ब्लग

कुराले चिउरा भिज्दैन प्रधानमन्त्री ज्यू


Infocus



राजधानी शहरमै पर्याप्त सार्वजनिक शौचालय नभएको देशको प्रधानमन्त्री भनेर विश्वमा आफूलाई चिनाउनुपर्दा अलिकति लाज, अनि अप्ठ्यारो त लाग्दो हो नि, हैन?

सम्माननीय प्रधानमन्त्री ज्यू नमस्कार,

आशा छ, सन्चै हुनुहुन्छ।

यताको खबर ठिकै छ। जीन्दगी जसोतसो चलेकै छ भन्नुपर्छ। खप्पर बलियै रछ, बाँचेका छौं अहिलेसम्म।

भन्छन्, अघिको तितो पछिको मिठो राम्रो। सुरुमै समस्याका पोका फुकाउनतिर लागें।

चार साता भयो, धारामा पानी आएको छैन। प्रतिजार ५० रुपैयाँका दरले खाना बनाउनदेखि भाँडा माझ्न र कपडा धुन अनि ट्वाइलेट बाथरुमका लागि पनि पानी चलाइरहेका छौं।

एकमनले सोचें आँगनमा जोडेको पाइप काटेर फालिदिउँ, पानी नै नआउने धारो के काम? फेरि अर्को मनले सोचें, सरकारी सम्पत्ति हो, नाश गर्नु हुँदैन। अनि उसै छोडिदिएँ।

हरेक पटक पानी सार्दा अम्खोरामा हेर्छु अनि जारमा। अनि पल्लोपटी बसेर लोकसेवाको तयारी गरिरहेकी बहिनीलाई हेर्छु। ऊ रटिरहेकी छे, ‘नेपाल जलश्रोतको दोश्रो धनी देश हो।’

घरबेटीलाई गुनासो गरेको, पल्लो गाउँमा पनि पानी नआएको कुरा सुनाएर हिंडे। तर हरेक महिना हामीले पानी बापत् तिर्नुपर्ने १०० रुपैयाँ (प्रति परिवार) तिरिरहेका छौं।

पल्लो कोठाकी साथी हरेक शुक्रबार, झोलाभरी लुगा कोचेर मामाघर जान्छे। नुहाउन र कपडा धुन। त्यताचाहिँ धारामा पानी आउँदै रहेछ। पानीकै कुराले कोठा सर्ने विषयमा पनि छलफल गर्यौं, तर वरपरका टोलको पनि हालत त्यस्तै भएको सुनेपछि त्यो योजना स्थगित भएको छ अहिले।

थाहा छैन, तपाईंको घरको धारामा पानी नआउने हुन्छ कि, हुँदैन। बाथरुममा हाम्रोमा जस्तै जारकै पानी लैजानुपर्छ कि, पाइप लाइनबाटै आउँछ। हुन त तपाईं पानीबाट मात्रै होइन, हावाबाट पनि विजुली निकाल्ने योजना भएको मान्छे। तर सातामा एकपटक पनि धारामा पानी नआउने भएपछि हामीलाई चाहिँ दैनिकी चलाउन निकै अप्ठ्यारो भएको छ, प्रधानमन्त्री ज्यू।

पानीजहाज चलाउने योजनामा रहनुभएको तपाईंलाई, हप्तौंसम्म धारामा पानी नआएर दैनिकी चलाउन निकै अप्ठ्यारोमा परेका नागरिकको कुरा सुन्दा पत्यार नलाग्दो हो, सायद। हामीजस्ता सामान्य नागरिकलाई प्रतिजार ५० रुपैयाँका दरले पानी किनेर चलाउन सजिलो पटक्कै छैन।

म नजन्मिँदै चर्चा सुरु भएको, सबैले भन्ने गरेको र आशा गरेको मेलम्चीको पानी मेरै जीवनकालमा आउँछ कि आउँदैन, म त्यति ढुक्क छैन। अनि आइहाले पनि राजधानी बस्ने कति जनताले उपभोग गर्न पाउँछन्, त्यो अर्को छलफलको विषय बन्ला। जे होस्, वर्षौंदेखिको प्यास मेटाउन हामी काठमाडौं बस्नेहरुले धित मरुन्जेल धुलो भने पिइरहेका छौं। दुःखको कुरा त्यो सौभाग्य तपाईंले पाउनुभएको छैन। किनकी तपाईं त सिसावाल गाडीमा हुँइकिनुहुन्छ।

000

केहीदिन अघि एकजना साथीले ट्वीट गर्नुभयो, ‘मैले अहिलेसम्म आफू र देश दुवैका लागि देखेको सबैभन्दा ठूलो सपनाः सप्पै ठालु नेताहरुलाई गर्मीमा फुच्चे माइक्रोमा कोच्ने र काठमाडौं घुमाउने। ताकी तिनीहरु एकअर्काका काखीमुनिको दुर्गन्धले निसास्सिएर मरुन्। जो बाँचेर ओर्लन्छन्, तिनले सार्वजनिक यातायातको सुधार गरुन्।’

मैले अहिलेसम्म आफू र देश दुवैका लागि देखेको सबैभन्दा 'ठूलो' सपनाः सप्पै 'ठालु' नेताहरूलाई गर्मीमा फुच्चे माइक्रोमा कोच्ने र काठमाडौँ घुमाउने। ताकी तिनीहरू एकअर्काका काँखीमुनिको दुर्गन्धले निसास्सिएर मरून्। जो बाँचेर ओर्लन्छन्, तिनले सार्वजनिक यातायातको सुधार गरून्।
सरी, अति भएर।

ट्वीट पढेपछि लाग्यो मेरै मनको कुरा लेखिदिनुभयो। अनि रिट्वीट गरें। उहाँले ट्वीटरमा आफ्नो फ्यान फलोअर्स बढाउन त्यस्तो ट्वीट गर्नुभएको होइन, अनि धेरैभन्दा धेरै रिट्वीट होस् भन्ने चाहना पनि होइन उहाँको। हरेक दिन सार्वजनिक यातायातमा यात्रा गर्ने हजारौं नागरिकको पीडा हो, यो। अनि त्यही पीडाबाट उत्पन्न आक्रोश त्यो ट्वीटमा व्यक्त भएको हो।

त्यही ट्वीटमा अर्का एकजना साथीले जवाफ लेख्नुभयो, ‘मलाईचाहिँ मुग्लिन–नारायणगढको बाटो बन्नुअघि ट्याक्टरमा राखेर हिंडाउनु छ। जो बाँच्न सफल हुन्छ उसले थाहा पाओस्, कति सास्ती भोग्नु पर्ने रैछ। र अर्कोपटकबाट काम छिटो र वैज्ञानिक ढंगले गर्ने वातावरण बनोस्।’

थाहा पाउनु नै भएको होला, तेस्रो पटक थपेको समयमा पनि काम नसकिएपछि मुग्लिन–नारायणगढको बाटो बनाउन फेरि तीन वर्षको समय थप गर्न माग गरिएको छ रे। मैले पछिल्लो पटक केही दिनअघि मात्रै त्यो सौभाग्य पाएँ, मुग्लिन–नारायणगढको बाटो हिंड्ने। मौका मिल्यो भने तपाईंले पनि त्यो अवसर नछुटाउनुहोला। रेल कुदाउने तपाईंको सपनालाई पक्कै त्यसले केही मद्दत गर्नेछ।

केही दिनको पेरिफेरिमा अर्का एकजना सरले फेशबुकमा स्टाटस लेख्नुभयो, ‘म सोच्छु, सडक विभागका हाकिमहरु सडक प्रयोग गर्छन् कि गर्दैनन्? धुलो र दयनीय अवस्थाको सडक हेर्दा आत्मग्लानी हुन्छ कि हुँदैन? लाजको पसारो।’

मैले माथि उल्लेख गरेका यी यस्ता ट्वीट र स्टाटस त केही उदाहरण मात्रै हुन्। धुलो, धुँवा र अस्तव्यस्त सडकका विषयमा दैनिक सयौंका सयौं गुनासा सामाजिक सञ्जालमा पढ्न पाइन्छ। केही गुनासा हेल्लो सरकारसम्म पनि पुग्छ। थाहा छैन, भर्खर प्रधानमन्त्री बन्नु भएको र मन्त्री परिषद् विस्तार गर्न पनि नभ्याउनु भएको तपाईंले यस्ता गुनासा पढ्ने मौका पाउनुभएको छ कि छैन। र यो पनि थाहा छैन, तपाईंसँग नागरिकका यी यस्ता गुनासा सुन्ने र पढ्ने समय हुन्छ कि हुँदैन।

विभिन्न उत्सव, महोत्सव सम्बोधन, शिलान्याश र उद्घाटनका कार्यक्रम सकेर थोरै समय बच्यो भने हाम्रा यस्ता पीडाहरु सुनिदिनुस् न है, प्रधानमन्त्री ज्यू। कहीलेकाहीँ हाम्रा यस्ता गुनासाका विषयमा हेल्लो सरकारले पत्र काटेर चलानी नम्बर मेन्सन गर्दिन्छ। तर समस्या २० को १९ भएको छैन।

अँ साँच्ची, तपाईं त काठमाडौंमा मेट्रो रेल चलाउने योजना भएको मान्छे। आज होइन, अघिल्लै पटक प्रधानमन्त्री भएका बेला। सुन्दा त साह्रै गज्जव लाग्छ। हामीलाई पनि मेट्रो रेल चढ्ने रहर नभएको कहाँ हो र? तर ठेलमठेल गरेर, माइक्रो र बसको ढोकामा झुन्डिएर, घण्टौं जाममा अल्झेर, धुलो र धुँवा खाँदै यात्रा गर्नुपर्ने बाध्यतामा रहेका हामीलाई मेट्रो रेलको सपना अलि कस्तो कस्तो लाग्ने के।

प्रधानमन्त्री ज्यू, मेट्रो रेल केही वर्षपछि चढौंला, अहिलेचाहिँ सार्वजनिक यातायातको सुधार तर्फ लागौं न, ल? एउटाले अर्काको शरीरमा अढेस लागेर, एउटा खुट्टा टेकेर, अर्को खुट्टा उचालेर यात्रा गर्न साँच्चै, निकै कष्ट हुन्छ। नपत्याए हजुरले पनि कहीलेकाहीँ सार्वजनिक सवारीको आनन्द महसुस गरिस्यो न।

कहीलेकाहीँ त गाडी कुर्दा झन्डै पौने घण्टा, सवा घण्टा नै पर्खनुपर्ने हुन्छ। र, उभिएरै गाडी कुर्नुपर्ने हुन्छ। हाम्रा कुनैपनि बस बिसौनीहरुमा कतै पनि यात्रुले थोरै समय बस्नसक्ने कक्ष छैनन्। हामीजस्ता २५औं वसन्त लाग्दै गरेका जवानहरु त घण्टौं उभिन सकौंला। तर स–साना बालबालिका, गर्भवति महिला र बृद्धबृद्धाहरुलाई निकै गाह्रो हुन्छ। प्रधानमन्त्री ज्यू, मेट्रो रेल ल्याउनुभन्दा पहिला बस बिसौनीहरुमा यात्रुलाई थोरै भएपनि सजिलो हुने व्यवस्था गरौं न, है?

धुलो र धुँवाको त कुरा नगरिस्यो। ज्यान आज हो कि भोली जस्तै हुन्छ। यस्ता ट्वीट र स्टाटस त कति पढ्न पाइन्छ, पाइन्छ।

‘अब लागियो। बाँचे भोली भेटम्ला। धुँवा धुलोले ज्यान लेला जस्तो छ। कोठाको झ्याल ढोका बन्द गरेर बसे पनि खैरियत छैन। माइतिघर मण्डला।’

‘उच्च धुलो र जाम यो काठमाडौंको गौरव हो। यो विशेषतालाई जोगाइ पाउँ सरकार।’

यस्ता बिन्ति पत्रहरु पनि थुप्रै कोरिन्छन्, सरकारका नाममा।

000

केहीदिनअघि पोखराको एउटा कार्यक्रममा तपाईंले साह्रै गज्जवको भाषण गर्नुभएको मैले पनि सुनें। खचाखच भरिएको त्यो हलमा तपाईंको भाषण सुनेर नहाँस्नेहरु कमै थिए। २६ मिनेट लामो भाषणको अन्तिममा भन्नुभएको थियोः

‘भ्रष्टचार गर्नुछैन, कमिसन लिनुछैन। लोभ लालचबाट मुक्त हुनाले काम गर्न अलि सजिलो छ मलाई। कसैले धम्क्याएर, तर्साएर पनि केही हुँदैन। म धेरैपल्ट मारेर पुर्ने भनेर खाल्टो खनेको ठाउँबाट पनि कसोकसो बचेर फर्केको मान्छे हो। हेलिकप्टरबाट खसेर पनि बँचियो। हेलिकप्टर धुलो पिठो भयो, आफू बाँचियो। गाडी पल्टिन्छ, तै पनि बचिन्छ। मोटरसाइल उछिट्टिन्छ मैलाई केही हुँदैन। किड्नी फेल भयो, एउटाले दियो, थपक्क फेरिदिएँ।’

तपाईंको भाषण सुनेपछि लाग्यो, जीन्दगी त चकाचक तपाईंको चलेको रहेछ। भाग्य त लिएरै आउनुभएको रहेछ नि। तर नि प्रधानमन्त्री ज्यू, तपाईंलाई जस्तै सजिलै, फेल हुने बित्तिकै शरीरका अंगहरु दिने मान्छे छैनन् हाम्रा। अनि ज्वरो आउने वित्तिकै बैंकक जाने औकात पनि छैन हाम्रो। डाक्टरहरु भन्छन्, धुलो र धुँवाले दिनप्रतिदिन हाम्रो स्वास्थ्य जोखिम तर्फ धकेलिंदै छ। अत्यधिक धुलोले नयाँ नयाँ रोगहरु निम्तिँदैछन्। हाम्रा लागि रोग लाग्न नदिनु नै बुद्धिमानी हो।

धुलो, धुँवा नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने जरुरी देखिन्छ। आशा छ, काठमाडौंमा रेल कुद्नुभन्दा पहिले नै हुनेछ यो काम। स्वच्छ वातावरणमा बाँच्न पाउनु हाम्रो अधिकार हो। संविधानमै उल्लेख गरिएको छ यो कुरा। तपाईं संविधान कार्यान्वयनको बाटोमा हुनुहुन्छ। संविधान कार्यान्वयन गर्छु भनेरै भोट माग्नुभएको थियो।

000

सबैको खप्पर तपाईंकैजस्तो कहाँ हुन्छ र? गाडीबाट उछिट्टिएर पनि बाँच्ने। हरेक वर्ष सडक दुर्घटनामा मात्रै दुई हजार नेपालीले अकालमा ज्यान गुमाउँछन्। घाइते हुनेको संख्या त्यो भन्दा निकै बढी छ। तिनका परिवारलाई सम्झिनुहोस् त, कसरी बाँचेका होलान्?

000

महानगरमात्रै होइन, गाउँ र नगर पनि स्मार्ट सिटि बनाउने चक्करमा छन्, अहिले। हप्तादिनअघि मात्रै स्मार्ट सिटिकै विषयमा कुरा हुँदै गर्दा छिमेकी काकीले सोध्नुभयो, ‘नानी, स्मार्ट सिटिमा शौचालयहरु पनि बन्छन् होला नि?’

म हाँसेमात्रै, जवाफ दिइनँ। म आफैं कन्फ्युज छु, हाम्रा गाउँ, नगर र महानगरहरुमा पर्याप्त सार्वजनिक शौचालय मैले मेरै पालामा देख्न पाउँछु वा मेरो छोरीको पुस्ताले पनि शौचालय प्रयोग गर्न कुनै मल, होटल वा रेस्टुरेन्ट नै छिर्नुपर्छ।

झन्डै डेढ महिना अगाडी (पुसको अन्तिम साता हुनुपर्छ) मध्य बानेश्वरमा पैदल हिंड्दै थिएँ, ३०–३२ वर्षकी एकजना महिलाले सोधिन्, ‘बहीनी, यहाँ ट्वाइलेट कहाँ होला?’

हातमा ५–६ महिनाको बच्चा बोकेकी थिइन्। अर्को हातमा झोला। मैले उनलाई ट्वाइलेट देखाइदिन सकिनँ। अनि आफूपनि त्यो ठाउँका लागि नयाँ भएको भन्दै पन्छिएँ। हुन त तपाईं पाइपलाइनबाट घर घरमा ग्यास पु¥याउने योजना भएको मान्छे। तर राजधानी शहरमै पर्याप्त सार्वजनिक शौचालय नभएको देशको प्रधानमन्त्री भनेर विश्वमा आफूलाई चिनाउनुपर्दा अलिकति लाज, अनि अप्ठ्यारो त लाग्दो हो नि, हैन?

नियमित स्वास्थ्य जाँचका लागि देशकै कुनै सरकारी अस्पतालमा पुग्नुहुन्थ्यो भने तपाईंलाई थाहा हुनेथियो, कोही एकजनालाई ‘ढोकामा बसिदेऊ ल’ भनेर ट्वाइलेट जानुपर्ने कुरा। थाइल्याण्डमा त अस्पतालका शौचालयका ढोकाहरुमा चुकुल नहुने भन्ने हुँदैन होला। अनि बिग्रीहाले पनि हाम्रोमा जस्तो वर्षौंसम्म नबनिकन बस्दैनन् होला।

000
भन्ठान्नुहोला, देश बनाउन हिंडेको मान्छेलाई के यस्ता कुरामा अल्झाएको होला? अनि सोच्नेहरुले सोच्लान्, कत्ति नकारात्मक भएको। तर म बाँचेको धरातल यही हो। अनि मजस्तै ३ करोड नेपालीले (तपाईंहरु केही बाहेक) भोगेको दैनिकी यही हो। तपाईंले देखाएका सपना पूरा हुनै नसक्ने भन्ने त होइनन्। विश्वका धेरै देशले धेरै पहिला नै गरिसकेका कामहरु हुन् ति। तर नागरिकको दैनिकीसँग जोडिएको, जीवनसँग जोडिएका यी यस्ता विषयमा सुधार नआइकन हरेक नेपालीको मुहारमा खुशी पुर्याउने तपाईंको महाअभियान सफल हुन सक्दैन।

तपाईंले देखेको सपनामा मैले कुरा काट्न खोजेको होइन। ति सपनाहरु पूरा हुँदैनन् भन्ने सोच ममा छैन पनि। तर कुराले चिउरा भिज्दैन प्रधानमन्त्री ज्यू!

तपाईकै शब्द सापट लिएर भन्नुपर्दा तपाईं निकै भाग्यमानी मान्छे। हामीले भाग्यमानी प्रधानमन्त्री पाएका छौं। तपार्इंलाई त्यो भाग्यमानी नेपाली जनताले बनाइदिएका हुन्। जुन कुरा पटक पटक तपाईं आफैंले भन्दै आउनुभएको छ। भाग्यमानी यसअर्थमा पनि हुनुहुन्छ, यो देशको मुहार फेर्ने जिम्मा नेपाली जनताले तपाईंलाई दिएका छन्। जीवनभरका लागि होइन, केही वर्षका लागि। तर साँच्चै काम गर्ने हो भने परिवर्तनका लागि यो समय पर्याप्त छ। अब तपाईंले बहाना बनाउन पाउनुहुने छैन, काम गर्न दिएनन् भनेर। गरेर देखाउनु पर्नेछ।

म चाहन्छु, मेरो देशको प्रधानमन्त्रीले देखेका सपना पूरा गरुन्। तर नागरिकका सपना नकुल्चिउन्। बोलेको कुरा पूरा गरुन्, तर नागरिकको चाहना बेवास्ता नगरुन्। कुरा मात्रै होइन, काम गरुन्। तपाईं अघि लाग्नुस्, परिवर्तनका लागि जनताले साथ दिनेछन्। परिवर्तन् हाम्रै पालामा सम्भव छ। आगे यहाँको मर्जी।

उही तपाईंको एक नागरिक/एक मतदाता

 

प्रकाशित १४ फागुन २०७४, सोमबार | 2018-02-26 07:59:29
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट उडेकाे एयर एशियाकाे जहाज

    २१ करोड नतिराई एयर एशिया भगाउने को हो?

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीलाई एयर एशिया एक्सले काठमाडौं उडान रोक्दैछ भन्ने कुरा असोज अगाडि नै थाहा भइसकेको थियो।

  • प्रधानमन्त्रीको त्यो निर्देशन जसले एक निर्दाेष विद्यार्थीको भविष्य चौपट बनायो

    मंगलबार बिहान ९ बजे पूर्व एआईजी देवेन्द्र सुवेदीले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टरार्इको ट्विटमा एउटा रिप्लाई दिए।

  • भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी

    मोदीले गढ गुमाउँदाको क्षति कति ठूलो?

    सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा)लाई ऐतिहासिक बहुमत दिलाउन राजस्थान, छत्तिसगढ र मध्यप्रदेशको भूमिका महत्वपूर्ण थियो।

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।