ढाका डायरी १

विमानका ती सिट पार्टनर




आधिकारिक प्रतियोगिताहरुमा पहिलो अन्तर्राष्ट्रिय भ्रमण तय भएको थियो– ढाका, बंगलादेश। मौका थियो, साफ च्याम्पियनसिपको।

बंगलादेश प्रस्थान गर्नका लागि अघिल्लो दिन नै सम्पूर्ण तयारी सिध्याएको थिएँ। ‘विमान बंगलादेश’ को दिउँसो १२ बजेको ‘फ्लाइट’ थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० बजे नै पुग्नुपर्ने उर्दी थियो।

थापागाउँ (बानेश्वर) को बसाई। विमानस्थल पुग्न त्यस्तै आधा घण्टा समय छुट्याउँदै साढे ९ बजे निस्कने योजना अनुसार श्रीमतिले सबै तयारी गरेकी थिइन्। जाने म, चिन्ता उनलाई। ‘यो छुट्यो कि? त्यो छुट्यो कि? यो हाल्यौ? त्यो हाल्यौ?’ उनका प्रश्नहरु एकपछि अर्को गर्दै आइरहेका थिए।

‘यो खानु, त्यो नखानु, पुग्ने बित्तिकै फोन गर्नु, समयमा खान खानु’ जस्ता ‘गृहमन्त्री’ का थप आदेश थिए। उनको आदेश पालना गर्नेछु भन्दै टाउको हल्लाउँदै सहमति जनाउनुको विकल्प मसँग थिएन।

बिहे भएको झण्डै डेढवर्षपछि हामी अलग्गिदै थियौँ। छोटो नै किन नहोस्, उनमा देखिएको विछोड–भाव म महसुस गर्न सक्थेँ। त्यसैले, उनको चिन्तालाई मैले स्वभाविकै मानेँ। तर म आफू भने सामान्य अवस्थामा थिएँ।

उनले टीकाटालो तयार गरेकी रहिछन्। निस्कने बेला टीका लगाइदिन खोजिन्। उनको हातबाट टीकाको थाल लिँदै ‘मैले पो लगाइदिनुपर्छ त’ भन्दै जिस्किएँ। टीकाको थाल लिदैँ आफू लगाएँ, अनि उनलाई पनि लगाईदिएँ।

उनले एउटा झोला बोकिन्, मैले अर्को। विमानस्थल पुग्दासाढे १० बजेको थियो। सेल्फी खिच्दै हामी केही दिनका लागि बिछोडियौँ।

०००
एयरलाइन्स काउन्टरमा लगेज जचाइवरि अध्यागमनको काम,सुरक्षा जाँच सकी बस चढेर विमानसम्म पुग्दा साढे ११ बजिसकेको थियो। बस (विमानसम्म पुर्‍याउने) को डण्डी समातेर ढोका नजिकै उभिएको थिएँ, त्यतिकैमा मीठो मुस्कानका साथ चार–पाँच जना सुन्दर युवतीहरु अघिल्तिर आएर उभिए।

लवाई र कुरा गराईबाट उनीहरु मध्यम वा उपल्लो सामाजिक–आर्थिक वर्गका हुन् भन्ने अनुमान लगाउन गाह्रो थिएन। सफा–चिटिक्क, आधुनिक भेषभुषामा सजिएका उनीहरुको मुहारमा उत्तिकै कस्मेटिक पोतिएको थियो। नजिकै हुँदा उनीहरुको ‘पफ्र्युम’ को सुगन्ध हामीहरुको नाकसँग ठोक्किरहेको थियो।

बंगलादेशमा अध्ययनका लागि जो नेपाली जान्छन्, प्रायः उनीहरु मेडिकल शिक्षाका लागि जान्छन् भन्ने सुनेको थिएँ। उनीहरु पनि मेडिकल शिक्षाका विद्यार्थी हुन् भन्ने अनुमान गरेँ। तर साफ च्याम्पियनसिप नजिकै भएकाले ती युवतिहरु खेल प्रतियोगिता अवलोकनसँगै घुमघामका लागि पनि जान लागेका हुन् कि भन्ने अनुमान गरेँ।

बस विमान अगाडि पुगेर रोकियो। हामी सबै बसबाट झर्‍यौँ। विमान नजिक पुगेपछि अक्सरले विमानसमेत आउने गरी सेल्फी लिन्छन् र तुरुन्तै सामाजिक सञ्जालमा अपलोड गर्छन्। मपनि यो कर्मको अपवाद रहिन।सेल्फी लिएँ, फेसबुकमा पोष्ट गरेँ। र, क्याप्सन हालेँ, ‘ट्राभलिङ टु ढाका।’ 

विमानभित्र प्रत्येक लहरमा तीन सिट थिए। मेरो नम्बर थियो, ८ सी। अर्थात् दायाँतर्फको लहरको ग्यालरीतर्फको सिट। मेरा दुई सिट पार्टनरहरु आइपुगेका थिएनन्। सिट माथि लगेज मिलाउँदै थिएँ, एउटा आवाजले ध्यान खिच्यो, ‘एक्स्युज मी।’

पछाडि फर्केँ। त्यही अघि बसमा भेटिएकी मध्येकी एक युवती थिइन्। मैले सिट ब्लक गरेपछि भित्र जान उनले मसँग ठाउँ मागेकी रहिछन्। मैले बाटो खाली गरिदिएँ। उनी सिधै गएर झ्याल तिरको ‘८ ए’ सिटमा बसिन्।

सहयात्री साथीहरु (अन्य मिडियाका पत्रकारहरु)को सिट पछाडि थियो। म ती ‘मेडिकल स्टुन्डेन्ट’ को सिटसँगै देखेपछि मलाई जिस्काउँदै ‘ल, बधाई छ’ भन्दै आ–आफ्ना सिट तर्फ लागे उनीहरु।

केहीबेरमै एकजना दिदी (संगीता रेग्मी) हामी बीचको खाली सिटमा बस्न आइन्। उनी उमेरले उनी भन्दा केही बर्षमात्र सिनियर थिइन्। संगीता दिदीकी आफन्त (बिनिता काफ्ले) बायाँ तर्फको सिटमा रहिछन्। बीचमा म परेकाले उनीबीच कुराकानीमा अप्ठेरो परेको मलाई पनि लागेको थियो।

बिनिता दिदी कुटनीतिक पाराले भनिन्, ‘उहाँले अप्ठेरो मान्नुहुन्न भने तँ वल्लो सिटमा आइजा न।’

मलाई कुनै आपत्ति थिएन। मैले सिट छोडीदिएँ। म तिनै ‘मेडिकल स्टुन्डेन्ट’ छिमेकी बनेँ।

खासमा यतिञ्जेलसम्म हामीबीच कुनै परिचय भएको थिएन। ती दिदी र तिनको आफन्तको माथि उल्लेख गरेका नाम मैले पछि फेसबुकबाट थाहा पाएको हुँ।

संगीता दिदी बिहानै खान खाएर आएकी रहेछन्। ‘भोक लाग्यो’ भन्दै चाउचाउ निकालिन्। हामीहरुलाई पनि अफर गरिन्। मैले केही अप्ठ्यारो मान्दै ‘थ्याङ्क्यु’ भन्दै लिएँ। झ्यालतिरकी ती ‘मेडिकल स्टुडेन्ट’ भने सुरुमा केही आनाकानी गर्दै थिइन्। संगीता दिदीले बल गरेपछि उनले पनि ‘थ्याङ्क्यु’ भन्दै चाउचाउ खाने अफर स्वीकार गरिन्।

त्यही चाउचाउले हामीबीच कुराकानीको पोयो खुलायो।

‘आ रु यू बंगलादेशी अर नेपाली?’ हामी दुबैलाई चाउचाउ दिएपछि संगीता दिदीको प्रश्न म तर्फ तेर्सियो।

तराई मूलको जस्तो देखिने, तर थोरै गहुगोरो वर्णको पनि भएकाले उनलाई म नेपाली हुँ कि बंगलादेशी हुँ भन्ने निक्‍र्यौल गर्न कठिन भएछ। मैले हाँस्दै ‘नेपाली’ भन्ने जवाफ फर्काएँ। जवाफसँगै तीनै जना मज्जाले हास्यौँ।

संगीता दिदी नेपालको खेल हेर्न, अनि घुम्न बंगलादेश जाँदै रहिछिन्। मैले आफू रिपोर्टिङका लागि बंगलादेश जान लागेको बताएँ। ती ‘मेडिकल स्टुन्डेन्ट’ ले पनि थपिन्, ‘म पनि खेल हेर्न आउँछु होला।’

मैले जोडेँ, ‘त्यसो हो भने त हाम्रो सहकार्य लामै हुने भो।’ सबै मुस्कुराऔं।

मैले ती मेडिकल स्टुन्डेन्टको परिचयसँगै बंगलादेश जानुको कारण सोधेँ।

‘नाम, नीता शाह। घर काठमाडौँ। बंगलादेशमा ‘डेन्टिस्ट’ (दाँत सम्बन्त्री अध्ययन) पढिरहेछु छु। विदामा घर आएकी थिएँ, अब फर्कंर्दैछु’ एकै श्वासमा उनले आफ्नो परिचय दिन भ्याइन्।

बंगलादेशमा धेरै नेपाली विद्यार्थीहरु मेडिकल पढ्न जान्छन्। ‘भारतसँग खुला सीमा भएपनि बंगलादेशकोे आकर्षण चाहिँ किन नि’? मेरो जिज्ञासालाई मेट्दै निताले जवाफ दिइन्, ‘सस्तो भएर होला सायद। हाम्रो ब्याचमा मात्रै ३८ जना (४० जनाको कोटा) नेपाली छौँ। बाँकी कलेजमा त अरुपनि थुप्रै नेपाली विद्यार्थी छन्।’

‘ओ हो, भनेपछि कलेज त तपाईंहरुकै कब्जामा होला, हैन?’ ठट्टा गर्दै मैले रमाईलो वातावरण सिर्जना गर्न खोजेँ।

मेरो प्रश्नलाई उनले राजनीतिसँग जोडिन् र ‘जेन्टल’ जवाफ फर्काइन्, ‘विदेशमा आएर कहाँ राजनीति गरिन्छ त। मज्जाले पढ्ने हो। पढ्न नै फुर्सद हुँदैन। अरुमा त्यति लागिन्न।’

‘बंगलादेशमा पढाई त्यति गुणस्तरीय हुँदैन भन्ने आइरहन्छ नि पत्रपत्रिकामा?’ मैले उनीतर्फ प्रश्न तेस्र्याएँ।

‘म तेस्रो वर्षमा अध्ययन गर्दैछु। मैले हालसम्म पढाईमा कुनै कमी भएको महसुस गरेकी छैन। बंगलादेशको पढाई राम्रो हुँदैन भन्ने हल्लामात्रै हो’ उनले भनिन्, ‘बंगलादेशका कलेजमा राम्रा ‘इक्विपमेन्ट’ छन्। आधुनिक प्रविधिको प्रयोग गरेर पढाईन्छ। यहाँका कलेज विश्व  र्याङिकङमा पनि परेका छन्।’

गफमा हामी दुईजनामात्रै व्यस्त थियौँ। त्यसो हुँदा संगीता दिदीले के सोच्दै होलिन् भन्ने लाग्दै थियो। अब म उनीतिर फर्किएँ। उनको भम्रण योजनाबारे सोधेँ। झण्डै १० दिन बंगलादेशमा बिताउने उनको योजना रहेछ। त्यहाँ आयोजना हुन लागेको साफ खेलकुद प्रतियोगिता हेर्न जाँदै रहिछन्।

नीता सिट अगाडिको स्क्रिनमा फिल्म हेरिरहेकी थिइन्। मैले ‘डिस्टर्ब’ गर्न चाहिन। म पनि फिल्म हेर्न थालेँ।

विमान ढाकाको आकाशमाथि पुगिसकेको थियो। नीताले जमिनतर्फ देखाउँदै भनिन्, ‘उ त्यो घर देखिन्छ नि, त्यही हो हाम्रो कलेज। विमानस्थलबाट नजिकै पर्छ। त्यस ठाउँलाई निकुञ्ज भनिन्छ।’ 

विमान परिचारिकाले ‘हामी छिट्टै ल्याण्ड हुँदैछौँ। कृपया आफ्नो सिटबेल्ट राम्रोसँग बाँध्नुहोला’ भन्ने सन्देश फुकिन्। हामीले उनको निर्देशन पालना गर्‍यौँ। विमान केही बेरमै ल्याण्ड भयो। हामी एकअर्का फेरि स्टेडियममा भेट्ने बाचा गर्दै छुट्टियौँ।

०००
विमानमा नीतासँग बंगलादेशमा रहेका नेपाली विधार्थीकाबारे ‘ट्रेलर’ कुराकानी मात्रै भएको थियो। मलाई पूरै ‘पिक्चर’ थाहा पाउने हुटहुटी जाग्यो।

बंगलादेश पुगेर त्यहाँका मेडिकल स्टुडेन्टको बारेमा सर्च गरेँ। भेटिएका सबैलाई ‘म्यासेज’ पठाएँ, थोरैबाटमात्र ‘रिप्लाइ’ आयो। ती मध्ये एक थिइन्, प्रमिशा केसी।

‘कभर पिक्चर’ मा चेल्सी (इंग्ल्याण्डको फुटबल क्लब)को फोटो देखेपछि उनी फुटबल फ्यान रहिछन् भन्ने खुट्ट्याउन गाह्रो थिएन। हामीबीच केही ‘म्युचल फ्रेण्ड्स’ पनि थिए। एक थिए, हामीसँगै बंगलादेश पुगेका रेवन (कुँवर)।

रेवनलाई मैले ‘प्रमिशा तपार्इंकि साथी रहिछन्, मलाई बंगलादेशमा पढ्ने नेपाली विद्यार्थीका बारेमा कुरा गर्नुछ। उहाँसँग भेट हुने बातावरण मिलाइ देऊ न’ भनेँ। रेवनले प्रमिशासँग कुराकानी गरे। प्रमिशासँग नेपाल र भुटान(२१ भदौ) को खेलअघि भेट्ने कुरा भयो।

फेसबुकमा मैले प्रमिशासँग अन्य नेपाली विधार्थीहरुको पनि नम्बर मागेको थिएँ। उनले केहीको नाम दिएकी थिइन्। (उनीहरुसँगको कुराकानी ढाका डायरीको दोस्रो भागमा समेटिने छ) तर, हाम्रो व्यस्तताका कारण त्यसदिन प्रमिशासँग कुराकानी हुन पाएन।

अर्कोदिन नेपाली टोलीले विहान स्थानीय शेख जमल क्लबमा अभ्यास गर्दै थियो। अभ्यासको रिपोर्टिङ गर्न त्यही मैदान पुगेका थियौँ। म अभ्यासको तस्वीर लिँदै थिएँ। नजिकै एक जना नेपाली युवती आएर ‘नमस्ते, चिन्नुभयो?’ भनिन्।

मैले नमस्ते फर्काएँ। तर उनलाई मैले कहिल्यै देखेको थिइन। ‘पहिले हाम्रो कहीँकतै भेट भा’को थियो?’ मैले अनविज्ञता प्रकट गर्दै सोधेँ।

‘म प्रमिशा। फेसबुकमा अस्ति कुरा भा’थ्यो नि।’ उनले मलाई सहज पारिदिइन्।

‘ओ, हो! ल अब चिनेँ।’ मैले भनेँ।

‘हाइ–हेल्लो’ पछि बंगलादेशमा नेपाली विधार्थीका बारेमा कुराकानी गर्न हामी मैदानको किनारातिर शीतल खोज्दै बस्यौँ। त्यही क्रममा साथी विवेक (सुवेदी) ले हामीहरु कुराकानी गरिरहेको तस्वीर लिएका रहेछन्। उक्त तस्बिर उनले पछि सार्वजनिक गरे।

Image may contain: Yagya Raj Joshi, smiling, outdoor

प्रमिशा ढाका यूर्निर्सिटी अन्तर्गतको जेनियुल हक (जे.एच) सिक्दर महिला मेडिकल कलेजमा पाचौँ वर्षमा अध्ययन गर्दै रहिछन्।

‘नेपाल पढ्न छोडेर ढाका किन रोज्नु भयो त?’ मैले जिज्ञासा राखेँ।

उनले सविस्तार सुनाइन्, ‘म काठमाडौँको मध्यम वर्गीय परिवारमा जन्मे हुर्केकी, पहिलो वर्ष प्रवेश परीक्षामा अलिकति अंक नपुग्दा छात्रवृति पाउन सकिन। अर्को वर्ष पनि परीक्षा दिएँ। तरपनि नाम निस्केन। दुईवर्ष ‘लस’ हुन लागेको थियो। अब पैसा तिरेर पढ्ने कि अर्को वर्ष छात्रवृतिका लागि कुर्ने दुईवटा विकल्प थिए। मामाले पनि सहयोग गर्नु हुने भयो। परिवारले पनि ‘अर्को वर्ष त्यसै बिताउनुभन्दा पैसा तिरेर भएपनि पढ’ भनेर सुझाव दिए। अनि हाम्रो गच्छेले भेट्ने मेडिकल कलेज भेटिएपछि म यहाँ आएकी हुँ।’

प्रमिशा नेपालमै पढ्ने चाहना भएर पनि आर्थिक अभावमा पढ्नकै लागि विदेशिने बाध्य थुप्रै नेपाली विद्यार्थीहरुको प्रतिनिधि पात्र थिइन्।

आफूले नेपालमै पढ्न खोजेको, तर त्यो अवसर नजुटेको अनुभव साँट्दै भनिन्, ‘हामीले काठमाडौँ भित्रका र बाहिरका सबै मेडिकल कलेज बुझ्यौँ। पहिलो किस्ता नै ढाड सेक्ने गरी २२ देखि २४ लाखसम्म तिर्नुपर्न रहेछ। हामीसँग त्यत्रो पैसा थिएन। एउटा कलेजमा त ‘तपाईहरु काठमाडौँकै मान्छे, एउटा घडेरी बचेर एउटा सिट किन्न सकिहाल्नुहुन्छ नि’ भन्ने जवाफसमेत पाइयो। काठमाडौँकै मान्छे भएपनि उनीहरुले भनेजस्तो सजिलो कहाँ हुन्छ र? पछि ढाकामा बुझ्दा सस्तो लाग्यो। नेपालका मेडिकल कलेजमा तिर्न पैसा नपुग्ने भएपछि मेरो गन्तव्य ढाका बन्यो।’

नेपालमा मेडिकल कलेजको अभावका कारण नेपाली विद्यार्थीहरु मेडिकल पढ्नैका लागि विदेशिन्छन् भन्ने कुरामा उनले विमति राखिन्। नेपालमा थप मेडिकल कलेज खेल्न नहुने र भएका मेडिकल कलेजलाई व्यवस्थित गर्नुपर्ने डा. गोविन्द केसीको माग जायज रहेको आफ्नो निष्कर्ष सुनाइन्।

‘मान्छेहरुले के सोच्छन् भने, नेपालमा मेडिकल कलेज थोरै भएर विद्यार्थीहरु देश बाहिर गईरहेका छन्,’ उनले थपिन्, ‘नेपालमा पैसा तिर्न नसक्ने भएपछि यता (ढाका) आउनुपरेको हो। त्यसैले, कलेजको संख्या बढाउनुभन्दा भएका कलेजहरुमा सुधार ल्याउनुपर्‍यो भन्ने डा. केसीको माग एकदमै जायज छ।’

‘विदेशमा पढ्दा अलि गाह्रो–अप्ठ्यारो पनि त हुन्छ होला नि?’ मैले जिज्ञासा राखेँ।

‘सुरुवात त नेपालबाटै हुन्छ,’ नेपाली कन्सल्टेन्सीको प्रवृति बताउँदै उनले भनिन्, ‘उनीहरुले अलिक बढाई चढाई गरेका हुन्छन्। होस्टलहरु यस्तो राम्रो हुन्छ, अट्याच बाथरुम हुन्छ। नेपाली कुक हुन्छन् भनेर अनेक गफ दिन्छन्। तर, यहाँ आउँदा सुविधा औषत खालका हुन्छ, उनीहरुले बढाइचढाई गरेजस्तो हुँदैन।’

उनका भनाईमा, कक्षामा धेरैजसो बंगलादेशी विधार्थी थिए। उनीहरुले स्कुलपनि बंगला मिडियममै पढेको हुन्थे। उनीहरुको अंग्रजी त्यति राम्रो हुन्थेन। त्यहीभएर उनीहरुलाई बुझाउन पनि प्राध्यापकहरुले सुरुमा बंगला भाषामा नै पढाउँथे। ‘त्यतिबेला हामीलाई बुझ्न अलिक गाह्रो हुन्थ्यो, हामीले अंग्रेजीमा नै पढाईदिनु भनेपछि केहीदिन अंग्रेजी पढाउँथे, अनि फेरि बंगलादेशीका लागि बंगाली भाषा नै प्रयोग गर्थे’ उनले थपिन्, ‘अस्पतालमा विरामीहरुसँग पनि बंगला भाषा नै बोल्नुपर्ने भएकाले हामीले पनि छिट्टै भाषा सिक्यौँ। अहिले लेख्न अलिक गाह्रो भएपनि बोल्न चाहिँ समस्या छैन।’

पत्रपत्रिकामा बंगलादेशको मेडिकल शिक्षा राम्रो नभएकाले त्यहाँ पढेका नेपाली विधार्थीहरुले यहाँ लिइने लाइसेन्स परीक्षा पनि पास गर्न नसकेको खबर बेला बेलामा आइरहन्छन्। मैले पनि त्यही प्रश्न गरेँ, ‘ढाकाको सस्तो शिक्षा गुणस्तरीय पनि नहोला नि?’

‘पहिले केही समस्या देखियो,’ उनले प्रष्ट्याउँदै भनिन्, ‘पहिले नेपालमा प्रवेश परीक्षा पास नगरी यता आउन सकिने व्यवस्था थियो। परिवारले जोड गरेर आउने, आफ्नो क्षमताले नभ्याउने विद्यार्थीहरु थिए। उनीहरुले नेपाल फर्कँदा लाइसेन्स परीक्षामा राम्रो गर्न सकेनन् होला। यसको मतलव यो होइन कि, यहाँ पढाई राम्रो हुँदैन। यहाँको पढाई राम्रो छ। अघिल्लो दिन पढेको कुराको भोलिपल्ट ‘टेस्ट’ दिनुपर्छ। दैनिक रुपमा हुने यस्तो टेस्टमा फेल भइयो भने ‘टर्म’ परीक्षा बस्न पाइँदैन। ‘टर्म’ परीक्षामा पास नगरे बोर्ड परीक्षामा बस्न पाइँदैन। त्यसैले एकदिन पढेको कुरा हरेक दिन पढ्नैपर्छ। ढाकाको जनसंख्या(झण्डै १ करोड) भन्दा ज्यादा छ। अस्पतालमा बिरामीहरुको कमी हुँदैन। विद्यार्थीहरुले राम्रै अभ्यास गर्न पनि पाएका हुन्छन्।’

पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा नेपाली चेलीहरुमाथि दुर्व्यवहार हुने गरेको अभिव्यक्ति दिएपछि राजिनामा दिनुपरेको थियो। प्रमिशासँग मैले ‘कानुनमन्त्रीले भनेको जस्तो व्यवहार हुन्छ कि हुँदैन?’ भन्ने प्रश्नपनि सोधेँ।

‘हाम्रो त पूरै लेडिज कलेज हो। हामीले दुव्र्यवहारका कुनैपनि कुरा भोगेका छैनौँ र सुनेका पनि छैनौँ,' उनले भनिन्, ‘त्यो न्यूज पढ्दा यहाँका सरहरुले हामीले कहिले तिमीहरुलाई यस्तो गरेका छौं? भनेर उल्टै प्रश्न सोध्नु भयो। त्यस्तो समाचार पढेपछि सरहरुमा ‘यिनी(नेपालीहरुले) हरुले हामीलाई गलत ठान्दा रैछन्’ भन्ने परेको छ।’

‘तपाईंमा डाक्टर बन्ने लक्ष्य सानैदेखि नै थियो?’ मैले आफूलाई उनको लक्ष्यमा केन्द्रित गरेँ।

‘खोइ के कारणले हो, सानैदेखि चिकित्सक बन्ने लक्ष्य बन्यो। घरमा पनि छोरी डाक्टर बनोस् भन्ने चाहना थियो,’ उनले भनिन्, ‘मामुले नै पढाउने विद्यालयमा पढेकाले मैले शुल्क तिर्नु परेन। पहिलो वर्ष छात्रवृत्तिमा एमबीबीएस नाम ननिस्किएपछि बुबा–आमाले घर बैँकमा राखेर भएपनि छोरीलाई मेडिकल पढाउने योजना अघि सार्नुभयो। बल्ल बल्ल घर बनाएको दुई–तीन वर्षमात्रै भएको थियो। मलाई घर धितो राख्न मन लागेन। मैले चिकित्सक बन्ने लक्ष्यलाई विश्राम दिएर ‘बिए सोसियल वर्क’ भन्ने विषय पढ्न थालेँ।’

विषयको नाम नै ‘सोसियल वर्क’ भएकाले सामाजिक काम गर्न पाइन्छ भन्ने उनको सोचाई रहेछ। तर, पढ्दै जाँदा उनको अनुमान फेल खायो। एउटा संस्थामा गएर त्यहाँका हर्ताकर्ताहरुले भनेको काम दिनभर गर्नुपर्ने, आफूले चाहेको जस्तो समाजसेवा गर्न नपाइने भयो। त्यसपछि उनले निष्कर्ष निकालिन्, यो म हिँड्ने बाटो होइन। त्यसैले, उनले पुनः दोस्रो वर्ष छात्रवृतिका लागि प्रवेश परीक्षा दिइन्। तर यस पटकपनि नाम ननिस्केपछि ढाकामा भएपनि इच्छा पुरा गर्ने योजना बनाइन्। उनको योजनामा मामाघर पनि सहयोगी बन्यो।

‘भविष्यमा चिकित्सक बनेर सामाजमा केही योगदान पुर्‍याउनु छ’ नेपालमा चिकित्सकहरुको सेवा सुविधा त्यति राम्रो नरहेको भन्ने मेरो थप जिज्ञाशाको पनि जवाफ दिँदै उनले भनिन्, ‘चाहनाहरु पूरा गर्न धेरै पैसा नै कमाउनुपर्छ भन्ने छैन। बाबा–आमालाई पाल्नसक्ने गरी पैसा भए हुन्छ। मामाघरले पनि मलार्इ सहयोग गरेको छ। पछि मैले (मामाघरका) भाई–बहिनीहरुकोे पढाईमा सहयोग गरौँला भन्ने सोचेकी छु।’

अघिल्लो वर्ष तराईमा बाढी आउँदा उनी पीडितहरुलाई सहयोग गर्न बंगलादेशबाटै तराई पुगेकी थिइन्। उनी आवद्ध 'वुमेन्स रुम रिलोडेडे’ (डब्लुआरआर) फेसबुक ग्रुपले बाढी पीडितलाई सहयोग संकलन गरेको थियो। उनी आफैपनि इटहरी पुगेर स्थानीय स्वयमसेवकहरुसँग मिली बाढी पीडितका लागि हेल्थ क्याम्प सञ्चालन गरिन्, सयौँलाई स्वास्थ्य सेवा पुर्‍याइन्।

०००
विमानमा भेटिएकी नीतासँग फेरि कहिल्यै भेट भएन। तर, संगीता दिदीसँग भने भेटको अर्काे संयोग जुर्यो। अनन्त(वाग्ले) दाई मेरो रुम पार्टनर थिए। बंगलादेश पुगेको चौथो दिन उनले ‘एक जना नेपालीले खाना खान बोलाउनु भएको छ, त्यहीँ जानुपर्छ है यज्ञ’ भने। बंगलादेशी चिल्लो, पिरो खाना खाँदाखाँदै जिब्रोले आफ्नै स्वदेशी खानाको अपेक्षा गरिसकेको थियो। सहमति जनाउँदै हामी होटलबाट गाडीमा चढेर बोलाएको ठाउँ पुग्दा करिव २ घन्टा लाग्यो।

उनीहरुको फ्ल्याटमा पुगेपछि एकजनाले स्वागत गरे, घरको पाचौँ तलामा लगे। त्यहाँ तीन जना महिला पनि थिए। सुरुमा ‘हाइ–हेल्लो’ भयो। हामी झण्डै तीन बजेतिर त्यहाँ पुगेका थियौँ। उनीहरु हामीलाई पर्खेर बसेको तीन घण्टा भइसकेको रहेछ।

हामी नयाँ भएकाले सुरुमा त्यति बोलचाल भएन। खानाको समय ढल्किसकेकाले हामीहरुलाई भोक लाग्यो होला भनेर उनीहरुले सुरुमै खाना पस्किए। बंगलादेशमा बल्ल नेपाली स्वादको मीठो खान खान पाइएको थियो। खाना खाइसकेपछि हामी फेरि एक ठाउँमा जम्मा भयौँ, गफ चल्यो।

त्यहीबेला मेरो नजर खान पस्कने महिलातिर गयो। उननलाई कहाँ देख्या’देख्या जस्तो लाग्यो। मैले सोधेँ, ‘तपाईं र म विमानका सिट पार्टनर थियौँ नि, होइन?’

‘हो, मलाई नि अघि नै त्यस्तै–त्यस्तै लागेको थियो’, संगीता दिदीले जवाफ फर्काइन्। त्यसपछि बल्ल खुलेर कुरा गर्‍यौँ। 

प्रकाशित ३० भदौ २०७५, शनिबार | 2018-09-15 18:10:38
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...

  • परीक्षाकै सूचना हराएको त्रिवि

    पत्रकारिता तेस्रो सेमेस्टर अन्तिम परीक्षा आइरहेकाले भर्खरै बिग्रिएको मोबाइलको डिस्प्ले बनाउन मन लागेन।

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...