म जान नसकेको त्यो टक शो



झलक सुवेदी
झलक सुवेदी
कान्तिपुर रेडियो

सुरु सुरुमा विश्लेषकको यहि परिचय पनि आफुलाई ‘केहि हुँ’ भनेर मख्ख पर्ने विषय बनेको थियो। केहि लोभ थिए, केहि इगो थिए र केहि स्वभाविक मानवीय कमजोरी पनि। अहिले त्यहि परिचय आफैंलाई भारी हुँदै गएको छ।

यसपटक गाउँतिर जाँदा मलाई धेरै राजनीतिक कार्यकर्ता र शिक्षकहरुले ‘राजनीतिक विश्लेषक’ भनेर चिनाउने या अब यस विषयमा त ‘विश्लेषकलाई था हुन्छ’ भनेको सुनेपछि कस्तो कस्तो आत्मग्लानी पोे भयो। किन किन यो विशेषण एक बोझ बन्दै गए झैं लाग्छ।

हुन त पेशा नै राजनीतिक टिप्पणी गर्ने र त्यसैको आम्दानीले पेट पाल्ने भएकाले यस्तो परिचय आफ्नै पेशाको सम्मानका रुपमा लिन नसकिने पनि होइन। तर किन, केले लखेट्यो र मलाई चैं त्यसप्रति उच्च वितराग उत्पन्न हुँदैछ, त्यसमा म आफैं अलमलमा छु।

वास्तवमा मेरो यो परिचय सुधीर शर्माले ‘नेपाल साप्ताहिक’ मा मेरै लागि सिर्जना गरेर ‘राजनीतिक विश्लेषक’ भन्ने एउटा पदजस्तो राखेर प्रिन्टलाइनमै राखिदिनु भएको विशेषणले बनेको हो। त्यसअघि र पछि त्यस्तो विशेषणयुक्त नाम कुनै नेपाली पत्रिकाको प्रिन्टलाइनमा भएको मलाई थाहा छैन।

गएको शुक्रबार। मिडियामा नेमकिपाका नेता प्रेम सुवाल र प्राध्यापक सुरेन्द्र केसीबीच कुनै टिभीको टक शोमा एकले अर्कालाई ‘तँ भारतीय दलाल, तँ कोरियन दलाल’ भनेर आरोप लगाइरहेको श्रव्यदृष्य भाइरल बन्दै थियो। हाम्रा विश्लेषक, टक शोका होष्टहरुले कसरी कस्तो स्तरको भाषा प्रयोग गर्छन्, कतिसम्म अराजक र अशिष्ट हुन्छन् भन्ने अलग बहस र चिन्तनको विषय हुनसक्छ। तर केसी र सुवालको आरोप प्रत्यारोपले वक्ताको लगौंटी तल तल झारिरहेको थियो।

त्यहिबेला नेपालका दुईवटा स्थापित टेलिभिजन च्यानलबाट मलाई टक शोका लागि फोनबाट निम्तो आइरहेको थियो। त्यसमध्यको एउटा, जसले आइतबारका लागि समय मागेका थिए, मैले ‘कामको अनिश्चयका कारण आउन सक्दिनँ अर्को व्यक्ति बन्दोबस्त गर्नुु राम्रो’ भनेर आफ्नो अवस्था बताएपछि सकियो।

अर्को च्यानलको लागि भने ‘समय मिल्यो भने आउन सक्छु, भरेसम्म फोन गर्नुस्’ भनेर पर्खाएँ। उनले शनिबार दिउँसोको समय मागेका थिए। मिलेको भए जान्थें पनि। तर मनमा भने यस्ता कार्यक्रमहरुमा सहभागी हुने कुराप्रति अलि बढि नै वितराग आउन थालेको छ। त्यसका मनग्गे कारण पनि छन्।

साँझसम्म फोन आइरह्यो। घरमा म प्रायः फोन साइलेण्टमा राखेर बस्छु। बेलुका सात बजेपछि र बिहान आठ बज्नुअघि सकेसम्म फोन उठाउन्नँ। प्रायः साइलेन्टमा नै हुन्छ। केहि निजत्वका लागि हो यसो गरेको। कुनै खास उपलब्धीपूर्ण सिर्जनात्मक कामका लागि पनि होइन। न ब्यापारी, न नेता, न व्यस्त कर्मचारी। आफ्नो पेशाका लागि यस बाहेकको समयमा सम्पर्कमा रहे पनि पुगिहाल्छ। बरु फुर्सद मिले पढ्यो भने केहि ज्ञान पनि हुने उपलब्धी पनि। त्यसैले आएका फोनमध्ये मिस्डकलहरु हेरेर आवश्यक ठाने कलब्याक गरिहाल्छु।

उक्त फोनवालाले मलाई शनिबारका लागि समय मागिरहेका थिए (साथीभाई हुन्, हाइहेलो भैरहन्छ, नाम लिन सक्दिनँ, उनको कुनै दोष पनि म देख्दिनँ)। मैले साँझ समय मिल्ने पक्का भएपछि एसएमएस गरिपठाएँ, ‘ल्याउने लाने व्यवस्था भयो भने आउन सक्छु है।’

उताबाट जवाफ आयो, ‘म भोली बिहान फोन गर्छु दाई’ भनेर। मैले यसपछि सम्पर्क गर्ने कुरा आएन। भोलीपल्ट उताबाट पनि फोन आएन। मलाई हाइसञ्चो भयो। उक्त दिन मैले भक्तपुर सिरुटार पुगेर ८६ वर्षका बा र ७९ वर्षकी आमासँग दुई घण्टा बिताएँ। टिभीमा गएको भए म बा आमालाई भेट्न जान सक्ने थिइनँ।

तर एउटा कुरा मनमा खेलिरह्यो। उनले मलाई लाने ल्याउने व्यवस्था गर्न नसकेर फोन गरेनन् या ‘आफैं आउन नसक्नेलाई को फकाई फकाई ल्याओस्’ भनेर छाडिदिए होलान?

नेपालमा टिभी टक शोहरुमा होष्टहरुले आफ्नो कार्यक्रमको क्षेत्रअनुसार विभिन्न क्षेत्रका विश्लेषक, विषय विज्ञ या त्यस क्षेत्रका चर्चित व्यक्ति, राजनीतिक विषय छ भने नेताहरुलाई बोलाएर कार्यक्रम चलाइरहन्छन्। यस्ता कार्यक्रम रेडियो, एफएममा पनि हुन्छन्। पत्रपत्रिकाले अन्तर्वार्ता र वाईट राखेर पनि यस्तै मान्छेहरुलाई समेटिरहेका हुन्छन्।

कतिपय व्यक्तित्वहरुलाई यस्ता कार्यक्रममा जानु र टेलीभिजनका पर्दामा देखिनु आकर्षणको विषय हुन्छ। सुरु सुरुमा मैलाई हुन्थ्यो। यसरी जानेहरुलाई प्रायः न त कुनै पारिश्रमिकको व्यवस्था हुन्छ न लाने ल्याउने। एकाध सञ्चारगृहले मात्र सम्मानपूर्वक ल्याउने लाने व्यवस्था गर्छन्। कान्तिपुर टिभी यस्तोमा अग्रणी छ (त्यसमा पनि एकपटक मेरो हुर्मत भएको छ र उक्त समयको लाइभ कार्यक्रम नै रद्ध गर्नु परेर कार्यक्रम व्यवस्थापकलाई आपत परेको छ। त्यो चाहिँ सामान्य समय हिसाब गर्दा गरिएको व्यवस्थापकीय त्रुटिले भएको थियो होला भन्ने मेरो अनुमान छ)।

यसपटकको कुरा गरौं। म कुनै दल विशेषको नेता होइन, जसलाई टेलिभिजनमा अनुहार देखाएर मतदाता या कार्यकर्तालाई प्रभावित पार्नु परोस्। म कुनै सिने कलाकार या गीत संगित क्षेत्रको मान्छे पनि होइन, जसलाई आफ्नो कलाको विज्ञापन गर्ने माध्यमका रुपमा टिभीमा जान रहर र बाध्यता होस्। कुनै ब्यापारी पनि होइन, जसलाई आफ्नै धनको तुजुकले मताएको तर सामाजिक प्रतिष्ठा ग्ल्यामरस नभैसकेकाले यस्ता टक शोका लागि खर्च गरेर या विज्ञापन दिएर भएपनि अनुहार देखाउने मन होस्।

आफ्नो राजनीतिक पृष्ठभूमि, अध्ययन र व्यसन तथा मुख्यतः हातमुख जोर्ने मेलोको रुपमा पत्रपत्रिकामा राजनीतिक टिप्पणी लेख्ने क्रममा यता चिनिएको हुँ। वामपन्थी पृष्ठभूमिबाट यता आउने थोरै, अलि अराजक मध्यको भएकोले पनि मलाई कहिलेकाहिँ रङ्ग या वाना मिलाउने टक शोमा बोलाइन्छ। अलिअलि मेरो अराजक र अलि बढि स्वतन्त्र अभिव्यक्तिले पनि बोलाउन प्रेरित गर्दो हो।

मैले ‘यदि टक शोमा आउने हो भने पारिश्रमिक चाहिन्छ’ भनेर अहिलेसम्म भनिहालेको छैन। किनभने यस्ता उपस्थितिले मेरो पेशागत प्रभाव विस्तारमा थोरै भएपनि मद्दत गर्छन्। तर त्यसले सार्वजनिक हुने जुन छवि हुन्छ त्यो भने दिक्कलाग्दो हुन्छ। खासगरी शहरमा हिँड्दा पसल, रेष्टुरेण्टहरुमा या बसमा कसैले चिन्ने र बोलाउने या कुरा गर्ने गर्दा आफ्नो निजत्व हराएको अनुभूति हुन्छ। दिक्क पनि लाग्छ।

म बसेको ठाउँबाट शहर झर्न सजिलो छैन। मेरो नीजि सवारी साधन छैन। कलङकीको बाटो त जाम र धुलोले हिंडिसाध्य छैन। कहिले कहिँ त रत्नपार्क पुग्न नै दुई घण्टा लाग्छ। त्यसैले म २५ मिनेट हिँडेर मच्छेगाउँ जान्छु र बस चढ्छु। बसले १ घण्टामा रत्नपार्क पुर्याउँछ। त्यो टिभी स्टेशनसम्म पुग्न अर्को बस चढ्नु पर्छ, जसले कम्तिमा आधा घण्टा थप लगाउने छ।

यसरी म जाँदा मात्र १ घण्टा ५५ मिनेट लाग्छ। आउँदा पनि त्यति गर्दा तीन घण्टा ५० मिनेट जति लागिहाल्छ। टिभी कार्यक्रम १ घण्टा, यसो चिया पिउँदा आधा घण्टा लाग्यो भने थप डेढ घण्टा समेत गर्दा शनिबारको दिनको मेरो झण्डै छ घण्टा उक्त टक शोका लागि खर्च हुनेथियो। बस भाडा पनि ७० रुपैयाँ खर्च हुन्थ्यो। यति हिसाब गरिसकेपछि, न आउने जाने व्यवस्था छ, न पारिश्रमिक। म के आकर्षणले उक्त टिभी शो मा जाउँ?

यसरी बोलाउने साथीहरु कार्यक्रम सञ्चालन गरेबापत तलव खान्छन्। टिभीका लगानीकर्ताहरुले त्यहि समयमा विज्ञापन बजाउँछन् र आय आर्जन गर्छन्। यता विश्लेषक भनाउँदाहरुको भने आफ्नै खर्चमा लखर लखर जानु र कसैप्रति टिप्पणी गरेर शत्रु कमाउनु जस्तो मात्र हुनजान्छ।

यो टिप्पणीमा भन्न खोजेको कुराको सार भने निकै थारै छ। मैले दुई घण्टामा लेखिसक्ने राजनीतिक टिप्पणीको मूल्य पाँच हजारसम्म हुन्छ। यता ६ घण्टा खर्च गरेर टिभीमा जाँदा भने उल्टो आफ्नो खल्तीबाट खर्च गर्नुपर्ने हुन्छ। कहिलेसम्म यी टिभीवालाहरु यसरी अरुको समय, क्षमता र पैसा समेत प्रयोग गरेर कार्यक्रम चलाइरहनु र आय आर्जन गर्नुलाई व्यावसायिक नैतिकता मानेर बस्ने होलान?

 

प्रकाशित ११ मंसिर २०७४, सोमबार | 2017-11-27 10:28:17

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा खुल्यो नेपाली भाषा विशेषज्ञ समिति

    चीनको संस्कृति मन्त्रालयको वैदेशिक संस्कृति सम्पर्क व्यूरो तथा बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयको संयुक्त प्रयासमा सोमबार नेपाली भाषा...

  • बाबुराम भट्टराईका मामा चन्द्रप्रसाद न्यौपाने

    बाबुरामका मामा भन्छन्ः भाञ्जाको जीत हर्ष न बिस्मात!

    ‘हिजो म नराम्ररी झुक्किएछु। प्रकाश (कांग्रेसबाट गोरखा २ (ख) प्रदेशमा विजयी) ले बुवा हिँड्न सक्नुहुन्न गाडीमा चढ्नुस् भन्नुभयो, म चढेँ। कुनबेला...

  • जीतपछि प्रचण्ड हर्षित, परिवार भावुक (तस्वीर)

    जन्मदिनको अघिल्लो दिन चितवन–३ मा विजयी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै हर्षित देखिएका छन्। तर, उनका परिवारका सदस्यहरु...

  • यू-१६ नेपाली टोली

    नारायण जोशीको उत्कृष्ट बलिङमा नेपालको सहज जित

    एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको छ।