ब्लग

सगरमाथा शिखरमा यसरी गरेँ फोटो प्रदर्शनी


Infocus


पूर्णिमा श्रेष्ठ
पूर्णिमा श्रेष्ठ
NIC ASIA

सगरमाथाको क्याम्प-४ मा आरोहण पूरा गरी फर्किएकाहरुको बाक्लो चहलपहल थियो। बाहिरको चहलपहललाई बेवास्ता गर्दै म आफ्नो टेन्टभित्र सगरमाथा आरोहणको तयारी गरिरहेकी थिएँ। यो २०७५ जेठ ४ गते राति ८ बजेको कुरा हो। ८ हजार मिटरको उचाइमा टेन्ट उडाउलाझैँ गरी वेगले हावा चलिरहेको थियो। त्यो हावाभन्दा मेरो मनभित्रको त्रासको वेग तीव्र थियो। चुचुरोमा पुग्न अब १२ घण्टा बाँकी छ भनेर जब शेर्पा गाइडले भने, तब मेरो मनमा नकारात्मक कुरा मात्र खेल्न थाले। बाFच्छु कि बाँच्दिन भन्ने तर्कना मनभित्र चलिरहेको थियो।

यी सबै कुरा सोच्दै मैले ४ केजीकाे अक्सिजन, पानी र खानेकुरा अफ्नो झोलामा हालेँ। १२ घण्टाको लामो दूरी तय गर्नुपर्ने भएकाले सातु, मकैभटमास खाएँ। त्यो उचाइमा न त भोक लाग्छ न त निद्रा। तर आफूलाई बचाइराख्न खानैपर्छ। मैले धेरै सुनेकी थिएँ खानेकुरा नखाँदा शरीर कमजोर भएर धेरै सगरमाथा आारोहीले ज्यान गुमाएका छन्। त्यो डरले पनि खानेकुरा खाएँ।

टेन्टबाट बाहिर निस्केर सगरमाथा चुचुरोतर्फ प्रस्थान गर्नुअघि आफ्नो हात खुट्टा तताएँ। बाक्लो लुगा, मोजा, हेडलाइट, अक्सिजन सबै मिलाएर लगाएँ। त्यो पहिरनमा आफैँलाई फरक अनुभूति भयो। जिउ सिरिङ्ग भयो। ४३ दिनको अभ्यासपछि म ८ हजार ८ सय ४८ मिटर उचाइ भएको विश्वकै सर्वोच्च शिखर सगरमाथा चुचुरो चुम्न लाग्दै थिएँ। मनभरि त्रासबाहेक केही थिएन। मोबाइल निकालेँ र अनुहार हेरेँ, हातखुट्टा नियालेँ। लाग्यो फर्किंदा मेरो हालत के हुने हो? हिउँले औंला खाएर केही बाँकी नरहने हो कि! मनमा सकारात्मक कुरा केही छँदै थिएन।

चुचुरोतर्फकाे यात्रा
डराउँदै डराउँदै मैले सावधानीपूर्वक पाइला चाल्न थालेँ। मेरो अगाडि गाइड नुर्बु शेर्पा हुनुहुन्थ्यो। चुचुरोतर्फ अघि बढेको भन्ने भएपछि मन थप आत्तिएको थियो। उहाँले म डराएको थाहा पाउनु भएछ। आँट थपिदिनुभयो। तिमीले सफलतापूर्वक आरोहण गर्न सक्छौ भनेर हौसला बढाइदिनुभयो। उहाँले बेला–बेला मेरो उद्देश्यलाई सम्झादिनु हुन्थ्यो। त्यो कुराले मभित्र उर्जा थपिदिथ्यो। मलाई थाहा थियो म अथाह पैसा भएर आरोहणको मज्जा लिन आएकी थिइनँ। मेरा शुभचिन्तकले १–१ रुपैयाँ जम्मा गरेर दिएको सहयोगले आरोहणमा आएकी थिएँ। यो पक्षले मलाई सगरमाथाको चुचुरोतर्फ लम्किन थप उर्जा दियो। 

हो म फरक उद्देश्यका लागि सगरमाथा आएकी थिएँ। यो बुझाइले मेरा कदममा दृढता थप्यो। मनमा धेरै कुरा खेलिरहँदा बिहानीको १० बजेभित्र सगरमाथा पुगेर फर्कनु पर्छ भन्ने चेत दिमागमा चलिरहेको थियो। बिस्तारै हिँड्दा अक्सिजन सकिएला भनेर तलमाथि नहेरी आफ्नो उद्देश्यमा केन्द्रित भएँ। सगरमाथा चुचुरोमा पुग्नुअघि हिलारी स्टेप पार गर्नु पर्ने थियो। सगरमाथा पुग्नु अगाडि यो खतरनाक ठाउँ थियो। त्यहीबेला तीव्र रुपमा हिउँसहितको हावा बेगले आयो र मेरो देब्रे गाला काटिदियो। रगत आयो। तर मैले आफ्नो यात्रा रोकिनँ। चुचुरोमा पुग्ने बेलामा रजस्वला भएकोले गर्दा आरोहणमा निकै अप्ठ्यारो झेल्नु पर्यो। त्यो अप्ठ्यारो म शब्दमा बयान गर्न सक्दिनँ। सामान्य अवस्थामै रजस्वला हुँदा गाह्रो हुन्छ। त्यो कठिन क्षणमा आफूमा आएको परिवर्तनलाई मैले अत्यन्त दृढतापूर्वक सामना गरेँ।

८ हजार मिटर अग्लो मनास्लु हिमाल आरोहण गरिसकेकाले सगरमाथा सहज हुन्छ भन्ने पनि लाग्न सक्छ। तर त्यो सोचाइ गतल रहेछ। सबै हिमालको आफ्नै विशेषता हुने रहेछन्। उचाइको आधारमा मात्र हिमाललाई तुलना गर्न नसकिने रहेछ। मनास्लु हिमालको उचाइ मात्र धेरै थियो। बाटाहरु सजिला थिए। एउटा क्याम्पबाट अर्को क्याम्पमा पुग्ने समय धेरै थिएन। तर सगरमाथामा भने एउटा क्याम्पबाट अर्को क्याम्पमा पुग्न ५ देखि ६ घण्टा लाग्ने।

क्याम्प–४ बाट हिँडेको लगभग १२ घन्टा अर्थात् २०७५ जेठ ५ गते बिहान ८ः१० बजे म सगरमाथाको चुचुरोमा पुगेँ। त्यसअघि मान्छे नै उडाउने जस्तो हावाले मलाई धेरै पटक लडायो। प्रत्येक लडाइले मभित्र नयाँ अनुभव थप गरिदिन्थ्यो। त्यसबाट सिक्दै अघि बढ्नु मेरो नियमित काम जस्तै भयो। उचाइ चढ्दै जाँदा मैले आँखा मधुरो देख्न थालेकी थिएँ। सुरुमा चस्माका कारण यस्तो भएको होला भन्ने ठानेँ। तर होइन रहेछ। चुचुरो आरोहणका समयमा समेत मैले वरिपरिको हिमाल मधुरो देखेँ। घामको उज्यालो महसुसै भएन।

उचाइमा पुग्ने रहर, त्यो उत्साहको क्षणमा आँखाले साथ नदिँदा गाह्रो महसुस भयो। चारैतिर धमिलो मात्र देखेँ। तर पनि चुचुरोमा पुगेपछि देखिने दृश्य अवलोकन गरेँ। माथि पुगेपछि मभित्र मर्छु कि भन्ने डर पैदा भयो। यस्तो अरुलाई पनि हुँदो रहेछ। तर म फरक उद्देश्य लिएर सगरमाथा आरोहणका लागि गएकी थिएँ। त्यसैले सगरमाथामा आफूले खिचेका आमाहरुको तस्बिरलाई प्रदर्शनी गरेँ। चुचुरोमा तीव्र हावाको वेगलाई वास्ता नगरी शेर्पाहरुले कठिनाइसाथ तस्विर खिचिदिए। म त फोटो पत्रकार हो, त्यसैले सगरमाथाको चुचुरोमा पुगेपछि गज्जबसँग तस्विर लिन्छु भन्ने योजना थियो। उचाइबाट भिन्न–भिन्न किसिमका तस्विर खिच्ने सोच थियो। तर त्यो सम्भव भएन। मैले आफ्नो झोलामा रहेको बोतलको पानीसमेत निकालेर पिउन गाह्रो भयो।

चुचुरोमा पुगेपछि हामी क्याम्प ४ मा फर्किने तयारीमा थियौं। त्यसअघि नै मेरो आँखामा समस्या देखिएकाले फेरि डर उत्पन्न भयो। सकुशल फर्किन सकिने हो कि होइन! मैले आफ्ना गाइडलाई समस्या भनेँ। मेरो कुराले उनीहरुको मन पनि डराएको हुनुपर्छ तर त्यो उनीहरुले देखाएनन्। मलाई सहयोग गरे।

वास्तवमा चुचुरोमा पुग्नु सगरमाथा आरोणको आधा पाटो मात्र हो रहेछ। त्यहाँबाट सफलतापूर्वक फर्किए मात्र सगरमाथाको आरोहण पूरा हुने रहेछ। आरोहणमा जाँदा जति उत्साह हुन्छ फर्किंँदा त्यस्तो नहुने रहेछ।

सगरमाथामा प्रदर्शनीका लागि भनेर मैले २५ वटा तस्बिर फ्रेमिङ गरेर लगेकी थिएँ। क्याम्प १ र २ मा हाँस्दै मैले आफ्नो क्यामेरामा कैद गरेका २५ तस्विरको प्रदर्शनी गरेँ। क्याम्प ३ मा १५ वटा, क्याम्प ४ मा ३ वटा र शिखरमा एउटा मात्र तस्बिर प्रदर्शनी गरेँ। सगरमाथा आरोहणजस्तो जोखिमपूर्ण यात्रामा प्रदर्शनी गर्नु आफैँमा चुनौतीपूर्ण थियो। फेरि प्रदर्शनीमा राखिएका तस्विर कसैले अवलोकन नगरे त्यो अधुरै रहनेवाला थियो। सगरमाथा आरोहण गर्न आएका आरोहीहरुलाई अनुरोध गर्दै मैले खिचेका तस्बिर देखाएँ। यो आरोहणमा मिनेट–मिनेटको महत्व हुन्छ। केही समय मात्र ढिला भए अक्सिजन सकिने डर हुन्छ। जसले गर्दा आरोहीको ज्यानैसमेत जाने खतरा हुन्छ। फोटो प्रदर्शनीको समयमा केही आरोही मेरो अनुरोध सुनेर रिसाए। तर धेरैजसो विदेशी आरोही, शेर्पाहरु स्वस्थानी व्रत बसेका नेपाली महिलाका तस्विर देखेर दंग परे। उनीहरुले सोधेका थिए, ‘के यी नेपालकै तस्वीर हुन्? मैले पनि गौरव महसुस गर्दै भने, ‘हो यो नेपालकै तस्वीर हो।’ 

सगरमाथा रुट

सगरमाथा आरोहणको सुन्दर सपना साँचेर ६ अप्रिलमा म काठमाडौंबाट लुक्ला पुगेँ। लुकलाबाट ट्रेकिङ गर्दै फाक्दिङ हुँदै नाम्चे। नाम्चेमा २ दिन आराम गरेँ। त्यसपछि तेङबोचे, दिमबुचे, लम्बुचे गोरक्ष हुँदै सगरमाथाको बेसक्याम्पमा पुगेँ। म नेपाली महिला भएर सगरमाथा आरोहण गर्ने आँट गरेकोमा लुक्लाका आमादिदीहरु खुसी थिए। काठमाडौंदेखि सगरमाथाको बेस क्याम्पसम्म पुग्दा मेरो लागि रमाइलो समय भनेको त्यही नै थियो। बेसक्याम्प पुग्नासाथ सगरमाथा आरोहण गर्न नपाइने भएकाले बेसक्याम्पबाट क्याम्प १ सम्म हाइकिङ गए। जहाँ खर्पन्च, १०–१५ वटा भर्‍याङ थिए जुन मैले पार गर्नु पर्ने थियो। त्यो ठाउँलाई खुम्बु आइसफल आर्थात क्याम्प १ भनिन्छ।

यो पार गर्न पनि गाह्रै थियो। त्यसपछि क्यम्प २ र ३ मा पुगेँ र बेसक्याम्प झरेँ। क्याम्प ३ मा पुगेपछि आरोहण गर्न सकिन्छ भन्ने अनुभूत हुँदो रहेछ। त्यसपछि सगरमाथा आरोहणका लागि मैले १५ दिन कुरेँ। त्यो बीचमा कसैको हिउँले हात झर्यो, कसैको खुट्टा हिउँले खायो भन्ने सुनिन्थ्यो। त्यसले मभित्र डरको डिग्री बढाइदियो। मैले आफ्नो यात्रा चाहिँ मौसमले साथ दिन थालेपछि सुरु गरेँ।

त्यो सफल आरोहण मेरो जीवनको एउटा अविस्मरणीय क्षणको रुपमा सधैँ सम्झनामा रहनेछ। काठमाडौं फर्केर विश्वकै सर्वोच्च हिमाललाई आफ्नो पैतलामुनि पारेको सम्झँदा मन रोमाञ्चक बन्छ। जीवनको नयाँ आयाम पहिल्याए झैँ महसुस हुन्छ। यसले मभित्र एउटा दृढतासहितको नयाँ अनुभव थपिदिएको छ। त्यो के भने जीवनका प्रत्येक चुनौतीका शिखरहरु राम्रो तयारी गरे अवश्य जित्न सकिन्छ। जसरी मैले सगरमाथा जितेँ।

प्रकाशित १५ जेठ २०७५, मंगलबार | 2018-05-29 15:14:59
Max TV
Max TV
Zen Travels

author photo

पूर्णिमा श्रेष्ठ फाेटाे पत्रकार तथा हिमाल अाराेही हुन्


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रक्सौल-काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि भएको सहमति पत्र आदान-प्रदान

    जम्मु-कश्मीरमा रेलमार्ग बनाउने कम्पनीलाई रक्सौल-काठमाडौं रेलमार्गको जिम्मा

    भारतको आर्थिक लागतमा निर्माण हुने यो रेलमार्गको निर्माण चाहिँ भारतीय रेल मन्त्रालय अन्तर्गतको ‘इष्ट सेन्ट्रल रेलवे’ ले गर्नेछ। कोंकणलाई पूर्व...

  • जयपुरी (बायाँ) र ओनसरी २०७४ को निर्वाचनमा बामगठबन्धनको विजयपछि

    रोल्पाका दुई नेतृलाई फापेको एमाले-माओवादी एकता

    पहिलो संविधान सभा कालमा दुबै जना छोटो समयका लागि मन्त्री बने। ओनसरी युवा तथा खेलकुद मन्त्री बनिन् भने जयपुरी महिला बालबालिका तथा समाज कल्याणमन्त्री।

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...