ब्लग

छोराको ‘अंश’ पाउने मेरा बा–आमा



बा–आमाको हातमा छोराको किताब
बा–आमाको हातमा छोराको किताब

‘हामीले के गर्नु परो भन, यो प्लास्टिकभित्र के हो?’ प्रश्न गर्दै आमाले किताब दुवैतिर हेरिन। फोटो खिच्ने बेला किताब उल्टो समाइन। बाले यसो छामे मात्रै। किताबको शीर्षक तल पार्ने कि माथि भेउ पाएनन्। उमेरले आमा जेठी ८४, बा ८२ वर्षका। के थाहा पाउनु?

गाउँमा बुढाबुढी मात्रै बस्छन्। आमाको फोनमा दिदी, नाति–नातिना र मेरो फोन नम्बर सेभ छ। तर आमाले नम्बर चिन्ने कुरै भएन। नम्बर देख्यो कि डायल ग¥यो, जसलाई लाग्छ–लाग्छ। आमाको फोन डायल गर्ने तरिका।

त्यसरी नम्बर डायल गर्दा कहिलेकाहीं मलाई पर्दोरैछ। हेलो भनेपछि स्वर सुनेर आमाले ‘बाबु होस्’, भनेर माया दोहो¥याउँछिन। असार ६ गते ‘अंश’ विमोचनपछि केही दिन खाली हुने देखियो। लेकबाट तल गावँ (मेरो पुर्खा बसेको गाउँ, जहाँ अहिले पनि हामीलाई गावँ कान्छाका बगाल भनेर चिन्छन्) मा एक हल गोरु र भैंसी झारेकाले भेट्न आऊ भनि आमाले तीन पटक फोनमा भनिन्।

महासंघको महाधिवेशन भदौ ४–५ गते गर्ने निश्चित भयो। दोस्रो चरण निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेकाले केही फुर्सदै भयो। डेढ वर्षबीच बा–आमा भेट्न बाग्लुङको गाउँ पुगें। कच्ची बाटो भए पनि अहिलेसम्म पहिरो नगएकाले गाडी गाउँमै पुग्दो रैछ। गाडी चढेर म गाउँ पुगेको यो नै पहिलो पटक थियो।

गाउँ पुगेपछि दुई/चार दिन भेटघाट मज्जैले जम्छ, बाल्यकालका साथीहरुसँग। खानपिन गफसप सबै। ती भेटघाटमा किताबको चर्चा भएनन्। म मोटाएको, काठमाडौंमा चैनले बसेको मात्रै चर्चा। केही नयाँ पुस्तालाई थाहा रैछ मेरो किताब निस्केको। बल्ल–बल्ल डाटा चल्ने मोवाइल र रेडियोबाट थाहा पाएका रहेछन्। बा–आमालाई के थाहा?

असार २६ गते काठमाडौं फर्किने दिन आयो। म बुढो घरमा माथि धिरी गएँ। बा–आमा तलै गावँ। बिहानै उठेर आउँदा बाले आगो फ्वाँफ्वाँ फुक्दै थिए। आमा सुतेको गुन्द्री भर्खर उठाउँदै थिइन।

‘आइस बाबु?’ आमाले भनिन्।

‘हजुर आमा।’

काठमाडौंबाट लगेको झोलामा एउटा मात्रै किताब थियो। त्यही पनि गाउँमा भतिजलाई छोड्नुपर्ने सल्लाह बेलुकी भइसकेको थियो।

बोलाएँ, ‘यता आउनुस् बा–आमा फोटो खिच्नु प¥यो।’

किताब समाउन दिएँ।

आमा निक्कै चलाख छिन। हरेक कुराको छिटो र तर्कपूर्ण जवाफ दिन लगभग गाउँमा कसैलाई बाँकी राख्दिनन्।

‘हामीले के गर्नु परो भन, यो प्लास्टिकभित्र के हो?’ प्रश्न गर्दै किताब दुवैतिर हेरिन। फोटो खिच्ने बेला आमाले किताब उल्टो समाइन। बाले यसो छामे मात्रै। किताबको शीर्षक तल पार्ने कि माथि भेउ पाएनन्। उमेरले आमा जेठी ८४, बा ८२ वर्षका। के थाहा पाउनु?

‘यसरी समाउनु’, किताब माथितिर फर्काएर भनेँ।

बा–आमाले शीर्षक माथितिर पारेर किताब समाएपछि गोठको पर्खालमा उभ्याएर फोटो खिचें। एउटा सेल्फी हानें। तर किताबको शीर्षक उल्टो। हिंड्ने तरखर हुन लाग्यो। बा–आमालाई ढोगें।

आमाले आर्शिवाद दिंदै भनिन्–

‘यसपाली रित्तै भइस्। मसँग पैसा सकिएको छ। वृद्धा भत्ताका लागि पनि नयाँ फोटो खिचेर लगेको छ। ६ महिना भो नपाएको। आर्शिवाद छ, बर्खाका बाटो राम्रारी जानु। जहाँ पुग्छस्, त्यहीँबाट फोन गर्नु। म फोन साथैमा राख्छु। एउटा छोरा होस्, मेरो दशधारा दुधले तँलाई माथिसम्मै पुराओस्। तेरो बाजेले भनेको जस्तै भाको छ।’

बाजे गाउँका गनेचुनेका जैशी थिए। जन्म कुण्डली हेर्ने। महाभारत, गरुडपुराण, स्वस्थानी, गाउँका नौ दिदी बहिनीको कथा, हामी कसरी त्यो गाउँमा बस्यौं भन्ने किंवदन्ती फर्ररै बाचन गर्ने र सुनाउने गर्थे बाजेले।

‘बाजेले के भनेका थिए र आमा मलाई?’ सोधें।

‘खुट्टामा भुमरी परेको छ। नाती धनमूल त परेन। त्यसैले दामभन्दा नाम कमाउने र फिरन्ते हुन्छ। एउटा नाति हो, ठिकै छ भनेका हुन बोबो (अठार मगराँत भाषामा ससुरा बालाई बोबो भन्ने चलन छ) ले। जा, भो जा बाबु गाडी छुट्ला। फोन भने गरेस् है।’

बाजेको भविष्यवाणी सुनाएपछि आमाले बिदाई गरिन।

१५ मिनेट हिंडेपछि गाडी चढ्ने ठाउँमा आइपुगेँ। मोवाइलमा यसो डाटा कनेक्सन गर्दा ‘टुजी’ चलेर ‘ई’ को सिग्नल देखायो। त्यही मौकामा बा–आमासँग आधा घन्टाअघि खिचेको फोटो फेसबुक र ट्वीटरमा शेयर गरेँ। त्यसपछि त्यो ‘टुजी’ पनि चल्न छोड्यो। तल बुर्तिबाङ बजारमा आएर ‘थ्रीजी’ चलाएर फेसबुक र ट्वीटर खोल्दा भर्ररै लाइक, कमेन्ट, शेयर, रिट्वीट भएको रहेछ।

000

फोटो देखेपछि पहिलो फोन गरिन रामकुमारी झाँक्रीले।

‘थुइक्क भेना, त्यस्ता बुढाबुढी बा–आमालाई त्यस्तो अंश दिएर हुन्छ, सेवा गर्नु पर्दैन?’, झाँक्रीको आक्रोश वा व्यंग्य थियो। गाडीमा चर्को लोकगीत बजेको थियो। हाँसे मात्रै फोनमा।

दुई दशक पत्रकारितासँगै पछिल्लो पटक ‘अंश’ लेख्न सफल भइयो। तर छोराले के लेख्यो, के ग¥यो, बा–आमालाई केही थाहा छैन। कसैले सुनाएको एउटै कुरा थाहा छ– ‘तिम्रो छोराको नाम रेडियोमा आयो, टिभीमा देखियो। बुर्तिबाङसम्म हेलिकप्टरमा आयो।’

चारवटी दिदीपछि पाँचौंमा जन्मिएको एक्लो छोरो हुँ म। बा–आमालाई गाउँमा लाग्ने गरेको बात ‘अपुताली’ बाट जोगाएँ। बा–आमा त्यसैमा मख्ख। मैले यतिका वर्ष पत्रकारिता गरेर बा–आमाको जीवनमा कुनै त्यस्तो आर्थिक सुधार, शुखसयल दिएको छैन। बरु वृद्धभत्ता नपाएकोमा आमाको गुनासो रह्यो। कारण छोरालाई काठमाडौं जाने भाडा दिन पाइनन्।

आमाले सधैं मलाई गाउँबाट धेरथोर पैसा दिएर पठाउँछिन्। यसपाली त्यस्तो मेसो परेन। त्यही भएर आमालाई अलिक खिन्न लागेछ। तर फोटो थियो– छोराले ‘अंश’ दिएको। वाह! सबैको यो धरातल लेख्दा कसैले ‘सेन्टिमेन्टल ब्लायकमेलिङ’ भन्न सक्लान। तर यो यथार्थ हो। मैले पत्रकारिता गरेर जे जति गरें, मेरो परिवारमा त्यसले केही भिन्नता ल्याएन। सामान्य साँझ–बिहान खान पुग्छ, गाउँमा जसोतसो वर्षदिन सजिलै पार गरिन्छ।

बरु, बेला–बेला बाको मसँग असहमति रह्यो। छोराले पैसा कमाएन। बाको कुरा सत्य साबित छ।

यसपाली बाले छोराको मन चोर्ने शैलीले भने– ‘घरको पाली सबै चुहियो। काठ सबै कुहिएछ। यो गाउँको पहिलो ढुंगे घर हो। तेरो बाजेले भने अनुसार एक सय वर्ष पुग्न लाग्यो। एक लाख रुपैयाँ जति हुने हो भने फेरि बनाउथेँ।’

बाको कुरो मैले बुझेँ, तर खै! ‘... भा पो?’ बालाई ‘यि लिनुस्’ भन्ने हिम्मत!

आफैले आफैंलाई प्रश्न र उत्तर गर्दै आँगनमा राखेको डोकोलाई घोप्ट्याएर थ्याच्च बसेँ। यसो पालीतिर हेरेँ। पालीको छानोबाट पानी चुहिएर तिहारमा भाइटिकाका दिन दिदी–बहिनीले धर्सो हाले जस्तो देखिए घरका भित्ताहरु। छानोको एउटा चुहिने ठाउँमा बाले त्यही दिन बर्साती राखेछन्। पानी चुहिन अलिक रोकिएको बाले सुनाए।

बा–आमाको हातमा मैले राखिदिएको ‘अंश’ बा–आमा, दाजुभाइले कमाएर बाँडफाँट गर्ने अंश होइन। अहिलेको समाज जुन किसिमले निर्माण भएको छ, त्यसैको एउटा टुक्रा हो ‘अंश’। यसले मलाई थप परिचय त दिलायो तर मेरो बा–आमाको जीवनस्तरमा त्यस्तो नछोला।

जुन किताब बा–आमाले समाए र मैले फोटो खिचें, त्यो किताबभित्र के छ भन्ने बा–आमालाई केही थाहा छैन। मात्रै ‘अंश’ लेख्ने एउटा छोरो जन्माए। त्यसैमा बुढाबुढी मख्ख छन्। कहिल्यै गुनासो गरेका छैनन्।

बरु बेला–बेला मनै चरक्क हुने गरी बा–आमाले भन्ने गर्छन्– ‘केही अप्ठेरो परो कि भन्, हामी जिउँदै छौं।’

प्रकाशित २४ साउन २०७४, मंगलबार | 2017-08-08 09:10:03

प्रतिकृया दिनुहोस

Loading...
  • एनआरएनएः दोष कहिले शून्यमा झार्ने?

    बिग्रिन कहाँनेरबाट सुरु हुन्छ भने हामी एनआरएनहरु, आफ्नो दोष देख्न सक्ने त भयौं तर तिनलाई हृदयबाट हटाउने प्रबल इच्छा जगाउनै सकेनौं। हामी आज पनि दोष...

  • साइमन पेरेज र हेनरी किसिन्जर

    नोबेल शान्ति पुरस्कार प्रहसन मात्रै

    नोबेल पुरस्कार एउटा प्रहसन हो, यो सत्यको सामना गरौँ। यो लामो समयदेखि नाटक बन्दै आएको छ। साँच्चै नै हामीले ढोङ बन्द गर्नुपर्ने बेला हो यो। मानिसहरु...

  • फिल्म 'द रिडर्स' एक दृश्य

    यसकारण ‘वार मुभिज’ खोजीखोजी हेर्छु

    ‘सेभिङ प्राइभेट रायन’जस्ता भीडन्तमाथि केन्द्रित फिल्मले भन्दा आफू निरक्षर भएको कुरा सार्वजनिक हुने भयले जातीय नरसंहारमा संलग्न भएको झुट्टा आरोप...

  • अमेरिकामा दशैं मनाउँदै नायक दिलिप रायमाझीको परिवार

    मुलुक बाहिर ‘म’, भर्चुअल दशैं र खसी

    न्युयोर्क होस् वा सानफ्रान्सिस्को, डलास होस वा भर्जिनिया, दशैं लागेपछि खसी खोज्दै फार्म हाउसतिर लाग्ने नेपालीको संख्या बढ्दो छ। अब त कतिपय फार्म...

  • दुई नम्बर प्रदेशको चुनावी डायरी

    ‘प्रभुजीले धोका दिनुभयो, त्यसैले आइयो साइकल चढ्न!’ उनले हाँस्दै भने, ‘साइकलको सम्भावित उम्मेदवार चैँ केही कार्यकर्तासहित हिजो माओवादी प्रवेश गरे।...

  • नेपाली कसरी लेख्ने?

    आफूलाई लागेको कुरा साथीलाई भनिरहेको छु भन्ठानेर लेख्ने। यसो गर्दा लेख्न सजिलो हुन्छ। लेखाइ सरल र स्वाभाविक हुन्छ। यसरी लेखेको धेरैले बुझ्छन्।...

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली, देउवा र दाहाल

    ओली, दाहाल र देउवालाई सर्वसम्मत गराउने गृहकार्य

    एमाले र माओवादी केन्द्रबीच प्रतिनिधि सभा निर्वाचनमा शीर्ष नेतालाई सर्वसम्मत रुपमा निर्वाचित गर्ने गृहकार्य सुरु भएको छ। कम्तिमा तीन पार्टीका शीर्ष...

  • दुई मृत तारा टकराएको दृश्यको कलात्मक चित्रण

    दुई मृत ताराबीच ठक्कर, पृथ्वीबाट पहिलो पटक अवलोकन

    दुई मृत तारा आपसमा ठोक्किएको दृश्य र तरंग आफूहरुले पहिलो पटक अवलोकन गर्न सफल भएको खगोलविद्हरुले सोमबार जनाएका छन्। आपसमा ठोक्किएर विलय हुनुअघि ती...

  • शेरबहादुर देउवा

    माओवादीका मन्त्रीको जिम्मेवारी खोसियो,कमल थापाले पाए ऊर्जा मन्त्रालय

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी खोसेका छन्। जिम्मेवारी खोसिएसँगै माओवादी केन्द्रका सबै...

  • फूलैफूलको मौसम तिमिलाई

    काठमाडौंको इचंकुनारायण पुग्दा ठाउँ–ठाउँमा फूल–खेती देखियो। ढकमक्क फूलेका रंगीचङ्गी फूल देख्दा तिहारको गाढा झल्को मिल्यो। इचंकुनारायणमा देखिएका...