ब्लग

यसकारण ‘वार मुभिज’ खोजीखोजी हेर्छु



फिल्म 'द रिडर्स' एक दृश्य
फिल्म 'द रिडर्स' एक दृश्य

फिल्म हेर्दा कुनै विषय घत पर्‍यो भने त्यस विषयमा बनेका अरु फिल्म खोजीखोजी हेर्ने मेरो बानी छ। कुनै निर्देशक अथवा कलाकार मन पर्‍यो भने उसका फिल्म पनि खोजीखोजी हेर्ने गर्छु। यही बानीका कारण मैले हलिउडमा टम ह्यांक्स, क्रिस्टियन बेल, एन्थोनी हप्किन्स र एन्जेलिना जोलीका; बलिउडमा नाना पाटेकर, मनोज बाजपेयी, नसिरुद्धिन शाह, इरफान खान र के.के. मेननका तथा नेपालीमा सौगात मल्लका फिल्म पाएसम्म हेरेँ। त्यस्तै निर्देशकहरूमा क्रिस्टोफर नोलानका ‘इन्सोम्निया’देखि ‘मेमेन्टो’सम्मका फिल्म खोजेर हेरेँ।

कुनै समय म ‘वार मुभिज’ हेरेर अधिकांश समय बिताउने गर्थेँ। दोस्रो विश्वयुद्धमा अमेरिकालाई पूर्ण रुपमा संलग्न गराउनेगरी प्रशान्त महासागरमा पर्ने हवाइस्थित पर्ल हार्वरमा रहेको अमेरिकी सैन्य अखडामा जापानी सेनाले गरेको हमलाबारे बनेको माइकल बेनिर्देशित फिल्म ‘पर्ल हार्बर’ हेरेपछि म युद्धको विषयवस्तुमा बनेका फिल्मप्रति आकर्षित भएको थिएँ। त्यसपछि मैले पहिलो तथा दोस्रो विश्वयुद्ध, कोरियाली प्रायद्वीप र भियतनामलगायत ठाउँमा भएका युद्ध, अमेरिकी गृहयुद्ध, आतंकवादविरुद्धको युद्ध, विभिन्न मुलुकमा भड्किएको गृहयुद्धलगायत विषयमा बनेका फिल्म हेरेँ।

तीमध्ये सबैभन्दा उम्दा चाहिँ ‘नो म्यान्स ल्यान्ड’ लाग्यो। युद्धका क्रममा ‘नो म्यान्स ल्यान्ड’को अफ्ठ्यारो अवस्थामा आमने–सामने हुन पुगेका द्वन्द्वरत बोस्नियाली र सर्ब जातिका दुई सैनिकबारे बनेको यो फिल्मले मलाई बफादार दर्शक बन्न अझ प्रेरित गर्‍यो। पछि थाहा पाएँ– यो फिल्मले विदेशी भाषाको सर्वोत्कृष्ट फिल्म विधामा ओस्कार जितेको रहेछ।

हलिउड छिर्नुअघि मलाई ‘एक्सन मुभिज्’ भनेकै सुनील शेट्टीका फिल्म हुन् र ‘वार मुभिज्’ चाहिँ सन्नी देवलको ‘माँ तुझे सलाम’जस्ता हुन्छन् भन्ने लाग्थ्यो। हलिउडका फिल्म डुबेपछि मात्रै मलाई युद्धबारे बनेका राम्रा फिल्म मनोज बाजपेयी र उर्मिलाका ‘पिञ्जर’ अथवा कमल हसनको ‘हे राम’जस्ता हुन्छन् भन्ने बोध भयो।

हलिउडका ‘वार मुभिज्’ पछ्याउने क्रममा मैले ‘ब्ल्याक हक डाउन’, ‘सेभिङ प्राइभेट रायन’, ‘द हर्ट लकर’, ‘बडी अफ लाइज’, ‘ब्लड डायमन्ड’, ‘रेस्क्यु डन’ लगायत फिल्म हेरेँ। ‘वार मुभिज’को तलतल मेट्नकै लागि भनेर ‘सुपर ह्युमन’ फिल्म पनि हेरेँ। ‘स्पाइडर म्यान’ र ‘ब्याट म्यान’ देखि ‘आन्ट म्यान’का सिरिजसम्म हेर्न भ्याएँँ। ‘ब्याटम्यान भर्सेज सुपरम्यान’ हेर्न समेत छुटाइनँ।

‘क्याप्टेन फिलिप’ जस्तो समुद्री लुटेराबारे बनेका फिल्म पनि मैले हेरेँ। जासुसी पनि युद्धकै हिस्सा हो भनेर ‘ब्रिज अफ स्पाइज’ लगायत ‘इस्पिअनाज’ विधाका फिल्म पनि हेरेँ। गुप्तचर निकायहरूद्वारा परिचालित ‘एसेट्स’ (एजेन्ट)ले पनि आखिरमा युद्धलाई नै सघाइरहेका हुन्छन् भनेर ‘बर्न सिरिज’अन्तर्गत म्याट डेमोनले जेसन बर्नको भूमिका निभाएका फिल्महरु हेरेँ। यी सबै हेरिसकेपछि मलाई लाग्यो– युद्धबारे बनेका फिल्मभन्दा युद्धलाई पृष्ठभूमि बनाएर बनेका फिल्मले मानवीय संवेदनालाई बढी छुँदा रहेछन्।

000

युद्धलाई पृष्ठभूमि बनाएका फिल्ममध्ये मलाई राम्रो लागेका केही फिल्ममा क्रिस्टियन बेलअभिनित ‘द फ्वालर्स अफ वार’, केट विन्स्लेटअभिनित ‘द रिडर्स’, आदि हुन्। युद्धबन्दी बनाइएका सैनिकबारे बनेको फिल्म ‘ब्रिज अन द रिभर क्वाइ’लाई पनि यही श्रेणीमा राख्न सकिन्छ।

यस्ता फिल्मले व्यक्तिको निजी जीवन र मनोविज्ञानमा युद्धले पर्ने प्रभावमाथि प्रकाश पारेका हुन्छन्। त्यसैले ‘सेभिङ प्राइभेट रायन’जस्ता भीडन्तमाथि केन्द्रित फिल्मले भन्दा आफू निरक्षर भएको कुरा सार्वजनिक हुने भयले जातीय नरसंहारमा संलग्न भएको झुट्टा आरोप स्वीकार्ने ‘द रिडर्स’ कथाले मलाई बढी तान्यो। नेपालमा यस्ताखाले फिल्म बनेका छैनन् भन्दा पनि हुन्छ। माओवादी विद्रोहताकाको सैन्य भिडन्तलाई पृष्ठभूमि बनाएर एउटा कुखुराप्रति एकजना बालकको मोहलाई पटकथाको मुख्य विषय बनाइएको फिल्म ‘कालो पोथी’ले चाहिँ यस दिशामा एउटा पाइला चाल्ने काम गरेको छ।

000

युद्धलाई पृष्ठभूमि बनाएका फिल्ममध्ये मलाई सबैभन्दा बढी छुने चाहिँ दोस्रो विश्वयुद्धताका जर्मनीले गराएको यहुदी नरसंहारसम्बन्धी फिल्म हुन्। यस विषयमाथिको मेरो अध्ययनले पनि यस्ता फिल्मप्रतिको मेरो अभिरुची बढाएको हुनसक्छ।

बिपी कोइरालाको उपन्यास ‘हिट्लर र यहुदी’ पढेपछि मलाई यहुदी जातिमाथि भएको बर्बरताले कैयौं रात ऐठन गरायो। त्यसपछि मलाई हिटलर भन्ने व्यक्ति र यहुदी भन्ने जाति अध्ययन गर्न लायक विषय रहेछन् भन्ने लाग्यो। अनि मैले दोस्रो विश्वयुद्धबारे लेखिएका केही किताब पढेँ। थुप्रै डकुमेन्ट्री हेरेँ। हिटलरको संस्मरण पनि पढेँ। पढेका किताबमध्ये हिटलरलाई समग्रमा बुझ्न अमेरिकी युद्ध संवाददाता तथा लेखक विलियम सिररको ‘द राइज एन्ड फल अफ थर्ड राइख’ बढी उपयोगी लाग्यो। र यहुदी जातिबारे बुझ्न बेलायती इतिहासकार पल जोन्सनको ‘हिस्ट्री अफ द ज्युज’ले बढी मद्दत गर्‍यो। जोन्सनको किताब राम्रोसँग बुझ्न प्यालेस्टाइनसहित समग्र पश्चिम एसियाको संस्कृतिक इतिहासबारे एकसरो बुुझिसकेको हुनुपर्ने रहेछ। यी पूर्वसर्त पूरा नगरेकाले मैले उनको किताब राम्रोसँग पर्गेल्न सकिनँ। तर पनि उनलाई पढेपछि हिटलरको व्यक्तिगत सनकले मात्र ६० लाख यहुदीको संहार भएको होइन रहेछ, त्यसको भ्रुण युरोपमा सयौं वर्षदेखि क्रमशः हुर्किरहेको रहेछ भन्ने लाग्यो।

000

दोस्रो विश्वयुद्धका थुप्रै त्यस्ता मसिना विषय छन्, जसले मलाई त्यतिबेलाका घटनामाथि आधारित फिल्म भरिसक्य नछुटाउन कुत्कुत्याइरहन्छन्। जस्तो कि यहुदी नरसंहारका नाइके हिटलरले यहुदीहरूलाई बन्दी बनाइराखेको ठाउँ हेर्ने मन कहिल्यै गरेनन्। तत्कालीन जर्मनीको कुख्यात सैन्य दस्ता एसएसका प्रमुखसमेत रहेका उनका मन्त्री हेनरिक हिमलरले यहुदी संहारको जिम्मेवारी सम्हालेर हिटलरलाई त्यस बर्बरताबाट टाढै राखे। पुरानो सत्ताका किताब जलाउने काममा पनि हिटलर संलग्न भएनन्। अर्का मन्त्री गोयबल्सले उनलाई त्यस कर्तुतबाट टाढै राख्ने काम गरे।

लाखौं मानिसको हत्या हुने कदम चाल्न किञ्चित अफ्ठ्यारो नमान्ने हिटलर व्यक्तिगत तहमा भने कोमल हृदयका थिए। युद्धका दिनमा पनि उनी पेन्टिङ कोरिरहन्थे। पशुवधका विरोधी उनले जीवनको उत्तरार्धमा पशुअधिकारवादी अभियानलाई समर्थन गरेका थिए। सन् १९३० को दशकमा उनले मांसाहार गर्न छोडेको बताइन्छ। उनी चकलेट भनेपछि हुरुक्क हुन्थे। भनिन्छ– जर्मनीमा रक्सी नपिउने मानिस एकाध भेटिएलान्, बियर नपिउने चाहिँ फिटिक्कै भेटिँदैनन्। तर हिटलर मदिराजन्य पदार्थबाट टाढै थिए। चुरोट पनि खाँदैन थिए। सानो छँदा स्कुलबाट निस्कासित गरिएको खुसीमा उनले वाइन र चुरोट बेस्कन पिएका थिए। यसको मातले ढुलमुलिएर सडकमा लडेका उनलाई छिमेककी एक युवतीले ‘अबदेखि नपिउनु है बाबु’ भन्दै उठाएर घर पुर्‍याइदिएकी थिइन्।

त्यसपछि हिटलरले एकाध सन्दर्भमा मात्रै मदिरा पिए। मदिराको तितोपना र यसको मातसँग उनलाई विशेष अरूची थियो। अन्य तानशाह र उनमा रहेको अर्को मुख्य फरक के हो भने उनी यौनसम्बन्धी मामिलामा अनुशासित थिए। एक किसिमले भन्ने हो भने उनले ब्रह्मचार्य पालन गरेका थिए। उनकी प्रेमिका थिइन्, इभा ब्राउन। तर राजनीतिक कर्ममा पूर्ण रूपमा प्रवृत्त हुन प्रेम र यौनबाट निवृत्त हुन आवश्यक छ भनेर उनले प्रेमीकालाई राजधानी बर्लिनदेखि टाढा म्युनिख सहरमा राखेका थिए। जीवनका अन्तिम दिनमा मात्रै उनले इभासँगको आफ्नो प्रेमसम्बन्ध सार्वजनिक गरेका थिए। इभालाई बर्लिन बोलाएर बिहे गरेकै रात दुवैले सामूहिक आत्महत्या गरेका थिए।

व्यक्तिगत रुपमा कोमल प्रकृतिका भए पनि राजनीतिमा भने हिटलर बडो निर्मम थिए। उनको राजनीतिक दर्शन जर्मन दार्शनिक नित्सेको ‘सुपर–ह्युमन’सम्बन्धी अवधारणाबाट प्रभावित थियो। इश्वरको मृत्यु भइसकेकाले वृहत्तर लोककल्याणका लागि ‘ह्युमन’हरूलाई अब ‘सुपर–ह्युमन’ले अधीनस्थ गर्नुपर्छ र उन्नत जर्मन नश्लले बाँकी नश्लमाथि शासन गर्नुपर्छ भन्ने उनको दृढ मान्यता थियो। नित्सेले भविष्यवाणी गरेको ‘सुपर–ह्युमन’ आफैँ हुँ भन्ने उनी ठान्थे। जीवनका अन्तिम दिनमा उनले नेपोलियन बोनापार्टको निधन भएकै दिन आत्महत्या गर्ने योजना बनाएका थिए। आफू र बोनापार्ट गलत समयमा जन्मिएका सही पात्र हौं भन्ने उनको विश्वास थियो। यस अर्थमा उनले बोनापार्टलाई पनि आफूझैं गलत समयमा जन्मिएको ‘सुपर–ह्युमन’ ठानेका थिए।

000

यस्ता जटिल पात्रलाई फिल्ममा उतार्नु लर्तरो काम होइन। त्यही भएर उनीमाथि बनेका अधिकांश फिल्म फिका छन्। तर एन्थोनी हप्किन्सले हिटलर भएर अभिनय गरेको फिल्म ‘द बंकर’ चाहिँ बजोड छ। फिल्मको पटकथा दोस्रो विश्वयुद्धको घटनामाथि आधारित भए पनि यसमा युद्ध मोर्चा अथवा सैनिकहरूबीच गोली हानाहानका दृश्य छैनन्। दोस्रो विश्वयुद्धका अन्तिम दिनमा हिटलरले बर्लिनको बंकरस्थित जर्मनीको राजनीतिक तथा सैन्य मुख्यालयमा के गरे र उनको अन्त्य कसरी भयो भन्ने विषयलाई फिल्ममा प्रस्तुत गरिएको छ।

'द बंकर' मा हिटलरको रुपमा एन्थोनी हप्किन्स

'द बंकर' मा हिटलरको रुपमा एन्थोनी हप्किन्स

हिटलरका अन्तिम दिनबारे विलियम सिररको किताबमा गरिएका वर्णन अत्यन्तै अभिरुचीका साथ पढिसकेकाले पनि हुनसक्छ, मलाई ‘द बंकर’मा हप्किन्सले हिटलर भएर गरेको अभिनय जीवन्त लाग्यो। करिब छ वर्ष लामो युद्ध अवधिभर हिटलर राम्रोसँग निदाउन पाएनन्।अनिद्राका कारण शक्ति क्षीण भएकाले जीवनका अन्तिम दिनतिर उनमा पार्किन्सन्स रोगको लक्षण देखा पर्‍यो। उनका हात, टाउकोलगायत समग्र शरीर काम्न थाल्यो। नियति र स्वास्थ्यले साथ छोड्दै गए पनि उनमा दृढ आत्मविश्वास भने कायम रह्यो। सिद्धान्तमा उनी अन्तिमसम्म अविचलित रहे। मन्त्रीहरूले ‘बर्लिनबाट भागेर हिमाली भेगतिर गएर गुरिल्ला युद्ध सञ्चालन गरौं’ भन्ने सुझाव दिँदा पनि उनले मानेनन्। भने, ‘सबै सैनिकलाई अन्तिम श्वाससम्म डटेर आफ्नो देशको रक्षा गर्न मैले दिएको निर्देशन सैनिक कमाण्डर भएको हैसियतले ममाथि पनि लागू हुन्छ, त्यसैले मैले बर्लिनलाई अलपत्र छोडेर जान मिल्दैन।’ 

‘द बंकर’मा हिटलरको कमजोर शरीर र सबल आत्मविश्वासलाई एकसाथ प्रस्तुत गर्ने चुनौतीपूर्ण काममा हप्किन्स खरो उत्रिएका छन्। उनको अभिनयले हिटलरप्रति अन्तरमनमा करुणा जगाउँछ। ‘द बंकर’पछि ‘द साइलेन्स अफ द ल्याम्बस्’मा नरभक्षी मनोचिकित्सक डा. हनिबल लेक्टर भएर हप्किन्सले गरेको अभिनयलाई उनको अभिनय जीवनकै उच्चतम विन्दु मान्न सकिन्छ।

000

यहुदी नरसंहारको विषयमा बनेका थुप्रै फिल्म मैले हेरेको छु। तीमध्ये मैले विशेष मन पराएका केही हुन्– ‘द पियानिस्ट’, ‘सिन्डलर्स लिस्ट’, ‘लाइफ इज ब्युटिफुल’, आदि। यस्ता फिल्म बन्ने क्रम अझै रोकिएको छैन र यसरी बनेका फिल्म भरिसक्य हेर्न नुछुटाउने मेरो अघोषित अभियानमा पनि विराम लागेको छैन। पछिल्लोपटक निस्किएको ‘सन अफ सउल’ पनि मैले रुचीपूर्वक हेरेँ। अमेरिकी म्यागेजिन ‘द एटलान्टिक’को एउटा लेखमा फिल्म ‘द ग्रान्ड बुडापेस्ट होटल’को विषय पनि यस्तैखालको छ भन्ने थाहा पाएपछि त्यसलाई पनि मैले छुटाइनँ। र आगामी दिनमा बन्ने यस्ता फिल्म पनि सायद छुटाउदिनँ।

 

प्रकाशित १५ असोज २०७४, आइतबार | 2017-10-01 18:06:26

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...