स्वराजको नेपाल भ्रमण: ‘पर्ख र हेर’काे स्थितिमा चीन





विना तयारी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई लिएर नेपालको विश्लेषक क्षेत्र अन्यौलग्रस्त भैरहेका बेला भारतीय संचारमाध्यमहरूले पनि खुलेर नेपालसँगको सम्बन्ध सुधारको संकेत भइरहेको भनेका छन्। यसको अर्थ नेपालसँग भारतको सम्बन्ध बिग्रिएको रहेछ वा भविष्यमा नबिग्रियोस् भन्ने आशय पनि हुनसक्छ। तर आकस्मिक रुपमा भएको भारतीय उच्चपदस्थ राजनीतिक अधिकारीको भ्रमणलाई लिएर अनेकथरि शंका र जिज्ञासा उब्जिनु स्वाभाविकै हो।

नेपालमा निर्वाचन सम्पन्न भएर राष्ट्रिय सभाको पनि निर्वाचनको मिति नजिकिँदै गर्दा भारतीय विदेशमन्त्रीको अप्रत्याशित भ्रमणले राजनीतिक वृत्तमा एक किसिमले हलचल त ल्याएको छ नै। तर त्यो भ्रमणको नियत के हो भन्ने थाहा पाउन केही दिन अड्कल काट्नु र भविष्यमा यथार्थपरक नतिजाका लागि त कुर्नैपर्छ।

विशेष गरी निर्वाचनमा एउटै गठबन्धन बनाएर चुनाव जितेका वामपन्थीहरूको भारतप्रतिको रवैयामा आँच आउला वा भारतले नेपाली राजनीतिमा खेल्नका लागि पूर्वतयारी स्वरूप चाल्न खोजेको गोटी होला? चुनाव लगत्तै एकीकरण गर्ने भनेका एमाले र माओवादी केन्द्रको मिलनमा धेरै खालका तगाराहरू सिर्जना भैरहेका छन् र ती तगाराहरू दैनन्दिन बढ्ने क्रममा छन्।

चुनावमा जाने बेलाजस्तो एकताका लागि तात्तिएका दुबै दलबाट अड्को थाप्ने र अड्को मिलाउने जस्तो अस्वाभाविक नाटक देखिँदै जानुका पछाडि बाह्य शक्तिको हात रहेको उनीहरूकै दलका नेताहरूले भन्न थालेका छन्। एकता प्रक्रियामा ‘लिंगरिङ’ मा जानुमा कतै ‘दाल गल्दै त छैन?’ भनेर शंका गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

गत आम निर्वाचनमा मतदाताहरुले दुई वाम घटकलाई एक हुने जनादेशका साथ जिताएका हुन्। त्यो सरगर्मी यतिखेरसम्ममा सेलाउँदै गएको छ र अन्ततः केही दिनमा सर्वसाधारण मतदाताको मनमस्तिष्कबाट हराउन पनि सक्छ। त्यसो भएमा एकता नगर्नुको अपजश केही मत्थर होला भन्ने लागेको भए बेग्लै कुरा, नत्र एकतामा भएको विलम्वले अग्राख नपलाउला भनेर भन्न सकिँदैन।

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण किनरु भन्ने प्रश्नमा स्वयं परराष्ट्रका अधिकारीहरूले चित्तबुझ्दो उत्तर दिन सकेका छैनन्। त्यसो त भारतीय भित्री चाहना के हो भन्ने कुरा भारतीय राजनीतिक विश्लेषकहरूले छताछुल्ल पारिसकेको त नेपाली राजनीतिज्ञहरूले पहिल्याएकै हुनुपर्छ।

यदि नेताहरूले झुटो बोलेनन् भने यसपटक भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणको उद्देश्य के थियो र के उपलब्धी भयो भन्ने कुरा तत्कालै थाहा होला। नत्र नेपाली जनताले केही दिन धैर्य राख्ने हो भने पनि सारा कुरा उदाङ्गो हुने नै छ। त्यसको प्रमाणको रूपमा वामपन्थीहरूको एकता वा सरकार गठनको विषयलाई लिन सकिनेछ।

भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमण चीनको प्रभाव मत्थर पार्ने दिशामा हो वा आफैंसँगको सम्बन्ध सुधार्ने दिशामा हो भनेर पनि विश्लेषण हुन थालेको छ। यो भ्रमणलाई लिएर तत्कालै चिनियाँ पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया त देखिएको छैन।

चिनियाँ लिपिको ‘वर्ल्ड ह्वानछयौ’ अनलाइनले भारतीय संचारमाध्यमहरूको समाचारलाई अनुवाद मात्रै गरेर प्रस्तुत गरेको छ। भारतीय हिन्दुस्तान टाइम्सको समाचार उधृत गरिएअनुसार भारतले नेपाललाई सहयोगको उच्चविन्दूमा राखेको सन्देश दिनका लागि यो भ्रमण भएको हो। यो भ्रमणको तात्पर्य निर्वाचनपछिको नेपालसँगको सम्बन्ध नयाँ सिराबाट अगाडि बढाउने ध्येय पनि हुनसक्छ।

भारतीय संचारमाध्यमहरूका अनुसार नेपाल–भारत सम्बन्ध यतिखेर तनावको मोडबाट गुज्रिरहेको छ। चुनावमा वाम गठवन्धनको जीतले पनि भारतलाई यस भ्रमणका लागि उत्प्रेरित गरेको हुनसक्छ। भारतका विचारमा अहिले पनि नेपालसँगको सम्बन्ध राम्रो छैन। र, भविष्यमा वामको आगमन भएमा यो भन्दा पनि नराम्रो हुने संकेत देखिँदैछ।

भविष्यमा नेपालको भारतसँगको सम्बन्ध अझ नराम्रो सम्बन्ध हुनसक्ने संभावित कारणमध्ये पूर्व प्रधानमन्त्री केपी शर्मावलीको अपेक्षित पुनरागमन हो। यसअघिको उनको कार्यकालमा भारतसँगको सम्बन्ध अत्यन्तै तिक्ततापूर्ण थियो भने यसको फाइदा चीनले उठाउन भ्याएको थियो।

भारतको ‘इकोनोमिक्स टाइम्स’ ले लेखेको छ: विगत दुई महिनादेखि भारतले नेपालमा बढ्दो चिनियाँ प्रभावका बारेमा गोप्य रूपमा काम गरिरहेको छ। त्यसको एउटा प्रमाण वाम गठवन्धनले चुनाव जित्ने बित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालै फोन गरेर एमाले नेता केपी शर्मा ओलीलाई बधाई दिनु पनि हो भने ती दुई नेताबीच भएका शुभेच्छाका शब्दहरूको आदान प्रदान पनि हो।

युरोपको ‘मोर्डन डिप्लोमेसी वेभसाइट’ ले लेखेको छ: ‘‘नेपालको चीनप्रतिको विश्वास भरोसायोग्य र बलियो छैन। नेपालमा वामपन्थी गठवन्धनको जीत दुब नेताहरू केपी शर्मा ओली र प्रचण्ड चिनियाँ पक्षधर नै मानिन्छन्। संघीय तथा केन्द्रीय निर्वाचनमा वामगठनबन्धन र आफू पनि विजयी भएपछि एमाले अध्यक्ष ओलीले चीनसँगको सीमा क्षेत्र केरूङ भ्रमण गरेका थिए। जसको सांकेतिक अर्थ थियो, नयाँ सरकार बनेपछि चीन सरकारसँगको सहकार्य।

विदेशमन्त्री स्वराजको तयारी विनाको यस भ्रमणलाई लिएर भारत र नेपालमा जति तहल्का मच्चिएको छ, त्यसको पूर्वप्रभाव चिनियाँ संचारमाध्यममा खासै देखिँदैन। केही संचारमाध्यमले भारतीय संचारमाध्यमलाई उल्था गर्दै समाचारहरू सम्प्रेषण गरेपनि मौलिक विचार दिएको देखिँदैन।

यसबाट के बुझिन्छ भने चिनियाँ विश्लेषकहरू ‘पर्ख र हेर’ को स्थितिमा छन्। केही दिनमा, संभवतः भारतीय विदेशमन्त्रीको भ्रमणको निहितार्थ बुझिसकेपछि चीनका तर्फबाट केही प्रतिक्रिया आउला वा चीन यस विषयमा मौन नै बस्ला, त्यो त समयले देखाउने नै छ।

प्रकाशित १८ माघ २०७४, बिहिबार | 2018-02-01 17:43:24


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • युवराज खतिवडा

    अर्थ मन्त्रालयमा जाने पछिको कुरा होः युवराज खतिवडा

    राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनेनित भएका अर्थविद डा युवराज खतिवडाले अर्थमन्त्री हुनेबारे छलफल भैनसकेको बताएका छन्।

  • बालुवाटारमा ७ बुँदे सहमतीमा हस्ताक्षर गर्दै एमाले–माओवादीका नेताहरू

    एमाले-माओवादीले गरे एकता, नेपाल कम्युनिष्ट पार्टी नयाँ नाम

    एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने ऐतिहासिक सहमती भएको छ। सोमबार राती प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नाम राखेर...

  • क्रिकेट खेल्न जाने हो, मोटा मान्छेदेखि डराउनु पर्दैन : ओली (भिडियो)

    नामिबियामा सम्पन्न डिभिजन टूको उपविजेता बन्दै वल्र्डकप क्वालिफायरमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँसहित...

  • ललितपुर एसएसपीलाई स्पष्टिकरण, इन्स्पेक्टर प्रहरीकै नजरबन्दमा

    महानगरीय प्रहरी परिसर ललितपुरले ‘लेनदेन’ को विषयलाई अपहरण तथा शरीर बन्धकको घटना बनाएर मुद्दा मिलाएको खुलासा भएको छ। परिसरले अपहरण तथा शरीर बन्धक...