टाढाबाट

डा. यादव, भनिदिनुस्- म पहिलेकै अवस्थामा फर्कन्छु



डा. रामवरण यादव
डा. रामवरण यादव
अन्नपूर्ण टुडे

आजबाट मैले ‘टाढाबाट’ शीर्षकको यो स्तम्भ शुरु गरेको छु। यो स्तम्भ, टाढाबाट नेपाललाई  हेर्ने एउटा प्रयास हुनेछ। कस्तो देखिन्छ नेपाल टाढाबाट? कस्ता देखिन्छन् नेपालका घटना परिघटनाहरु, तिनैलाई सकेसम्म केलाउनु यो स्तम्भको मूल ध्येय हुनेछ।

मलाइ राम्ररी थाह छ, कतिपय दृश्यहरु टाढाबाट धुमिल देखिन्छन। धुमिल नै सही, म त्यही धुमिल चित्र नै उतार्न प्रयास गर्नेछु। र, नेपाली पाठकहरुले बुझ्नेछन्–हामी नेपालबाट टाढा बस्नेहरु कतिपय कुरामा किन गलत छौं भनेर।

टाढाबाट सधैं र सबैथोक धुमिल मात्र देखिँदैन। कतिपय दृश्यहरु त टाढाबाट नै बढी प्रष्ट र छर्लङ देखिन्छन् झन्।

ठूलठूला पहाडका चुचुराका खास बनौट र आकृती, त्यही पहाडमा चढेर देखिँदैन। एउटा पहाडको चुचुरोको खास ‘सेप’ हेर्न त्यस्तै अर्को पहाड चढनै पर्छ। तेङबोचे वा कालापत्थरबाट देखिने जस्तो सुन्दर सगरमाथा कहाँ हिलारी स्टेपतिरबाट देखिन्छ र?

माछापुछ्रेको चुचुरोमा चढेर त्यो हिमालको माछाको जस्तै पुच्छर मरेकाटे देखिँदैन। पोखरा नै झर्नुपर्छ सुन्दर माछापुछ्रे हेर्नका लागि।

फाँटको हकमा पनि कुरा यही नै हो। फाँटको एउटा कुनामा बसेर कहाँ फाँटको पूरा प्रष्ट चित्र उतार्न सकिन्छ र?

सुन्दर पेन्टिङहरु पनि अलिकति दुरीमा बसेर हेर्दा नै प्रष्ट र अर्थपूर्ण लाग्छन्।

हो, यो स्तम्भ एउटा पहाडको चुचुरोबाट अर्को पहाडको चुचुरोको आकृती नियाल्ने प्रयास हुनेछ। यो स्तम्भ, हिलारी स्टेपबाट होइन तेङबोचेबाट सगरमाथाको चित्र उतार्ने प्रयास हुनेछ। पोखराबाट माछापुछ्रेको सुन्दरताको वर्णन गर्ने प्रयास हुनेछ।

माछापुछ्रेको सुन्दरता वर्णन गर्दैगर्दा पग्लिँदै गएको हिउँ र नाङ्गिँदै गएको चट्टानको कुरा त कताकती आउँछ नै।

यो स्तम्भ, फाँटलाई डाँडाबाट नियाल्ने प्रयास हुनेछ। र, यो स्तम्भ, एउटा कलाप्रेमीले एउटा पेन्टिङलाई हेरेजस्तै हुनेछ।

कतिपय कला प्रदर्शनीहरुमा म यस्ता मान्छेहरु भेट्छु वा देख्छु, जो कला बुझ्ने होइन, हेर्ने तरिकासमेत जान्दैनन्। कला हेर्दा दुरी ‘मेन्टेन’ गर्न जानिएन भने ती केबल लतपतिएका रंगजस्ता मात्र लाग्छन्।

यो स्तम्भमा म दुरी ‘मेन्टेन’ गर्न प्रयास गर्नेछु। तर तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले टुंडिखेलमा भएको एउटा सैनिक परेड ‘कभर’ नखोलिएको दुरबीनबाट हेरेकोजस्तो नहोस् भन्ने मेरो भरपुर प्रयास हुनेछ।

टाढाबाट जो जे जस्तो देखिएको छ, त्यो त्यस्तै रुपमा भन्ने प्रयास हुनेछ यो स्तम्भमा।

‘त्यहाँ बसेर यहाँको गफ दिने’ भन्ने मित्रहरुका लागि स्तम्भको मूल शीर्षक ‘टाढाबाट’ नै पर्याप्त हुनेछ भन्ने विश्वास मलाई छ।

तैपनी एउटा वाक्यचाहीँ भनेरै छोडौं– अमेरिकाको एउटा पत्रकारले उत्तर कोरिया वा चीनका बारेमा चिन्ता गरेर कलम चलाउनु हुन्छ भने मैले आफ्नो मातृभूमिको चिन्ता गरेर लेख्न किन नहुने?

नयाँ स्तम्भका बरेमा यती भनिसकेपछि, अब अहिले टाढाबाट देखिएको नराम्रो नेपाली दृश्यको चित्रण गरेर यो स्तम्भको बिधिवत सुरुवात गरौं।

दृश्यमा छन्– गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामशरण यादव। र, प्रसंग हो, घरभाडाको।

दोष कसको हो? कमजोरी कसको कति हो? त्यहीँभित्रका सम्बन्धित व्यक्तिहरु बढी जानकार होलान। कर्मचारीहरु सवाल जवाफ गरिरहेकै छन्। तर टाढाबाट दृश्य पटक्कै राम्रो देखिएको छैन।

लाज लाग्दो छ।

गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिको उचीत व्यवस्थापन समेत गर्न नसक्ने राज्यलाई त खै के राज्य भन्नु?

राज्यका संयन्त्रहरु ठिकठाक थिए र छन् भने पत्रिकामा घर खाली गर्ने पन्ध्र दिने सूचना कुनैपनि हातलमा आउनै हुँदैनथ्यो। आउन दिनै हुँदैनथ्यो।

आयो।

एउटा सामान्य भाडावालको त यस्तो अवस्था हतपती आउँदैन, पूर्व राष्ट्रपतिको आयो।

लाजमर्दो।

यो लाजलाई बचाउने जिम्मा राज्यको त थियो नै र हो नै, स्वंय पूर्व राष्ट्रपति डा. यादवको पनि हो।

कति रोइलो गर्नुहुन्छ पूर्व राष्ट्रपति डा. यादवज्यू?

भनिदिनुस् न– मलाई केही सुविधा चाहिँदैन। म जे छु, ठिकै छु। म मेरो पूर्ववत अवस्थामा फर्कन्छु।

ओ हो, त्यसपछि तपाईंको इज्जतको आकार हेर्नुस् त।

घरबेटीले पन्ध्र दिनभित्र घर छोड्न जारी गरेको सार्वजनिक सूचनाले राज्य र तपाईं स्वयंको इज्जत स्वाहा गरेको छ। तर राज्यले लाज छोप्न जानेन् भनेर तपाईं पनि नाङगिनु हुँदैन।

राष्ट्रपतिको गरिमा र सम्मानका लागि सुविधा चाहिन्छ भन्ने तर्क तपाईंले गर्ने होइन, राज्यले गर्ने हो।

बल, राज्यको कोर्टमा फालिदिनुस्। तपाईं आफैं सामान्य जीवनमा, पूर्ववत जीवनमा फर्कनुस्। र, यस्तो दिन आओस्, राज्यले यती त सम्मान सुविधा ग्रहण गरिदिनुस् भन्नु परोस्।

यो समय आउँछ। आउन दिनुस्। पर्खनुस्। पटक पटक घर भाडाकै रोइलो हुन नदिनुस्।

पूर्व राष्ट्रपति डा. यादवज्यू, तपाईं जस्तो विद्धान व्यक्तिलाई धेरै कुरा त थाह छ नै, तैपनी तपाईंलाई सम्झाउँ– सन् १९५८ अघिसम्म अमेरिकामा राष्ट्रपतिलाई कुनै पेन्सन सुविधा थिएन।

भएकै थियो।

अमेरिकाका कतिपय पूर्व राष्ट्रपतिहरू आफ्नो कार्यकालपछि पूर्ववत पेशामा फर्किएको त तपाईंले सुन्नु भएकै छ।

अमेरिकाका सत्ताइसौं राष्ट्रपति विलियम टाफट आफ्नो चार वर्षे कार्यकालपछि सर्वोच्च अदालतको प्रधान न्यायाधिश बन्न गए। त्यसपछि उनले भने, ‘यतिसम्मकी म राष्ट्रपति थिएँ भन्ने पनि म सम्झन्नँ।’

अमेरिकाकै छैटौं राष्ट्रपति जोन क्विन्सी आडम राष्ट्रपति कार्यकालपछि म्यासाचुसेटसको हाउस अफ रेप्रिजेन्टिटेटिभ बन्न गए।

कुनै सन्दर्भमा उनले भनेका छन्, ‘पूर्व राष्ट्रपति हुनु जत्तिको पीडा जीवनमा अरु छैन।’

अमेरिकाकै अर्का एकजना पूर्व राष्ट्रपतिको पनि उदाहरण दिउँ– जोन टेलर, जो अमेरिकाको दशौं राष्ट्रपति थिए, उनले राष्ट्रपतिपछि पनि १६ वर्ष हाउस अफ रेप्रिजेन्टिटेटिभका रुपमा बिताए।

अर्का तेह्रौं राष्ट्रपति मिलार्ड फिलमोर, राष्ट्रपतिपछि एउटा युनिभर्सिटिको डिन हुन गए।

विश्वमा अन्यत्र पनि यस्ता धेरै उदाहरण छन्। र, इतिहासमा उनीहरुको नाम थप इज्जतका साथ लेखिएको छ।

यसो भनेर म नेपालका राष्ट्रपतिले पनि त्यसै त्यसै गर्नुपर्छ भनेर पाठ पढाइरहेको छैन।

कुरा के मात्रै हो भने सुविधाले मात्र सम्मान र गरिमा बढ्ने वा कायम रहने होइन। सम्मान र गरिमा बढ्न अघि र पछिका व्यवहार र भूमिकाहरु पनि महत्वपूर्ण हुन्छन्।

वश, बिनम्रतापूर्वक टाढाबाट पूर्व राष्ट्रपतिज्यूलाई आग्रह छ– आजैबाट घोषणा गरिदिनुस्, ‘म पूर्ववत अवस्थामा फर्कन्छु।’

देख्ने र सुन्नेहरुलाई थप लज्जित हुनबाट बचाउनुहोस् कृपया!

 

 

प्रकाशित २४ कार्तिक २०७४, शुक्रबार | 2017-11-10 10:20:44
author photo

सन्जय घिमिरे अमेरिकाको टेक्सासस्थित पत्रकार हुन्

@Sanjaya25110142


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...