ अवस्थामा पुग्दा यस्तो गेम रोजियो।’

संयोग भन्नुपर्छ, राजनीतिमा उनले ‘टिम गेम’ भन्दा ‘इण्डिभिजुअल गेम’ बढी खेले। त्यहाँ पनि सफलता र असफलता दुबै पाए। कहिले टिम बनाए र फुत्त आफू बाहिर निस्के, कहिले टिमलाई आफूभन्दा बाहिर निकाले।

खेल जीवनजस्तै बाहिर पनि इण्डिभिजुअल गेम खेल्नु भा’ हो?
उनले यो प्रश्नलाई पनि सहजतासाथ लिए। पार्टी भनेको टिम भएको अर्थ्याए। राजनीतिमा पनि एक्लैले सफलता प्राप्त गर्न नसकिने सत्यलाई स्वीकारे।

अनि थपे, ‘बाल्यकालदेखि खेलकुदमा लागेकोले मेरो राजनीतिक जीवनमा पनि खेलकुदका केही उच्च आदर्शहरु अभिन्न अंग बन्न पुगेका छन्। अनुशासन, कडा परिश्रम, स्पोर्टस्म्यानसीप स्प्रिट मेरो राजनीतिक जीवनमा पनि देखिन्छ।’

त्यसो भए उनले राजनीतिक जीवनमा बोकेको एजेण्डा नै ‘इण्डिभिजुअल’ हैन र?
उनले आफ्नो राजनीतिक संगठन कमजोर भएको स्वीकारे। साधन र श्रोतको कमीलाई पनि दोष देखाए। भने, ‘त्यसैले हामीले हाम्रो राजनीतिक एजेण्डालाई सशक्त ढंगले उठाउन सकनौँ।’

‘नेपाल हिन्दु राष्ट्र हुनुपर्छ’ भन्नेमा जनमत संग्रह गर्ने हो भने ८० प्रतिशत जनताको मत पाउने दावी गरेका उनले राजसंस्थाको पक्षमा पनि सशक्त जनमत भएपनि चुनावी एजेण्डा बनाउन नसक्दा हार बेहोर्नु परेको दावी गरे। महान क्रान्तिकारी भन्नेहरुले पनि उपलब्धि हासिल गर्न नसकेको अवस्थामा आफ्नो एजेण्डा झन स्थापित भएको जिकिर समेत उनले गर्न भ्याए।

उनले आफू खेलाडी भएकोले आग्रह पूर्वाग्रह नपाल्ने बताए। अहिलेको असन्तुष्टी र आक्रोसको दोष कुनै एउटा व्यक्ति र दललाई दिन नहुनेमा उनी प्रष्ट रहेछन्।

‘अहिले केपी ओलीको ठाउँमा नेपाली काँग्रेसका शेरबहादुर देउवा नै प्रधानमन्त्री भएको भएको भए यो भन्दा पनि परिस्थिति बिग्रन सक्थ्यो, यहाँ व्यक्ति र दलको भन्दा पनि नीति र मार्गचित्र नै दोषी छ’, उनले भने, ‘हामीले जुन बाटो लिएका छौँ, त्यो बाटोबाट दीर्घकालीन शान्ति, समृद्धि र स्थायित्व हासिल हुन सक्दैन। हामीले द्वन्द्व र अस्थिरताको विजारोपण गरेका छौँ।’

नेपालको सन्दर्भमा संघीयता, गणतन्त्र र धर्म निरपेक्षता नै द्वन्द्व, अस्थिरता अनि अराजकता सृजनाको कडी भएको उनले निष्कर्ष सुनाउनपनि उनी चुकेनन्। त्यसपछि थपे, ‘ढिलो चाँडो यो कोर्ष परिवर्तन गर्नैपर्छ, अर्काे विकल्प छैन।’

उनको पसिना ओभाउँदै थियो। राजनीतिक कुरा धेरै गर्नु थिएन। सँगै रहेकी उनकी श्रीमतीको ध्यान मैदानमा चलिरहेको खेलतिर थियो। उनी खेल हेरेर निरन्तर ताली बजाउँदै थिइन्।

‘आफ्नो पतिको दर्शक बन्दा कस्तो लाग्छ?’ 
टेबल टेनिसकी राष्ट्रिय च्याम्पियन रही सकेकी प्रलिता थापाले जवाफ फर्काइन्, ‘जिते पनि हारे पनि यस्तो गरे हुन्थ्यो भन्ने लाग्छ, सुझाव पनि दिन्छु।’

‘राजनीतिमा नि!’
‘त्यहाँ उहाँले आफ्नो विवेक प्रयोग गर्नुहुन्छ।’

श्रीमती थापासँग कुरा गरिरहँदा कमलले बीचमै भने, ‘म अल्लि हतारिन्छु।’

श्रीमती थापाले स्वीकारोक्तिमा टाउको हल्लाइन् र थपिन् ‘अहिले अल्लि कम भा’ छ।’

कमलले साँच्चै स्वीकारे। उनी राजनीतिमा बढी नै हतारिन्छन्। कहिले त्यही एजेण्डाविरुद्ध देश दौडाहामा निस्कन्छन् र शक्ति आर्जन गर्छन्। केही दिनमै त्यही एजेण्डा छाड्छन् र सिँहदरबार छिर्छन् ।

कुरा फेरि राजनीति तिरै मोडियो।

‘हिजो गरिएका निर्णयमा तपाईं पनि त संलग्न हुनुहुन्थ्यो नि!’
‘हामीले त संविधानलाई स्वीकार गरेको पो हो, संविधानलाई मान्दिन भन्न पाइन्न, परिवर्तन गर्न पाइन्छ, संविधान जलाउँछु भन्न त पाइँदैन नि? हामीले त्यही गरेको हो’, उनले भने ‘मैले खेलकुदबाट सिकेको छु , हारेर पनि अर्को गेमलाई तयारी गर्ने हो।’

‘कसरी त?’
उनले आफूले खेलकुदबाट हार स्वीकार्न र जीत निकाल्ने कला सिकेको पुनः दोहोर्‍याए।

‘एक्लैले पनि अहिलेको राष्ट्रिय राजनीतिमा एउटा फरक विचार बोकेर हिँड्न सक्ने आँट र साहस केही हदसम्म मलाई खेलकुदको आदर्शले सिकाएको हो भन्ने लाग्छ’,उनले थपे, ‘एजेण्डा स्थापित गर्न प्रयत्न गर्ने हो।’

कुरा खेलकुदतर्फ नै मोडियो।

थापाले आफू हप्ताको ६ दिन टेनिस कोर्टमा ओर्लने गरेको मात्र बताएनन्, पूजापाठ र ध्यानको लागि पनि समय छुट्याएको जानकारी दिए।

थापा रविशंकरका चेला हुन्। नेपालको नाकाबन्दीको बेला उनी तत्कालीन प्रधानमन्त्री केपी ओलीको दूत बनेर भारत पुगेका थिए। उनले नाकाबन्दी हटाउन रविशंकरकै तुरुप पनि प्रयोग गरे। अहिले उनी रविशंकरले नै सिकाएको ‘सुदर्शन क्रिया’ ध्यान गर्छन्।

सक्रियता हेर्दा उनलाई ६४ वर्षे भन्न सुहाउँदैन। सक्रियता उनको परिचय हो। खेलकुदका पारखी भएको नाताले आफ्नो पालाका फुटबलर पेलेदेखि मेस्सी र लुका मोड्रिचसम्म र टेनिसका सर्वकालीन पिट सम्प्रासदेखि फेडररसम्मलाई पछ्याउँछन्।

नेपाली राजनीतिका हस्तीहरु मैदानमा आए कसलाई सोझो सेटमा जितौँ जस्तो लाग्छ?
पसिना सुकिसकेका कमलले पछिल्लो प्रश्नमा भने, ‘उहाँहरु खेल्नु हुन्न, तर स्वच्छ शरीरले मात्र स्वच्छ मष्तिष्क बनाउँछ, खेलकुदमा सबैले ध्यान दिनुपर्छ।’

पोखराका टेनिसप्रेमीको सक्रियताप्रति धन्यवाद ज्ञापन चाहिँ नसोधिएको, तर उनलाई भन्न मन लागेको कुरा रहेछ।

प्रकाशित १६ असोज २०७५, मंगलबार | 2018-10-02 17:32:28
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...