टाढाबाट

लौ न, नेपाललाई फेरि तपोभूमि बनाउँ


Infocus



पुराना, भव्य र कलात्मक चर्चहरु अहिले पनि युरोप वा अमेरिकाका गहना हुन सक्छन् भने नेपालका मन्दिर किन हुन सक्दैनन्?

NIC ASIA

‘टाढाबाट’ नेपाल सधैँ नराम्रो मात्र देखिँदैन। नेपालमा हुने राजनीतिक तानाबाना र आयातित विकास तथा साँस्कृतिक अतिक्रमणहरुलाई बिर्सिने हो भने नेपाल तपोभूमि पो हो त। यस्तो तपोभूमि, जहाँ ऋषिमुनीहरुको बास हुन्थ्यो।

ऋषि– जो वेदलाई शब्द र क्रियाद्वारा गति दिन्छ। 

मुनी– जो आफ्नो बोलीलाई नियन्त्रणमा राख्छ, मौनताको तहसम्म।

खै कहाँ हराए ती ऋषिमुनी?

खै कहाँ बिलायो त्यो तपोभूमि?

विश्वका सबैजसो देश चहारेर अन्ततः नेपाललाई आफ्नो अन्तिम छनौट बनाएका शिवपुरी बाबाको प्रिय ठाउँ पो हो त नेपाल।

काठमाडौँ खाल्डोको उत्तरतर्फको एउटा अग्लो पहाड शिवपुरी पहाड मात्रै कहाँ हो र?

नेपालका हिमाली भेकतिर चहार्दा प्रत्येक ढुंगा मूर्ति जस्तो र प्रत्येक पहाड मन्दिर जस्तो लाग्छ। यसै मान्छे घुम्नका लागि पहाडतिर उक्लिँदैनन्। यसै हामीलाई तनावको दुनियाँबाट पहाडले तान्दैन। यस्तो लाग्छ, पहाड मन्दिरका ‘बाउ’ हुन्।

ढुंगा मूर्ति र पहाड मन्दिर भएको देश दुनियाँमा अन्त कहीँ छैन।

जब म बौद्ध वा स्वयम्भूतिर बौद्ध मन्त्रका ध्वनि सुन्थेँ, यस्तो लाग्थ्यो, ती कतै पहाडका आत्माबाट सोझै आइरहेका छन् हामीलाई शान्त बनाउन। आज पनि जब मलाई ती पहाड–पर्वतहरुसँग जोडिन मन लाग्छ, तिनै बौद्ध मन्त्रहरुको सहारा लिन्छु।

ऊ बेला जब म मन्दिरका घण्टका ध्वनि सुन्थेँ, यस्तो लाग्थ्यो, ती कतै मन्दिरका आत्माबाट सोझै आइरहेका छन्, हामीलाई शान्ति प्रदान गर्न।

ती ध्वनि मात्रै बचाउन पाए पनि पुग्थ्यो। यस्तो लाग्छ, ती ध्वनी छेक्ने संरचना र कोलाहल नभइदिए हुन्थ्यो।

यस्तो लाग्छ, आज पनि कोही शिवपुरी बाबा संसार घुमेर फेरि नेपालकै त्यतै कतै जंगलमा बास बस्न आइदिए हुन्थ्यो। र कोही जोन बेनेटहरु फेरि ती बाबालाई खौज्दैखोज्दै नेपाल आउन परोस्।

शिवपुरी बाबाको प्रसंग आइ नै हाल्यो, अलिकति उनकै बारेमा कुरा गरौं।

केरलाका गोविन्दानन्द भारती, जो पछि शिवपुरी बाबाका रुपमा प्रख्यात भए, उनी संसारका कुन ठाउँमा पुगेनन्? सन् १८७७ मा उनी विश्व भ्रमणमा निस्किए। सुरुमा खाइबर पास हुँदै उनी अफगानिस्तान छिरे, त्यसपछि इरान, मक्का हुँदै टर्की। टर्कीबाट युरोपेली देशहरु गए, जहाँ उनले रानी भिक्टोरियादेखि अल्बर्ट आइन्स्टाइनजस्ता हस्तीहरुसम्मलाई भेटेको विश्वास गरिन्छ।

त्यसपछि आन्ध्र महासागर पार गरेर अमेरिका पुगे।

मेक्सिको, बोलिभिया, चिली, दक्षिण अमेरिका, न्युजिल्याण्ड, अष्ट्रेलिया, जापान, चीन, तिब्बत हुँदै नेपाल छिरेका शिवपुरी बाबा आफ्नो जीवनका अन्तिम तीस वर्ष काठमाडौँको उत्तर तर्फ रहेको पर्वतबाट कतै हलचल गरेनन्। नेपालमा नै उनले १ सय ३६ वर्षको उमेरमा देहत्याग गरे।

त्यत्रा महान् पुरुषले छानेको संसारको अन्तिम ‘रिसोर्ट’ पो हो त नेपाल।

यस्तो नेपाललाई अध्यात्मिक केन्द्र वा तपोभूमि नै बनाए वा रहन दिन पाए कस्तो हुन्थ्यो?

बुद्धको जन्मस्थल छ। मन्दिरजस्ता पहाडपर्वत छन्। बस्तीपिच्छेका अलग संस्कृति र परम्परा छन्। सम्पदाको कमी छैन।

यस्तो नेपाललाई चाहिएको शान्त खालको उसैलाई सुहाउँदो मौलिक विकास हो।

नेपालले अरु देशका विकासका नमुनाहरुलाई पच्छ्याउने कि आफनै विशिष्टतालाइ जोगाउने र सम्वद्र्धन गर्ने?

आजको संसारमा मान्छे विकासभन्दा बढी शान्तिको खोजीमा छ। यो खोजी अरु तीब्रताका साथ अघि बढ्नेछ आगामी वर्षहरुमा। विकास भनेको यसो हेर्दा सुविधाको कुरा हो जस्तो लाग्छ र हो पनि। तर अन्ततः विकास भनेको पनि आत्मसन्तुष्टिकै विषय हो। यो वा त्यो मात्र भौतिक विकासले आत्मसन्तुष्टि प्राप्त हुन्छ भन्ने छैन। त्यसमाथि हिँड्दै गरेका बाटाहरु चिटिक्कका भए पो गन्तव्य पनि चिटिक्क हुने आशा गर्न सकिन्छ। तर हामी पुग्ने ठाउँको गफ बढी र हिँड्दै गरेको बाटोको कम चिन्ता गर्छौँ। समस्या यहीँनेर छ।

पुराना, भव्य र कलात्मक चर्चहरु अहिले पनि युरोप वा अमेरिकाका गहना हुन सक्छन् भने नेपालका मन्दिर किन हुन सक्दैनन्?

बुझ्नुपर्ने कुरा के हो भने रेल कुदेका वा अग्ला भवनहरु भएका सबै देशहरु सम्पन्न र शान्त छैनन्, हुँदैनन् पनि।

पैसा, शक्ति, पद, प्रतिष्ठा, रेल, अग्ला भवन र स्विच थिचेर चल्ने मेसिनभन्दा परको चीज हो आत्मिक शान्ति।

हो, यही आत्मिक शान्तिको गन्तव्य नेपाललाई बनाउन पाए।

शान्त खालका बाटाघाटा बनाउने, सफा–सुग्घर वस्ती निर्माण गर्ने, सांस्कृतिक सम्पदाहरुलाई दुरुस्त राख्ने, जडिबुटीहरुको विकास र प्रयोगलाई महत्व दिने, ठाउँठाउँमा सांस्कृतिक केन्द्र स्थापना गर्ने, वैदिक ज्ञानको अन्तर्राष्ट्रियकरण गर्ने र संस्कृत भाषा तथा त्यसको विशाल ज्ञान भण्डारको स्वामित्व लिने।

सँस्कृत भाषाको स्वामित्व लिने कुरा म यसकारण गरिरहेको छु, त्यहाँ ज्ञानको भण्डार त छँदैछ, संस्कृत भाषा, अक्षर अनुसारकै उच्चारणमा पनि संसारका अरु भाषाभन्दा बढी वैज्ञानिक छ भनिन्छ।

हुन पनि संस्कृतमा जसरी लेखिन्छ, ठ्याक्कै त्यसरी नै उच्चारण पनि गरिन्छ।

अंग्रेजीमा त्यस्तो छैन।

अंग्रेजीमा सात हजार यस्ता शब्दहरु छन्, जसलाई अक्षर अनुसार उच्चारण गर्ने हो भने गल्ती हुन जान्छ।

सम्झेर ल्याउँदा यस्तो लाग्छ, नेपाल कतैबाट गरिब र कमजोर हुँदै होइन।

सुन्दर प्रकृति छ, धनी संस्कृति छ। सम्पदा छन्, जडिबुटी छन्। विविध भाषा छन्। उहिलेउहिले त सद्भाव र सहिष्णुता पनि बिछट्टकै थियो। भलै त्यो सद्भाव र सहिष्णुता अहिले गिर्दो छ। हामी टाढा बस्नेहरुका मनमा त तीनै राम्रा कुरा गडेर बसेका छन्।

मेरा एकजना पत्रकार मित्र बाल जोशी केही दिनअघि टेक्सासको डलासमा एउटा मिठो कविता सुनाउँदै थिए:

इदमा मुवारक दिन अब्दुल अन्सारीसँग गले मिलेको सम्झिन्छु
छठमा वीरेन्द्र यादवको बगलमा उभिएर मैले गरेको सूर्य नमस्कार सम्झिन्छु
इन्द्रजात्रामा कुमारीसँग लिएको आशीर्वाद सम्झिन्छु
सुदूरको देउडा सम्झिन्छु, अनि थारुको माघी सम्झिन्छु
विदेशमा कतै जब म मेरो देश सम्झिन्छु

हो, त्यो पो हो त नेपाल।

ती सबै छिन्नभिन्न हुँदै गएकोमा वा तीनलाई छिन्नभिन्न पारिँदै गएकोमा पो हो त मन फाट्ने।

म यसैले भन्ने गर्छु नेपालमा सबै कुरा राम्रा छन्, मान्छे बाहेक।

बुद्धलाई आफ्नो नाममा स्थापित गर्न नसक्ने, शिवपुरी बाबा र खप्तड स्वामीहरुलाई अध्यात्मिक बजार दिन नसक्ने, लक्ष्मीप्रसाद देवकोटालाई अन्तर्राष्ट्रियकरण गर्न नसक्ने बरु उल्टो राँची पठाउने, बिपी कोइरालालाई पच्छ्याउन नसक्ने, सगरमाथालाई राम्ररी बजार दिन नसक्ने, मन्दिरैमन्दिरको सहर काठमाडौँलाई ग्यास च्याम्बर जस्तै बनाउने, हामी नेपालीलाई म कसरी राम्रो भनुँ?

म दाबीका साथ भन्छु, पोखराबाट देखिने माछापुच्छ्रेको जुन आकृति छ, त्यो अर्ब डलरको छ।

त्यसलाई हजारमा पनि बेच्न नसक्ने नेपाली मान्छेलाई कसरी राम्रो भनुँ?

नेपालीहरु राम्रा हुन्थे भने स्वीट्जरल्याण्डलाई काँचै खान्थ्यो पोखराले।

मनाङको भाक्रा, डोटीको खप्तड, अछामको रामारोशन, इलामका चिया बगान, दोलखाको जिरीजस्ता ठाउँहरुलाई पनि बजार दिन नसक्ने नेपालीलाई म कसरी राम्रो भनुँ?

यार्सागुम्बालाई ‘भियाग्राको बाउ’ भनेर चिनाउन नसक्ने नेपालीलाई कसरी म राम्रो भनुँ?

मेरा एकजना नातेदार छन्, रणबहादुर रावल, जसले बनाउँथे यार्सागुम्बाको वाइन।

यार्सागुम्बाको? वाइन? हो, तपाईं ठिकै पढ्दै हुनुहुन्छ।

हो, म यार्सागुम्बाको वाइन कै कुरा गरिरहेको छु।

सुने मात्रै पनि पश्चिमीहरु पागल हुन्छन्, पिएपछि त के के हुन्छन् के के?

तर ती विचरा रणबहादुर रावल, नेपाली काँग्रेसबाट कैलालीमा प्रदेश सभाको चुनाव बडो मुस्किलले जितेर राजनीतिमै अलमलिएका छन्।

उनी जतिबेला यार्सागुम्बाको वाइन बनाउँथे, त्यो दरबारमा खपत हुन्थ्यो। तर उनले दरबारबाहिर बजार पाएनन्, त्यसै सेलाए। तिनलाई सांसद बन्न रोकेर यार्सागुम्बाको वाइन बनाउन लगाएको भए ती ‘वाइनका स्टिभ जब्स’ हुन्थे।

हामीसँग यस्ता कति चीज छन् कति।

गर्व लाग्छ, नेपालमा अनगिन्ती बहुमुल्य वस्तुहरु भएकोमा। तर दुःख लाग्छ, नेपाली च्युरी, ‘इन्डियन बटर ट्री’ भएकोमा। दुःख लाग्छ, रगत शुद्ध गर्न र कलेजोको उपचारमा काम लाग्ने हाम्रो घोडताप्रे, ‘इन्डियन पेनिवोर्ट’ भएकोमा। दुःख लाग्छ, हाम्रो घ्युकुमारी, ‘इन्डियन आलो’ भएकोमा। हाम्रो जामुन ‘इन्डियन ब्ल्याकबेरी’ रे। दुख लाग्छ, मुटुलाई स्वस्थ राख्न काम लाग्ने हाम्रो राजवृक्ष, ‘इन्डियन ल्याबरनम’ भएकोमा। आफना चीजलाई आफ्नो हो भनेर दुनियाँलाई चिनाउन नसक्ने नेपालीलाई कसरी राम्रो भनुँ?

यसैले मलाई नेपालीमाथि चित्त दुखाइ छ, नेपालमाथि होइन।

नेपाल त ओ हो!

एउटा पुरानो तर असाध्यै मिठो गीत छ।

गीत सुन्दा यस्तो लाग्छ , पतिपत्नी साँच्चिकै गितीसंवाद गरिरहेका छन्।

गायिका भन्छिन्, ‘नजाऊ छाडी, विदेश स्वामी’
गायकबाट जवाफ आउँछ, ‘यस्तो राम्रो रमाइलो देश, छाडी जाँदैन म त विदेश, छाडी जाँदैन म त विदेश’
गायकः धारामा चिसो, भरौंला पानी’
गायिकाः ‘कोदो, फापर छरौँला स्वामी’
गायकः ‘पहाडमा आनन्द गरौंला हामी’

ओ हो! त्यो पहाड!

धाराको चिसो पानी, कोदो र फापर। त्यस्तो राम्रो, रमाइलो देशलाई फेरि राम्रो, रमाइलो बनाउनतर्फ लागौँ। लौ न, नेपाललाई फेरि तपोभूमि बनाउँ।

‘टाढाबाट’ अर्को एउटा आग्रह।

 

प्रकाशित ११ पुस २०७४, मंगलबार | 2017-12-26 13:15:25
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...

  • नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

    हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?

    जनताले फालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर नेपालमा हामीले अत्यन्त उदार,...

  • दुबर्इमा पक्राउ परेका बेनु श्रेष्ठ (बायाँ) इन्टरपाेल पुलिसकाे नियन्त्रणमा

    इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा: ‘ठूला माछा’ बयान बाहिर

    प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले...