ब्लग

दुब्ली हुनुको दु:ख!


Infocus



गीता चिमोरिया
गीता चिमोरिया

चैत वैशाखको बेला हो गोजीमा ढुंगा हालेर हिँड्ने गर्, नत्र चैते हुरीले उडाउला, मोटरसाइकलमा राम्ररी बस् फेरि पछाडिबाटै उडिस् भने मलाई जेल होला जस्ता कुरा त कति सुन्नु कति।

NIC ASIA

शरीर न मोटो राम्रो न त अतिदुब्लो। ठिक्कको सुहाउँदो ज्यान भए राम्रो। केही मान्छे आफू मोटो/मोटी देखिएको भन्दै दुःख सुनाइरहेका हुन्छन्। ‘तिमीहरूको जस्तो छरितो ज्यान भए पो’ भन्दै दुब्लापातलाका अगाडि गुनासो गर्ने जमातलाई दुब्लो हुनुको पीडा बताउन केही शब्द खर्चिँदैछु।

सर्वप्रथम त ‘जमाना जिरो फिगरको छ’ भनेर भ्रम फैलाउनेहरूमाथि सरकारले हदैसम्मको कारवाही गर्नुपर्छ।

किनकि मोबाइल बरू जति स्लिम उति राम्रो तर मान्छे जतिदुब्लो उति पीडित हुन्छन्। यसबारे न राज्यले, न त कुनै सञ्चारमाध्यमले नै सर्वसाधारणलाई सचेत बनाउन सकेका छन्।

मोटाघाटा मान्छे हेर्दै सम्पन्न लाग्छन्। धनी, खानदानी देखिनुको खुसीभन्दा उनीहरुमा बढी हीनताबोध किन हुन्छ, म बुझ्न सक्दिनँ। जबकि फोटोसपको प्रयोग गरेर, गर्मीमा पनि बाक्लो लुगा लगाएर हामी दुब्लापातला आफूलाई मोटो देखाउन खोजिरहेका हुन्छौं। किनकि समाजमा दुब्ला कति हेपिन्छन्, त्यो भोग्नेलाई मात्रै थाहा हुन्छ।

हाम्रो पीडा बुझिदिने कोही छैन। पीडा बुझ्नु त परको कुरा उल्टै नाम काढ्नेहरु बढी छन्। हड्डी, च्याँसी, मरनच्याँसे, ४० किलो, ४५ किलो, सुकेनास, कुपोषित, दाउरी, लुरे, लुरी, स्केलेटन, चिपलेस, सुइखुट्टे, सिग्रेट जस्ता अपमानजनक शब्दप्रयोग गर्छन्।

झगडा पर्याे भने पनि मुख्य मुद्दा के हो त्यो छोडेर ‘तँ स्केलेटनलाई साइन्स ल्याबमा लगेर बेचिदिन्छु’ जस्ता क्षुद्र वाक्य प्रयोग गर्छन्। अझ पीडाको कुरा त वैरीले मात्रै होइन, आफ्नै साथी पनि हामीलाई उडाउन पछि पर्दैनन्।

‘चैत वैशाखको बेला हो गोजीमा ढुंगा हालेर हिँड्ने गर्, नत्र चैते हुरीले उडाउला, जाडो भयो भन्दैमा घाममा नबस् नत्र झनै सुक्लिस्, मोटरसाइकलमा राम्ररी बस् फेरि पछाडिबाटै उडिस् भने मलाई जेल होला, खाना पनि ख्वाउनु पर्दैन हावापिएरै बाँच्छौ होला, खाना नखाएर आमाबुवाको पैसा जोगाउँदैछौ?’ जस्ता कुरा त कति सुन्नु कति।

अझ मन त त्यतिखेर दुख्छ जब माथिदेखि तलसम्म हेरेपछि मान्छेले सोध्छन्, ‘कुन रोग लागेको हो? खाना खाँदिनौ? कस्तो खाना पकाउँछन् हो तिम्रो घरमा, जिउमै नलाग्ने?’ आदि। उनीहरूलाई कसरी सम्झाउनु, खाँदाखाँदा दाँतमा किरा लाग्ला तर जिउमा लाग्दैन। जीउमा खाना नलाग्नुमा मेरो दोष होइन भनेर।

साथीहरूले हेप्ने कुरा गर्दा उनीहरूको परिवारको चर्चा पनि गरिहालौं। एकदिन साथीको घरमा खाना खान बसियो। थालमा आन्टीले जति खाना दिनुभयो, त्योभन्दा बढी त मैले आफ्नै पास्नीमा खाएकी थिएँ होला। थप्ने पनि सोध्नुभएन। दुब्लोको पेट हुँदैन? के उनीहरूलाई भोक लाग्दैन? भोलिपल्ट साथीसँग गुनासो गरें।

दुब्लाले कम खाना खान्छन् भन्ने भ्रम हटाउन सरकारले सचेतनामूलक कार्यक्रम ल्याउन आवश्यक देखिन्छ।

डाक्टरहरूले पनि आफ्नै शैलीमा हेप्छन् हामी दुब्लालाई। सामान्य पेट दुखेर अस्पताल पुग्यो भने भिटामिनको बोतल पुर्जामा लेख्छन् नै। तौल नाप्ने मेसिनमा अनिवार्य उभ्याइन्छ। अनि तौल हेरेर अन्डरवेट भएको भन्दै जुन रोग जंचाउन गएको हो त्यसको औषधि भन्दा गनाउने भिटामिनको झोल र तौल बढाउने औषधि लेख्दिन्छन्।

मनपरेको कपडा, घडी, बेल्ट केही किन्न सक्दैनौं/पाउँदैनौं हामी। कपडा पसलमा हत्तपत्त कुनै कपडा फिट हुन्न। लङ अम्ब्रेला, कुर्ता सुरुवालजस्ता कपडा हामीजस्ता दुईजना एकैपल्ट पस्नेगरि फ्री साइजमा आउँछन्।

कपडा फिट नगरी त्यसै लगायौं भने त्यहीभित्र हराउँछौं। कपडा किन्न पनि पैसा, अनि फिट गराउन पनि पैसा। दोहोरो मारमा पर्छौँ हामी।

त्यतिकै लगाउँ भने खेतमा जीवजन्तुलाई डर देखाउन ठड्याइएको बुख्याँचा देखिएला भन्ने पीर। ठूलो लगानी गर्नुपर्छ हामीजस्ताले कपडामा।

मलाई याद छ, दशैंको लागि लङ अम्ब्रेला किनेकी थिएँ। फिटिङ गराउन थप ३०० को लगानी। तर मर्माहत त त्यतिबेला भएँ, जब फिटिङ गर्ने नाममा अम्ब्रेलाको त्यति राम्रा रेशमी कढाइको केही अंशमात्र बाँकी थियो। त्यस्तो राम्रो चहकिलो कपडा र सितारा जडिएको नेटवाला कपडा फालिसकेपछि बाँकी के रह्यो र? मेरो ६ हजारको अम्ब्रेलाको आधाभाग काटेर फालिसकेपछि त्यसको मूल्य ह्रास भइ ३ हजारमात्र रह्यो।

काठमाडौं, पोखरा, बुटवलजस्ता सहरमा जिरो फिगरको लागि कपडा पाइए पनि फिट कपडा अन्यत्र हत्तपत्त पाइँदैन।

कि त जिउमा मिल्ने कपडा खोज्न बच्चाको कपडा पाइने ठाउँ जानुपर्छ। तर त्यहाँ जिउमा फिट कपडा भएपनि लम्बाइअनुसारको पाइन्न, सबै कपडा छोटा हुन पुग्छन्।

सार्वजनिक यातायातमा समेत हेपिन्छौं हामी। दुई जना दुब्ला देख्नेबित्तिकै यात्रु र खलासी दुवैले ‘अलिउता सरिदिए एक जना अझै अट्थ्यो’ आशयका वाक्य प्रयोग गर्छन्। दुई जनाको सिटमा तीन जना कोच्चिनुपर्छ हामी।

मोटरसाइकलमा पनि तीन जना बसेर यात्रा गरेको अनुभव छ मसँग। ट्राफिकको डर देखाउँदा ‘तिमी बीचमा बस। त्यतिकै पनि बिरामीजस्ती देखिन्छ्यौ। बिरामी देखेपछि केही गर्दैन ट्राफिकले’ भन्छन्। अनि ‘स्यान्डविच’ बनेरै यात्रा गर्नुपर्छ।

सरकारले पनि सुरक्षाको मामिलामा दुब्ला पातलालार्ई पत्याउँदैन। आर्मी, पुलिस सबैतिर बलिष्ठकै हालिमुहाली छ। सरकारले हामीजस्तालाई जागिर दियो भने के अनिष्ट हुन्छ? आदिकालदेखि नै समूहको रक्षा गर्ने जिम्मेवारी बलियालाई दिएर हामीजस्ता कमजोरलाई झनै कमजोर बनाइयो। बलियो शरीरले होइन, बुद्धिले कसैलाई पछार्ने हो। तर यो आधुनिक युगमा पनि यो कुरा मान्छेले बुझ्दैनन्। कसले बुझाओस्, सरकारलाई ?

‘ब्युटी बोन देखिएपछि झन् राम्रो नि’ भन्छन् मान्छे। प्रशंसा त ठिकै हो, तर अलि पुराना मान्छेचाहिँ ‘दही जमायो भने पनि हुन्छ त्यो खाल्डोमा’ भन्छन्। ब्युटी बोनलाई पनि मारियाना ट्रेञ्च देख्छन् मान्छे। कसरी सम्झाउनु?

दुब्लापातला पुरूषहरूलाई पनि निकै गाह्रो छ यो समाजमा। बिहे गर्ने बेला अझै अप्ठ्यारो हुने रहेछ। दुब्लोपातालो देख्नेबित्तिकै जाँडरक्सी खाँदोरहेछ भन्छन्। मानौं जाँडरक्सी खाने मात्र दुब्लापातला हुन्छन्। कुनै दीर्घरोग लागेको हो कि, कुनै ठूलो तनाव छ कि भन्ने लख काट्छन्। दुब्ला पातलाप्रति किन यतिको पूर्वाग्रह राख्छन् मान्छे? पाइलैपिच्छे दुब्लापातलाले ‘मानसिक हिंसा’ भोग्नुपर्छ।

जिरो फिगर हुनेलाई भन्दा पनि मजस्ता माइनस फिगर हुनेलाई झनै गाह्रो छ, यो कलियुगमा।

अरु त अरु, राज्यको चौथो अंग भनिएकाहरुले पनि हामी दुब्लाहरुको विषयमा कहिल्यै केही सोचेनन्। आजसम्म जतिपनि विज्ञापन बन्यो त्यो सबै मोटाहरुका लागि मात्रै बन्यो। कसरी दुब्लाउने/स्लिम बन्ने भन्ने विषयमा। दुब्लाहरुले कसरी मोटाउने भन्ने विषयमा आजसम्म कुनैपनि सामग्री उत्पादन भएनन्। आवाजविहीनहरुको आवाज भनिएका सञ्चारमाध्यमले पनि हुनेखाने सम्पन्न देखिने मोटाहरुको आवाजमात्रै बोलिदिए। हामीजस्ता पीडितहरुको पक्षमा कसले बोलिदिने्? पटकपटक यस विषयमा कुरा उठाउँदा पनि सुनुवाइ भएन। र अझै हुने छाँटकाँट देख्दिनँ।

मान्छे आदर्श छाँट्छ...भन्छ, ‘शारीरिक बनोटका आधारमा होइन, उसको सोचाइ हेरेर मूल्याङ्कन गर्नुपर्छ।’ तर व्यवहारमा भने जुनसुकै व्यक्तिको पनि पहिलो टिप्पणी शारीरिक बनोटकै आधारमा गर्छ मान्छेले। कति दुब्ली, मोटी, काली, गोरी, अग्ली, होची, आदिआदि। बढि मोटो वा दुब्लो भएकै कारण जागीर पाउन मुस्किल मात्रै होइन, काम गरेको ठाउँमा काम छोड्न अप्रत्यक्ष रुपमा दबाब आउने गरेको दुब्ली/मोटीहरु सुनाउँछन्।

कुनैपनि व्यक्तिलाई बढी मोटी वा दुब्ली भएकै आधारमा गरिने अनावश्यक टिप्पणीका कारण उनीहरुमा गम्भीर मानसिक असर पर्ने मनोविद्हरु बताउँछन्। यस्ता टिप्पणीले उनीहरुमा जीवनप्रति निराशा बढ्ने गर्दछ।

यी सारा पीडाका बाबजूद हामीजस्ता दुब्लाहरु पढाइमा अब्बल, काममा उत्कृष्ट बन्नु अनि हाँसीखुसी बाँच्नसक्नु गौरवको विषय हो। सरकारले यसको उचित मूल्याङ्कन गरोस्।

र अन्त्यमा नेपालमा सन् २०११ को जनस्वास्थ्य सर्वेक्षणअनुसार १२ प्रतिशत शिशु कम तौलका जन्मिन्छन्। आमाले पर्याप्त पोषण नपाएकाले कमतौलका शिशुलाई जन्मदिने गरेको डाक्टरहरुको भनाइ छ। जसमा मधेश र हिमाली क्षेत्रका महिला तथा बालबालिका बढी छन्। त्यसैगरी किशोर किशोरी पनि कुपोषणको शिकार भएको अध्ययनले देखाएको छ। उनीहरूमध्ये ४२ प्रतिशत किशोरी रक्तअल्पताको शिकार भएका छन्।

(यो ब्लग तयार गर्नुअघि मैले राष्ट्रिय दुब्लापातला कल्याण संघका अध्यक्षसँग पनि संवाद गरेकी थिएँ)

प्रकाशित १२ बैशाख २०७५, बुधबार | 2018-04-25 09:42:14
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...

  • नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

    हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?

    जनताले फालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर नेपालमा हामीले अत्यन्त उदार,...

  • दुबर्इमा पक्राउ परेका बेनु श्रेष्ठ (बायाँ) इन्टरपाेल पुलिसकाे नियन्त्रणमा

    इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा: ‘ठूला माछा’ बयान बाहिर

    प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले...