एनआरएन विश्व सम्मेलन

एनआरएनएः दोष कहिले शून्यमा झार्ने?



‘विदेश आएपछि हाम्रो संकुचित परिधि फराकिलो हुन जान्छ। हामी आफ्ना दोषहरु देख्न सक्ने हुन्छौं। जब ती दोषहरु आफूलाई थाहा हुन्छ, तिनलाई हृदयबाट हटाउने प्रबल इच्छा हुन्छ।’ (मुलुक बाहिर म लैनसिंह बाङ्देल, पृष्ठ १०७ )

संयोग नै भनौँ म जस्तै नेपालीहरुको प्रतिनिधित्व गर्छु भन्ने एनआरएनको विश्व सम्मेलनको तयारी भइरहँदा म लैनसिंह बाङ्देलको ‘मुलुक बाहिर म’ पढिरहेको छु। र मुलुक बाहिर ‘म’ खोजिरहेको छु। पढ्दै जाँदा टक्क आँखा र दिमाग रोकिन्छ, माथि उल्लेखित पंक्तिहरुमा। जहाँ बाङदेल भनिरहेका छन्, ‘विदेश आएपछि हाम्रो संकुचित परिधि फराकिलो हुन जान्छ...’

बाङ्देलले भनेजस्तै विदेश आएपछि हाम्रो संकुचित परिधि अलिकति फराकिलो भएको छ। आज हामी आफ्ना र अर्का, दुवैका दोषका बारेमा जानकार छौं। आफ्ना र अर्काको खराबी पहिचान गर्न अब हामीलाई कसैले सिकाउनु पर्दैन। मातृभूमि नेपाल किन बनेन भन्नेपनि हामीलाई थाहा छ। के गर्दा बन्छ भन्नेपनि थाहा छ। काम सानो–ठूलो हुँदैन भन्ने त हामीलाइ कखरा जस्तै भइसकेको छ। नियम–कानुन पालनाको महत्व हामीलाई अब कसैले सिकाइरहनु पर्दैन। मेहनत गरे राम्रो फल पाइन्छ भन्ने कुरा हाम्रो व्यवहारिक जीवनको पाटो बनिसकेको छ। 

अधिकांश नेपालीका लागि विदेश ऐनाजस्तै हो, जसलाई हेरेपछि आफ्नो अनुहारका कतिपय दाग देखिन्छन्।

यहाँसम्म सबै ठिकठाकै जस्तो छ।

बिग्रिन कहाँनेरबाट सुरु हुन्छ भने हामी एनआरएनहरु, आफ्नो दोष देख्न सक्ने त भयौं तर तिनलाई हृदयबाट हटाउने प्रबल इच्छा जगाउनै सकेनौं। हामी आज पनि दोष देख्न सक्ने चरणमै छौं। दोषलाई हृदयबाट हटाउने चरणमा प्रवेश गरेकै छैनौं। हामीले विदेशी ऐनामा आआफ्नो अनुहार हेर्न त जान्यौँ तर अनुहारको दाग हटाउन अझै जानेका छैनौं।

दोषहरुलाई हृदयबाटै हटाउन आफना खराब चरित्रलाई पनि बदल्न सक्नुपर्छ, आनीबानी बदल्न सक्नुपर्छ। हाम्रो व्यक्तिगत चरित्र र आनीबानी कस्ता छन् भने हामी व्यक्तिगत भावनालाई संस्थागत नियम बनाइदिन्छौं। हामी व्यक्तिगत स्वार्थ र अहम्लाइ पनि संस्थागत आकार दिन्छौं। हामीलाई राजनीतिसँग जोडिएको शक्ति सबैभन्दा प्रिय र शक्तिशाली लाग्छ। र त्यसैको फाइदा उठाउँदा हामीलाई बढी सन्तोष मिल्छ। भनिन्छ नि ‘मुतको न्यानो’ हो, त्यही न्यानो हामीलाई आत्मीय लाग्छ।

खै किन हो किन, हामीलाई समग्रतामा होइन, झुण्ड–झुण्डमा बस्दा बढी आरामको अनुभव हुन्छ। समग्र शक्तिमा भन्दा झुण्ड शक्तिमा हामीलाई बढी विश्वास लाग्छ।

एनआरएनको अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय समितिहरुको नेतृत्व चयनमा देखिने झगडा, विवाद, चलखेल र गुट हेर्दा यस्तो लाग्छ, एनआरएन खासमा झुण्डहरुको एउटा जोड हो। अलि बलिया हौँ भन्नेहरुको झुण्ड। एनआरएन झुण्ड चरित्रको संस्थामा बदलिँदै गएको छ। अलि पैसावाल झुण्डहरु नै एकआपसमा जुट्छन्, फुट्छन्, जुध्छन्, मिल्छन्, हिसाब–किताब गर्छन्। र बाँडफाँड गर्छन्।

जो झुण्डमा छैन, ऊ एनआरएन हो कि होइन भन्ने अवस्था पो छ त।

हामी सिंगो एनआरएनको कुरा गर्छौँ तर त्यहाँभित्रै बाइसे–चौबीसे झुण्ड खडा गर्नमा हामीलाइ मजा लाग्छ। हामीलाइ बाइसे–चौबीसे राजनीती गर्न गर्व लाग्छ।

त्यसैले त एनआरएनप्रति मातृभूमिको विश्वास गुम्दै गएको छ।

उसै दोहोरो नागरिकता मागेर हुन्छ र एनआरएन महाशयहरु! राम्रो काम गरे एउटा अर्को कुनै देशको गोराले त मानार्थ नागरिकता पाउँछ, पाइरहेको छ, तपाईंहामी त त्यही माटोमा जन्मेका।

एनआरएनको नेतृत्व लिने र लिन खोज्नेहरुलाई मेरो आग्रह छ, अब दोष पहिचान गर्न पुग्यो, दोष मेटाउनतिर लागौँ। तपाईंहरु नेपालमा गएर शान देखाउँछु र त्यहाँको राजनैतिक शक्तिसँग आफ्नो शक्ति मिसाएर ‘पावर प्ले’ गर्छु भन्ने सोचबाट बाहिर निस्कनुहोस्। नेपालको राजनीतिक शक्तिलाई प्रभावमा पारेर नेपालमा एकादुई ठूला व्यवसायिक स्वार्थपूर्ति गर्ने माध्यम एनआरएनलाई नबनाउनुहोस्। तपाईंहरुलाई पाप लाग्छ, लाखौं विदेशिएका नेपालीहरुको। तपाईंहरु यस्तो ठेकेदार नबन्नुहोस्, जसले कामदारहरुलाई दिन–रात काममा जोताउँछ र बेलुका ज्याला नदिई घर पठाउँछ, आफू भने कुनै स्टार होटलको बारमा बसेर देश र दुनियाँको गफ हाँक्छ।

सरहरु, इज्जत थोरैबाट होइन, धेरैबाट कमाउने चीज हो। पैसा कमाउनु र इज्जत कमाउनु फरक कुरा हुन्। पैसा कमाउन तपाईंका उत्पादनहरुको बिक्री मात्र भए पुग्छ, इज्जत कमाउन तपाईंका व्यवसायिक उत्पादनहरुले कत्तिपनि सहयोग गर्दैनन्, तपाईं स्वयं नै मूल्यवान हुनुपर्छ।

मातृभूमिका स–साना कुरामा जोडिनुहोस्, कर्मभूमिमा सबै नेपालीलाई आफूजस्तै बलियो बनाउन सहयोग गर्नुहोस्, अनि न हुन्छ।

पैसा आजको दुनियाँमा सबैभन्दा ठूलो चीज पनि हो तर पैसाको धाक आजको दुनियाँमा सबैभन्दा कमजोर धाक पनि हो।

धनी त मान्छे सियो बेचेर पनि बन्छ। तर मलाई सियो बेचेर पैसा कमाउनेहरु भन्दा सियोले उनेर सुन्दर सृजना गर्नेहरु प्रिय लाग्छन्।

पैसाको बल झिकिदिने हो भने एनआरएन कहाँनेर खडा हुन्छ? मलाइ यो हेर्ने रहर छ।

लौ, पैसाको धाक नै सही, कामले जिते बेग्लै कुरा हुन्थ्यो। तर मै हुँ भन्ने, धनीमानी व्यक्तिहरुले नेतृत्व गर्ने संस्थाका कतिपय काम सारै लुरे र गरीब देखिन्छन् र पो! लाजमर्दो! बाघले घाँस खाएजस्तो!

विदेशमा व्यवसायिक सफलता कमाएका मै हुँ भन्नेहरु नेपालमा गएर दलका टीका र खादा लगाएर जब अमिलो हाँसो हाँस्छन् तब म झनै पक्का हुन्छु, बाघले घाँस खाएकै हो।

दोष यहीँनेर छ। एनआरएनका मित्रहरु, अब दोष हटाउनतिर लागौँ।

प्रकाशित २६ असोज २०७४, बिहिबार | 2017-10-12 14:40:04

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा खुल्यो नेपाली भाषा विशेषज्ञ समिति

    चीनको संस्कृति मन्त्रालयको वैदेशिक संस्कृति सम्पर्क व्यूरो तथा बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयको संयुक्त प्रयासमा सोमबार नेपाली भाषा...

  • बाबुराम भट्टराईका मामा चन्द्रप्रसाद न्यौपाने

    बाबुरामका मामा भन्छन्ः भाञ्जाको जीत हर्ष न बिस्मात!

    ‘हिजो म नराम्ररी झुक्किएछु। प्रकाश (कांग्रेसबाट गोरखा २ (ख) प्रदेशमा विजयी) ले बुवा हिँड्न सक्नुहुन्न गाडीमा चढ्नुस् भन्नुभयो, म चढेँ। कुनबेला...

  • जीतपछि प्रचण्ड हर्षित, परिवार भावुक (तस्वीर)

    जन्मदिनको अघिल्लो दिन चितवन–३ मा विजयी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै हर्षित देखिएका छन्। तर, उनका परिवारका सदस्यहरु...

  • यू-१६ नेपाली टोली

    नारायण जोशीको उत्कृष्ट बलिङमा नेपालको सहज जित

    एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको छ।