प्रत्येक शब्दमा रिल्याक्स रसायन

सम्बन्धहरु राम्रा हुँदाहुँदै कहिलेकाहीँ पत्तै नपाई वियोगान्तमा पुग्छन्




रिल्याक्स सांकेतिक तस्विर
रिल्याक्स सांकेतिक तस्विर

फेसबुकमा साथीको सङ्ख्या सय र हजार तर रियल जिन्दगीमा छिमेकीसँग समेत बोलचाल बन्द। कतै यस्तो त भइरहेको छैन तपाईंको जीवनमा?

घरमा चार सदस्य। बाबुआमाको नाम थियो हृदयानन्द र सुशान्ति । सबैले सुन्दर ठानेको त्यो जोडी तिनको छोराको नाम प्रसन्नहृदय थियो भने छोरीको नाम थियो सुपल्लवी।

छरछिमेकी विस्मित हुन्थे कस्तो राम्रो परिवार अनि नाम पनि कति राम्रो भनेर। तर यथार्थ अर्कै थियो। बाबुआमा अब तनाव र अशान्ति भइसकेका थिए। छोराछोरी भय र नैराश्यदेवीमा रुपान्तरित हुन बाध्य थिए। त्यो घरको मात्रै होइन, यो कथा आजभोलि घरघरको दृश्य बन्न थालेको छ। किनकि तनाव, अशान्ति, दबाब, निराशा र व्याकुलताको बास घरैपिच्छे र व्यक्तिपिच्छेको शब्दभित्र हुन थालेको छ।

म चाहन्छु कि उपर्युक्त कथाका पात्रझैैं तपाईंको नाम विपरितार्थी नबनोस्। न त नामै फेरियोेस् यसरी। न तपाईंको घर कसैको उदाहरण बनोस्।

हामी सनातन मान्यताका अनुयायीहरु व्यक्तिको नामकरण गर्दा त्यसको अर्थमा गहन विचार गर्छौं। हाम्रा हरेक नामले विशेष अर्थ बोक्छन्। नाम पुरुषको होस् या स्त्रीको हाम्रा हरेक नाम गुणधारक हुन्छन्।

हुन त अचेल नामकरणमा पनि पाश्चात्य अतिक्रमण छ। कतिपय बाबुआमा आधुनिक फेसनको फन्दामा परी ‘फ्युजन नाम’ राखिरहेका छन्। यो गम्भीर भूल हो। नाम राख्दा त्यस्तो नाम रोज्नुपर्छ कि जसको उच्चारणले नै मन प्रफुल्लित होस्, अन्तःकरण आह्लादित होस्, मुख अलङ्कृत होस्।

खुसीको स्विच हाम्रो मुख
मुखले गर्ने शब्दोच्चारणमा बोल्ने र सुन्ने दुवैलाई प्रभावित गर्ने शक्ति हुन्छ। शब्दशक्तिको प्रभाव विस्तृत र गहिरो हुन्छ। त्यसैले आनन्द विज्ञानका प्रचारकहरु भन्छन्, मुखबाट निस्कने शब्द सस्तो हुनुहुँदैन। शीतलता र मुधरताले प्रेरित हुनुपर्छ।

शब्द मुखबाट निस्किए जस्तो लागे पनि यसको उद्गम भित्रको चित्तभूमि हो। त्यसैले शब्दसँगै त्यसमा अर्थ, भाव र प्रभाव पनि जोडिएको हुन्छ। सहानुभूति वा आत्मीयतापूर्ण एक शब्दले सयौं मानसिक घाउ पुर्न सक्छ। थकित पीडित हृदयलाई क्षणभरमा ऊर्जावान् बनाउन सक्छ। हाम्रो मुखबाट निस्कने शब्द र हृदयमा अनुभव गरिने सुखदुःखानुभूतिबीच अद्भूत सम्बन्ध हुन्छ। यो सम्बन्ध ठीक त्यस्तै हुन्छ, जस्तो अग्नि र उष्णता, पानी र तरलता, फूल र सुगन्धका बीच हुने गर्छ।

रिल्याक्स जिन्दगी चाहनेले आफ्नो मुख र शब्द दुवैलाई राम्रोसँग प्रयोग गर्न जानेको हुनुपर्छ। मानिलिऊँ कि खुसीको रस विद्युतीय बल्ब हो भने मुखको शब्द त्यसको स्विच हो। मानवीय मुखरुपी खुसीको स्विचवर्ड अति सजिलो गरी खुल्छ तर यसको मूल्य भने असोचनीय हुन्छ। योभन्दा रहस्यमयी यन्त्र सायद दुनियाँमा बिरलै होला।

मुखबाट निस्किएको एक शब्द त के एक अक्षरले मात्रै पनि सारा जिन्दगी उज्यालो पार्न सक्छ। विपरीत प्रयोजनको शब्द पर्याे भने पूरा जिन्दगी अँध्यारोमा हुत्तिन पनि सक्छ। शब्द वरदान पनि हो र अभिशाप पनि। त्यसैले अरबी संस्कृतिमा मानवलाई ‘हैवान–नातिक’ अर्थात् ‘बोली भएको पशु’ शब्दले सम्बोधन गरिएको छ।

शब्दको दंश परेपछि मात्रै थाहा हुन्छ
बोल्न पैसा लाग्दैन, पूर्णतः निःशुल्क छ तर शब्द छान्न जानिएन भने यसले जिन्दगीभरलाई ऋण बोकाउँछ। उचित शब्द छानेर संवादमा प्रयोग गरियो भने त्यसले बोली, व्यक्तित्व र व्यवसाय तीनै कुराको मूल्य चामत्कारिक ढङ्गले बढाइदिन्छ।

मुखबाट निस्कने शब्दको दाँत हुँदैन तर त्यसले टोक्यो भने गोमन साँपभन्दा पनि पीडादायी हुन्छ। कहिलेकाहीँ त शब्दले टोकेको घाउ मरेर गए पनि पिछा छोड्दैन। शब्दका कारण हुने दुर्घटना यदाकदा हवाई दुर्घटनाभन्दा पनि जोखिमपूर्ण हुन्छ। त्यसैले बोल्नुअघि नै होसियार बनौं। नबोल्नु बोलेपछि त्यस्तो बोलौं कि जसले महको गुलियो बिर्साइदेओस्। बोल्ने र सुन्ने दुवै मधुरताले तृप्त हुन सकून्।

शब्दको दंश परेपछि मात्रै थाहा हुन्छ। मन सफा हुनेहरु पनि यदि मुखबाट गलत शब्द निस्कियो भने पछुतोले डसिन्छन्। मन फोहोर हुनेहरु भने आपूm डसिएको थाहा पाउँदैनन्। अरुलाई त्यसले कति दंश गर्याे त्यो मात्रै चाल पाउँछन्। अझ डसाइ पुगेन भनेर अनेक कुशब्द झिकेर माथिबाट अरु डस्ने प्रयत्न गर्छन्। शब्द ध्वनि मात्रै होइन, औषधि, उपचार र अमृत पनि हो। जसले सुशब्द छान्न जान्दछ र सुशब्दसँगै शिष्टता पनि गाँस्न जान्दछ, उसको महिमा कलमले लेख्न सक्दैन।

उल्झिने होइन, सुल्झिने साहस
कसैको भनाइ हो यो, 'हाँसीखुसी मर्न तयार हुने मान्छे त्यो मात्रै हो, जो शब्दको कुशल अभ्यासी थियो। बाँकी जोसुकै होस्, चाहे त्यो बादशाह होस् चाहे मगन्ते, रुँदैरुँदै मर्नुपर्छ।'

यो चानचुने कुरा होइन। खुसी सिकाउने पारसमणि हो। बोलीको गल्तीले जन्माउने पछुतो उसलाई मात्रै थाहा हुन्छ, जो बोलिसकेर पलपल जलिरहेको हुन्छ। बोल्न पनि नजान्ने, चुप लाग्न पनि नजान्नेहरुको झन कति कन्तबिजोग हुँदो हो। कति डसिनुपर्दो हो। यहाँनेर सिक्नैपर्ने एउटा मणिमन्त्र कतैबाट खोजेर ल्याएको छु, 'जुन बेला तपाईंसँग परिस्थिति सुहाउँदो समुचित शब्द हुँदैन, त्यो बेला नबोल्नु नै जाती हुन्छ। एउटा मीठो मुस्कान दिनुहोस्, शान्त रहनुहोस्। शब्दले अक्सर उल्झाउँछ तर मुस्कुराहटले काम फत्ते गर्छ।'

शीतल शब्दका हामी प्यासी
परको मान्छेले जे बोले पनि त्यतिसारो आघात गर्दैन तर जो नजिकको हुन्छ, उसले सानो तर तीखो बोल्यो भने त्यो वाणले गहिरोसम्म बिझाउँछ। सम्बन्धहरु राम्रा हुँदाहुँदै कहिलेकाहीँ पत्तै नपाई वियोगान्तमा पुग्छन्। सम्बन्ध वियोग गर्ने सयमा ९० कारण शब्दवाण नै हो।

नातासम्बन्धहरुको चिता र चिहानको निर्माता प्रायः आफ्नै मुखबाट निस्किएका शब्दहरु हुन्छन्। यो कटुसत्यले के शिक्षा दिन्छ त ? एउटै कल्याणकारी शिक्षा यही हो कि हाम्रो शब्द औषधि बनून् घाउ होइन। समाधान बनून्, समस्या होइन।

कवीर महोदय सम्झाउनुहुन्छ, 'बोली सदैव अनमोल हुन्छ, जोकसैले जानिराखोस्, भित्र तौलिएर मात्रै मुखबाहिर है निकालोस्।'

कसले सम्झाइदियोस् हामीलाई बारम्बार कि समस्याको इलाज भेषज (दबाइ) होइन, भाषा हो। त्यसैले होला पश्चिमी मुलुकमा टाई लगाउने चलन चलेको। टाई घाँटीमा बाँधेर शब्दघण्टीमा कस्नुको तात्पर्य यही होला कि घाँटीबाट निस्कने शब्द छानिएर मात्रै आओस्। अनायास नआओस्।

हाम्रो पूर्वीय प्रचलनमा घाँटीको रुद्रघण्टीमा शीतल श्रीखण्ड चन्दन लगाउने चलन छ। यसको उद्देश्य पनि यही हुनुपर्छ। घाँटीको शब्दशक्ति सन्तुलित एवम् सम्यक् होस् र सर्वत्र शीतलता देओस्।

संस्कारी बोली, प्रत्येक दिन होली
होलीको रङले एक दिन खुसियाली दिन्छ अनि सकिएर जान्छ तर बोलीको रङले हरेक दिन होली ल्याउँछ। होली ल्याउने बोली कस्तो हुनुपर्ला ? भनिरहनु पर्दैन।

वाणी त्यस्तो राम्रो मानिन्छ, जसमा शब्द कम तर समझदारिता अधिक हुन्छ। त्यस्तो बोलीवचन उत्तम जसमा अपेक्षा थोरै, विश्वास धेरै हुन्छ। होलीले झैं बहार ल्याउने बोली त्यस्तो हुन्छ, जसमा व्यङ्ग्य शून्य र वास्तविकता अधिक हुन्छ।

तर्कले बोल्नेलाई थकाउँछ र सुन्नेलाई पनि तर तटस्थताले दुवैलाई शान्ति दिन्छ। छाड्नैपर्छ भेद बुद्धिले मात्रै बोल्ने फेसन। तर्क मनबाट निस्कन्छ। तर्कको अन्त हुँदैन, बरु कुतर्कतर्फ मोडिने डर हुन्छ। जब कि तटस्थ भावले मानिसलाई तर्कभन्दा माथि तन्मयतामा लैजान्छ। जहाँ मन चुप लाग्छ र हृदय बोल्छ, त्यहाँ सुखरस उत्पन्न हुन थाल्छ, त्यो नै तन्मयता हो।

अचम्मको असर
भनिन्छ, मधुर शब्दमा वृक्षवनस्पतिलाई समेत द्रुत गतिमा हुर्काउने सामथ्र्य हुन्छ। मधुर शब्दसङ्गीतले गाईलाई बढी दूध दिन उत्प्रेरित गर्छ। वनस्पति र जनावरमा त यस्तो प्रभाव हुन्छ भने शब्दको प्रभाव मानिसमा कस्तो होला ? मानवीय सुखशान्तिमा शब्दको प्रभाव त्यस्तो हुन्छ, जसलाई अद्भूत, आश्चर्यजनक र अकल्पनीय भन्न सकिन्छ । त्यसै कारणले गर्दा भनिँदै छ यहाँ कि संस्कारी बोली हरेक दिन होली।

संस्कारी बोलीवचन उनको विशेषता हो, यसमा मिथ्या कटाक्ष र निरसता हुँदैन। मान्छेको जात आफूमाथि कसैले व्यङ्ग्य गर्याे भने सुन्न कोही खोज्दैन। तर अर्कामाथि कसैले व्यङ्ग्य गर्दै छ भने ध्यान दिएर सुन्छ। भित्रभित्रै रमाउन थाल्छ।

माटो राम्रो छ, मलजल राम्रोसँग गरिएको छ तर पानी नुनिलो छ भने त्यस ठाउँमा फूल फुल्दैन। त्यसैगरी विचार राम्रो छ, भावना असल छ तर पनि बोलीवचन राम्रो छैन भने ‘हात लाग्यो तिक्तता’ मात्रै हुन्छ। नाता सम्बन्धको रसायन भनेकै बोलीवचन हो। त्यसैले त हाम्रो बोली सधैं शीतल हुनुपर्छ।

फेसबुकमा साथीको सङ्ख्या सय र हजार तर रियल जिन्दगीमा छिमेकीसँग समेत बोलचाल बन्द। कतै यस्तो त भइरहेको छैन तपाईंको जीवनमा?

(आज शनिबार सार्वजनिक हुने डा.राजु अधिकारीद्वारा लिखित ‘जिन्दगी, रिल्याक्स प्लिज!’ को पुस्तक अंश। पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेकाे हाे।)

प्रकाशित १२ साउन २०७५, शनिबार | 2018-07-28 09:27:07
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।