ब्लग

‘रेल-पत्रकार’ हरुले ‘मिस’ गरिरहने एक प्रवक्ता




प्रकाश उपाध्याय
प्रकाश उपाध्याय
फोटो साभार: उनैको फेसबुकबाट

‘केरुङ-काठमाडौँ रेलमार्ग निर्माणका लागि ९ बर्ष लाग्ने, चीन-नेपाल सीमानाबाट काठमाडौँसम्मको रेलमार्ग ७२.२५ किमीको हुने, त्यसमध्ये पुल र टनेलमात्रै ९८.५५ प्रतिसत हुने, रेलमार्ग निर्माणका लागि दुई खर्ब ५७ अर्ब लाग्ने। यस हिसावले एक किलोमिटर रेलमार्ग बनाउन ३ अर्ब ५५ करोड लाग्ने र ९ बर्षभित्र सम्पन्न गरिँदा प्रतिबर्ष २८ अर्ब ५५ करोड रुपियाँ यो रेलमार्गका लागि छुट्ट्याउनु पर्ने।’

केरुङ-काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि जेठ पहिलो साता चिनिया टोली काठमाडौँ आयो। यो टोली काठमाडौँबाट नुवाकोट-रसुवा हुँदै केरुङसम्म पुग्यो। र, फिल्ड अध्ययनपछि टोलीले तयार पारेको प्रतिवेदन ४ भदौमा बेइजिङमा नेपाली पक्षलाई बुझायो।

नेपाल-चीन सीमानाबाट काठमाडौँसम्मको रेलमार्गको दुरी, लाग्ने लागत र रेलमार्ग निर्माणका लागि आवस्यक समय कति लाग्ने रहेछ, पत्रकार आफैले खोज्नुपर्ने हुँदा कति अप्ठेरो हुन्थ्यो होला?

रेल विभागले प्रतिवेदनमा भएको महत्वपूर्ण तथ्याङ्क अघि नै पाइसकेका थिए, अनौपचारिक रुपमा। त्यो प्रतिवेदनमा भएका ती महत्वपूर्ण तथ्याङ्क एक बरिष्ठ सरकारी अधिकारीबाट सार्वजनिक भयो, सामाजिक सञ्जाल फेसबुकमार्फत्।

ती अधिकारी थिए रेलवे विभागका प्रवक्ता प्रकाश उपाध्याय।

४ भदौमा चिनिया पक्षले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी नेतृत्वको टोलीलाई बेइजिङमा हस्तान्तरण गरेको प्रतिवेदनमा उल्लेख भए अनुसार केरुङ–काठमाडौँ रेलवे निर्माण ९ हुन कम्तिमा पनि ९ बर्ष लाग्नेछ। अर्थात्, कुनै व्यवधान विना रेलमार्ग निर्माण भए चीनतर्फबाट काठमाडौँमा रेल आइपुग्न ९ बर्ष लाग्ने उल्लेख छ।

आइपुग्ने कहिले हो, तर त्यो रेल नेपालमा ‘सेलिब्रेटी’ बनिसकेको छ। त्यही रेल ल्याउने कुरा गरेर केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन्। त्यही रेलसहितको चुनावी घोषणा पत्रका कारण जितेर आएका सांसद र जनप्रतिनिधिबाट चुनिएर विद्या भण्डारी राष्ट्रपति बनेकी छन्। त्यही रेलको चुनावी नाराका कारण नेकपाले ६ वटै प्रदेशमा दुई तिहाई बहुमतको सरकार बनाएको छ।

राजनीतिमा मात्र होइन, कम्तिमा ९ बर्षपछि आउने त्यो रेल नेपाली पत्रकारितामा पनि ‘सेलिब्रेटी’ बनिसकेको छ। यतिबेला सबैजसो ठूलो ब्रोडसिट पत्रिकाले ‘रेल मामिला’ लाई एउटा महत्वपूर्ण ‘बिट’ मानेर यो मामिला हेर्ने रिपोर्टर छुट्ट्याएका छन्। बरु सम्पादकहरुले राजनीतिमा के हुँदैछ भनेर उति चासो राख्दैनन् आजकल। तर रेल मामिला हेर्ने रिपोर्टरसँग ‘केरुङ-काडमाडौँ वा वीरगञ्ज-काठमाडौँ रेलमार्ग सम्बन्धमा के हुँदैछ’ भनेर सोध्न छोड्दैनन्। थोरै नयाँ सूचना प्राप्त हुनासाथ समाचार बनाउन उत्प्रेरित गरिहाल्छन्।

नेपाली पत्रकारिताको मूलधार बन्न थालेको अनलाइन पत्रकारिताको त झन् कुरै नगरौँ। रेलमार्ग बारेको प्रगति सम्बन्धी सूचना वा ठूला-मझौला-साना सबै तहका नेताले रेलमार्गको पक्ष-विपक्षमा केही बोलेको भेटियो भने त्यसलाई समाचार बनाउन छुटाउँदै छुटाउँदैनन् उनीहरु।

कारण प्रष्टै छ: रेल र रेलमार्ग सम्बन्धी समाचार नै धेरै ‘सेयर’ हुने, ‘भिजिटर’ तान्ने र ‘लाइक’ पाउने समाचार बन्ने गरेका छन्।

नेपाली पत्रकारिताका लागि रेल मामिला सम्बन्धी ‘बिट’ जति आकर्षक छ, त्यति नै जटिल पनि छ। रेलको प्राविधिक पक्षबारे पत्रकारहरुलाई निकै कम जानकारी छ। रेल प्रविधिको प्रचलन यसअघि यहाँ नभएकाले यसबारेका विशेषज्ञपनि कम छन्। झन् रेल र रेलमार्गबारे सूचना दिने सरकारी अधिकारीहरुको त झण्डै झण्डै खडेरी नै परेजस्तो छ।

नेपाल सरकारले सबै मन्त्रालय, विभाग र कार्यालयहरुमा प्रवक्ताको व्यवस्था नगरेको होइन। तर अधिकांस प्रवक्ताहरु पत्रकारमैत्री छैनन्। कुनै गफाडी वा चिप्लो चरित्रका सरकारी अधिकारी प्रवक्ता तोकिन्छन्। ती प्रवक्ताहरु सूचना लुकाउन खप्पिस छन्। सार्वजनिक गर्न मिल्ने सूचना दिनपनि हिच्किचाउँछन्। कतिलाई फोन गर्‍यो, ‘चिया खाँदै गफ गरौँ न’ भनेर आफ्नो कार्यालयमा बोलाउँछन्। गयो, बेसरोकारका विषयमा गफ दिएर समय बर्बाद पारिदिन्छन्। जे खोज्न गएको हो, फर्कँदा त्यस सम्बन्धी सूचना डायरमा हुँदैन।

तर, उपाध्याय यस्ता थिएनन्। नेपाल-चीन जोड्ने केरुङ-काठमाडौँ रेलमार्ग होस् वा भारतीय सहयोगमा निर्माण हुने भनिएको वीरगञ्ज-काठमाडौँ रेलमार्ग, भूराजनीतिको माध्यम बनेका प्रस्तावित यी रेलमार्गबारे नयाँ सूचना भए उनको फेसबुकबाटै थाहा पाउन सकिन्थ्यो। नयाँ कुरा हुनासाथ प्रवक्ता उपाध्याय फेसबुकमा राखिहाल्थे।

केरुङ-काठमाडौँ रेलमार्गबारे ३ भदौमा फेसबुकबाट उनले दिएको जानकारी त पछिल्लो घटनामात्र हो। रेलमार्ग सम्बन्धी यस्ता कैयौँ महत्वपूर्ण सूचना उनी फेसबुकमार्फत् सार्वजनिक गर्थे। अंग्रेजीमा कमजोर भएकाले पक्कै होइन, सबै नेपालीले यसबारेमा सहज जानकारी पाउन् भनेर सरल भाषामा उनी आफ्नो फेसबुक पेजमार्फत् नयाँ बिकासक्रमबारे जानकारी गराउँथे।

रेलमार्गका सम्बन्धमा को भारतीय अधिकारी काठमाडौँ आए, को नयाँदिल्ली जाँदैछन्, को चिनिया अधिकारी काठमाडौँ आए, को नेपाली अधिकारी बेइजिङ जाँदैछन्; उपाध्यायको फेसबुक हेरे पुग्थ्यो।

‘रेल पत्रकारिता’ को प्रारम्भिक अवस्था भएकाले पनि होला, यसको साङ्गोपाङ्गो नेपाली पत्रकारहरुलाई अझै जानकारी छैन। र, उनीहरु यो विषयबस्तुमा अझै उतिसार्‍हो खोतलखातल गर्न सक्ने स्थितिमा छैनन्। तर, उपाध्याय कहिलेकाहीँ खोतलखातल गर्नुनपर्ने गरी र कहिलेकाहीँ खोतलखातलका लागि ‘क्लु’ समेत हुने गरी फेसबुकबाटै आवस्यक सूचना सार्वजनिक गर्थे।

चिनिया टोली रेल विभागका अधिकारीहरुसँग विभागमा

चिनिया टोली रेल विभागका अधिकारीहरुसँग विभागमा

प्रस्तावित केरुङ-काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि चिनिया टोली काठमाडौँ आएर अध्ययन गरेको अधिकांस पत्रकारहरुलाई जानकारी थिएन। तर, जेठ पहिलो साता आएको त्यो टोलीले कार्यक्षेत्र (फिल्ड) गएर अध्ययन थालेको तस्वीर सहितको सूचना उपाध्यायले नै फेसबुकमार्फत् सार्वजनिक गरे, ८ जेठमा। त्यो समाचार अनलाइन सञ्चार माध्यमका त्यसदिनका ‘स्कुप’ समाचार बने। भोलिपल्ट राष्ट्रिय दैनिकहरुले पनि त्यसैलाई आधार बनाएर समाचार छापे।

भलै, अन्तिम प्रतिवेदनले केरुङ-काठमाडौँ रेलमार्गको अन्तिम बिन्दू काठमाडौँको उत्तरी शहर साँखु हुने निर्क्योल गरेको छ। तर, त्यो चिनिया टोलीले पूर्व सम्भाव्यता अध्ययन थाल्दा टोखा अन्तिम विन्दू हुनसक्ने आँकलन गरेको थियो। चिनिया टोली टोखा पुगेकै दिने उनले ‘टोखा केरुङ-काठमाडौँ रेलमार्गको अन्तिम स्टेसन हुने’ कुरा त्यो विन्दूको नक्सा र चिनिया प्राविधिक टोलीले सर्वे गर्दै गरेको तस्वीरपनि उनले फेसबुकमा हाले।

उनी त्यही चिनिया टोलीको साथमा थिए। टोखा हुँदै त्यो टोली नुवाकोट पुग्यो, त्यहाँबाट रसुवा छिचोलेर केरुङपनि पुग्यो। नेपाली सीमा नाघेपछि नेपाली मोवाइल (र इन्टरनेट) को नेटवर्कले टिप्न सक्ने स्थिति थिएन। त्यसैले, चिनिया भूखण्डमा भएका गतिविधिबारे जानकारी नदिएपनि नेपाली सीमानाभित्र त्यो टोली कहाँ-कहाँ पुग्यो, त्यो ठाउँमा टोलीले गरेको नापजाँच र अवलोकन गर्दै गरेर फोटो फेसबुकमा निरन्तर पोष्ट गरिरहे। सामाजिक सञ्जालमार्फत् निरन्तर जानकारी दिइरहे।

पत्रकारमैत्री भएर सूचना दिइरहँदा सायद सरकारी तबरबाट अप्ठेरोमा परे होलान्। त्यसैले, बेला-बेला फेसबुकमार्फत् उनले दिएका महत्वपूर्ण सूचनाहरु अहिले उनको फेसबुक पेजमा सर्च गर्दा भेटिन्नन्। त्यसरी नभेटिने मध्येको एउटा– ३ भदौमा उनले लेखेको पूर्व अध्ययन प्रतिवेदनमा उल्लेखित रेलमार्गको लम्बाई र त्यसमा सुरुङ र पुलले ओगट्ने भाग आदि त्यसको लागत सम्बन्धी स्टाटस पनि हो।

नेपाल न हो, धेरै खुलस्त भएको नेपालको कर्मचारीतन्त्रले सायद रुचाएन। सायद निकै अप्ठेरोमा पो परे कि! त्यसयता उनले रेलमार्गको प्रगतिबारे फेसबुकमा नयाँ कुनै अपडेट दिएनन्।

रेल नेपालीका लागि नयाँ कुरा भएकाले यसको प्राविधिक पक्षबारे त सञ्चारकर्मीहरु अनविज्ञ छौँ। त्यसैले, यसबारेका समाचार लेख्दा भाषा प्रयोग गर्ने भाषामा पनि हामीहरु चुकिरहेका हुन्छौँ। जस्तै, दक्षिणी नेपालमा बन्दै गरेको रेलमार्गलाई ‘भारतीय रेलमार्ग’ भनिदिन्छौँ, अनि, केरुङ हुँदै आउने रसुवागढी-काठमाडौँ रेलमार्गलाई ‘चिनिया रेलमार्ग’। यस्तो गल्ती सच्याउन उनी फेसबुकमार्फत् नै घचघच्याइरहेका हुन्थे।

यसैक्रममा ५ भदौमा लेखेका थिए, ‘विद्वान मित्रहरु! नेपाल भूमिभित्र जे जति रेलमार्ग बनाउने प्रस्ताव गरिएको छ, त्यो सबै नेपाल रेल हो। न यो चिनिया रेल हो, न त भारतीय नै हो।’

१ असार २०६८ मा स्थापना भएको रेल विभागमा उनी २ बर्षअघि पुगेका थिए, सिनियर डिभिजनल इन्जिनियर (सिडिई) का रुपमा। पहिलो पटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नाकाबन्दीलाई मध्यनजर गर्दै चिनिया रेलमार्गलाई नेपालसँग जोड्ने नेपालमा रेल ल्याउने बताएका थिए। उतिबेला कसैले रेलको कुरा गर्‍यो भने खुब उडाइन्थ्यो। चिनिया रेल आउने कुरामा अधिकांसलाई विश्वास नहुनु यसको कारण थियो।

तर, रेल सपनालाई विपनामा परिणत गर्न विभागका महानिर्देशक अनन्त आचार्य, सिडिई उपाध्याय लगायतको एउटा सानो टोलीले रातदिन काम गर्न थाल्यो। आचार्य, उपाध्याय लगायतको टोलीले गरेको मिहिनेतको परिणाम– राजनीतिक नेतृत्वले देखाएको ‘रेल सपना’ अब विपनाउन्मुख हुन थालेको छ।

‘कतै जमघट– विवाह, भोजभतेरको कार्यक्रममा जाँदा उ रेल आयो भनेर उडाउने, रेलका विषयमा स्पष्टिकरण दिँदा हैरान भइने, यसकारण यस्ता समारोहमा जानै मन लाग्न छाड्यो’ रेल विभागमा पुगेपछि विभिन्न कार्यक्रममा जाँदा भोग्नु परेका अनौपचारिक अनुभव समेत सामाजिक सञ्जालबाट यसरी सेयर गर्थे उनी।

त्यही स्टाटसमा उनले थप लेखेका थिए, ‘स्थायी रुपमा रेलमार्ग मन नपराउने साथी तथा हाकिमहरु; विशेष गरी प्रतिपक्षकै जस्तो गरी भूमिका निर्वाह गर्ने सडक (विभाग) सम्बद्ध अधिकारीहरु, बुद्धिजीवी र नागरिकहरु। एउटा सानो टोलीले मुलुकको नीति अनुरुप रातदिन काम गरिरहेकोलाई राम्रो भन्न नसक्ने समाज! अचम्म!!’

रेलमार्गमा भइरहेका गतिविधि र प्रगति यसरी सामाजिक सञ्जालमार्फत् जानकारी गराइरहने प्रवक्ता उपाध्यायले बुधबार (१३ भदौ) मध्यराततिर उन्मुख हुँदै गर्दा एउटा लामो स्टाटस लेखे, जसमा उनले सरकारी जीवनको लामो आरोह अवरोध उल्लेख गरेका छन्। ‘रात दिन एकै बनाएर काम गर्दा गर्दै पत्तै भएन’ उपाध्यायले भनेका छन्, ‘अब नेपालमा रेलमार्गको विकासका सम्बन्धमा रेल विभागको सूचना अधिकारीको रुपमा मेरा स्टाटसहरु आउँदैनन्। किनभने अब म सरकारी जागिरमा रहन्न।’

केही महिनाअघि एक पटक फोनमा भएको छोटो कुराकानीबाहेक रेल विभागका यी पूर्व प्रबक्तासँग मेरो धेरै फोन कुराकानी भएन। भेटघाट त झन् कहिल्यै भएन। उनीसँग फोन कुराकानी र भेटघाटै गर्नुपनि त्यति धेरै किन जरुरी थिएन भने, नेपालको सरकारी संयन्त्रले ‘दिन मिल्ने’ ठान्ने भन्दा धेरै र महत्वपूर्ण सूचना उनी फेसबुकमार्फत् नै दिन्थे, सार्वजनिक रुपमा।

चिनिया टोली टोखामा

चिनिया टोली टोखामा

मध्य राततिर लम्कँदो बुधबार जब मैले उनको लामो स्टाटसको अन्त्यमा ‘अब म सरकारी जागिरमा रहन्न’ भन्ने पंक्ति पढेँ, किन किन मलाई भित्रैदेखि नमीठो लाग्यो। तत्काल मैले उनलाई मेसेन्जरमा सन्देश पठाएँ, ‘सर, के म तपाईंलाई अहिले फोन गर्न सक्छु?’

म जान्न चाहन्थेँ, धेरै खुलस्त हुँदा परेको अप्ठेरोका कारण उनले आफै राजिनामा दिएका हुन् वा उमेर वा सेवा अवधिका कारण स्वत अवकास पाएका हुन्!

म्यासेन्जरबाटै उनको उत्तर आयो, ‘कृपया भोलि (१४ भदौ) बिहान फोन गर्नुहोला।’

आजदेखि काठमाडौँमा बिमस्टेक शिखर सम्मेलन सुरु भएको छ। त्यसैबारे बढी भन्दा बढी न्यूज कभर गर्ने चटारोमा छु म विहानैदेखि। त्यसैले, उनलाई फोन गर्ने फुर्सद मिलेन।

तर, उपाध्यायले राजिनामा दिएका हुन् वा स्वत अवकास पाएका होउन्, रेल मामिलामा चासो राख्ने नेपाली पत्रकारहरु अब एकजना खुलस्त प्रवक्ताबाट बिमुख भएका छन्।

र, यी खुलस्त प्रवक्तालाई पत्रकारहरुले सधैँ ‘मिस’ गरिरहनेछन्।

प्रकाशित १४ भदौ २०७५, बिहिबार | 2018-08-30 18:40:11
Max TV
Max TV
Vianet

author photo

सीताराम बराल नेपालखबर सम्पादक हुन्

@sitarambaral

सीताराम बरालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...