संस्कारी बन्ने ठेक्का छोरीको मात्रै हो?


Infocus



NIC ASIA

ल्यापटप खोलेर फेसबुक लगइन मात्रै के गरेको थिएँ, म्यासेजहरु तछाडमछाड गर्न थाले, मसम्म आइपुग्न। इनबक्समा क्लिक गरें, पहिलो म्यासेज नबिनको रहेछ। उसँग कुरा गर्न थालें।

हाई, हेल्लोपछि उसले सोध्यो, ‘के छ नयाँ खबर?’

‘खास केही छैन यार। बरु तिम्रो सुनाऊ कस्तो चल्दैछ काम? घरतिरको खबर के छ?’ उत्तरसँगै प्रश्नपनि पठाएँ।

‘काम ठीकठाक चलिरा’छ, घरतिरको पनि सबै ठिक छ। उम्म्म् ... त्यै हो घरमा बिहेको कुरा भइरा’छ, यसपालि बढी नै सम्भावना छ।’

उसको उत्तर सुनेर लाग्यो बा—आमासँगै ऊपनि आतुर छ, बिहेका लागि। अनि सोधें, ‘केटी पनि हेरिसक्या?’

‘केटी फिक्स भा छैन। तर यसपालिको माघमा जसरी नि गर्ने हो। एकदिन ब्या गर्नैपर्छ।’

पछिल्लो वाक्य अलि चित्त बुझेन। अनि सोधें, ‘लौ, काम सक्काउन पो लागेको? यसको मतलब खुशी छैनौ?’

‘त्यस्तो पनि होइन, खुशी नै छु।’

खै, साँच्चै खुशी भएर भन्यो कि मन नलागी नलागी मैले प्रष्ट बुझिनँ।

‘अँ साँच्चै, अनिताको कुरा के भयो? उसलाई हेर्न गको हैन अस्ती?’
(उसले नै सुनाएको थियो, अनिताको घरमा गएको कुरा)

‘मान्छे खास नराम्री त होइन, ठिकै लाग्यो। तर ...’

‘तर के भयो?’ आत्तिँदै सोधें।

‘सँस्कारै मन परेन।’

उसको जवाफ सुनेर दिमाग फनन्न घुम्यो। रिसले आँखै देखिनँ।

जवाफ फर्काएँ, ‘हो नि है? तिमीजस्तो सँस्कारी मान्छेलाई के मनपथ्र्यो त! सँस्कारी बन्न उसले पनि तिमीले जस्तै चुरोट तान्नुपथ्र्यो होला हैन?’

000 

नबिन र म साथी भएको धेरै भएको छैन। फेसबुकमै चिनेको आजभन्दा करिब तीन वर्षअघि। यो तीन वर्षको अवधिमा एक—दुईपटक भेटपनि भयो। अलि समय फेसबुकमा कुरा भएपछि उसले नै भेट्ने प्रस्ताव राखेको थियो। मैले नाइँ भनिनँ।

त्यसपछि पनि एकदुई पटक हाम्रो भेट भयो। राम्रै कुरा हुन्थ्यो। उसँग पहिलोचोटी भेट भएको २०७१ असोजतिर हो, सायद। दशैंको छेउछाउ। त्यतिबेला म स्कुल पढाउँथें, ऊ त सरकारी जागीरे।

000 

उसको कुराले दिमाग घुमिरहेकै थियो। ल्यापटप बन्द गरें र सोंच्न थालें, साँच्चै यो सँस्कार भनेको के हो? जुन महिलाले मात्रै सिक्नुपर्ने, महिलामा मात्रै हुनुपर्ने, महिलामा मात्रै खोजिने। पुरुषले सँस्कार सिक्नुपर्दैन? के सँस्कार महिलाका लागि मात्रै हो भनेर छुट्याइएको छ? थुप्रै प्रश्नहरु उब्जियो मनमा। नजिकै रहेको शब्दकोश पल्टाएँ र खोज्न थालें ‘सँस्कार’ को अर्थ ...

१. अवगुण, दोष, कमजोरी आदि हटाई परिष्कार गर्ने काम; सुधार; शुद्धता।
२. खाने कुरा पकाइतुल्याइ गर्ने काम।
३. भाँडाकुँडा आदिको सरसफाइ।
४. रहनसहन, मर्यादा, सम्पर्क, शिक्षा आदिका कारणबाट मान्छेका मनमा पर्ने प्रभाव; धारणा।

यसरी क्रमैसँग यि विभिन्न अर्थहरु शब्दकोशमा लेखिएको थियो। तर सँस्कार छोरीहरुका लागिमात्रै हो भनेर शब्दकोशमा लेखिएको थिएन। साँच्चै, समाजले किन छोरीहरुमा मात्रै सँस्कार खोज्यो? छोराहरुलाई किन कहिल्यै पनि सँस्कारका विषयमा प्रश्न गरिएन?

एउटी बालिका ७—८ वर्षको हुँदादेखि नै हरेक आमाले उसलाई सँस्कार सिकाउन थाल्छिन्, यो गर्न हुन्छ र यो गर्न हुँदैन भनेर। छोरीमान्छे भएपछि बिहान सबैरै उठ्नुपर्छ, घर पोत्नुपर्छ, भाँडा माझ्नुपर्छ, अरु नउठ्दै चिया बनाएर पु¥याउनुपर्छ, खाना बनाउनु पर्छ, कपडा धुनुपर्छ, राती अबेलासम्म बाहिर हिंड्नु हुन्न, मान्छेको अगाडि हाँस्न हुन्न, उत्ताउली बन्नु हुँदैन, निहुरिएर बस्नुपर्छ, जवाफ फर्काउन हुन्न, लजाउनुपर्छ, सहनुपर्छ, छोरीमान्छेले जतिसुकै पढेपनि घरको काम गर्नैपर्छ आदि इत्यादि। 

तिनै आमा जसले छोरी बुझ्ने हुँदा नहुँदै आफूभन्दा निकै अग्लो पहाडजत्रै सँस्कारको भारी बोकाउँछिन्।

अनि तिनै आमा जसले छोरालाई सभ्य बनाउन–सँस्कार सिकाउन कहिल्यै आवश्यक ठान्दिनन्। न त छोराले नै त्यो कुरा आफूले सिक्नुपर्छ भन्ने आवश्यकता महसुस गर्छ। किनकी वर्षौंदेखि समाजले सँस्कारी बन्ने जिम्मा छोरीहरुलाई मात्रै दिएको छ। सँस्कारको ठेक्का छोरीहरुको भागमा मात्रै परेको छ। गाउँमा मात्रै होइन, शहरमा पनि सँस्कारको ठेक्का छोरीहरुकै भागमा परेको छ। फरक यत्ति हो कि, सँस्कार सिक्ने अनि पालना गर्ने ठाउँ र तरिका फरक छन्।

छोरीले भाँडा माझ्नुपर्छ भन्ने समाजले किन छोरालाई आफूले खाएको थाल आफैंले माझ्नु राम्रो हो भनेर नसिकाएको होला? राती अबेलासम्म घर बाहिर हिंड्न हुन्न वा सबेरै घर फर्किनुपर्छ भनेर छोरीलाई सिकाउने अभिभावकले एक्लै हिंडेका छोरी चेलीलाई बाटोमा जिस्क्याउन हुन्न, हिंसा गर्न हुन्न भनेर किन कहिल्यै छोराहरुलाई नभनेका होलान्?

छोराले ढिलासम्म सुतेपनि हुने? घर फोहोरै राखेपनि हुने? जुठै भाँडामा खाएपनि हुन्छ? कपडा नधोइकन लगाएपनि हुन्छ? मध्यरातमा जहाँ जोसँग डुल्दापनि फरक पर्दैन? उत्ताउलो बन्न छुट? मुखमुखै लाग्न पाइने? होइन भने किन सिकाइँदैन सँस्कारका कुरा छोराहरुलाई?

ओठमा मिठो मुस्कान त छोराहरुलाई पनि गज्जव सुहाउँछ नि। बहिनीभन्दा पहिले उठेर एक कप मिठो चिया पकाएर लगिदिंदा बहिनी रिसाउँछिन् होला र? आमाभन्दा पहिले धारा पुगेर एक गाग्री पानी ल्याइदिंदा आमाको मुहारमा फक्रिने मुस्कान करोडमा किन्न पाइँदैन। अबेला अफिसबाट फर्किने भाउजु आइपुग्नुभन्दा पहिल्यै खाना बनाएर राखिदिंदा भाउजुको मनमा बढ्ने सम्मान बजारमा कहाँ भेटिन्छ?

000 

मेरो साथी नबिन त एउटा पात्रमात्रै हो, उसले भनेका कुराले हाम्रो समाज कस्तो छ भन्ने कुरा देखाउँछ। बिवाहका लागि केटी हेर्न जाने अभिभावकले केटीले लगाएको पहिरनदेखि बनाएको खान्की र हिंडाइसम्मको टिप्पणी गर्छन्। भात गिलो छ कि साह्रो छ, दालमा नुन लागेको छ कि छैन, तरकारीमा हालेको मसला मसिनो भयोे कि छोक्रै बस्यो, जिउ सिधा बनाएर हिंडी कि कोल्टे, टाउकोमा सल हालेकी छ कि छैन, कुर्ता लगाएकी छ कि पाइन्ट, पानी दिंदा एक हातले दिइ कि दुई हातले, दाइने हातले दिइ कि देब्रे हातले, चियामा चिनी कस्तो छ, बोल्दा निहुँरिएर बोलि कि सिधा हेरेर ... आदि।

बिवाहका लागि छोरीको सँस्कार जाँच्ने यि हजार मापदण्ड बनाएको समाजले बिवाहका लागि तयार भएको छोराले एककप मिठो चिया बनाएर खुवाउनु पर्ने कुरा कहिल्यै सोच्न सकेन। त्यो कुरा सोच्ने फुर्सदै पनि पाएन, सायद। किनकी भएको समय त छोरीहरुका लागि मापदण्ड बनाउँनै खर्चियो।

000

केही समयअघि एउटा हिन्दी भिडियो हेर्दै थिएँ। छोरालाई सँगै लिएर एक जोडी बुहारी हेर्न गएका थिए। केटीको घरमा पुगेपछि कुराकानी सुरु भयो। केटाकेटी दुबै राम्रा, पढेका र ट्यालेन्ट पनि थिए। लगभग कुरा पक्काजस्तै भयो। केटीले कफी बनाएर ल्याइन्, सबैले पिए। एक अर्कालाई हेरेर मुस्कुराए, सायद कफी निकै मिठो थियो। कुरा टुंग्याएर केटाको परिवार हिंड्न लाग्यो। केटी र केटीका बुवाले कानेखुशी गरे। अनि केटीका बुवाले भने, ‘मेरी छोरीले त यति मिठो कफी बनाएर खुवाइन्। तर हजुरहरुको छोराले कस्तो बनाउनु हुन्छ, हामीले त चाख्नै पाएनौं।’

केटाका बुवाआमा छाँगाबाट खसेजस्तै भए। हतार हतार केटाकी आमाले भनिन्, ‘कस्तो कुरा गर्नुभएको? मेरो छोरा त फलानो (नाम लिंदै) बैंकको सीइओ हो, कहाँ भान्छा छिर्ने कुरा?’
उनको कुरा सुनेर केटीका बुवाले भने, ‘उसोभए यो बिवाह हुन सक्दैन।’ 

केटाका बुवाआमाको अनुहारमा प्रश्न खडा थियो। केटो चिन्तित देखिन्थ्यो। सायद जोडिन लागेको सम्बन्ध टुट्ने डरले। अनि केटीका बुवाले भने, ‘हुन त तपाईंको छोरा सिइओ नै हो। यसमा हामी खुशी छौं। तर मेरी छोरी पनि डाक्टर हुन्। भोलि कुनैदिन मेरी छोरी बिरामी भएर ओछ्यान परिन् भने तपाईंका छोराले उनलाई एक गिलास पानी तताएर पनि दिन सक्ने रहेनछन्, जाउलो पकाएर खुवाउने त टाढाको कुरा।’ 

सबै मुखामुख गरे। केटोले क्षमा माग्यो र चिया पकाउन कोशीश गर्छु भन्दै भान्छा छिर्यो।

000

हेर्दा दुईतीन मिनेटको मात्रै थियो, त्यो भिडियो। तर सिंगो जीन्दगी बोकेको थियो।

कहिलेकाहीँ यसो फुर्सद भएको बेला बहीनीसँग छलफल गर्छु।

के के कुरा मात्रै जान्नुपर्ने होला छोरीहरुले?

विवाह पार्टीमा जाँदा चिटिक्क मिलाएर साडी लगाउन जान्नुपर्ने, लिपिस्टिक–गाजल मिलाएर सुन्दरी हुनुपर्ने, थ्रेडिङ गर्न र कपाल रोलिङ गर्न पनि उत्तिकै सिपालु बन्नुपर्ने, उस्तै सुन्दर ढंगले हातमा मेहेन्दी लगाउन सिक्नुपर्ने, पुजामा जाँदा नबाङ्गीएका सेलरोटी र अमिलो पिरो चट्ट परेको अचार बनाउन जान्नुपर्ने, टल्किने गरी भाँडा माझ्न र चुलो पोत्न आउनुपर्ने, सपिङ गर्न जाँदा सामानका मूल्यहरु बढी नपर्नेगरी तोक्न जान्नुपर्ने, सासु, ससुरा, आमा, बुवा, दाजु, भाइ, नन्द, आमाजु, देवर, जेठाजु, देवरानी, जेठानी, भान्जा, भान्जी, फूपु सासु, ... कसलाई कस्तो कलर सुहाँउछ र राम्रो हुन्छ भनेर छनौट गर्न सक्नुपर्ने, सुनपसल पुग्दा गहनाका ढिजाइनहरु खरररर भन्न सक्नुपर्ने, तरकारी बजार पुग्दा नबिग्रिएका ताजा तरकारी सुपथ मूल्यमा किन्न सक्नुपर्ने, धार बस्नेगरी कपडामा आइरन लगाउन जान्नुपर्ने, कोठाहरु चिटिक्क सजाएर राख्नुपर्ने, बच्चाहरुलाई मनपर्ने टिफिन बनाएर हालिदिनुपर्ने, श्रीमानको कोट र जुत्ता ठिकठाक छ कि छैन चेक गरिदिनुपर्ने, गमलाका फूलहरु सुक्न लागे कि पानी हाल्नुपर्ने, तीजमा चौरासी व्यञ्जन तयार गरी मिठो दर खुवाउनुपर्ने, दशैंमा मिठो मात्रै होइन स्वस्थ मासु पकाउन जान्नुपर्ने, अनि ति भाँडाहरुमा चिल्लो दाग नरहनेगरी माझ्न जान्नुपर्ने, तिहारमा चारैतिरबाट आँगनलाई सिङगारेर दुरुस्तै लक्ष्मीको जस्तै पाइला बनाएर पुजा कोठासम्म पुर्याउन जान्नुपर्ने, सेलरोटी, पत्रे, अनरसा, खजुरी, ठेकुरा, भूसुवा बनाएर सबैलाई कोशेली पठाउन सक्नुपर्ने, बच्चालाई तेल घस्न र डाइपर फेर्न पनि उत्तिकै सिपालु हुनुपर्ने, परिवारमा कसलाई कुन रोग छ, त्यसको औषधी र खाने समय सम्झाउन भ्याउनुपर्ने, ... यतिमा मात्रै सकिंदैन नि जीन्दगी!

स्कुलमा फस्ट हुनुछ, कलेज टपर हुनुपर्ने पनि छ, अफिसमा समयमै पुग्नुपर्नेछ, राम्रो पर्फमेन्स देखाउनु छ, तोकिएको पूरै समय काम गर्नुपर्नेछ (पाँच मिनेट मात्रै छिटो हिंड्नुस्, भोलिपल्ट पूरै अफिसभरी चर्चा सुनिन्छ– आइमाईहरु यस्तै हुन्), बच्चालाई लिन स्कुल पुग्नुपर्नेछ, देशमा के भइराखेको छ अपडेट हुनपर्ने पनि छ, नत्र अरुभन्दा पछि परिन्छ।

तपाईं भन्नुहुन्छ होला, कसले भनेको छ र, यो सब जान्नैपर्छ भनेर? सुखै छैन नजानेर। हरेक मिनेट मिनेटमा परीक्षा दिनुपर्छ। सँस्कारको! कहिले छोरी, कहिले बुहारी, कहिले दिदीबहीनी, कहिले भाउजू, कहिले प्रेमिका अनि कहिले आमा र हजुरआमा बनेर।

खाना नमिठो भएको दिन छोरा मान्छेको जस्तो भान्सा भएछ भनिन्छ, यसको अर्थ छोरा मान्छेले नमिठो बनाएपनि हुने रहेछ। खास मेहनत गर्न जरुरी रहेनछ। बजारबाट ल्याएको तरकारी अलि नराम्रो परेछ भने, कस्तो छोरा मान्छेजस्तो हेर्दै नहेरी ल्याएको भनिन्छ। यसको अर्थ छोरा मान्छेले तरकारी छान्न दिमाग लगाउनु नपर्ने रहेछ। घर भताभुंग रहेछ भने छोरीमान्छे नभएकोजस्तो घर भनिन्छ। यसको अर्थ कोठाहरु सजाउने जिम्मा छोरीहरुको मात्रै रहेछ। आमा मामाघर गएको दिन भान्सा तयार हुन्जेलमा १५ पटकजति फोन आइसक्छ। नुन, मसला, बेसार कहाँ छ र कति हाल्ने भनेर।

अरे यार! समाज त महिलाप्रधान हुनुपर्ने हो, जहाँ पाइला पाइलामा उनको आवश्यकता पर्छ। आवश्यकता मात्रै होइन, उनी भइनन् भने संसारकै गति रोकिन्छ। ठप्प हुन्छ। किन भनिरहेछौ समाज पुरुष प्रधान छ? कसले भन्यो तिमीलाई समाज पुरुषप्रधान छ भनेर?

प्रकाशित १५ पुस २०७४, शनिबार | 2017-12-30 08:14:53
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...