आहा कस्तो शान्ति! कस्तो आनन्द!!

ग‌ंगा अारती
ग‌ंगा अारती

बनारसको नाम लिनासाथ मस्तिष्कमा धेरै दृश्य नाच्छन्ः विश्वनाथ मन्दिर, गंगा आरती, ८४ घाट, बनारस हिन्दू विश्वविद्यालय आदि इत्यादि। भोजपुरी र अवधि भाषाको बोलवाला भएको यो पुरानो भारतीय सहर पुरातात्विक सम्पदा, कला र ज्ञान प्रवद्र्धनसँगै नेपालीका लागि एउटा धार्मिक ‘हब’ पनि हो।

हिन्दू, बौद्ध तथा जैन धर्म ग्रन्थमा धेरै वर्णन भएको यो सहर यात्राको तयारीदेखि नै मन रोमाञ्चित थियो। पहिलो पटक आफ्नो देश छोड्न लागेकाले पनि होला जिज्ञासा, उत्साह रोमाञ्चकता सबै एकै साथ दिमागभरि घुमिरहेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘चेक इन’ भइसकेपछि मन ढुक्क भयो। असार २९ को साँझ बुद्ध एयरको एटिआर ४२ विमान सधैँजस्तै काठमाडौंबाट बनारसका लागि उड्यो। अरु यात्रुसँगै हामी चार पत्रकार आकाशबाट तराईको समथर भूमि नियाल्दै (स्वेच्छा राउत, सुशील भट्टराई र मोद ढकाल र म) बनारासतर्फ लाग्यौं।

करिब एक घन्टा उडेको हुनुपर्छ, ‘फ्लाइट एटेन्डेन्ट’ले उद्घोष गरिन्– ‘हामी अब लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछौं। बाहिरको तापक्रम ३१ डिग्री सेल्यिसेस छ।’ 

साँझ पर्न लागेको त्यो समयमा सिमसिम पानी परिरहेको थियो। प्लेनबाट ओर्लिएर मैले विमानस्थलतर्फ एक नजर लगाएँ। स्वतन्त्र भारतका दोस्रो प्रधानमन्त्री लालबहादुर शास्त्रीको नाम जोडिएको उत्तर प्रदेशको एउटा सहरस्थित यो विमानस्थल निकै ठूलो रहेछ।

‘हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यतिको भइदिए कति सहज हुन्थ्यो होला?’, जज गर्दिन, तुलना गर्दिन भन्दाभन्दै मनले एक फन्को मारिहालेछ।

विमानस्थलको नामदेखि शौचालयसम्म हिन्दी र अंग्रेजीमा लेखेको देखियो। बनारस उत्रेको साँझ हाम्रो बास विमानस्थल नजिकैको होटल रेजेन्सीमा तय थियो। त्यहाँ पुग्न करिब आधा घन्टा लाग्ने थियो। हामी एउटा रिजर्भ गाडीमा होटल तर्फ लाग्यौं। असनका जस्ता साँघुरा बटाहरु, छेउछेउमा तरकारी र फलफूल पसलको दृश्यहरु काठमाडौं सम्झाउन काफी थिए।

दिउँसो तापक्रम ४० डिग्रीभन्दा बढी पुग्ने बनारास सहरमा ट्राफिक जाम काठमाडौंभन्दा बढी थियो। यहाँ हेल्मेट नलगाई निर्धक्क मोटरसाइकल चल्दा रहेछन्। अझ लुकिङ ग्लास पनि सही तरिकाले नराखी। ‘यस्तो छुट किन ?’ होटल पुग्नुअघि मैले गाडी चालकलाई सोधेँ। ‘नियम त छ। तर हेल्मेट लगाएर जाममा बस्दा टाउकै गुम्सिन्छ।’ हुन पनि असारको अन्तिममा बनारासको तापक्रम दिउँसो ४५ डिग्रीसम्म पुग्ने रहेछ।

गंगा किनारमा घाटहरु

गंगा किनारमा घाटहरु

गंगा नदी किनारमा नेपाली राजाको घाट
हाम्रो बनारस बिहानी दतिवनले दात माझेपछि जेरी, ढोकलाबाट सुरु भयो। गुजराती परिकार ढोकला मैले अहिलेसम्म चोखेकै रहनेछु। गंगा नदी किनार हाम्रो बिहानी गन्तव्य थियो। सूर्योदय हेर्न हिँडेका हामी घाम टाउको माथि आइपुगदा गंगा नदी किनारस्थित ८४ घाट पुगेका थियौं। मैले बुझेको घाटको अर्थ मरेका मान्छे जलाउने मात्र भन्ने हो। तर हाम्रा गाइड अर्जुन शाहनीले सुनाए, ‘यहाँ साँझमा पूजापाठ र बिहान श्राद्ध गरिन्छ।’ यहाँस्थित ८४ मध्ये दुई हरिशचन्द्र र मणिकनीका घाटमा मान्छे जलाइँदो रहेछ। बाँकी पर्यटकलाई देखाउने ठाउँ बनेका रहेछन्।

८४ मध्ये धेरै जसो घाट राजा महाराजाले आफ्नो नाममा बनाएका हुन्। मोक्ष प्राप्तिको आशमा महाराजाहरुले निर्माण गरेका ती घाटहरु अहिले पर्यटकस्थलमा परिणत भएका रहेछन्। नेपालका राजाले समेत ललिता घाट नामक एउटा घाट बनाएको थाहा पाउँदा अनौठो लाग्यो। यो घाट नेपालको पशुपति मन्दिरको आकारमा छ। नेपाली राजाद्वारा निर्मित यो घाट अन्यभन्दा फरक देखिन्छ। यो घाट हेर्न दैनिक दुई सयको हाराहारीमा पर्यटक आउने गरेको त्यहाँका पुजारी राजकुमार पाण्डेले सुनाए। घाटभित्रका थप रहस्य खोज गर्न बाँकी नै थियो। तर त्यही दिन हामी सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको बोधगया जानु थियो।

भिडियाे

फोटो खिच्न नपाउँदा खिन्न
मेरो जन्म बौद्ध परिवारमा भए पनि बुद्ध दर्शन र शिक्षाबारे धेरै जानकारी नहुँदै म बोधगया जाँदै थिए। मलाई बौद्ध इतिहास र साहित्यबारे कमै जानकारी छ। त्यही भएर बोधगया जानुअघि मनभित्र अनगिन्ती सवाल सल्बलाइरहेका थिए। झन्डै २ हजार ६ सय वर्षअघि बुद्धले जुन पीपलको रुख मुनि ध्यान गरेका थिए त्यो जीवितै होला? अथवा पर्यटक आकर्षण गर्न अर्कै रुख रोपिएको हो? उनले बोधगयामा हाँसिल गरेको ज्ञान के हो? त्यो कसरी प्राप्त हुन्छ ? अनि एउटा पवित्र तीर्थस्थललाई कती व्यवसायीकरण गरिएको होला ? बोधगया हिँड्नुअघि मेरो मस्तिष्कमा प्रश्नहरुका चाङ थिए। हामीले २ सय ७७ किलोमिटरको दूरी तय गर्नु थियो।

बोधगया पुग्दा पर्यटकको भिड देखियो। त्यहाँ विश्वभरिकै मान्छे आइपुगेजस्तो देखिन्थ्यो। कत्रो भिड? सायद यो २६ सय वर्ष पहिले नेपाली भूमिमा जन्मिएका बुद्धका फरक आयम खोज गर्नेहरुको झुन्ड नै होला। विश्वभरिकै श्रद्धालुसँगै मिसिएर हामी महाबोधी मन्दिरतर्फ लम्कियौं। अहिले अस्तित्वमा रहेको महाबोधी मन्दिर पाँचौं–छैटौं शताब्दीतिर निर्माण गरिएको विश्वास रहेछ। पिरामिड शैलीको मन्दिरमा प्रयोग भएका सयौं वर्ष पुराना इँटाले प्राचीन कलाको स्पष्ट झझल्को दियो।

बाेधगयामा रहेकाे बुद्ध प्रतिमा

बाेधगयामा रहेकाे बुद्ध प्रतिमा

‘कृपया मोबाइल बाहिरै राख्नुहोला’, सुरक्षाकर्मीले हामीलाई आग्रह गरे। म आश्चर्यमा परेँ। मन्दिरभित्र मोबाइल लाँदा के हुन्छ ? सुरक्षाका कारणले त्यसो गरिएको जवाफ गार्डले फर्काए। बुद्धले विश्वभरि शान्ति तरंग फैलाएको मुहानमै हिंसाको सूचक अत्याधुनिक हतियार र सुरक्षाकर्मी !? सायद मेरो मनमा उत्पन्न भएको जस्तो प्रश्न यहाँ आउने अरुहरुको मनमा पनि जाग्यो होला। तर सन् २०१३ जुलाईमा यहाँ पाँच जनाको मृत्यु हुनेगरी बम विस्फोट गराइएको रहेछ। त्यसपछि सुरक्षामा कडाइँ गरिएको पछि थाहा भयो।

महाबोधी मन्दिर प्रवेश गर्दा साँझको लगभग ६ बजेको हुँदो हो। भिक्षुहरु एकाग्रपूर्वक ध्यान गरिरहेका, कोही माला जप्दै परिक्रमा गरिरहेका दृश्यले एउटा अनुपम आनन्द महसुस गरायो। शान्तिको खोजीमा विश्वभरिबाट आएका भिक्षु एवं गृहस्थको शान्तिको खोज पूरा भयो भएन मलाई चाहिँ ती दृश्यको फोटो खिच्न नपाएको थकथकी लाग्यो।

साँझमा मन्दिरमा बालिएको बत्ती, ध्यान गर्नेहरुको शान्त र सौम्य दृश्य मनै लोभ्याउने थियो। महाबोधी मन्दिरलाई बीचमा पारेर भिक्षुहरुले ध्यान गरेको दृश्य हेरिरहूँजस्तो थियो। ध्यानमा लिन भिक्षुहरु कोही सेता, कोही हल्का पहेँला, कोही गाढा पहेँला पहिरनमा देखिन्थे। मैले चुपचाप ध्यानीहरुलाई हेरेँ तर उनीहरुलाई को आइरहेछ, को गइरहेछ केही मतलब थिएन। ती सबै अन्तरमनको यात्रामा लिन देखिन्थे, २६ सय वर्षअघिका बुद्धजस्तै। मैले आफ्ना पाइलाको गति सुस्त पारेँ। उनीहरुलाई मेरो हिँडाइको आवाजले बाधा नपुर्यावस् भनेर। यहाँ जे देखिएको थियो मैले जन्मेदेखि अहिलेसम्म देखेकी थिइनँ। र यहाँ जे महसुस गरेकी थिएँ त्यो मैले यसअघि कहिलै अनुभूत गरेकी थिइनँ। आहा कस्तो शान्ति! कस्तो आनन्द!!

गंगा आरतीमा नेपाली पण्डित
गंगा आरती हाम्रो तेस्रो गन्तव्य थियो। बोधगया यात्रापछि असार ३१ को साँझ हामी गंगा किनारमा आरती हेर्न पुग्यौं। बनारसको गंगा आरती हिन्दुहरुका लागि महत्वको विषय हो। आरती हेर्न हामी डुंगा चढ्यौं। साँझको बेला गंगा नदीमा बहने चिसो हावाले मेरो शरीरलाई स्पर्श गर्यो। एउटा यस्तो स्पर्श जसले मनलाई छोएको थियो। गंगामा डुंगा सयर गर्दै आराती हेरिहँदा लाग्यो सायद देउताहरुको राजधानीमा यस्तै हुन्छ होला !

गंगा अारती गर्दै नेपाली पण्डित

गंगा अारती गर्दै नेपाली पण्डित

डुंगाबाट देखिने गंगा आरती हेर्न विदेशी, स्थानीय, भारतकै विभिन्न ठाउँमबाट आएका भक्तजन थिए। एउटा भव्य आरतीमा ७ जना पण्डित सहभागी थिए। उनीहरु भक्तिभावपूर्वक पूजामा व्यस्त थिए। ती ७ मध्ये ५ जना नेपाली भएको कुरा पूजा सकिएपछि थाहा भयो। विदेशी भूमिमा नेपाली पूजारी भेट्दा खुसी नहुने कुै भएन्। उनीहरु अझ खुशी भए नेपाली पत्रकारको समूह भेटेर। 

हामीसँग अब यात्राको अन्तिम दिन बाँकी थियो। नेपाली समाजमा किंवदन्ती नै बनेको बनारासी सारी र बनारास हिन्दू विश्वविद्यालय (बीएचयू) को अवलोकनपछि अन्तिम गन्तव्य थियो, बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक धर्मचक्र चलाएको– सारनाथ। उनले यहाँस्थित मृगवनमा पहिलो पटक दीक्षा दिएका पाँच र त्यसपछिका ५० भिक्षुबाटै बुद्ध संघ विश्वभरि फैलिएको विश्वास गरिन्छ।

सारनाथमा रहेकाे धमेक स्तुपा

सारनाथमा रहेकाे धमेक स्तुपा

बुद्धले ज्ञान बाँडेको ठाउँमा ४३ मिटर अग्लो धमेक स्तुपा छ। उत्तर—पूर्व बनारासस्थि यो स्तुपाको अवलोकन गर्न उस्तै भिड लाग्ने रहेछ। बुद्ध र त्योभन्दा अगाडि पनि अनेकौं तपस्वीले ध्यान गरेको इतिहास बोकेको यो ठाउँ जैन धर्मावलम्बीका ११ पवित्र तीर्थस्थलमध्ये एक रहेछ। हामीले स्तुपालाई परिक्रमा गर्यौं। सारनाथमा स्तुपा, संग्राहलय, अशोक स्तम्भसहित पर्यटकका लागि घुम्न धेरै ठाउँ छन्। पुरातात्विक सम्पदाको व्यवस्थित संरक्षणले अरुजस्तै मलाई पनि तान्यो।

सारनाथमा छुट्याएभन्दा बढी नै समय बितेछ। ३ बजे विमानस्थल पुग्नु थियो। सारनाथमै दुई  बजेकाले हामी हतारियौं। सानो असावधानीले बनारसी बजारमा सपिङ गर्ने मेरो धोको अधुरै रह्यो।

भिडियाे

***

तीर्थयात्रा, अध्ययन र राजनीतिसँग गाढा इतिहास जोडिएको काशी अर्थात् बनारास नेपालीका लागि कुनै नौलो नाम होइन। देवताहरुको राजधानी सहर मानिने काशीको तीर्थटान केही अघिसम्म पनि गाह्रो विषय थियो। अब स्थिति फेरिएको छ। बुद्ध एयरले बनारास–काठमाडौंलाई सिधै जोड्छ– दैनिक उडानबाट। काठमाडौं–बनारस दुईतर्फी १४ हजार रुपैयाँ भए पुग्छ। विश्वनाथ मन्दिर, बोधगया, सारनाथ, गंगा आरती, महाबोधी मन्दिर र सारनाथसहित घुम्न चाहनेलाई २५–३५ हजारसम्मको होलिडे प्याकेज नै किन्न सकिन्छ। बुद्धको यो प्याकेजमा खाना, होटल, गाइड, स्थानीय यातायात सबै समावेश छ।

प्रकाशित 2018-07-23 14:16:27