चुनावमा विमलेन्द्रदेखि गगनसम्म किन गर्दैछन् भयको सञ्चार?



चीनमा विद्यार्थीहरूसँग जयप्रकाश आनन्द
चीनमा विद्यार्थीहरूसँग जयप्रकाश आनन्द

दोस्रो चरणको निर्वाचन हुन अब महिना दिन पनि बाँकी छैन। एमाले र माओवादीले चुनावी गठबन्धन बनाएपछि रिसाएको कांग्रेसले रिसकै झोंकमा ‘वामगठबन्धन विजयी भए देशमा स्टालिन कालको सरह कठोर साम्यवाद आउने’ भयको संचार जनतामा गर्न खोज्यो। यसो भए मुलुकमा सर्वसत्तावाद वा अधिनायकवाद आउने भन्यो।

धेरैलाई याद होला, २०४८ मा बहुदल पुनस्र्थापनापछिको पहिलो संसदीय निर्वाचनमा कांग्रेसले यस्तै प्रचार गरेको थियो। कम्युनिष्टहरूले मन्दिर भत्काएको, बुढाबुढीलाई श्रमशिविरमा थुनेको प्रतिकात्मक कार्टुन चित्रहरू छपाएर देशभरि नै बाँडिएको थियो, टाँसिएको थियो। चक्र बास्तोला, वीरेन्द्र दाहाल र मसमेत बाराणसी गएर छापी ल्याएका थियौं, ती प्रचार सामग्री।

उ बेलाका मतदातामा थोरै भएपनि यसको प्रभाव परेको थियो। तर, २ सय ५ सीटको संसदमा नयाँ पार्टी एमालेले ल्याएको सीट संख्यालाई विचार गर्दा त्यसखाले प्रचारको प्रभाव परेको कुरा स्वयं कांग्रेसभित्रपनि मानिएन। मध्यावधि निर्वाचन–०५१ मा पनि कांग्रेसले एमालेविरुद्ध यस्तैखाले बुढाखाडा जाकिने, मन्दिर–मस्जिद भत्काईने, अधिनायकवाद–सर्वसत्तावादको कुरा गरेकै थियो। तर, एमाले सबैभन्दा ठूलो पार्टी भएर आयो।

त्यस बखत त प्रथम कम्युनिष्ट सरकार नै बनायो, यद्यपि यसका अरूपनि कारणहरू थिए। मेरो विचारमा एमालेविरुद्ध कांग्रेसको त्यसखाले प्रचारको प्रभाव परेन।

म पनि उपस्थित थिएँ, एक प्रसंगमा गिरिजाबाबुले स्वीकार गर्नु भएको थियो, ‘कांग्रेसले जनतामा विश्वव्यापी अनुभवको आधारमा कम्युनिज्मको दुर्गुणहरू पस्कियो, जबकि एमालेले जनताबीच लोककल्याणकारी कुरालाई बढी जोड दियो।’

गिरिजाबाबुले बुझ्नु भएको थियो– कांग्रेसको समाजवादको मुकाबिला गर्न एमालेले कम्युनिष्ट नाममा ‘वेलफेयर स्टेट’ को दिशा समातेको छ।

हुन त, उ बेला कांग्रेसका अर्थविद्हरूलाई ‘वेलफेयर स्टेट’ को धारणासँग चिढ थियो, उदारवादी अर्थनीतिबारे बढी लहसिएका थिए उनीहरू। एमालेमा पलाएको यही सोचको प्रतिफल थियो ‘बृद्ध भत्ता।’ तर, कांग्रेसले आफुलाई बदल्न चाहेन।

यतिका वर्षहरू बिते, २०४८ देखि २०७४ सम्म समय धेरै बगेको छ। आज न स्टालिनको रूस रह्यो, न त माओको चीन नै। मैले २०४८ यता गत सालसम्म गरी १५ पटक चीनको भ्रमण गरें, बिभिन्न हैसियतमा। चीनमा मैले कम्युनिष्ट पार्टीको शासन नै रहेको पाएँ। तर अलेक्जेन्डर सोल्झेनित्सिनले लेखेको ‘गुलाग द्वीप समूह’ जस्तो चीन छैन। कांग्रेसका धेरै नेताहरू, प्रायः सबैका सबै पटकपटक चीन गएर डिनरमा ‘माउथाई’ खोजेका होलान्। जबकी स्वयं चिनियाँहरू जिब्रोलाई रसिलो पारिराख्ने फ्रेन्च ड्राई वाईनमा रमाउन चाहेको भेटिन्छ।

रक्सीलाई परित्यक्त वा गाईको रगत सरह ठान्ने रामचन्द्र पौडेलले यो कुरा नबुझेपनि वर्षौंदेखि सर्प डुबाएर राखिएको चिनियाँ रक्सीको स्वाद लिएका शेरबहादुर देउवाले राम्ररी बुझेको हुनुपर्छ, अबको चीन त्यो चीन होइन, आज चीनमा कहींकतै श्रम शिविर छैन।

एक दिनमा ११ वटासम्म वायुसेवा संचालनमा छ, काठमाडौं र चीनका शहरहरूबीच। एक दिनमा कम्तिमा पनि २–३ हजार नेपाली चीन जान्छन् र फर्कन्छन्। गएको अगस्त–अक्टुबर महिनामामात्र ३ सय भन्दा बढी नेपाली केटाकेटीहरू छात्रवृत्तिमा पढ्न चीन गए। त्यहाँ हजारौं त छँदैछन्, तिनले जान्दछन्, अबको चीन माओको चीन होइन, जहाँ कुनै बेला ज्यांग चिंग र चारजनाको चौकडीले शासन गरेको थियो। यो कांग्रेसले हेक्का राख्नुपर्ने विषय हो, चीनमा अध्ययनरत केटाकेटीहरूका नवजवान जस्तै बाबुआमालाई देउवाजीको यो भयात्तुर गराउने प्रचारको कति प्रभाव पर्छ?

नेपालमा नयाँ संविधान जारी हुने बेलामा भारतले हस्तक्षेप गर्‍यो। संविधानको विषयवस्तु र राज्यको संरचनाका बारेमा दखल दियो। यस कुरालाई प्रायः नेपालीहरूले मन पराएनन्। प्रधानमन्त्री देउवाले आफ्नो पछिल्लो दिल्ली भ्रमणमा फेरिपनि मधेशी जनताको चित्त बुझाउने गरी संविधानमा संशोधन गरिने भन्नु भएपछि नेपालमा तीब्र प्रतिकृया उत्पन्न भयो। देउवाले प्रतिरक्षात्मक स्पष्टिकरण नै दिनु पर्‍यो। मधेश आन्दोलनताका चीनले दिएको प्रतिकृयाबारे मधेशमा तीब्र असन्तोष देखियो, केही ठाउँमा चीनको झण्डा नै जलाइएको समाचार आयो।

कुनै देशको शासन सत्ताबारेमा विदेशीले नकारात्मक कुरा बोल्दा यस्तो प्रतिकृया आउँछ नै। अमेरिकाले उत्तर कोरियाबारे बोल्दा उत्तर कोरिया सन्केको सबैले देखिनै रहेका छन्। स्पेनको क्याटेलोनियाका बारेमा विदेशी राष्ट्रहरूले हेक्का राख्दै बोलिरहेको हामी सबैले देख्दैछौं।

यस्ता कुराहरू नजरमा हुदाँहुँदै कांग्रेसले यस चुनावमा चीनको शासन व्यवस्थाबारे मुद्दा नै उठाएको छ। कांग्रेसका बुढाखाडा र युवाहरूसमेत सबैले अरू केही नपाएर वाम गठबन्धन विजयी भए चीनको जस्तो अधिनायकवादी र सर्वसत्तावादी शासन व्यवस्था आउने एक प्रकारको जेहाद नै शुरू गरेका छन्। नेपालमा लगानी हुने संभावनाको हरेक चिनियाँ योजनालाई कांग्रेसले बिरोध र शंकाको नजरले हेरिरहेको हुन्छ।

वास्तवमा वीपी कोइराला र गणेशमानजीहरूले बनाएको चीनसँगको कांग्रेसको विश्वासिलो सम्बन्धलाई शेरबहादुर देउवाको कांग्रेसले ध्वस्त पारेको छ।

सबैले बुझेका छन्, कांग्रेसले खेलेको यो बचकाना खेल एमाले विरूद्ध एक फगत आलोचना मात्र हो। कांग्रेसले आरोप लगाएझैं यहाँ कुनै अधिनायकवाद आउनेवाला छैन। तर, के नेपालका कम्युनिष्टहरूले सधैं भारतलाई तारो बनाए झैं, अब नेपाली कांग्रेसले पनि चीनको विरोध गरेर त्यही बाटो अपनाएको हो? आज कांग्रेसमा एकसेएक जानकार तथा संवेदनशील मानिस देखिन्छन्, तरपनि सबै कांग्रेसले यही कुरा फलाक्दै हिंडिरहेका छन्। कांग्रेसका सबै उम्मेदवारहरूले एमाले विरूद्ध यही सर्वसत्तावाद र अधिनायकवादको मुद्दा उचाल्दै भाषण गरिरहेको भेटिन्छ।

सत्य त के हो भने, शेरबहादुरको सरकार उपर ठूलो नैतिक प्रश्न खडा गर्दै सरकारमै सहभागी रहेको माओवादीले एमालेसँग चुनावी गठबन्धन बनाएपछि तत्काल रिसाएको कांग्रेसले रिसकै झोंकमा वाम गठबन्धन विजयी भए देशमा कठोर अथवा स्टालिनकालको साम्यवाद आउने भनेको थियो। यसो भनेर वामपन्थी ध्रुबीकरण विरूद्ध कुनै रूपमा चुनावी फाइदा लिन सकिन्छ कि भन्ने कांग्रेसको फुच्चेदाउ हुनसक्छ।

तर, अब आएर आसन्न चुनावमा यो नै नेपाली कांग्रेसको मुख्य चुनावी मुद्दा हुन गएको छ। सबैतिर कांग्रेसीहरूले एउटै भाषा फलाक्दै हिंडेको देखिन्छ, ‘वाम गठबन्धन विजयी भए देशमा अधिनायकवाद र सर्वसत्तावाद आउँछ।’

यो नेपाल, जहाँ कांग्रेस, एमाले वा माओवादीले संसदमा सामान्य बहुमत पनि नल्याई थाकका थाक न्यायाधिश बनाउन पाएका छन्। तिनीहरू दलका ‘पैगम्बर’ हरूको पैताला समाउन बाध्य छन्। शत्रु विनासका लागि अयोग्यहरूलाई अख्तियारको प्रमुख बनाउन सक्दा रै’छन्। खुलेआम निर्वाचनलाई प्रभावित गर्नका लागि तावेदार सरह निर्वाचन आयुक्तहरू बनाउन सक्दा रै’छन्। पिपागोश्वाराका सिपाही सरह प्रहरीका आइजिपी बनाउन पाएका छन्।

यस्तो सिल्ली व्यवस्था तथा अवस्था भएको देशमा बरा एमाले–माओवादीले के खान स्टालिनले अभ्यास गरेको साम्यवाद ल्याउनु पर्‍यो? यत्तिकै जनअनुमोदित व्यवस्था तथा संसदलाई नै पंगुदास बनाएर मिलीमिली अधिनायकवाद चलाइरहेको मुलुकमा मरेका सातपुस्ताको चिहानको समेत हविगत बिगार्नेगरी र आउने सात पुस्तालाई संकटमा पार्नेगरी किन यिनले साम्यवाद वा चिनियाँ शैलीको अधिनायकवाद ल्याउनु पर्‍यो? सिल्ली राष्ट्रवादको नाराकै भरमा सजिलै संसदमा बहुमत ल्याउन लागेको एमालेले किन चे ग्वेभाराले अर्जेन्टिनाबाट चिली, इक्वेडोर, कोलम्बिया, भेनेजुएला, पनामा, मयामीसम्मको दुरूह मोटरवाईक यात्रा गरे झैं गर्नुपर्‍यो?

यस्तो अवस्था रहँदारहँदै कांग्रेसले माओवादी–एमालेले जिते मुलुकमा सर्वसत्तावाद आउने कल्पनाको कुरालाई मुख्य चुनावी मुद्दा बनाएको छ। यही हावादारी कुरालाई कांग्रेसले सर्वत्र उचाल्दै छ। विमलेन्द्र निधिदेखि गगन थापासम्मले यसैमा जोड दिइरहेका छन्।

पहाडको अवस्था मलाई धेरै थाहा छैन। पहाडको सम्भावित चुनावी परिणामबारे स्वयं कांग्रेसमै संत्रास देखिन्छ। तर मधेशमा त कांग्रेसको यो प्रचार ‘टाउको दुख्दा नाईटोमा ओखति लगाए’ जस्तो भएको छ।

यो मृगमरिचिका सरहको नाराले के जनताको दिलमा ठाउँ बनायो त? धनिमानी, मध्यमवर्गीय, गरिव र युवा तन्नेरीहरूबीच के आज यो चर्चाले ठाउँ ओगटेको छ, ‘एमालेले जितेमा देशमा तानाशाही आउँछ’ भनेर?

अस्ति भर्खरै कांग्रेसले र हिजो एमाले गठबन्धनले चुनावको घोषणापत्र जारी गरे। दुई दिन नबित्दै मानिसहरू, पत्रकारहरूले तथ्यसहित लेख्न थालेका छन्– यिनीहरूले उही कुरा ०४८ सालदेखि भन्दै आएका हुन्। जनताको नजरमा सातादिन पनि नबित्दै लोभलाग्दो चुनावी घोषणपत्र ‘नयाँ बोतलमा पुरानो रक्सी’ भैसकेको छ।

एमालेले आफ्नो घोषणापत्रको प्रभावको मूल्यांकन गर्ला, के कांग्रेसले गर्न चाहेको छ, जारी गरेको एक साताभित्र उसको घोषणापत्रका बारेमा जनताको झुपडीमा कति चर्चा भैरहेको छ? उसका कति उम्मेदवारहरूले आफ्नै पार्टीको घोषणापत्र पढेका छन् र कतिले निर्वाचन प्रचारमा यसबारे उल्लेख गरिरहेका छन्? कुनै मूल्यांकन गरेको छ कांग्रेसले?

कांग्रेस कार्यक्रम भन्दापनि ‘बाउबाजेको प्रारब्ध’ को आधारमा चुनावमा होमिएको छ। घरेलु तथा नेपाली भूमिको यथार्थताको भन्दा बाहिरियाको तुष्टिकरणका लागि चुनावी मुद्दा खडा गरेको छ। लोकतन्त्रको रक्षाका नाममा आज पर्यन्त लोकतन्त्रको आधारभूत मान्यताको खिलाफमा रहेको पञ्चमांगी तत्वसँग चुनावी गठबन्धन गरेको छ। उसले मधेशमा मधेशी शक्तिहरूसँगै भिड्नु परेको छ।

गाउँघरमा भन्छन् नि ‘बाऊको बिहे हेर्नु परेको अवस्था’ मा पुगेजस्तो छ, शेरबहादुर र रामचन्द्रजीको कांग्रेस!

(नेपाली कांग्रेसका पूर्व नेता तथा मन्त्री जयप्रकाश आनन्द मधेश आन्दोलनका एक जना अगुवा हुन्)

प्रकाशित २२ कार्तिक २०७४, बुधबार | 2017-11-08 21:06:38

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...