चीन र भारतमा लुप्त नेपालीको रेल सपना





छिङ्हाइ–तिब्बत रेल
छिङ्हाइ–तिब्बत रेल
चाइना डेली

यस्ता परियोजनामा व्यर्थ खर्च गरेर अरू परियोजनामा आँखा चिम्लेर बस्दा कतै हाम्रो समृद्धिको सपना दरिद्रतामा रूपान्तरण हुने हो कि?

NIC ASIA

रेलमार्ग जोड्न छिमेकीबीच प्रतिष्पर्धा... तपाईं चीन वा भारतमध्ये कसको रेल चढ्ने? के अब नेपालमा रेल चल्ने नै भएको हो त? दुई तीन वर्षमा नेपालमा रेल कुद्ने निश्चित संभावना... कुन देशको रेल कति आधुनिक? भारत र चीनको रेलवे गेजको असर के? यस्ता यस्ता चिन्ता र चासो सुनेर केही दिनदेखि धेरैको मनपेट भरिएको होला।

वर्षौं भयो, नेपालमा रेल कुदाउने हल्ला चलेको। कहिले चीनले संकेत गर्छ, कहिले भारतले संकेत गर्छ कि नेपालमा रेल गुड्न सक्छ। चिनियाँ प्रविधि र अनुभवले हिमाल पार गर्नसक्छ, भारतको इच्छाशक्तिले नेपालीको रेल चाहना पूरा हुनसक्छ। जम्माजम्मी दुईवटा छिमेकीले नेपालीको रेल चाहना कहिले पूरा गरिदिने हुन्? बेला बेला राजनीतिक दलहरू वा स्थानीय तहका अगुवाहरू पनि छुस्स छुस्स रेल र मोनोरेलका कुरा उठाएर चीन र भारतद्वारा प्रस्तुत लालसामा सुगन्ध भरिदिन्छन्। त्यसबाट पनि केही दिन त मीठै निद्रा पर्छ, रेलै सररर...

उत्तरी छिमेकीले सन् २०२० सम्म तिब्बतबाट नेपालको सीमा केरूङसम्म रेल पुर्याउने घोषणा गर्छ, र पनि काठमाडौं आनन्दमग्न हुन्छ। त्यहाँबाट काठमाडौं आइपुग्न जम्मा ११० किलोमिटर मात्रै लाग्छ भन्ने प्रस्ताव मात्रै सुन्यो कि कानमा सारेगम गुञ्जिएजस्तै हुन्छ। प्रधानमन्त्रीको भारत भ्रमण हुँदा भारतीय रेल काठमाडौं ल्याउने सम्झौता के भएथ्यो, मानौं रेल त बिहान नब्युझिँदै कुद्न थालिसकेछ। खुशी हुनलाई ठोस कुरा नचाहिने रैछ, अमूर्त कुराले पनि नेपालीको छाती ढक्क फुल्नसक्छ। त्यसैले त विदेशीले भनेका होलान्, नेपालीहरू गरिबी र अभावमा पिल्सिए पनि दिल खोलेर हाँस्न सक्छन्।

रेलजन्य खुशी छिमेकीप्रदत्त हुनेछ। मौलिक ल्याकतको कुरा हैन। यो खुशीका लागि नेपाली पराश्रित हुनुपर्नेछ। जे गर्छन्, सबै उनीहरूले गर्छन् र हामीलाई खुशी पार्छन्। कहिलेकाहीं राजनीतिक दलहरूले पनि खुशी पार्छन्। जस्तो कि वामपन्थी गठवन्धनले पूर्व–पश्चिम रेल, रसुवागढी–काठमाडौं–पोखरा, लुम्बिनी, काठमाडौं–वीरगन्ज रेलमार्ग ५ वर्षभित्रै बनाइवरी कुदाउने भनेर बाँडेको पछिल्लो मीठो सपना हो। अहिले त उनीहरूकै सरकार छ, चाहे भने त्यो खुशी दिन पनि सक्लान्।

बेला बेलामा खबरहरू पनि सुनिन्छन्, रसुवागढी–काठमाण्डौं रेलमार्गमा संभाव्यता अध्ययन गर्ने दुई वर्षको योजना छ। नेपालमा १४ वर्षमा ४ किलोमिटर बाटो बन्छ भन्ने सुनेपछि एकछिन मन चसक्क भएपनि खुशी हुन करै लाग्छ। चिनियाँले रेलमार्गका लागि ९० प्रतिशत सुरुङ र पुलहरु बनाउने प्रस्ताव गर्छ, नेपालले ती संरचना बनाउनका लागि कति सजिलै वातावरण बनाउन सक्छ भन्ने कुरा त अनुमान गर्ने मात्रै हो। तीव्र गतिमा रेल लिग बनाउन माहिर, सुरुङ खन्न र पुल जोड्न खारिएका चिनियाँको अनुभव हामीमाथि खनिएपछि प्रतिकिलोमिटर तीन अर्ब रुपैंयाँको लागत र सय किलोमिटरको तीन खर्ब रुपैयाँको रेलमार्ग लागतले पनि नेपालीहरू पिरोलिँदैनौं।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला चीनभन्दा अघि बढेर भारतले नेपालमा रेल दिने वाचा गर्यो। दुई वर्षमै चिनियाँ रेल नेपालको सीमामा पुग्न नखोज्दै भारतले काठमाडौंसम्म ल्याइपुर्याइदिने भो भन्दा यस्तो लाग्यो मानौं, दुई छिमेकीको लाडप्यारले नेपाल रेलमय भयो। उनीहरूको प्रतिष्पर्धाले नेपालको जमीन उर्वर र उत्पादनशील भयो। रेल चढ्न लालायित नेपाली ज्यानले रेलको टिकट बुक गरिसक्यो, कतिलाई त डर पनि लाग्यो, कतै भारत र चीनबाट आउने रेल काठमाडौंमा जुध्ने त हैनन्?

चीन र भारतको रेल नेपालमा कुद्न थालेपछि नेपालीले यात्रा गर्न पाउलान्। दुई देशका रेलहरू यता र उता कुद्लान्। एक देशका मालसामान अर्को देशमा निर्यात होलान्। नेपालले बेच्ने के? उत्पादनको परिमाण के, उत्पादनको गुणस्तर के? उतिखेर नेताहरू भन्ने गर्थे, राजनीतिक संक्रमण सकिएपछि विकास हुन्छ, संक्रमण सकिएपछिको नेपालको हालको विकासको रफ्तार के? अहिले नेताहरू भन्नसक्छन्, पहिला रेल कुदोस् अनि उत्पादनतर्फ केन्द्रित होऔंला।

दुवै देशले नेपालमा रेल निःशूल्क दान गर्ने त हैनन् होला। ऋण, अनुदान वा अन्य कुनै तरीकाले उनीहरूले असुल्छन् नै। तर ऋण निखन्न नसकेर कतै हामी दुवै देशको दासत्वमा पिल्सिन त पुग्दैनौं? दुवै देशले व्यापार गर्छन्, उनीहरूसँग त बेच्ने चीज छ, किन्ने पैसा पनि छ। हामी बिचौलियाका रूपमा कति कमाउन सकौंला?

हामी निरन्तर दुई देशका लागि सुरक्षा कवज भएर कति रहन सकौंला? उनीहरूले कारण–अकारण बहाना झिक्लान्, मनमुटाव चल्ला, मध्यस्थता गरेर हामी कति दिन बसौंला? रेल बनाउनका लागि उनीहरूले समयसीमा देलान्, हामी मुआब्जा वितरणका लागि कति अन्तरकलहमा रूमल्लिरहौंला? रेल बनिसकेपछि हुने मानवीय तथा प्राकृतिक विपत्ति र क्षति कसरी सामना गर्न सकौंला? रातारात समृद्ध हुने चाहनाले रोपेको रेलको बीउले विषवृक्षको रूप लियो भने कसरी झाँटौला?

लौ अरे, यी त भवितव्यका कुरा भए, तर पहिला रेल बन्ने वातावरण बनाउनकै लागि नेपालले कति वर्ष मेहनत गर्नुपर्ला? हाम्रो दुवै छिमेकीले बाँडेको रेल सपनाबाट कहिले भावी परिणतिप्रति दृष्टि लगाउन सकौंला? छिमेकीले अड्को थाप्न थाले भने व्यवस्थापन कसरी गरौंला? परजीवि स्वभावबाट हामी अर्काको खुशी कसरी भित्र्याउन सकौंला? नेपालमा रेल गुड्ने युगौंको यो मृगतृष्णाबाट कहिले उन्मुक्त होऔंला? दीर्घकालीन परियोजना सरकारेपिच्छे अड्किने र फुक्ने गर्छन्, जुन सरकार जन्मेपनि समयअनुरूप पूरा गर्ने इच्छाशक्ति नहुने हो भने वर्षौं गुजारेका हाम्रा पुराना परियोजनाले पनि प्रस्ट्याइरहेछन्।

यस्ता परियोजनामा व्यर्थ खर्च गरेर अरू परियोजनामा आँखा चिम्लेर बस्दा कतै हाम्रो समृद्धिको सपना दरिद्रतामा रूपान्तरण हुने हो कि?

प्रकाशित २८ चैत २०७४, बुधबार | 2018-04-11 17:57:30
Max TV
Max TV
Zen Travels

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi

लक्ष्मी लम्सालबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • काठमाडौँ आइपुग्नासाथ पशुपतिनाथमा बाजपेयी, साथमा मन्त्री वाग्ले (पछाडि) र रतीन्द्र क्षेत्री (दायाँ-कालो भादगाउँले टोपीमा)

    बाजपेयीले नगरकोट रिट्रिट जान नमानेपछि

    मुसर्रफसँग हात मिलाउनु परेको घटनाका कारण आफ्नो भन्दा मुसर्रफको व्यक्तित्व बढेको र आफूले सम्बोधन गर्दैगर्दा धर्मराएको घटनाले बाजपेयीलाई नर्भस बनायो।...

  • काेशी ब्यारेज

    काेशी ब्यारेजलार्इ काेबाट खतरा: अातंककारी समूह कि स्वयं भारत?

    सन् २०१६ को जुलाई महिनामा एउटा खबर भारतीय मिडियामा आयो। त्यसको सारांश थियो, ‘कोशी ब्यारेज बमले उडाउने अन्तर्राष्ट्रिय आतंकवादी संगठन आईएसको धम्की।’

  • नेपालमा पहिलो पटक म्याच फिक्सिङ सम्बन्धी कानुन, यस्तो हुनेछ सजाय

    नेपालमा पहिलोपटक म्याच फिक्सिङ(खेल मिलोमतो) सम्बन्धी कानुन लागु भएको छ।

  • नख्खु कारागार

    थुनामुक्त भएकाे डेढ वर्षसम्म पनि कारागारमै गौबहादुर

    उनी हरेक दिन आफूलाई लिन आउने परिवारका सदस्यको बाटो रुघेर बस्छन्। ब्लकका अन्य कैदीबन्दीलाई उनी ‘आजै आफू घर जाने’ भनेर सुनाउँछन्। तर, उनलाई लिन कोही...