ब्लग

लोकतन्त्र कति लोकतान्त्रिक?

लाेकतन्त्रले पक्ष वा विपक्षमा कति मान्छे छन् देखाउँछ तर सही/गलत ठम्याउँदैन





यदि हामीले विवेक प्रयोग गर्न सक्ने हो भने लोकतन्त्र उत्कृष्ट बनाउन सकिँदैन।

मैले जीवन भर यहि सुनेको थिएँ र यही नै बुझी रहेँ, 'लोकतन्त्रको कुनै विकल्प छैन।' म लोकतन्त्रको विकल्प छैन भन्नेमा विश्वस्थ हुदै गएँ। सानैदेखि मलाई समाचार हेर्न मन लाग्थ्यो। राजनीति प्रति मेरो चासो अनि सक्रियता जन्मजात नै हो की भन्ने लाग्छ अाजभाेलि। कक्षा तीनमा हुँदा मैले एकदिन पुर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको अन्तर्वार्ता हेरेको थिएँ। उहाँले त्यतिबेला 'प्रजातन्त्र' र 'जनताको साशन' भन्ने शब्दहरु बारम्बार दोहोर्याउनु भएकाे थियाे। मलाई नेपालको राजनीतिको निकै नराम्रो छाप परेको थियो। त्यतिबेला मलाइ अानन्दित पार्ने यी दुइ शब्द थिए, 'प्रजातन्त्र' र 'जनताको साशान। त्यहि बेला मैले निर्णय गरे, अब म एक लोकतन्त्रवादी मान्छे हुँ। जति ठूलो हुँदै गएँ लोकतन्त्रप्रतिको विश्वास झन् गहिरो हुँदै गयो। म लोकतन्त्रको विद्यार्थी बन्दै गएँ। राजनैतिक विशेषज्ञहरुको लेख नछुटाई पढ्न थालेँ। लेखकहरु नै लोकतन्त्रको पक्षधर थिए वा मेरो छनौटमा त्यस्तै विचार पर्थे, म लोकतन्त्रको अखबारे विद्यार्थी बनेँ।

लोकतन्त्रको अध्यन गर्दै जाँदा, मलाई अमेरिका भन्ने राष्ट्र निकै रोचक लग्यो। त्यहाँकाे शासकीय जग नै लाेकतान्त्रिक रहेछ। अमेरिकाका जनताहरु पनि लोकतन्त्रप्रति निकै संवेदनशील रहेकाे पाएँ। जनता र राज्य दुवै लोकतन्त्रको कुनै पनि सिद्धान्त नमिचियोस् भन्ने मान्यता राख्दा रहेछन्। यी सबै तत्थ्यहरु सुनेपछि म अमेरिकाप्रति निकै आकर्षित भएँ। कुनै दिन अमेरिका गएर यी सबै कुराहरु आझ नजिकबाट अवलोकन गर्न पाउँछु भन्ने मेराे सपना बन्याे।सायद लोकतन्त्र प्रतिको त्यो गहिरो आकर्षणले गर्दा होला, म १४ वर्षको उमेरमा हुँदा अमेरिका पुगेँ। माध्यमिक विद्यालय र उच्च माध्यमिक विद्यालय पनि अमेरिकामै पढ्ने मौका पाएँ। उच्च माध्यमिक विद्यालय स्नातक गर्दासम्म अमेरिका लोकतान्त्रिक अभियान पनि एकदमै राम्रोसँग अवलोकन गर्न पाएँ। जति लोकतन्त्रलाई नजिकबाट हेर्दै गएँ, त्यति त्यसप्रति अाकर्षणकाे डिग्री बढ्दै गयाे।

कलेज पढ्दै गर्दा राजनीतिक विश्लेषण भन्ने एउटा ६ महिने क्लास लिएको थिएँ। त्यो क्लासमा पनि प्राय: लोकतन्त्रकै पक्षमा कुरा हुने गर्दथ्यो। एक दिन त्यो विषय पढाउने प्रोफेसर अनुपस्थित हुनुभयाे। उहाँको सट्टा एक जना ‘सब्सटिट्यूट् प्रोफेसर’ कक्षामा अाउनुभयाे। कक्षामा आउन साथ उहाँले हामी मध्ये कतिजना दायाँ हाते छौँ र कति जना बायाँ हाते छौँ भनेर सोध्नुभयो। म अचम्ममा परेँ। किन येस्तो प्रस्न सोधेको होला भनेर। कक्षामा ३३ जना विद्यार्थी मध्ये ३० जना दायाँ हाते र ३ जना बायाँ हाते रहेछाैं।

पछि उहाँले लोकतन्त्रबारे धमाधम पढाउन थाल्नुभयो। याे विषयमा धेरै छलफल र अन्तरक्रिया पनि भयाे। उहाँ लोकतन्त्रका विशेषताबारे केन्द्रित हुनुहुन्थ्याे। अब्राहम लिंकनले दिएका लोकतन्त्रको परिभाषादेखि नेलसन मण्डेला र महात्मा गान्धीको लोकतान्त्रिक संघर्षसम्म छलफल भयाे। लोकतन्त्र कै जगमा निर्माण भएको मुलुक भएको हुनाले होला, लोकतन्त्रविरुद्धमा कसैको तर्क भयो कि कक्षाका प्राय: सबै जनाको रगत उम्लिएर आउँथ्यो। कोही पनि लोकतन्त्रविरुद्धमा केही सुन्नै तयार थिएनन्।

कक्षाको अन्तिममा उहाँले सोध्नुभयो, 'तपाइँहरुमध्ये कति जना लोकतन्त्रको पक्ष हुनुहुन्छ?' कक्षामा भएका सबैले हात उठाए। उहाँ मुसुक्क हास्नुभयो र भन्नुभयो, 'ल तपाईहरुले मेरो काम निक्कै सजिलो बनाइदिनु भयो। तपाईहरुको प्रोफेसरले मलाई, तपाईहरुको कक्षामा भएको सहभागिता बमोजिम १ देखि १० सम्ममा एउटा अंक दिनु भन्नुभएको छ। त्यो अंक तपाईहरुको अन्तिम परीक्षामा जोडिने छ। तर तपाइँहरु सबैले लोकतन्त्रमा विश्वास राख्ने भएकोले, म यसलाई एउटा लोकतान्त्रिक अभियान बनाउँछु। म तपाइँहरु सामु एउटा प्रस्ताव प्रस्तुत गर्छु। त्यो प्रस्ताव मन्जुर छ कि छैन तपाईहरुको निर्णय हुनेछ।'

उहाँले कक्षामा भएका सम्पूर्ण दायाँ हातेलाई १० मा १० दिन्छु, र सन्तुलन मिलाउनको लागि सम्पूर्ण बायाँ हातेलाई १० म १ दिन्छु।

अनि उहाँले सोध्नुभयो, 'ल अब भन्नुहोस यो प्रस्ताव कति जनालाई मन्जुर छ?' ३३ मध्ये सबै ३० जना दायाँहातेले हात उठाए। 

त्यसपछि अन्त्यमा उहाँले भन्नुभयो, 'लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण तत्व बहुमत र समानताको कदर गर्नु हो। बहुमतको कदर गर्नु भनेको जनताको पक्षमा निर्णय गर्नु हो। त्यसैले सामान्यतया लोकतन्त्रवादी मुलुकहरु महत्वपूर्ण नीति नाथ निर्णय पारित गर्न जनमत संग्रह गर्छन्। तर यदि बहुमतको कदर गर्नु भनेको जनताको पक्षमा निर्णय गर्नु हो भने, के जनमत संग्रह साचिकै लोकतन्त्रवादी छ त? हाम्रो कक्षामा जनमत संग्रहले समानताको कदर गरेन। त्यसैले जनमत संग्रह लोकतान्त्रिक छैन, र यदि जनमत संग्रह लोकतान्त्रिक छैन भने लोकतन्त्र पनि लोकतान्त्रिक छैन।'

यसैगरी अल्पसंख्यामा रहेका जनताको आवाज बहुमत भएको वर्गको आवाजमा दबिने गर्दछ। सानो आवाज जति नै जायज भए पनि ठूलो आवाजको अगाडि स्वतः हराउँछ। यदि विभिन्न समूह-समूहमा विभाजन गरी यी आवाजहरु सुन्ने प्रयास गरेमा हरेक आवाज सजिलै सुन्न सकिन्छ। त्यसैले लोकतन्त्रलाई समावेसी बनाउन शक्ति पृथकीकरण र संघीयताको अत्यन्त आवस्यक पर्दछ। ताकि, लोकतान्त्रिक अभ्यासले समेट्न नसकेको आवाज सरकार वा संसद बाहेक अर्को पक्ष अदालतले समेटोस्। अनि, त्यसले पनि समेट्न नसकेको आवाज नागरिक समाज अनि प्रेसले प्रतिनिधित्व गरोस्।

संघीयताले देशभरमा भएको निर्वाचनमा छुटेको आवाजलाई प्रदेशको नाममा समेट्ने प्रयास गर्छ। नेपालको हकमा प्रदेश २ ले राष्ट्रिय रुपमा नपाएको नेतृत्व संघियताले दिलाएको छ। हिजोसम्म उपेक्षामा परेको कर्णाली आज प्रदेशको रुपमा आफ्नो खुट्टामा उभिएको छ। नेपालको परिपेक्षमा, यदि स्थानीयको आवाज दबिएको महसुस भएमा ती आवाजलाई राष्ट्रिय सरकार सम्म पुराउने कर्तब्य प्रदेश एवं स्थानीय सरकारको हुन्छ, चाहे त्यो मधेशी समुदायका जनताहरु को पहिचान बचाउने संघर्ष होस् वा नेवारी समुदायका जनताहरुको नेवारी सभ्यता बचाउने संघर्ष। यसले अल्पसंख्यक जनताको अवाजलाई अज बढी शक्तिशाली बनाउँछ ।

तसर्थ, लोकतन्त्रले मुद्दाको पक्षमा धेरै मानिस छन् कि कम मानिस छन् भनेर हेर्न सक्दो रहेछ तर सहि र गलत लोकतन्त्रले छुट्याउने होइन रहेछ। त्यसैले लोकतन्त्रमा नेतृत्व अनि नागरिकले ठूलो भूमिका हुने रहेछ। लोकतन्त्र आफैँमा सर्वउत्कृष्ट प्रणाली होइन रहेछ। तर यदि हामीले विवेक प्रयोग गर्न सक्ने हो भने लोकतन्त्र उत्कृष्ट बनाउन सकिने रहेछ। तसर्थ, लोकतन्त्रको कमजोरी बुझेपछि मेरो लोकतन्त्र प्रतिको विश्वास झन् बढेको छ। आज लोकतन्त्रलाई बलियाे बनाउन म नागरिकको तर्फबाट अघि सर्नेछु अनि लोकतन्त्रलाई लोकतान्त्रिक बनाउने छु।

प्रकाशित २३ चैत २०७४, शुक्रबार | 2018-04-06 14:25:42


author photo

सस्मित पोखरेल विवेकशील साझा पार्टीमा आवद्ध छन्

सस्मित पोखरेलबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • बामदेव गौतम

    बामदेव गौतमसँग अन्तर्वार्ताः ओली वाम विमानको मास्टर पाइलट, प्रचण्ड पाइलट, हामी को-पाइलट

    केपीसँग त मेरो ‘दोस्ताना’ हो, त्यस्तो ‘दोस्ताना’ माधबसँग कहिलेपनि भएन। सँगै रक्सी खानेदेखि लिएर रुनेसम्म हामीले गर्‍यौं। मलाई कार्वाहीको माग...

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालन, दैनिक कार्य प्रगतिको इमेल मन्त्रीलाई (भिडियाे)

    नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि २१ घन्टा सञ्चालनमा आएको छ।

  • बजेटको आन्तरिक स्रोत बलियो बनाउने सरकारको नीति

    सरकारले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आन्तरिक उत्पादनमा बलियो बनाउने योजना घोषणा गरेको छ।

  • प्रेरणा र उनका बुबा पुरुषाेत्तम

    आँशु झार्दै बुबाको प्रश्नः के मेरी छोरीले 'सेलेक्सन' खेल्न पाउने अधिकार छैन्? (भिडियो)

    ‘प्रेरणा कोइराला बनाउन हामीले चारवर्ष निरन्तर मेहनत गरेका छौ। पानी, वर्षा केही भनेनाैं, हामी रातदिन लागि रा’छौं, तर संघ (नेपाल लन टेनिस संघ) जसले...