ब्लग

काशीदेवी, गणतन्त्र र मेरा मामा





काशीदेवी नाटकको एक दृष्य
काशीदेवी नाटकको एक दृष्य

नेपालगञ्जमा केही समय विद्यार्थी जीवन र पत्रकारितालाई सँगै धानेपछि म काठमाडौँ पसेँ र देशमा आएको ठूलो परिवर्तनको साक्षी बसेँ।

एउटा मान्छेलाई तीनपटक फाँसीमा झुण्डाइयो। मरेन त्यो मान्छे। अन्तमा सुरक्षाकर्मीले छातीमा गोली हाने। उसका लागि देशको कानुनमा फेरबदल गरियो। तर पनि उसले माफीनामामा हस्ताक्षर गरेन।

हाँसी–हाँसी मृत्युवरणगर्ने योद्धा तथा सहिद दुर्गानन्द झाको कथामा आधारित नाटक काशीदेवीले एक सहिद परिवारको भोगाइलाई समेटेको रहेछ। मधेसको परिवेशलाई जीवन्तता दिएको नाटक ५४ वर्षअघिको घटनामा आधारित छ। यो आधा शताब्दीमा देशमा धेरै परिवर्तन आएको छ। प्रजातन्त्र, लोकतन्त्र हुँदै देश संघीय गणतन्त्रमा प्रवेश गरेको छ। तर पनि मधेश अशान्त छ, अक्रान्त छ, अझै उप्तीडनमै छ। उत्पीडन र भेदभावको नारा दिएर केही राजनीतिक माफिया आफ्नो सत्ता प्राप्तिको खेल निरन्तर खेलिरहेका छन्।

प्रदेशका पितासमान हुने प्रदेशप्रमुख नियुक्तिपछि म कालिकास्थानमा रहेको सर्वनाम थिएटरमा काशीदेवीको दर्शक बनेको थिएँ। काशीदेवीका पात्र मलाई निरंकुश तानाशाही बर्बर पञ्चायतको पृष्ठभूमिमा लैजान चाहन्थे। म चाहिँ प्रदेश प्रमुखको पगरी गुथाइएका पात्रहरुलाई सम्झिरहेको थिएँ। दुर्गानन्द मलाई आफ्नी अर्धांगिनीलाई गीत, कविता र क्रान्तिको बिम्बमा आन्दोलनको अध्याय पढाउन चाहन्थे। म प्रदेश राजधानीका लागि जलिरहेको मेरो देश सम्झिरहेको थिएँ।

कथामा गणतन्त्र आएर मधेसको चौपाटीमा खुसीको बहार आएको थियो। तर देशमा त्यही गणतन्त्रले निम्ताएको अनवरत आन्दोलनको अर्को श्रृंखलाले मेरो मन माथिंगल नराम्रोसँग चक्कर खाइरहेको थियो।

मैले केही लेखिहाल्नुअघि आजसम्म मैले मनमा राखेका अनुत्तरित केही प्रश्न र पात्रका पोका समेत नाटक काशीदेवीले फुकाइदिएको थियो। छरपस्ट भएका ती प्रश्न, पात्र र अनुभूतिका पत्रहरु एक–एक म केलाउँदै थिए।

‘गणतन्त्र जिन्दावाद! जिन्दावाद!’ नाटक सकिएको थियो। पर्दा उघारिएको रहेछ।

000

२०४६ सालको जनआन्दोलन। सानो फुच्चे म। कपिलवस्तुको बरकलपुरको एउटा माध्यामिक विद्यालयमा मामा दीनानाथ अधिकारीसँगै पढ्न बसेको थिएँ म। हामी पञ्चायत भवन रहेकै घरमा केही शिक्षकसँगै बस्थ्यौँ। मामाको प्रवेशिका भएकाले म मामाघर हरिहरपुर नबसी उहाँसँगै बरकलपुरमा थिएँ।

बाल–मष्तिस्क धेरै बुझ्न त सक्दिनथेँ तर मामा र उहाँका केही साथी रातभर गायब रहन्थे। दिउँसो एउटा अँध्यारो कक्षा कोठामा थुनिएका हुन्थे। मामाहरु बसेको कोठामा सोही विद्यालयका चौधरी थरका एक शिक्षकले बाहिरबाट ताला लगाउँथे। मामालाई खोजेर म रुन थालेपछि उनी खुसुक्क लगेर भेटाइदिन्थे। एकदिन बरकलपुर र इमलियामा प्रहरीको ठूलो समुह आयो। मामाको सोधखोज भयो। तर उहाँ त्यहाँ हुनुहुन्नथ्यो। ठूलो मामा हरिहरपुरबाट आएर मलाई लिएर जानु भयो।

धेरैपछि मात्र मैले बुझेँ, मेरा मामा र उहाँका साथीहरु निरंकुश पञ्चायतविरुद्धको आन्दोलनमा होमिनु भएको रहेछ। उहाँहरु रातरातभर गाउँ–गाउँमा पञ्चायतविरुद्धको अभियानमा खटिनुहुन्थ्यो। दिउँसो प्रहरीबाट लुक्नका लागि विद्यालयको अँध्यारो कक्षा कोठामा चौधरी सरले थुन्नु हुन्थ्यो।

मामा धेरैदिनपछि एकदिन घरमा आउनु भयो। उहाँमा हर्षको कुनै सीमा थिएन। गाउँमा माहौल अर्कै थियो। दोस्रो दिन मामा र म विद्यालय गयौं। मामा र उहाँका साथीहरुको बीचमा पहिलाजस्तो सौर्हादपूर्ण मित्रता देखिएन। पञ्चायत भवनको भित्तामा लेखिएको ‘वीरे चोर देश छोड्!’ भन्ने नारा मेटिएको थियो, अन्य नारा यथावत थिए।

त्यही साँझ गाउँको चौतारोमा एउटा नाटक मञ्चन भएको थियो, प्रजातन्त्र प्राप्तिका लागि गरिएका आन्दोलनलाई कलाकारले बडो क्रान्तिकारी शैलीमा प्रस्तुत गरे। आँङ जिरिङ हुने गीत बजेको थियो। तर मामा खुसी भन्दा बढी दुःखी हुनुहुन्थ्यो। मेरो स्मृतिमा रहेको एउटा कुरा हिजोआज सम्झन्छु, मामाले मनमनै भुनभुनाउनु भएको थियो, ‘आन्दोलनमा सबै एक, आन्दोलनपछि कम्युनिष्ट र कांग्रेस। अनि राजा किन नफाल्ने!’

त्यसपछि म र मामासँगै नेपालगञ्ज आयौं। मामा मजदुर आन्दोलनमा केही समय सक्रिय रहेपछि देशमा चलेको जनयुद्ध र त्यसले यातायात व्यवसायमा पारेको प्रत्यक्ष प्रभावको शिकार भएर कोरिया पलायन हुनुभएको पनि दशक नाघ्यो। उहाँ हिजोआज कोरियामा लुकेर काम गरिरहनुभएको छ भन्नेबाहेक केही थाहा छैन। म आफैँ पनि अधवैँशे उमेरको सहयात्री बन्दैछु।

मित्र कञ्चन झाको सौजन्यमा गणतान्त्रिक आन्दोलनका प्रथम सहिद दुर्गानन्द झाको कथामा आधारित काशीदेवी नाटक हेरिरहँदा यस कुराको पोयो फुक्दै गएको थियो।

000

त्यसबेला म नेपालगञ्जको फुच्चे पत्रकार थिएँ। टेलिभिजनमा आउने तहकिकात कार्यक्रम र कामना प्रकाशनको साधनाको प्रभाव ममा राम्रै परेको हुनुपर्छ। मलाई त्यसबेलादेखि नै सुरक्षा, अनुसन्धान र खोजमूलक केही लेख्न बडो जाँगर चल्ने गर्थ्यो।

पत्रकारिताकै समयमा जोडिएको थियो, ज्ञानकुञ्ज पुस्तक सदन। जलजला र ज्ञानु श्रेष्ठ दाई। माओवादी सशस्त्र सर्घषको केन्द्र विन्दु नेपालगञ्ज जस्तै भएको थियो। बाँके र बर्दिया माओवादीका लागि भारत पस्ने मुख्य नाका थियो भने रुकुम, रोल्पा, सल्यान र प्युठानजस्ता माओवादीको प्रभाव क्षेत्रको सदरकेन्द्र नेपालगञ्ज थियो।

म ज्ञानकुञ्जका अच्युतराज सुवेदीसँग निकट हुनपुगे। उनलाई म दाइसमान मान्थे। भूकम्पमा उनको दुर्घटना हुनु केही समयअघिसम्म हाम्रो सम्बन्ध निकै निकट थियो।

उनको संगतमा माक्र्स, लेनिन, माओदेखि ग्वेभारा र गोञ्जालोसम्म अनि समकालीन साहित्य, राजनीति र पत्रपत्रिका अध्ययनको मेसो उनै अच्युत दादामार्फत जुरेको थियो। मैले उनलाई पसलमा जानेको सघाउँथे। दैनिक केही घण्टा पसलमा बिताउँथे। दैनिक पत्रपत्रिका र प्रकाशित पुस्तक लिएर जाने र पढेर फर्काउने सहुलियत मैले पाएको थिएँ।

निकटता बढदै गयो। अच्युतको आस्था र विश्वास समेत खुल्न थाल्यो। आमा पूर्णादेदी सुवेदी अर्धभूमिगत भएपछि अच्युत दादा राजनीतिक आस्थाका कुरा मसँग खुलेर कुरा गर्न थाले।

उनको नेपालगञ्जमा रहेको डेरामा राजनीतिक गतिविधिमा संलग्न भूमिगत नेता कार्यकर्ताको आवतजावत भइरहन्थ्यो। जसमध्ये अच्युत दादाका काका पनि भूमिगत थिए। बेलाबेला डेरामा उनीसँग भेट हुन्थ्यो। उहाँका त्याग बलिदानका कुरा सुन्दा म समेत प्रभावित थिएँ। तर पत्रकार राजनीतिक आस्थाको घेराबन्दीमा पर्नु हुँदैन भन्ने मेरो सिद्धान्तले मलाई आफू निष्पक्ष रहेको देखाउन बाध्य पार्थ्यो।

अच्युत दादा पविर्तनकामी एउटा युवा थियो। जागरुक, संघर्षशील र परिवर्तनकारी युवा। म उनीमा ठूलो क्रान्तीकारी नेताको छवि देख्थेँ। उनी मलाई अनिल बार्बेको धन्यवाद मिस्टर ग्लाडको पात्र वीररुभुषण पटनायक जस्तै लाग्थे। तर परिवर्तनको पछिल्लो आँधीबेहरीमा उनी समेत व्यापारीका रुपान्तरण भइसकेका थिए। मलाई उनको यो रुप स्वीकार्य थिएन।

नेपालगञ्जमा केही समय विद्यार्थी जीवन र पत्रकारितालाई सँगै धानेपछि म काठमाडौँ पसेँ र देशमा आएको ठूलो परिवर्तनको साक्षी बसेँ।

अब देशमा गणतन्त्र आएको आयो। मधेस आन्दोलन, पहिलो संविधानसभाको निर्वाचनपछि पहिलो शक्तिको रुपमा माओावदीको उदय पनि भयो। तर मजस्ता थुप्रै नागरिकको चाहना विपरीत मधेसकेन्द्रित दल फुटको खेलमा लागे भने त्याग, सर्मपण र परिवर्तनको नारा बोकेका माओवादीहरु बदलिएर सत्ताको सिँढी चढ्नमा मात्र ध्यान दिन थाले।

यतिबेला परिवर्तनका लागि लडेका दुर्गानन्द झा, मेरा मामा र अच्युत सुवेदीको परिवारसँग म आजलाई दाँज्ने प्रयत्न गर्छु तर त्यो सम्भव लाग्दैन। परिवर्तनका लागि त्यागसँगै त्यसको निरन्तरता र संस्थागत विकास सबै बलिदानको एक र अन्तिम शर्त हुन्छ। तर देशले वर्षेनी सहिद खेती गरिरहने यो राजनीतिक खिचातानीको चक्रमा पूर्णविराम कहिले लाग्ने? कसले लगाउँने यसमा पूर्ण बिराम? यो प्रश्नको उत्तरको खोजीमा म निरन्तर भौँतारिरहने छु। पुरनेन्दु झाहरुले अर्को पात्रलाई नाटकरुपी मालामा नगाँस्दासम्म।

प्रकाशित ६ माघ २०७४, शनिबार | 2018-01-20 18:26:56

author photo

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • युवराज खतिवडा

    अर्थ मन्त्रालयमा जाने पछिको कुरा होः युवराज खतिवडा

    राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनेनित भएका अर्थविद डा युवराज खतिवडाले अर्थमन्त्री हुनेबारे छलफल भैनसकेको बताएका छन्।

  • बालुवाटारमा ७ बुँदे सहमतीमा हस्ताक्षर गर्दै एमाले–माओवादीका नेताहरू

    एमाले-माओवादीले गरे एकता, नेपाल कम्युनिष्ट पार्टी नयाँ नाम

    एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने ऐतिहासिक सहमती भएको छ। सोमबार राती प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नाम राखेर...

  • क्रिकेट खेल्न जाने हो, मोटा मान्छेदेखि डराउनु पर्दैन : ओली (भिडियो)

    नामिबियामा सम्पन्न डिभिजन टूको उपविजेता बन्दै वल्र्डकप क्वालिफायरमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँसहित...

  • ललितपुर एसएसपीलाई स्पष्टिकरण, इन्स्पेक्टर प्रहरीकै नजरबन्दमा

    महानगरीय प्रहरी परिसर ललितपुरले ‘लेनदेन’ को विषयलाई अपहरण तथा शरीर बन्धकको घटना बनाएर मुद्दा मिलाएको खुलासा भएको छ। परिसरले अपहरण तथा शरीर बन्धक...